२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
प्रलेसद्धारा आयोजित कार्यक्रममा प्रस्तुत अवधारणा-पत्र

कला, साहित्य र श्रमबीचको अन्तरसम्बन्ध

कला, साहित्य र श्रमबीचको अन्तरसम्बन्ध

‘कलासाहित्य र श्रमबिचको अन्तरसम्बन्ध’ शीर्षकले विराट क्षेत्र ओगटेको छ । कलाका विविध शाखा रहेका छन् । कलाअन्तर्गत साहित्यका विविध क्षेत्र र ललितकलाका विविध आयम रहेका छन् । यी सबै श्रमका उत्तरदान हुन् ।

सोमवार, श्रावण २० २०८२
सोमवार, श्रावण २० २०८२
  • आमुख
    ‘कलासाहित्य र श्रमबिचको अन्तरसम्बन्ध’ शीर्षकले विराट क्षेत्र ओगटेको छ । कलाका विविध शाखा रहेका छन् । कलाअन्तर्गत साहित्यका विविध क्षेत्र र ललितकलाका विविध आयम रहेका छन् । यी सबै श्रमका उत्तरदान हुन् । सौन्दर्य चिन्तकहरूले धरतीका अनगिन्ती प्राणीहरूमध्ये मान्छेले नै प्रकृतिसँगको सङ्घर्षमा आफूलाई विजित गराउन सक्नुमा श्रमको भूमिका रहेको बताएका छन् । श्रमको कारणले मान्छेका हात र मस्तिष्कको मात्र विकास भएन कि भाषाको पनि विकास भएको मानिएको छ । मानव समाजको उन्नयनमा कलासाहित्य र श्रमका बिचमा निरन्तर र अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । कला र साहित्यका विभिन्न क्षेत्रमा श्रमको भूमिकाको सन्दर्भमा यहाँ सङ्क्षिप्तमा उल्लेख गर्ने जमर्को गरिएको छ :

    सभ्यता र श्रम
    जीवविज्ञान र समाजशास्त्रका ज्ञाताहरूले श्रम प्रक्रियामा मान्छेको मस्तिष्क, स्नायु तन्तुहरू र मांशपेशीहरू एकसाथ क्रियाशील हुन जाने बताउँछन्, जसले भौतिक–आत्मिक गतिशीलता बढ्न जान्छ । स्वस्थ भौतिक अवस्थाले स्वस्थ चेतन अवस्थाको निर्माण हुन्छ । चेतन अवस्था भौतिक अवस्थाको अभिव्यक्ति हो । फ्रेडरिक एङ्गेल्स (सन् १८२०–१८९५) भन्नुहुन्छ, “श्रम मानव जीवनको पहिलो आधारभूत सर्त हो । यो त्यो स्तरसम्म सही हो कि निश्चित अर्थसम्म मान्नुपर्दछ कि श्रमले नै मानवको सिर्जना गरेको हो । (१) मान्छे नामक प्राणी धरतीका अन्य प्राणीभन्दा पृथक सामाजिक प्राणीको रूपमा निर्माण हुनुमा श्रम नै एक मात्र कारण भएको एङ्गेल्सको ठोकुवा रहेको छ । श्रमकार्यमा लाग्दै गर्दा बाँदर प्रजातिको एउटा जनावर वा प्राणी अरू सम्बन्धित प्राणीबाट पृथक हुँदै गयो । उसले कालान्तरमा पछाडिका खुट्टाले मात्र टेकेर हिंड्न–दौडिन थाले । अगाडिको खुट्टा (अब हात भन्न थालिएको छ) अरू काम (हतियार चलाउन, रुख चढ्न, खानेकुरा टिप्न) प्रयोग हुन थाल्यो । हातको अत्यधिक प्रयोगले त्यो अङ्गको विकास मात्र भएन; तीब्रतामा मस्तिष्कको पनि विकास हुन थाल्यो । 

    526184463_24306910642274740_5974582161702108793_n.jpg
    Photo : Kushal Bogati 

    मानव चेतनाको विकासको सन्दर्भमा फ्रेडरिक एङ्गेल्स भन्नुहुन्छ, “माजव जातिको विकास गर्ने दिमाग थिएन, बरु हातहरू नै थिए । जसले दिमागको विकास गरेको थियो । (२) ढुङ्गाका चुच्चे हतियारको प्रयोग नै चेतनाको विकासको बाटोमा दोर्याउने चालक शक्ति बन्न गयो । उभिन हात वा अगाडिको खुट्टाले टेक्नुपर्ने र हातलाई उत्पादन, निर्माण र सुरक्षात्मक श्रम–कार्यमा लगाउन नसकेको भए दिमाग वा मस्तिष्कको विकास पनि सम्भव थिएन । श्रम कार्यको प्रभाव मस्तिष्कको आकार, तौल र संरचनामा पर्दै गयो । शारीरिक संरचनामा परेको परिवर्तनसँगै घाँटी, जिब्रो, ओठ, स्वर नली  सबैतिर पर्नु स्वभाविक प्रक्रिया थियो । विदितै कुरा हो कि वस्तुको विकास सामान्यबाट जटिलतातिर र निम्नबाट उच्चतिर हुँदै अगाडि बढ्दछ । मान्छे आफैँ प्रकृतिको अभिन्न अङ्ग हुँदा हुँदै पनि प्रकृतिलाई नियन्त्रण गर्ने र त्यसलाई आफ्नो अनुकूलमा ढाल्ने; प्रकृतिसँगको सङ्घर्षमा विजित हुन सक्ने नयाँ तथा जटिल खालको ‘प्रकृति’ बन्न पुग्यो ।

    श्रमको कारणले प्रकृतिलाई नियन्त्रण गर्दैै र आफूलाई पनि बदल्दै मान्छे आजको अवस्थामा आइपुगेको हो । चेतनाको वृद्धिले मान्छेको अनुभूतिको गहिराइलाई बढाउँदै गयो । किनकि चेतनाको गहिराइले नै अनुभूतिको स्तर निर्धारण गर्दछ । अनुभूति र बोधको गहिराइ नभएसम्म वास्तविक अर्थमा सिर्जना सम्भव हुँदैन । यो नै चेतना तथा सिर्जनाको एक मात्र प्रेरक शक्ति हो ।

    श्रम–निष्ठा
    श्रम–कार्य नैतिक प्रश्न मात्र नभएर शारीरिक र मानसिक विकासको एक मात्र प्रेरक शक्ति हो भन्ने ज्ञान र आत्मसातीकरणको प्रक्रिया कमजोर रहेको छ । सामन्ती समाजको अलौकिक शक्तिप्रति भरोसा र पुँजीवादी समाजको लुटपाट र शक्तिको दुरुपयोग (जसलाई उनीहरू विकसित सभ्यता भन्छन्) लाई नै सिर्जनात्मक क्षमता ठान्ने प्रवृत्तिको कारण सिर्जनाको प्रेरक शक्ति श्रमप्रतिको निष्ठाभाव कमजोर छ, जसले श्रम र साधनालाई उपेक्षा गर्छ । जसले सर्जकलाई अलौकिक सत्ता वा राजकीय सत्तामुखी बन्न प्रेरित गरिरहेको छ । कार्ल मार्क्स (सन् १८१८–१८८३) भन्नुहुन्छ, “उत्पादनका साधनहरूमाथि सार्वजनिक स्वामित्वअन्तर्गत हरेक व्यक्तिको श्रम क्रान्ति र समाजको जागि हुन्छ । परन्तु धेरैजसो मान्छेको लागि श्रम अझैसम्म जीवनको महत्वपूर्ण आवश्यकता बन्न सकेको छैन ।” मान्छेको चिन्तन तथा धारणाहरू उसको मस्तिष्कका गतिविधिहरू र त्यसलाई प्रक्रियागत कर्म (processing) गर्ने स्नायु (Nerves) को रूपमा रहेको भौतिक प्रणाली र त्यसको कार्यक्षमताको योगफल हो । चिन्तक रेने डेकार्टस (सन् १५९६–१६५०, फ्रेन्च) ले ‘चेतना वस्तुभन्दा अलग रहेर काम गर्छ’ भनेका थिए । उनको धारणाअनुसार चेतना शरीरभित्र रहेर पनि भिन्न र अलग रूपमा काम गर्छ । गणितज्ञसमेत रहेका देकार्तेका धारणालाई पछिल्लो वैज्ञानिक अनुसन्धानले खारेज गरिसकेको छ ।

    प्रसिद्ध आख्यानकार आन्तोभ चेखव (सन् १८६०–१९०४, रुसी) ले’ प्रत्येक मान्छेले आफूसँग भएको एक टुक्रा जमिनमा जतिसक्दो श्रम गरिदिने हो भने हाम्रो यो विश्व कति सुन्दर हुन्थ्यो होला’ भनेका थिए । उनले माटो र श्रमलाई सौन्दर्य–मूल्यसँग जोडे । श्रमिकले कसरी काव्यात्मक अनुभूति गर्दछ भन्ने कुराका वाणी थिए चेखव । चेखव भन्छन्, “तँ किन मान्छे बन्न डराउँछस् ? तँ किन आफूभन्दामाथि बसेको मान्छेको मात्र कदर गर्छस ? र, आफूभन्दा तलको मान्छेलाई हेंला गर्छस् ? मानपदवी र टम्म भरिएको थैलीमा हुन्छ र सुख ! ओहोदा र उपाधिहरूको नोकरशाही सिंढीमा तँ किन यसरी काँप्दै सकी–नसकी चढ्दै छस् हँ ?” सिर्जनाको लागि सत्तामोह, चाकरी, आलस्य, निराशा होइन; स्वाभिमान र श्रम जीवन आवश्यक भएकोप्रति चेखवमा गहिरो बुझाइ थियो । हामी सबैलाई थाहा छ कि सिर्जना आफैँमा श्रमको गीत हो । 

    साहित्य र कलाको स्रोत नै श्रम रहेको माओ त्से तुङको बुझाइ रहेको छ । माओ भन्नुहुन्छ, “अन्तिम विश्लेषणमा सबै साहित्य र कलाको सोत के हो ? विचारधारात्मक साहित्य र कलाका कृतिहरू कुनै खास सामाजिक जीवनले मानव मस्तिष्कमा पार्ने छापका उपजहरू हुन् । (३) माओले ‘खुश्चेभको नक्कली कम्युनिस्ट र विश्व इतिहासको लागि शिक्षा’ लेखमा श्रम–संस्कृति निर्माण गरेर नोकरशाही प्रवृत्ति, संशोधनवाद र कठमुल्लावादलाई रोक्न सकिने बताउनुभएको थियो । सो सम्बन्धमा माओ भन्नुहुन्छ, “सामूहिक उत्पादक श्रममा कार्यकर्ताहरूको सहभागिताको प्रक्रिया जारी राख्नुपर्दछ । हाम्रो पार्टीका कार्यकर्ताहरू साधारण श्रमिक हुन् । ती जनताको पीठमा चढ्ने महाराजा होइनन् । सामूहिक उत्पादक श्रममा भाग लिएर कार्यकर्ताहरू श्रमिक जनतासँग व्यापक र निरन्तर निकट–सम्बन्ध कायम गर्छन् । एउटा समाजवादी व्यवस्थाको लागि यो एउटा आधारभूत महत्वको उपाय हो । यसले नोकरशाही प्रवृत्तिलाई रोक्ने, संशोधनवाद र कठमुल्लावादलाई रोकथाम गर्न भूमिका खेल्दछ । (४) उहाँले कृषिमा  ‘ताचाईबाट सिक’ भन्नुभएको थियो । यति बेला नेपाल (हामी) लाई स्विजरल्यान्ड वा इजरेल सिँगापुर हैैन, नेपाली ताचाई चाहिएको छ ।

    श्रम र अर्थनीति
    किसान, मजदुर तथा श्रमिक वर्गका मान्छेहरू–प्रवृत्तिगत रूपमा अन्याय, शोषण नगर्ने र त्यसको प्रतिरोध गर्ने हुन्छन् । त्यसको स्रोत वा कारण उनीहरूमा निहीत श्रम–संस्कृति हुनु हो । श्रम–संस्कृतिले व्यक्तिलाई सामूहिकता र सत्यतातिर प्रवृत्त गराउँछ । नेपाल कम्युनिस्ट पार्टीको अर्थ–प्रणालीसम्बन्धी दस्ताबेजमा भनिएको छ, “कम्युनिस्ट नेताहरू आर्थिक विषयमा सहभागी हुँदा केवल नीतिगत पक्षमा मात्र होइन, उत्पादन कार्यमा पनि सहभागी बन्नुपर्दछ । नेताहरूको उत्पादन सामूहिक उत्पादन–प्रणालीअन्तर्गत हुन्छ भने त्यसको स्वामित्व पनि सामूहिक र संस्थागत स्वामिस्वमा हुनुपर्छ । (५) नेपालको कम्युनिस्ट आन्दोलनमा श्रम र श्रमिक वर्गप्रति आस्थाभाव सृजना गर्ने, श्रममा जोडिएर वा उत्पादन सङ्घर्षको नेतृत्व गर्ने विषयमा समस्या रहेका छन् । उत्पादनको आंशिक पहलहरू नीतिगत अस्पष्टताका कारणले असफल भएका छन् । चीनमा माओले उत्पादनको लागि सङ्घर्षलाई ज्ञानको एउटा स्रोत भन्नुभएको थियो । 

    कम्युनिस्ट पार्टी, कार्यकर्ता, सेनासहितको ठूलो समूह अनुत्पादक वा उत्पादन कार्यमा नजोडिंदा परजीवी वर्गमा स्खलित हुन जान्छ । त्यसले गर्दा जनता र राज्यमा आर्थिक दबाब पर्दछ । त्यही चेतनाले नोकरशाही संयन्त्रको विकास भएर जनतासँग मतभेद सुरु हुन्छ । उत्पादनबिनाका उपभोग आफैँमा परजीवी प्रवृत्ति हो । त्यसैले पार्टी र फौजलाई उत्पादक शक्तिमा बदल्न आवश्यक हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा एक दिन पनि समूहमा बाँच्न नसक्ने, सामूहिक उत्पादनमा श्रम नगर्ने र अरूलाई कथित सामूहिकताको पुराण वाचन गर्ने रोग बलशाली रहेको छ । यसर्थ, आजको समाजवादी–मार्क्सवादी सिर्जना कर्मले श्रम संस्कृतिलाई परजीवी वर्ग उत्पादन गर्ने मुहानकै विरुद्धमा सोझ्याउन आवश्यक छ । उक्त दस्तावेज भन्छ, ‘कुनै पनि उत्पादन कार्यमा सहभागी नभईकन आर्थिक आवश्यकता र वितरणमा मात्र जोड दिनु भनेको संस्थागत पुँजीको असमान वितरण गर्नु वा संस्थागत उत्पादनको शोषण हुन पुग्दछ । उत्पादक श्रमबिनाको वितरण एक प्रकारले राजकीय नोकरशाही पुँजीको नै नयाँ रूप मात्र हुन पुग्दछ । (६) उत्पादन कार्यलाई समाजको संस्कारको सरमा उठाउन सिर्जना–कर्मले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

