२०८३, आश्विन २२ गते

Oct 08 2026

Logo

२०८३, आश्विन २२ गते | Oct 08 2026

images
  • समाचार
  • व्यवसायदेखि समाजसेवासम्म सक्रिय पौडेल उवासंघ अध्यक्षको...
News

व्यवसायदेखि समाजसेवासम्म सक्रिय पौडेल उवासंघ अध्यक्षको दौडमा

व्यवसायदेखि समाजसेवासम्म सक्रिय पौडेल उवासंघ अध्यक्षको दौडमा

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • बुटवल । अस्पताल, उद्योग तथा बुटवलको पाँचतारे होटल हायात प्लेसलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालक नरिश्वर शर्मा पौडेल बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बनेका छन्।

    व्यवसायमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी तथा व्यवसायिक अवसरसँग जोड्दै आएका पौडेल सफल व्यवसायीसँगै जनप्रतिनिधि तथा समाजसेवीका रूपमा समेत सक्रिय छन्। उनी हाल बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व वाणिज्य उपाध्यक्षसमेत हुन्।

    बागलुङको तत्कालीन हुग्दीशिर गाविस–२, हालको बरेङ गाउँपालिका–२ बाट सानो किराना तथा कपडा पसलबाट व्यवसाय सुरु गरेका पौडेल २०६४ सालमा बुटवल आएका थिए। बुटवल आएपछि पनि सामान्य किराना पसलबाटै व्यवसाय अघि बढाएका उनले निरन्तरको मेहनत र व्यवसायिक विस्तारसँगै अहिले अस्पताल, उद्योग तथा पाँचतारे होटल हायात प्लेसलगायत विभिन्न व्यवसायिक प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनमा संलग्न छन्।

    व्यवसायसँगै सामाजिक सेवामा समेत रुचि राख्ने पौडेलले धर्मशाला, काजकिरिया घर, धारा–पौवालगायतका सामाजिक संरचना निर्माणमा योगदान पुर्‍याएका छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनेहरूलाई उपचारको व्यवस्था मिलाउनेदेखि विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।

    कान्ति माध्यमिक विद्यालयका संरक्षकसमेत रहेका पौडेलले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्। विद्यालयको शैक्षिक उन्नयन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

    राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय पौडेल हाल बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष छन्। जनप्रतिनिधिका रूपमा जनताको काममा सक्रिय रहँदै आएका पौडेलले व्यवसाय, सामाजिक सेवा र सार्वजनिक जिम्मेवारीलाई सँगसँगै अघि बढाउँदै आएका छन्।

    बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले उद्योगी–व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको संरक्षण, संघको संस्थागत सुदृढीकरण तथा बुटवलको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने योजनासहित बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

    पौडेलले बुटवलको सुस्ताउँदै गएको बजारलाई पुनः चलायमान बनाउने, लगानीको वातावरण निर्माण गर्ने र बुटवललाई आर्थिक तथा व्यवसायिक केन्द्रका रूपमा थप विकसित गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दै निजी क्षेत्रका समस्या समाधानमा पहल गर्ने उनको भनाइ छ।

    कर, बैंकिङ, पूर्वाधार, औद्योगिक क्षेत्र, बजार व्यवस्थापन तथा व्यवसायिक सुरक्षालगायतका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता पौडेलले जनाएका छन्। लामो व्यवसायिक अनुभवलाई संघको नेतृत्वसँग जोड्दै उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने उनले बताएका छन्।

    पौडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै बुटवल उद्योग वाणिज्य संघको चुनावी माहोल एकाएक तातेको छ। उनले विभिन्न क्षेत्र र समुदायलाई समेटेर समावेशी टिमसहित चुनावी मैदानमा उम्मेदवारी दिएका छन्।

    बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन असोज २३ गतेदेखि सुरु हुँदैछ। अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij