२०८३, आश्विन १८ गते

Oct 04 2026

Logo

२०८३, आश्विन १८ गते | Oct 04 2026

images
  • समाचार
  • बैंकमा १५ खर्ब थन्कियो, लगानी गर्न...
समाचार

बैंकमा १५ खर्ब थन्कियो, लगानी गर्न निजी क्षेत्र तयार छैन : चेम्बर अध्यक्ष अग्रवाल

बैंकमा १५ खर्ब थन्कियो, लगानी गर्न निजी क्षेत्र तयार छैन : चेम्बर अध्यक्ष अग्रवाल

शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • अर्थतन्त्र चलायमान नहुँदा उद्योगी–व्यवसायी निराश, नीतिगत अस्थिरता र कर प्रणालीप्रति गुनासो

    बुटवल । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा ठूलो रकम थुप्रिए पनि निजी क्षेत्र नयाँ परियोजनामा लगानी गर्न तयार हुन नसकेको बताएका छन्। उनले अर्थतन्त्र चलायमान हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौती सामना गरिरहेको बताएका हुन्।

    शनिबार रुपन्देही व्यापार संघको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बैंकको ब्याजदर एकल अंकमा झरे पनि लगानीको वातावरण बन्न नसकेको बताए। उनका अनुसार बैंकमा झण्डै १५ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भए पनि निजी क्षेत्रले अहिले नयाँ परियोजनामा लगानी गर्ने अवस्था देखिएको छैन।

    ‘सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले निजी क्षेत्र निकै उत्साहित भएको थियो,’ उनले भने, ‘सरकार गठन भएको ६ महिना पुग्यो, तर व्यवसायीमैत्री वातावरण बन्न नसक्दा आर्थिक गतिविधि अपेक्षाअनुसार बढ्न सकेनन्। अहिले उद्योगी–व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन्।’

    अग्रवालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो अपेक्षा रहे पनि अर्थतन्त्र चलायमान बनाउने दिशामा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए। बैंकको ब्याजदर घट्नु सकारात्मक भए पनि सरकारका विभिन्न नीति तथा कर प्रणालीमा बारम्बार हुने परिवर्तनले लगानीकर्तामा ढुक्क भएर लगानी गर्ने वातावरण बन्न नसकेको उनको भनाइ थियो।

    उनले अर्थतन्त्रमा देखिएको सुस्तताको प्रमुख कारण नीतिगत समस्यासमेत रहेको दाबी गर्दै उद्योगी–व्यवसायीसँग सम्बन्धित कानुन संशोधन गरी निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए। सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    ‘सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ,’ अग्रवालले भने, ‘उद्योगी–व्यवसायीसँग सम्बन्धित धेरै कानुन संशोधन गरी व्यवसायीको मनोबल बढाउन जरुरी छ।’ आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो बाहिर निस्कन सके मात्रै स्टार्टअपदेखि औद्योगिक क्षेत्रसम्म सुधार ल्याउन सकिने उनले बताए।

    अग्रवालले सीमावर्ती व्यापारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन करका दर पुनरावलोकन गर्नुपर्नेमा जोड दिए। खुला सीमाका कारण नेपाली व्यवसायीले भारतीय सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको भन्दै उनले सीमावर्ती व्यापारलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए।

    बदलिँदो बजारसँगै उद्योग–व्यवसाय सञ्चालनका लागि बजारमुखी रणनीति आवश्यक रहेको बताउँदै उनले उत्पादनको ब्रान्डिङ, बजारीकरण, डिजिटल मार्केटिङ र अनलाइन व्यापारलाई प्राथमिकता दिनुपर्ने बताए।

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नभएसम्म यस क्षेत्रको पर्यटन तथा व्यवसायिक गतिविधि अपेक्षित रूपमा चलायमान हुन नसक्ने धारणा राखे। लुम्बिनी प्रदेशबाट ठूलो परिमाणमा उत्पादन विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको भन्दै उनले त्यसका लागि सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्ने बताए। बुटवल–भैरहवालाई एकीकृत आर्थिक तथा व्यापारिक करिडोरका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