    श्रम र ज्ञान
    माओले मान्छे र प्रकृतिबिचको सङ्घर्षलाई ज्ञानको स्रोत भन्नुभएको छ । श्रम नगरी ज्ञान हुँदैन वा विषय–वस्तुप्रति विभ्रम पैदा हुन्छ । चेतनाको गहिराइमा नपुगीकन अनुभूतिको गहिराइमा पुग्न सकिन्न । त्यस्तो अवस्थामा सर्जकहरू मनोगत बन्न पुग्छन र सिर्जनात्मक काम कमजोर हुन्छ । श्रम व ज्ञान विषयमा माओ भन्नुहुन्छ, “मानिसका सही विचार कहाँबाट आउँछन् ? ती तीन प्रकारका सामाजिक व्यवहारबाट आउँछन्– उत्पादनको लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।” माओको प्रस्तुत भनाइबाट सिर्जनामा श्रमको भूमिका सहजै अनुमान गर्न सकिन्छ । त्यसै गरी, कार्ल माक्र्सले मानवीय चेतना उसको सामाजिक व्यवहारले निर्धारण गर्ने बताउनुभएको छ । सोच्ने, लेख्ने, व्यवहार गर्ने विषय स्रष्टाको जीवनधाराद्वारा नियन्त्रित हुन्छ । 

    527216938_24306912122274592_1076893520950847853_n.jpg
    Photo : Kushal Bogati 

    कार्ल मार्क्स भन्नुहुन्छ, “जीवन चेतनाद्वारा निर्धारित हुँदैन । बरु चेतना जीवनद्वारा निर्धारित हुने गर्दछ । (७) मान्छेको हात श्रम गर्ने मुख्य अङ्ग हो । हातलाई श्रमको पर्यायका रूपमा बुझ्ने गरिन्छ । तर हातले श्रम गर्ने मात्र होइन, हात आफैँ श्रमको उपज पनि हो । फ्रेडरिक एङ्गेल्सले आफ्नो कृति ‘प्रकृतिको द्वन्द्वात्मकता’ मा भन्नुभएको छ,’ “हात केवल श्रमकेन्द्रीय होइन, त्यो श्रमको उपज पनि हो ।” (८) प्रयोगमा आउने शारीरिक अङ्गहरू विकसित हुँदै जाने र प्रयोगहीन अङ्गहरू बिलाउँदै जाने तथ्यहरूले पुष्टि गरेका छन् । प्रकृतिलाई बदल्ने र बुझ्ने प्रक्रियामा श्रमको माध्यमले मान्छेले स्वयम् आफैँलाई पनि बदल्छ । त्यस प्रकारको द्वन्द्वात्मक सम्बन्धको सन्दर्भमा कार्ल मार्क्स भन्नुहुन्छ, “बाहिरी जगत्माथि प्रभाव पारेर र त्यसलाई बदलेर मान्छेले त्यसको साथ साथै आफ्नो स्थिति पनि बदल्छ । आफ्नो निंद्रामा रहेको  शक्तिको पनि विकास गर्दछ र त्यसको आदेशअनुसार काम गर्न बाध्य गर्दछ ।” (९) त्यसरी सिर्जनामार्फत होइन कि श्रम–चेतनाद्वारा सिर्जना कर्म गरिन्छ । त्यस कारण सृजन–कर्मको लागि श्रम–कार्य महत्वपूर्ण पक्ष बन्न जान्छ ।

    शिक्षा र सिर्जनात्मकता
    श्रमको भूमिका र महत्वको विषयमा चर्चा गर्दा बालबालिकाको शिक्षा स–श्रम गर्ने कि श्रम–मुक्त गर्ने भन्ने विषय अठारौँ शताब्दीको मध्यदेखि चल्दै आएको छ । शोधहरूले पुष्टि गरेका छन् कि अध्ययन मात्र गर्ने बालबालिकाभन्दा खेलकूद र श्रम गर्ने बालबालिकाको शारीरिक–मानसिक विकास बढी हुन्छ । अध्ययनले श्रम र श्रमले अध्ययनलाई उत्प्रेरक (Bust) गरिरहन्छन् । एउटा पक्षले अर्को पक्षलाई टेवा दिन्छन् । तिनीहरू परिपूरक भूमिकामा रहन्छन् । हावर्ड विश्वविद्यालयको पछिल्लो शोधले त्यस तथ्यलाई नै पुष्टि गरेको छ । तसर्थ, मानसिक श्रम वा अध्ययन मात्र गर्ने बालबालिकाभन्दा खेलकुद र शारीरिक श्रमसहित अध्ययन गर्ने बालबालिकाको शारीरिक–मानसिक विकास सवल हुन्छ ।

