बुटवल, वैशाख ३१ — बुटवल–४ स्थित कान्ति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। फोर जीपीए प्राप्त गर्ने चार जना विद्यार्थी तथा ए प्लस ल्याउने अन्य विद्यार्थीहरूलाई खादा, मायाको चिनो र नगदसहित सम्मान गरिएको हो।
यस वर्ष फोर जीपीए ल्याउने विद्यार्थीहरूमा युगल पन्थी, आयुष घिमिरे, अनिश गौतम र असिम पुुरी रहेका छन्। उनीहरूको उत्कृष्ट सफलताले विद्यालय परिवारमा खुसी र गौरवको वातावरण सिर्जना गरेको छ।
विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले सामुदायिक विद्यालयले हासिल गरेको यस्तो उत्कृष्ट नतिजा सम्पूर्ण बुटवलकै लागि गर्वको विषय भएको बताउँदै विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगको उच्च प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई भविष्यमा अझ उच्च लक्ष्य निर्धारण गर्दै निरन्तर प्रगतिको यात्रामा अघि बढ्न प्रेरित गर्नुभयो।
प्रधानाध्यापक ज्ञवालीले विद्यालयको सफलता शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सामूहिक प्रयासको प्रतिफल भएको उल्लेख गर्दै आगामी वर्षमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यो सफलता सम्पूर्ण विद्यालय समुदायका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरिश्वर शर्मा तथा शिक्षा प्रेमी समाजसेवी जीवनप्रसाद बजगाईंले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
फोर जीपीए प्राप्त गर्ने विद्यार्थीहरूले कक्षा ११ र १२ को अध्ययन पनि कान्ति माध्यमिक विद्यालयमै निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा कक्षा ११ मा अध्ययनरत पुराना विद्यार्थीहरूले समेत एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।
विद्यालयका अनुसार यस वर्ष एसईईमा ५१४ विद्यार्थी सहभागी भएकामध्ये ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। चार जनाले फोर जीपीए ल्याउनु विद्यालयका लागि विशेष उपलब्धि भएको विद्यालयले जनाएको छ।
सम्मानित विद्यार्थीहरूले आफ्नो सफलताको श्रेय अभिभावक, शिक्षक र विद्यालय परिवारलाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कान्ति माध्यमिक विद्यालयको यो सफलता सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण बनेको छ। बुटवलको शैक्षिक क्षेत्रमा विद्यालयले कायम गरेको यो उपलब्धिले थप उत्साह र विश्वास जगाएको छ।
