२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • ‘कम्युनिस्ट एकता’को नारासहित नेकपाको प्रथम राष्ट्रिय...
समाचार

‘कम्युनिस्ट एकता’को नारासहित नेकपाको प्रथम राष्ट्रिय भेला, उमा भुजेल महासचिव निर्वाचित

‘कम्युनिस्ट एकता’को नारासहित नेकपाको प्रथम राष्ट्रिय भेला, उमा भुजेल महासचिव निर्वाचित

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • काठमाडौं । ‘स्वाधीनता, समृद्धि र समानताका लागि कम्युनिस्ट एकता ! समाजवादको आधार निर्माण आजको आवश्यकता !!’ भन्ने मूल नारासहित नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।
    पार्टी संयोजक उमा भुजेल ‘शिलु’ले पानसमा दीप प्रज्वलन गर्नुका साथै रिमोटमार्फत ब्यानर अनावरण गरेर भेलाको उद्घाटन गर्नुभएको थियो। विषम परिस्थितिका कारण देशभरबाट प्रतिनिधिमूलक सहभागितामा भेला आयोजना गरिएको पार्टीका कार्यालय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ले जानकारी दिनुभयो।
    उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी संयोजक उमा भुजेल ‘शिलु’ले बाध्यात्मक परिस्थिति सिर्जना भएपछि महासचिव विप्लवसँग विद्रोह गर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै कोसिस गर्‍यौँ, तर महासचिवबाट बृहत् कम्युनिस्ट एकताका लागि सार्थक प्रयास भएन। अब हामी सबै विभाजित माओवादी तथा सबै कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास गर्नेछौँ। त्यसको अर्को विकल्प छैन।”
    भुजेलले आफूहरू तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अलग हुँदा क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने ठूलो सपना बोकेको भए पनि त्यसअनुसारको परिणाम आउन नसकेको बताउनुभयो। १४ वर्षपछि आफूहरू पुनः सोच्ने र गम्भीर समीक्षा गर्ने ठाउँमा आइपुगेको उहाँको भनाइ थियो।
    उहाँले जनयुद्धका उपलब्धिहरू खोसिएको दाबी गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संसदभित्र र संसदबाहिर रहेका सबै कम्युनिस्ट शक्तिहरूले नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो। “अहिलेसम्मका सबै अभ्यास, विचार र कार्यदिशामाथि गहिरो समीक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो।
    विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गर्दै कम्युनिस्ट आन्दोलनमा एकता, ध्रुवीकरण र पुनर्गठनको अभियान अघि बढाएको उक्त पार्टीले भेलामार्फत राजनीतिक विश्लेषणसहितको दस्तावेज पारित गर्ने जनाएको छ।
    भेलालाई सम्बोधन गर्दै चन्द्रबहादुर खड्का ‘असल’ले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खुद्रा व्यापारको शैलीबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै आफूहरूले ‘सुपरमार्केटमार्फत डेलिभरी’ दिने शैलीमा आन्दोलनलाई नयाँ जगसहित अघि बढाउन खोजेको बताउनुभयो।
    उहाँले जनयुद्ध र क्रान्तिका सपनालाई राजनीतिक अभिष्ट पूरा गर्ने माध्यम बनाउनेहरूबाट क्रान्तिको बाँकी कार्यभार पूरा हुन नसक्ने दाबी गर्दै बलिदान र योगदानको उच्च कीर्तिमान कायम गरेका नेतृत्वबाट त्यसलाई अघि बढाउनुपर्ने बताउनुभयो। उमा भुजेल त्यस्तो योगदान बोकेको नेतृत्व भएको भन्दै आफूहरू उहाँको नेतृत्वमा अघि बढेको उहाँले बताउनुभयो।
    भेलामा लक्ष्मण पाख्रिन तामाङले एकताको सन्देशसहित स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। जनक्रान्तिका घाइते योद्धा रवि गोले तथा रोल्पाका सहिद परिवारका तर्फबाट लालबहादुर ओली ‘विश्व’ले शुभकामना मन्तव्य राख्नुभएको थियो।
    ओलीले विप्लवले समाजवादी क्रान्तिको कार्यभार पुरा गर्न नसकेको बताउँदै  सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आएर समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
    भेलाले संयोजक उमा भुजेल ‘शिलु’ले प्रस्तुत गर्नुभएको १५ पृष्ठको राजनीतिक प्रतिवेदन पारित गरेको जनाएको छ। साथै भेलाले उमा भुजेललाई महासचिवमा निर्वाचित गर्दै १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
    कुनै समय झण्डै दुईतिहाइ जनमतको प्रतिनिधित्व गर्ने अवस्थामा रहेका कम्युनिस्ट शक्तिहरू पछिल्लो समय विभाजन र आन्तरिक मतभेदका कारण कमजोर अवस्थामा पुगेका छन्। विभिन्न कम्युनिस्ट घटकबीच समय–समयमा बृहत् एकताको बहस उठ्ने गरे पनि त्यसले अपेक्षित परिणाम दिन सकेको छैन। यसबीच विप्लव नेतृत्वको नेकपाभित्र देखिएको असन्तुष्टि र विभाजनले समेत कम्युनिस्ट आन्दोलनको पुनर्गठनको बहसलाई थप सतहमा ल्याएको छ।
    यही पृष्ठभूमिमा उमा भुजेल नेतृत्वमा अघि सारिएको एकता, ध्रुवीकरण र पुनर्गठनको अभियानले कम्युनिस्ट आन्दोलनलाई कस्तो दिशा दिन्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

     अहिलेको पहल बृहत् कम्युनिस्ट एकताको प्रक्रियामा नयाँ आधार बन्ने हो वा विगतका प्रयासझैँ सीमित हुने हो भन्ने कुरा  हेर्न भने  केही समय कुर्नुपर्ने नै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij