२०८३, आश्विन २२ गते

Oct 08 2026

Logo

२०८३, आश्विन २२ गते | Oct 08 2026

images
  • समाचार
  • बुटवल उद्योग वाणिज्य संघमा बढ्यो चुनावी...
News

बुटवल उद्योग वाणिज्य संघमा बढ्यो चुनावी सरगर्मी

बुटवल उद्योग वाणिज्य संघमा बढ्यो चुनावी सरगर्मी

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। असोज २६ गते हुने निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिएसँगै उद्योगी–व्यवसायीबीच चुनावी चर्चा चुलिएको हो। निर्वाचन समितिले असोज २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।

    यसैबीच नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा औपचारिक प्रवेश गरेको छ। ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने नारासहित पौडेल समूहले **‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’**लाई मुख्य संकल्प बनाएको छ।

    पौडेल नेतृत्वको प्यानलले संघलाई उद्योगी–व्यवसायीको साझा, भरोसायोग्य र प्रभावकारी संस्था बनाउने भन्दै २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। व्यवसाय दर्ता तथा नवीकरणलाई सहज बनाउनेदेखि बजारको पार्किङ तथा ट्राफिक समस्या, उद्योग–व्यवसायको सुरक्षा, बैंक तथा वित्तीय संस्थासँगको समन्वय, भन्सार सहजीकरण, डिजिटल व्यापार र स्थानीय उत्पादनको बजार विस्तारसम्मका विषयलाई एजेन्डा बनाइएको छ।

    पौडेल प्यानलमा को–को ?

    पौडेल नेतृत्वको प्यानलबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल उम्मेदवार बनेका छन्।

    प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) रहेका छन्।

    कार्यसमिति सदस्यतर्फ एसोसिएटमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे , ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार छन्।

    त्यस्तै वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी, महिला सदस्यतर्फ रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय चुनावी मैदानमा छन्।

    अर्को प्यानलको नेतृत्व कसले गर्ला ?

    यो समाचार तयार पार्दासम्म अर्को पक्षले भने आफ्नो प्यानल र उम्मेदवारहरूको औपचारिक घोषणा गरिसकेको छैन। तर संघको नेतृत्वका लागि यसअघि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका दिनेशप्रसाद श्रेष्ठ तथा हालका वाणिज्य उपाध्यक्ष टंकप्रसाद गैरेमध्ये एकजनाको नेतृत्वमा अर्को प्यानल बन्ने चर्चा उद्योगी–व्यवसायीबीच चलिरहेको छ।

    यसअघि पनि संघको नेतृत्वका लागि श्रेष्ठ र गैरे दुवैको नाम चर्चामा रहँदै आएको थियो। पौडेलसँगै दिनेशप्रसाद श्रेष्ठ र टंकप्रसाद गैरे नेतृत्वका आकांक्षीका रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका थिए।

    तर, कसको नेतृत्वमा अर्को प्यानल बन्ने भन्ने विषयमा अहिलेसम्म औपचारिक घोषणा नभएकाले यसलाई चर्चाकै रूपमा लिनुपर्ने अवस्था छ। अर्को पक्षले उम्मेदवार सार्वजनिक गरेपछि मात्रै प्रतिस्पर्धाको पूर्ण तस्वीर बाहिर आउनेछ।

    किन चासोमा छ यो चुनाव ?

    बुटवल उद्योग वाणिज्य संघ बुटवलको पुरानो तथा प्रभावशाली व्यावसायिक संस्था भएकाले यसको नेतृत्व चयनलाई उद्योगी–व्यवसायीले चासोका साथ हेरेका छन्। संघको नेतृत्वले निजी क्षेत्रका समस्या, बजार व्यवस्थापन, उद्योग–व्यवसायसम्बन्धी नीति तथा स्थानीय आर्थिक मुद्दामा प्रभाव पार्ने भएकाले अधिवेशनलाई व्यवसायीहरूले महत्वका साथ लिएका छन्।

    यसपटक नयाँ नेतृत्वको एजेन्डा, संघको संस्थागत कार्यशैली, व्यवसायीका तत्कालीन समस्या र बुटवलको आर्थिक भविष्य चुनावी बहसका मुख्य विषय बन्ने देखिएको छ।

    अधिवेशन असोज २३ देखि २६ गतेसम्म सञ्चालन हुँदैछ भने असोज २६ गते मतदानपछि नयाँ नेतृत्व चयन हुनेछ।

    अर्को प्यानलको नेतृत्व र उम्मेदवारको औपचारिक घोषणा हुन बाँकी रहेकाले बुटवल उद्योग वाणिज्य संघको चुनावी भिडन्तको तस्वीर अझै पूर्ण रूपमा स्पष्ट हुन बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij