२०८३, मंसिर ४ गते

Nov 19 2026

Logo

२०८३, मंसिर ४ गते | Nov 19 2026

images
  • समाचार
  • दुग्ध उत्पादक किसानलाई राज्यले संरक्षण गर्नुपर्छ...
समाचार

दुग्ध उत्पादक किसानलाई राज्यले संरक्षण गर्नुपर्छ : रामकृष्ण शर्मा

दुग्ध उत्पादक किसानलाई राज्यले संरक्षण गर्नुपर्छ : रामकृष्ण शर्मा

बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • बुटवल । दुग्ध उत्पादक किसानको लगानी, श्रम र उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै राज्यले किसानलाई संरक्षण गर्नुपर्ने रुपन्देही डेरी व्यवसायी समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले बताएका छन्।

    समितिको आठौँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले चार–चार वर्षसम्म पनि दूधको मूल्य वृद्धि हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

    रुपन्देही डेरी व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा जनबाटो मिडिया प्रालिका अध्यक्षसमेत रहेका शर्माले डेरी व्यवसायलाई कृषि क्षेत्रअन्तर्गत घोषणा गरी विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरे। दुग्ध व्यवसाय कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई प्राथमिकतामा राखेर राज्यले आवश्यक सहयोग र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

    उनले सरकारले तोकेको मापदण्डअनुसार व्यवसायीहरूले दूध खरिद गर्न पाउनुपर्नेमा जोड दिँदै दूधको गुणस्तर कायम गर्न स्वस्थ पशुपालन आवश्यक रहेको बताए। दूधको शुद्धता सुनिश्चित गर्न पशुको स्वास्थ्यदेखि दूध संकलन केन्द्रसम्म नियमित अनुगमन र निगरानी गर्नुपर्ने उनले बताए।

    खुला नाकाबाट भारतीय दुग्धजन्य पदार्थ जिल्लाभित्र भित्रिने क्रम बढिरहेको उल्लेख गर्दै शर्माले त्यसलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरे। स्वदेशी किसान र दुग्ध व्यवसायीलाई संरक्षण गर्ने हो भने अवैध आयात तथा अस्वस्थ प्रतिस्पर्धा रोक्न आवश्यक रहेको उनको भनाइ थियो।

    उनले अनुगमनका नाममा अनावश्यक हल्ला र भ्रम फैलाउने काम नगर्न स्थानीय सरकारलाई आग्रह गर्दै अनुगमनलाई तथ्य र वास्तविकतामा आधारित बनाउनुपर्ने बताए।

    त्यसैगरी, पत्रकारहरूलाई पनि सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे। दुग्ध क्षेत्रसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा किसान, व्यवसायी र उपभोक्ताको वास्तविक अवस्था बुझ्नुपर्ने उनको धारणा थियो।

    दुग्ध उत्पादक किसानको संरक्षण, दूधको उचित मूल्य, व्यवसायमैत्री नीति र स्वदेशी दुग्ध क्षेत्रको प्रवर्द्धनका लागि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा शर्माले जोड दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij