गरिमा चौधरीको बलात्कारपछि हत्याप्रति पर्वत रुपन्देही सेवा समाजको तीव्र आक्रोश, दोषीलाई कडा कारबाहीको माग
भैरहवा । पर्वत रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिको आयोजनामा शनिबार तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। सिद्धार्थनगरस्थित पिसनाइट पार्टी प्यालेसमा आयोजित कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्वत रुपन्देही सेवा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्मा सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले तीजलाई केवल रमाइलो र मनोरञ्जनको पर्वका रूपमा मात्र नभई महिला अधिकार, सामाजिक जागरण र रुपान्तरणको अभियानसँग जोड्नुपर्ने बताए।
शर्माले तीज पर्वको सुरुवात तत्कालीन पितृसत्तात्मक समाजमा महिलामाथि हुने दमन र विभेदविरुद्ध गीतका माध्यमबाट आवाज उठाउने परम्परासँग जोडिएको स्मरण गरे। त्यतिबेला महिलाका अधिकार सीमित रहेको र घरभित्रै समेत विभिन्न प्रकारका दमन सहनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
“समय बदलियो, व्यवस्था बदलियो, महिलाका अधिकार पनि बढे। तर आज पनि हाम्रा छोरीहरू पूर्ण रूपमा सुरक्षित हुन सकेका छैनन्,” शर्माले भने। जन्मिनुअघि नै भ्रूण हत्या हुनेदेखि जन्मिएपछि पनि बालिका तथा महिलामाथि हिंसा, बलात्कार र हत्याका घटना भइरहनु अत्यन्तै गम्भीर विषय भएको उनले बताए।
उनले घरबाट बाहिर निस्किएकी छोरी सकुशल घर फर्किन्छिन् भन्ने सुनिश्चितता नरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। घरमा, समाजमा, कार्यालयमा तथा ड्युटीमा समेत महिला सुरक्षित हुन नसक्ने अवस्था अन्त्य गर्न राज्य र समाज दुवै गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
शर्माले हालै बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति तीव्र आक्रोश व्यक्त गरे। तीन वर्षकी अबोध बालिकामाथि भएको यस्तो जघन्य घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको भन्दै उनले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषी ठहर हुने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरे।
“तीन वर्षकी अबोध बालिका पनि सुरक्षित छैन भने हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ ?” शर्माले प्रश्न गरे। महिला तथा बालिकामाथि हुने हिंसालाई सामान्य घटनाका रूपमा नलिई यसको मूल कारण पहिचान गर्दै प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने उनले बताए।
उनले तीजको अवसरमा पर्वतका महिला दिदीबहिनीहरूलाई समेत महिला हिंसा, बालविवाह, भ्रूण हत्या, बलात्कार तथा सामाजिक विभेदविरुद्ध सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्न आग्रह गरे।
“तीज मनाऔँ, गीत गाऔँ, नाचौँ र रमाऔँ। तर अन्यायविरुद्धको आवाज पनि बुलन्द गरौँ। महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध समाजलाई जागरुक बनाउने संकल्प गरौँ,” शर्माले आग्रह गरे।
अध्यक्ष शर्माको सम्बोधन अघि समाजका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्टराई, केन्द्रीय कोषाध्यक्ष शारदा देवी रेग्मी, केन्द्रीय सदस्य यादवप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा समाजको उद्देश्य, जन्मभूमि पर्वतसँगको सम्बन्ध र अन्य क्षेत्रमा रहेर पनि आफ्नो जन्मभूमि तथा सामाजिक दायित्वलाई निरन्तरता दिनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता पर्वत रुपन्देही सेवा समाज सिद्धार्थनगरका अध्यक्ष कुमार केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका सचिव रामप्रसाद सापकोटाले गरेका थिए।
कार्यक्रम संयोजक निर्मला सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। तीजको सांस्कृतिक पक्षसँगै महिला अधिकार, सामाजिक सद्भाव र सुरक्षित समाज निर्माणको सन्देश दिँदै कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
