२०८३, आश्विन २२ गते

Oct 08 2026

Logo

२०८३, आश्विन २२ गते | Oct 08 2026

images
  • समाचार
  • रसायनशास्त्रतर्फको नोबेल फ्रान्सका कागन र जापानका...
नोवेल पुरस्कार

रसायनशास्त्रतर्फको नोबेल फ्रान्सका कागन र जापानका सोईलाई

रसायनशास्त्रतर्फको नोबेल फ्रान्सका कागन र जापानका सोईलाई

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

    रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार ‘असमान जैविक संश्लेषणमा गैर-रैखिक प्रभाव र अटोक्याटालिसिसको खोज’का लागि उनीहरूलाई यो पुरस्कार दिने निर्णय गरेको हो।

    यी वैज्ञानिकहरूले रासायनिक प्रतिक्रियामार्फत अणुहरू निर्माण गर्दा तिनको दुईवटा मिरर इमेज अर्थात् ऐनामा देखिने उल्टो आकृतिमध्ये एउटा मात्र छनोट गर्न सक्ने विधि पत्ता लगाएका हुन्।

    के थियो शताब्दी पुरानो रहस्य?
    एमिनो एसिडजस्ता केही अणुहरू प्रकृतिमा दुई फरक रूपमा हुन्छन्, जुन हाम्रो देब्रे र दाहिने हातजस्तै एकअर्काको ‘मिरर इमेज’ हुन्। तर, जीवित जीवहरूका प्रोटिनमा यी दुईमध्ये एउटा मात्र आकृति पाइन्छ। जीवनको यस्तो रसायनशास्त्रलाई वैज्ञानिकहरू ‘होमोकायरल’ भन्छन्।

    लामो समयसम्म रसायनशास्त्रीहरूका लागि यो एउटा ठूलो रहस्य थियो। जब उनीहरूले प्रयोगशालामा यस्ता अणु बनाउने प्रयास गर्थे, तब टेस्ट ट्युबमा सधैँ दुवै आकृतिको बराबर (५०/५०) मात्रा बन्ने गर्थ्यो। तर, जीवित जीवहरूसँग अन्तरक्रिया गर्ने अणुहरू, जस्तै: औषधिको विकास गर्दा एउटा मात्र मिरर इमेजले मात्र चाहेजस्तो प्रभावकारी काम गर्ने हुनाले वैज्ञानिकहरू एउटा मात्र आकृति उत्पादन गर्न सङ्घर्षरत थिए।

    यसै रहस्यलाई यी दुई वैज्ञानिकले सुल्झाएका हुन्। सन् १९८६ मा फ्रान्सको युनिभर्सिटी पेरिस-सडका हेनरी कागनले रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्ने नयाँ तरिका पत्ता लगाए, जसबाट एउटा मिरर इमेजको मात्रा पहिले सोचिएभन्दा धेरै बढाउन सम्भव भयो।

    त्यसपछि जापानको टोकियो युनिभर्सिटी अफ साइन्सका केन्सो सोईले यसलाई अर्को चरणमा पुर्‍याए। सन् १९९५ मा उनले ‘होमोकायरल’ बन्न सक्ने पहिलो रासायनिक प्रतिक्रियाको डिजाइन गरे र अन्ततः सन् २००३ मा सफलता प्राप्त गरे।

    उनले यस्तो प्रतिक्रिया प्रस्तुत गरे जहाँ दुईमध्ये एउटा मात्र सम्भावित ‘मिरर इमेज’ बनेको थियो। जीवनको प्राकृतिक प्रक्रियाबाहेक कसैले पनि प्रयोगशालामा यस्तो सफलता हासिल गरेको यो पहिलोपटक थियो।

    रसायनशास्त्रतर्फको नोबेल समितिका अध्यक्ष हेनर लिन्केले भनेका छन्, ‘हेनरी कागन र केन्सो सोईले एक शताब्दीभन्दा पुरानो रासायनिक रहस्यको समाधान दिएका छन्: कसरी होमोकायरलिटी स्वतःस्फूर्त रूपमा उत्पन्न हुन सक्छ। उनीहरूले विकास गरेका रासायनिक प्रतिक्रियाहरू उत्कृष्ट छन्।‘

    उनीहरूको यो खोज विशेषगरी औषधि निर्माण गर्ने रसायनशास्त्रीहरूका लागि निर्णायक साबित भएको छ।

    विजेताहरूले १ करोड २० लाख स्वीडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) पुरस्कार रकम प्राप्त गर्नेछन्।

    यस वर्षको नोबेल पुरस्कार घोषणामार्फत सोमबार चिकित्साशास्त्र र मंगलबार भौतिकशास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुने कार्यतालिका छ। गत वर्ष (सन् २०२५) को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ठूलो मात्रामा ग्यास भण्डारण गर्न सक्ने नयाँ आणविक संरचना विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij