बुटवल — विभाजित कम्युनिष्ट आन्दोलनलाई नयाँ आधारमा एकताबद्ध गर्ने पहललाई अघि बढाउँदै उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिष्ट पार्टी, समूह र राजनीतिक धारासँग एकता तथा सहकार्यका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ।
पार्टीको आज बसेको बैठकले वसन्त श्रेष्ठको संयोजकत्वमा असल खड्का, भेषराज भुसाल, शरद ओली र कपिल भट्ट सदस्य रहेको वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।
केही दिनअघि सम्पन्न पार्टीको प्रथम राष्ट्रिय भेलाले नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, विगतका अनुभव र आगामी राजनीतिक दिशामाथि समीक्षा गर्दै विभाजित कम्युनिष्ट शक्तिलाई नयाँ वैचारिक तथा राजनीतिक आधारमा संगठित गर्ने विषयलाई प्राथमिकतामा राखेको थियो। भेलाले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, आन्दोलनका उपलब्धिको रक्षा गर्ने र जनआधारित नयाँ राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अघि बढ्ने निष्कर्षसमेत अघि सारेको थियो।
राष्ट्रिय भेलाबाट तय गरिएको उक्त राजनीतिक दिशालाई व्यवहारमा अघि बढाउने क्रममा वार्ता समिति गठन गरिएको पार्टीले जनाएको छ। समितिले विभिन्न कम्युनिष्ट पार्टी, समूह तथा धारासँग संवाद गरी पार्टी एकता, सहकार्य, साझा राजनीतिक मुद्दा र संयुक्त पहलकदमीका सम्भावनाबारे छलफल गर्नेछ।
नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न कालखण्डमा विभाजन र पुनःएकताको प्रक्रियाबाट गुज्रिँदै आएको छ। पछिल्लो समय कम्युनिष्ट शक्तिहरूबीच देखिएको विभाजन, राजनीतिक असन्तुष्टि र नयाँ पुस्तामा बढ्दो वैकल्पिक राजनीतिक खोजीका बीच आफूहरूले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता महसुस गरेको उमा भुजेल नेतृत्वको नेकपाका नेताहरूको भनाइ छ।
पार्टीका नेताहरूले तत्कालीन राजनीतिक समीकरण वा शक्ति विस्तारभन्दा पनि कम्युनिष्ट आन्दोलनको पुनर्गठन, वैचारिक स्पष्टता र जनतासँग जोडिएको राजनीतिक शक्ति निर्माणलाई केन्द्रमा राखेर संवाद अघि बढाउने बताएका छन्।
वार्ता समिति गठनसँगै राष्ट्रिय भेलाले अघि सारेको कम्युनिष्ट एकताको पहल अब संगठनात्मक निर्णयबाट संवाद र सहकार्यको प्रक्रियातर्फ प्रवेश गरेको छ। समितिले विभिन्न कम्युनिष्ट शक्ति र समूहसँग गर्ने संवाद तथा त्यसबाट विकसित हुने राजनीतिक सहकार्यले आगामी दिनमा एकता प्रक्रियाको स्वरूप निर्धारण गर्ने देखिन्छ।
स्मरण रहोस् , विप्लव नेतृत्वको नेकपा ( माओवादी )बाट बिद्रोह गरि उमा भुजेलको नेतृत्वमा केही दिन अगाडि मात्र नेपाल कम्युनिस्ट पार्टी गठन गरिएको थियोे ।
