२०८३, कार्तिक १८ गते

Nov 03 2026

Logo

२०८३, कार्तिक १८ गते | Nov 03 2026

images
  • समाचार
  • दुई कम्युनिष्ट पार्टी एकीकृत, नाम र...
News

दुई कम्युनिष्ट पार्टी एकीकृत, नाम र चुनाव चिह्न एउटै कायम

दुई कम्युनिष्ट पार्टी एकीकृत, नाम र चुनाव चिह्न एउटै कायम

मंगलवार, कार्तिक १८ २०८३
मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता भएको छ। दुई पार्टीबीच १० बुँदे सहमति भएपछि अब दुवै पार्टी एउटै नाम, एउटै चुनाव चिह्न र एउटै राजनीतिक कार्यदिशासहित अघि बढ्ने भएका छन्।

    मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा कायम गरिएको छ।

    एकता सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।

    सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै समाजवादको आधार तयार गर्ने लक्ष्यसमेत अघि सारिएको छ।

    दुई पार्टीबीचको एकतासँगै अब नेतृत्व र संगठनात्मक संरचनाको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ। सहमतिमा केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालयलगायतका निकायमा आपसी सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने उल्लेख छ।

    त्यस्तै, पार्टीका सबै तहका समिति तथा जनसंगठनको एकता र समायोजन आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ। पार्टीको एकता राष्ट्रिय महाधिवेशन भने आगामी स्थानीय तहको निर्वाचनपछि आयोजना गरिनेछ।

    सिद्धान्त, विचार र विगतको राजनीतिक समीक्षालगायतका विषयमा देखिन सक्ने मतभेदलाई निरन्तर छलफलबाट समाधान गर्ने र अन्तिम निष्कर्ष एकता महाधिवेशनबाट निकाल्ने सहमति भएको छ।

    सहमति पत्रले आन्दोलनलाई मूलतः शान्तिपूर्ण बनाउने उल्लेख गरे पनि आवश्यकता र परिस्थितिअनुसार सडक, संसद् र सरकारलाई समेत आन्दोलनका मोर्चाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।

    दुई पार्टीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। तर, सहमतिलाई व्यवहारमा उतार्दै नेतृत्व व्यवस्थापन, संगठनात्मक समायोजन र वैचारिक एकरूपता कायम गर्नु नवगठित पार्टीका लागि प्रमुख परीक्षा हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij