बुटवल । सामान्य किराना पसलबाट सुरु भएको व्यावसायिक यात्रा अस्पताल, उद्योग र पाँचतारे होटलसम्म विस्तार गरेका नरिश्वर शर्मा पौडेल बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन्।
संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०१ मत प्राप्त गरे।
चार दशकदेखि उद्योग–व्यवसायमा सक्रिय पौडेल बुटवल हस्पिटल, एशोदा फुड्स र हायात प्लेसलगायत विभिन्न उद्योग तथा व्यवसायमा आबद्ध छन्। उनका व्यावसायिक गतिविधिसँग हजारौँ मानिस रोजगारीमा जोडिएका छन्। उनी बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्षसमेत हुन्।
व्यवसायीका रूपमा अनुभव हासिल गरेका पौडेलले यसअघि बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यदेखि वाणिज्य उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। यसपटक अध्यक्षमा निर्वाचित भएसँगै उनले संघको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका छन्।
निजी क्षेत्रले आर्थिक मन्दी, बैंकको ऋण तथा ब्याज, करसम्बन्धी जटिलता र बजारको सुस्तताजस्ता चुनौती सामना गरिरहेका बेला पौडेल नेतृत्वको कार्यसमितिसामु व्यवसायीको मनोबल उकास्ने, लगानीमैत्री वातावरण बनाउने र बुटवलको बजारलाई थप चलायमान बनाउने चुनौती छ।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी र महासचिवमा वसन्तप्रसाद ढकाल निर्वाचित भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा टीकाराम बञ्जाडे, सचिवमा दीपकप्रसाद चापागाईं, सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) तथा एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल निर्वाचित भएका छन्।
व्यवसायमा आर्जन गरेको अनुभव र संघभित्रको संस्थागत यात्रालाई अब समग्र उद्योगी–व्यवसायीको हितमा कसरी उपयोग गर्छन् भन्ने विषय पौडेलको नेतृत्वको मुख्य परीक्षा हुनेछ।