    व्यवसायीको पीडा : बजार सुस्त, लगानी असुरक्षित

    रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेनजी आन्दोलनपछि उद्योगी–व्यवसायीले थप चुनौती सामना गर्नुपरेको बताए। बजारको सुस्तता, लगानीको असुरक्षा, उच्च भाडादर, दोहोरो कर, अस्थिर बैंक ब्याजदर, खुला सीमा तथा मुख्य बजार क्षेत्रमा पार्किङको समस्याले व्यवसायिक गतिविधि प्रभावित भइरहेको उनले बताए।

    खुला सीमाबाट हुने अवैध कारोबारका कारण रुपन्देहीका व्यवसायी प्रभावित भएको भन्दै ढकालले उद्योगी–व्यवसायीमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गरे। निजी क्षेत्रको मनोबल उच्च हुँदा मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो आर्थिक विकासमा योगदान पुग्ने उनको भनाइ थियो।

    देशमा लगानीको वातावरण निर्माण हुन नसके अर्थतन्त्र थप जटिल बन्न सक्ने भन्दै उनले निजी क्षेत्रको मनोबल बढाउन नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। व्यापारिक गतिविधि सहज बनाउन सरकारले पूर्वाधार र आपूर्ति प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।

    छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य सडक अवरुद्ध हुँदा चाडपर्वको मुखमा अर्बौँ रुपैयाँ बराबरका सामान बाटोमै रोकिएको उल्लेख गर्दै अध्यक्ष ढकालले अवरुद्ध सडक सञ्चालनका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले व्यवसायीमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्। उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि सहकार्य गरेर अघि बढ्ने बताइन्।

    संघका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले उद्योगी–व्यवसायीमा बढ्दै गएको निराशा चिर्न आवश्यक रहेको बताए। सरकारले लगानी र व्यवसायको सुरक्षाको ग्यारेन्टी नगरेसम्म लगानीको वातावरण बन्न नसक्ने उनको भनाइ थियो। व्यवसायीको हकहित संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्रको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पोखरेलले जोड दिए।

    संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेले संघको हितविपरीत कुनै गतिविधि हुन नदिन सबैजना एकजुट हुनुपर्ने धारणा राखे। नियमसंगत दर्ता गरी वार्षिक रूपमा कर तिरेर रोजगारी सिर्जना गरेको निजी क्षेत्रलाई सरकारले विभिन्न बहानामा आतंकित पार्न नहुने उनले बताए। संघलाई यहाँसम्म ल्याइपुर्‍याउन सबैको भूमिका रहेको र पूर्वअध्यक्षको हैसियतमा सधैँ संघको विकासमा आफू प्रतिबद्ध रहने पनि उनले बताए।

    कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायीले गरेको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको बताए। विमानस्थल सञ्चालनलाई प्रभावकारी र नियमित बनाउन नसक्दा पर्यटन तथा व्यवसायिक गतिविधिसमेत प्रभावित भएको उनको भनाइ थियो।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय सरकारले उद्योगी–व्यवसायीलाई संरक्षण र सहजीकरण गर्नुपर्नेमा विभिन्न बहानामा आतंकित पार्ने काम गरेको बताए।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सीमाबाट अवैध रूपमा कर छलीका सामान भित्रिँदा यहाँका उद्योगी–व्यवसायी वर्षौँदेखि समस्यामा रहेको गुनासो गरे। भन्सारमा करको दर नघट्दासम्म यहाँका उद्योगी–व्यवसायीले भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे।

    यस्तै, संघका महासचिव प्रकाशराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका विभिन्न कार्यक्रम र आगामी योजनाबारे जानकारी गराए। उनका अनुसार हाल संघमा २ हजार ६ सयभन्दा बढी व्यवसायी आबद्ध रहेका छन्।

    संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेलगायतले बोल्दै बदलिँदो समयसँगै नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिए। उनीहरूले संस्थागत सुशासन र व्यवसायिक वातावरण निर्माणका लागि सबैजना एकजुट हुनुपर्ने धारणा राखे।

    सोही अवसरमा संघलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यस्तै, संघले जिल्लामा सुरक्षा प्रबन्ध गर्ने नयाँ अभियानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई १ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ।

    संघको साधारण सदस्य रहेको लुम्बिनी पुस्तक पसलमा आगलागी भई क्षति पुगेकाले व्यवसायी कल्याण कोषबाट २५ हजार रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij