बुटवल उद्योग वाणिज्य संघको अधिवेशनमा विकास आयोजना सम्पन्न गर्न माग, नयाँ नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाएर उद्योग तथा व्यापारमा देखिएको मन्दी अन्त्य गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई नियन्त्रणमा राखेर मात्रै समस्याको समाधान नहुने बताएका हुन् । उद्योगधन्दा तथा व्यापारमा गिरावट आउनुका साथै बजारसमेत सुस्ताउँदै गएको उल्लेख गर्दै उनले आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रप्रति विश्वास र आशा जगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले रुपन्देही तथा आसपासका क्षेत्रका अधुरा विकास आयोजना शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन् । मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र औद्योगिक प्रदर्शनी स्थललगायतका आयोजना समयमै सम्पन्न हुनुपर्ने उनको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकारको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन् । महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले खुला भारतीय सीमाबाट उत्पन्न चुनौती, कर तथा राजस्व र लगानी सुरक्षालगायतका विषयमा सरकारले नीतिगत सुधार गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका समस्या सम्बोधन गर्न महासंघले सरकारसमक्ष ४२ बुँदे सुझाव प्रस्तुत गरेको जानकारी दिए ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा नयाँ र पुरानो पुस्ताबीच समन्वय गर्दै संस्थागत विकासका काम अघि बढाइएको बताए । उद्योगी, व्यवसायी तथा विज्ञहरूसँगको छलफलका आधारमा राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका विषयमा पहल गरिएको उल्लेख गर्दै उनले बुटवल उपमहानगरपालिकासँग सम्बन्धित विषयमा पनि संघले सहकार्य गरेको बताए ।
कार्यक्रममा महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासंघका कार्यकारिणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाका अवसरमा विभिन्न विधामा कलम चलाउने पत्रकार तथा उद्यमीहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी संघको परिसरमा संस्थापक अध्यक्ष पद्मचन्द्र श्रेष्ठको अर्धकदको शालिक महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अनावरण गरे । संघले २०४१ सालमा पहिलोपटक प्रकाशन गरेको स्मारिकाको पुनःमुद्रण तथा ‘हाम्रो बुटवल स्मारिका–२०८३’ समेत विमोचन गरिएको थियो ।
नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा
संघको २६औँ अधिवेशनसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । अध्यक्ष, पदाधिकारी तथा सदस्य पदमा दुई समूह प्रतिस्पर्धामा उत्रिएपछि संघको निर्वाचनलाई उद्योगी–व्यवसायी वृत्तमा चासोका साथ हेरिएको छ ।
एकातर्फ संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे नेतृत्वको समूह छ भने अर्कोतर्फ पूर्व वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल नेतृत्वको समूह चुनावी मैदानमा छ । दुवै पक्षले आ–आफ्नो समूहबाट उम्मेदवारी अघि बढाउँदै नेतृत्वका लागि तयारी तीव्र पारेका छन् ।
संघको संस्थागत नेतृत्व र अनुभवलाई प्राथमिकता दिने समूहका रूपमा गैरे पक्षलाई हेरिएको छ भने सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय युवाहरूको समर्थन पौडेल पक्षले पाएको देखिन्छ । गैरेसँग संघभित्र रहेर संस्थागत काम गरेको अनुभव छ भने पौडेल सामाजिक गतिविधि र उद्यमशीलतामार्फत आफ्नो पहिचान बनाएका व्यवसायी हुन् ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको प्रतिस्पर्धाले संघको आगामी कार्यदिशा, उद्योगी–व्यवसायीका समस्या समाधान तथा बुटवलको आर्थिक विकासका सवालमा कस्तो प्राथमिकता तय गर्छ भन्ने चासो बढाएको छ ।
