बुटवल । विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यसहित बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय परिवारले १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको संयुक्त प्रयासबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत तथा उद्धारमा आफ्नो तर्फबाट योगदान गर्ने निर्णय गर्दै सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।
अभियानमा शिक्षक तथा कर्मचारीसँगै विद्यार्थीहरू पनि सक्रिय रूपमा सहभागी भएका थिए। कतिपय विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम कटाएर सहयोग गरेका थिए भने नगद तथा क्यूआरमार्फत समेत स्वेच्छिक सहयोग संकलन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीका अनुसार प्राकृतिक विपद्मा परेका नागरिकलाई राज्य र विभिन्न संघसंस्थाबाट भइरहेको सहयोगसँगै समुदायस्तरबाट हुने मानवीय सहयोगको पनि महत्वपूर्ण भूमिका हुन्छ। यही भावनासहित विद्यालय परिवारलाई अभियानमा जोडिएको उहाँले बताउनुभयो।
विद्यालयले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन पनि विद्यालयले आग्रह गरेको छ।
विद्यालयका कार्यबाहक अध्यक्ष तेजेन्द्र खनालले शिक्षक, कर्मचारी र विद्यार्थीको साझा प्रयासबाट संकलित रकम राहतका लागि सम्बन्धित कोषमा पारदर्शी रूपमा जम्मा गरिएको बताउनुभयो।
सामुदायिक विद्यालयका रूपमा शिक्षा प्रदान गर्दै आएको कालिका मानवज्ञानले विपद्का बेला गरेको यो सहयोगलाई विद्यालयको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा लिन सकिन्छ।
