बुटवल । बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरिश्वर शर्मा पौडेल नेतृत्वको नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।
सोमबार आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै बुटवलको खस्किँदो व्यापारिक गतिविधि सुधार गर्न नयाँ योजनासहित अघि बढ्न आग्रह गरे।
संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए।
पदभार ग्रहणपछि अध्यक्ष पौडेलले संघलाई उद्योगी व्यवसायीको हकहित संरक्षण र औद्योगिक विकासका लागि थप क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे। उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले भविष्यको बुटवल कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोणसहित औद्योगिक तथा व्यावसायिक विकासको योजना बनाउनुपर्ने बताए। व्यवसायमैत्री वातावरण निर्माणका लागि उपमहानगरपालिकाले आवश्यक पहल गरिरहेको पनि उनले उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
संघका निवर्तमान अध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीको हकहित र उद्यमशीलता विकासका लागि सहकार्य गर्दै काम गरेको बताए। उनले आगामी दिनमा पनि संस्थागत तथा व्यावसायिक विकासका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष अर्यालले संघका पूर्वअध्यक्ष, आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्य र कर्मचारीलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे, सचिवमा दीपक चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल निर्वाचित भएका छन्।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो।
