२०८३, आश्विन २३ गते

Oct 09 2026

Logo

२०८३, आश्विन २३ गते | Oct 09 2026

images
  • समाचार
  • बुटवल उद्योग वाणिज्य संघमा चुनावी प्रतिस्पर्धा...
समाचार

बुटवल उद्योग वाणिज्य संघमा चुनावी प्रतिस्पर्धा : उद्योगी–व्यवसायीका मुद्दासहित गैरे प्यानल मैदानमा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी प्रतिस्पर्धा : उद्योगी–व्यवसायीका मुद्दासहित गैरे प्यानल मैदानमा

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशनलाई लक्षित गर्दै टंकप्रसाद गैरे नेतृत्वको संयुक्त प्यानलले उम्मेदवारी घोषणा गरेको छ। ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहित मैदानमा उत्रिएको प्यानलले उद्योगी–व्यवसायीका समस्या समाधानदेखि बुटवलको आर्थिक विकाससम्मका विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।

    प्यानलले बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगी–व्यवसायी प्रभावित भइरहेको उल्लेख गर्दै संघलाई केवल औपचारिक संस्थाका रूपमा नभई व्यवसायीको भरोसायोग्य साथी र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

    गैरे प्यानलले संयुक्त तथा समावेशी नेतृत्वमार्फत उद्योगी–व्यवसायीको सम्मान र संरक्षण, व्यवसायमैत्री नीति तथा वातावरण निर्माण, लगानी र उद्योगको सुरक्षा, बुटवलको पूर्वाधार विकास, बजार विस्तार तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ।

    त्यस्तै डिजिटल तथा आधुनिक व्यवसायको प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तार, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकास र संघलाई पारदर्शी तथा परिणाममुखी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता पनि प्यानलले अघि सारेको छ।

    प्यानलले ‘आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्व’ भन्ने संकल्पसहित ‘२१औँ शताब्दीको नयाँ सोच, संयुक्त नेतृत्व’लाई आधार बनाएको जनाएको छ। स्वास्थ्य, शिक्षा, उद्योग र व्यापारलाई समृद्ध बुटवलको आधारका रूपमा अघि बढाउँदै उद्योगी–व्यवसायीको हकहितका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने उसको प्रतिबद्धता छ।

    अध्यक्षका उम्मेदवार टंकप्रसाद गैरेले आफू कुनै राजनीतिक स्वार्थबाट नभई नितान्त उद्योगी–व्यवसायीको हितमा काम गर्ने बताएका छन्। विगतमा पनि व्यवसायीको हितमा काम गर्दै आएको र त्यसकै आधारमा आमव्यवसायीको विश्वास आफूले पाएको उनको भनाइ छ।

    यसअघि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले पनि उम्मेदवारी घोषणा गरिसकेको छ। पौडेल प्यानलले ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ तथा ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’लाई आफ्नो अभियानको मुख्य नाराका रूपमा अघि सारेको छ।

    दुवै पक्षले उद्योगी–व्यवसायीको हित, व्यवसायिक वातावरण सुधार र बुटवलको आर्थिक विकासलाई प्राथमिकतामा राखेपछि संघको निर्वाचनमा नेतृत्वको कार्यशैली, प्रतिबद्धता र आगामी कार्यदिशा मुख्य बहसको विषय बनेको छ।

    संघको नयाँ नेतृत्व सर्वसम्मत चयन हुन नसकेपछि यही असोज २६ गते निर्वाचन हुँदैछ। निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा प्रतिस्पर्धा हुने भएपछि बुटवलका उद्योगी–व्यवसायीबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij