बुटवल, वैशाख १२, बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयले आ.व. २०८२/०८३ को विज्ञान विषय प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले दुई दिने सघन तालिम कार्यशाला सम्पन्न गरेको छ।
विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम वैशाख ११ गते बिहान ६:३० बजेबाट सुरु भएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा सम्पन्न भएको हो भने तनहुँबाट आउनुभएका प्रशिक्षक श्रीकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएको थियो।
तालिममा AI को प्रयोगमार्फत कक्षाकोठामा विद्यार्थीलाई कसरी प्रभावकारी रूपमा सहजीकरण गर्ने, प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई कसरी सहज, आकर्षक र परिणाममुखी बनाउने भन्ने विषयमा प्रयोगात्मक ढाँचामा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा Global Quality Council का Country Director सुदिप शर्माले ISO प्रमाणित पहिलो सामुदायिक विद्यालय बन्न सफल कान्ति माध्यमिक विद्यालयलाई बधाई व्यक्त गर्दै Quality Education Inspection, विद्यार्थी मूल्याङ्कन प्रणाली तथा विद्यालयका विभिन्न पदाधिकारीहरूको भूमिका र जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो।
२०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै कक्षाकोठामा AI को प्रयोगले शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन विज्ञान विषयका कोअर्डिनेटर मोहन भट्टराईले गर्नुभएको थियो। पहिलो दिनको सत्रमा सिकाइ सहजीकरणसँगै दोस्रो दिनका लागि गृहकार्यसमेत दिइएको थियो।
दोस्रो दिनको बिहानी सत्रमा विद्यालयका अनुसन्धान विभाग प्रमुख डा. उमेश न्यौपानेले विद्यार्थी, शिक्षक, अभिभावक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिबीचको समन्वयकारी भूमिकाबारे प्रकाश पार्दै विद्यार्थीको मनोविज्ञानअनुसार शिक्षण गर्ने विधिबारे सहजीकरण गर्नुभयो।
त्यसैगरी दोस्रो दिनको दोस्रो सत्रमा शिक्षकहरूले विषयगत रूपमा आफ्नो सिकाइ अनुभवसहित परियोजना कार्य प्रस्तुत गरेका थिए। नेपाली विषयका विभागीय प्रमुख राजेन्द्र पौडेलले प्रतिवेदनसहित प्रस्तुति दिनुभएको थियो भने अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र कम्प्युटर विषयका शिक्षकहरूले आ–आफ्ना अनुभव र अभ्यास प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद वझा लगायत पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमलाई उपयोगी, व्यवहारिक र समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम २०८३ वैशाख १२ गते साँझ ४:०० बजे समापन भएको थियो।
