बुटवल । रूपन्देहीका उद्योगीहरूले करको भार, जग्गाको अभाव, बैंक ऋणमा कठिनाइ र नीतिगत जटिलता समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ वार्षिक साधारणसभामा उद्योगीहरूले उद्योगमैत्री नीति, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माणमा जोड दिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै उद्योगको विकासबिना समग्र आर्थिक विकास सम्भव नहुने बताउनुभयो। उहाँले बैंकको ब्याजदर घटे पनि उद्योगीले सहज रूपमा ऋण पाउन नसकेको, नीतिगत जटिलता कायम रहेको र औद्योगिक क्षेत्रको व्यवस्थापनमा समस्या रहेको उल्लेख गर्नुभयो। उद्योगको स्थायित्वका लागि आधुनिक प्रविधिको प्रयोग र प्रदूषण नियन्त्रणमा समेत उहाँले जोड दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी र आर्थिक गतिविधि विस्तार हुने उहाँको भनाइ थियो। उहाँले सरकारका कमजोरी स्वीकार गर्दै सुधार गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय तहले गर्न खोजेका काममा विभिन्न अवरोध रहेको उल्लेख गर्दै स्थानीय सरकारका काममा रचनात्मक सुझाव र सहयोग गर्न उद्योगी तथा सरोकारवालालाई आग्रह गर्नुभयो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै स्थानमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको र नीतिगत जटिलताले व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउनुभयो। उहाँले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो।
साधारणसभामा उद्योगी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा देखिएका करसम्बन्धी जटिलता, जग्गाको अभाव र प्रशासनिक समस्याबारे धारणा राखेका थिए। उनीहरूले औद्योगिक विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको औँल्याए।
कार्यक्रममा उद्योगी मेघराज भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, संघका अध्यक्ष परिषद्का संयोजक तेजकुमार पाठक, संघका पूर्वअध्यक्ष तथा लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलम, राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका अध्यक्ष महेन्द्र उपाध्याय, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे र श्रम संस्कृति पार्टीका अध्यक्ष छविलाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गर्नुभएको थियो। वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत मन्तव्य र प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
साधारणसभाले कोषाध्यक्ष विशाल बेल्वासेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र महासचिव सुमन बस्यालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा संघको आजीवन सदस्यता प्राप्त गर्ने तथा साधारणसभा सम्पन्न गर्न सहयोग पुर्याउने उद्योगीहरूलाई सम्मानसमेत गरिएको थियो।