    निष्कर्ष
    ‘कलासाहित्य र श्रमबिचको अन्तरसम्बन्ध’ शीर्षक रहेको प्रस्तुत अवधारणा–पत्रलाई विषयको सामान्य उठानका रूपमा मात्र लिनु सही हुन्छ । यसले अरू व्यापक शोध र अनुसन्धानको आवश्यकता दर्शाइरहेको छ । समकालीनता नयाँ नयाँ तथ्य, सूचना र सम्भावनाको समय पनि बन्न पुगेको छ । आज मानव जाति कृष्ण बिबर (Black Hole) को यात्रामा छ । नयाँ–नयाँ तथ्यहरू आइरहेका छन् । त्यसको प्रेरक शक्ति भनेको श्रमकार्य हो । श्रमकै प्रक्रियामा मान्छेले दुईटा गोडाले मात्र विचरण गर्न सक्ने भयो । हातलाई प्रकृतिसँग सङघर्ष गर्न, जीवन निर्वाहका साधन जुटाउन र सत्रुबाट सुरक्षित हुन प्रयोग गर्यो । त्यसले नयाँ सम्भावना, जुक्ति र श्रेष्ठता कायम हुँदै गयो । मार्क्सले मान्छेको त्यो शक्तिलाई ‘निंद्रामा रहेको अद्भूत शक्ति’ भन्नुभएको छ । त्यस कारण श्रम सिर्जना शक्तिको विकासको ‘अद्भूत शक्ति’ हो । कलासाहित्यका सबै शाखा–प्रशाखाको हकमा पनि कुरा त्यही हो ।


    मुख्य सन्दर्भ सामग्री
    १. फ्रेडरिक एङ्गेल्स, बाँदरबाट मान्छे बन्ने प्रक्रियामा श्रमको भूमिका, हिन्दी संस्करण, राहुल फाउन्डेसन, लखनऊ, सन् २००४ ।
    २. फ्रेडरिक एङ्गेल्स, (उही) ।
    ३. जनक्रान्ति २, नेकपा (माओवादी), २०७३, केन्द्रीय प्रकाशन विभाग ।
    ४. माओ त्से तुङका सङ्कलित रचनाहरू, भाग ३, अनु.– खगेन्द्र सङ्ग्रौला, काठमाडौँ, २०५७ ।
    ५. माओ त्से तुङ, राजनीतिक अर्थशास्त्र के मूलभूत सिद्धान्त, भाग २, राहुल फाउन्डेसन, लखनऊ ।
    ६. नेपाल कम्युनिस्ट पार्टी, आठौँ केन्द्रीय समिति, सातौँ पूर्ण बैठकद्वारा पारित 'अर्थनीतिसम्बन्धी प्रस्ताव’ केन्द्रीय प्रकाशन विभाग ।
    ७. माओ त्सेतुङ, सही विचार कहाँबाट आउँछ ? दर्शनसम्बन्धी पाँच कृतिहरू, उत्प्रेरक प्रकाशन, काठमाडौँ, २०५५ ।
    ८. कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स, साहित्य और कला, प्रगति प्रकाशन, मास्को (हिन्दी संस्करण), १९८१ ।
    ९. उमा भुजेल, विचार संश्लेषण, जनप्रचार तथा प्रकाशन प्रा.लि., २०८२ ।
    १०. जनक्रान्ति, अङ्क ८, २०८१, भदौ ।
    ११. अनिल शर्मा, ऐंजेरु पुँजीवाद, जनप्रचार तथा प्रकाशन प्रा.लि.,  २०८१ । 

    (नेकपाका स्थायी समिति सदस्य, संस्कृतिकर्मी तथा सौन्दर्यचिन्तक अनिल शर्माद्धारा २०८२ साउन १६ गते काठमाडौंमा प्रगतिशील लेखक संघद्धारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको अवधारणा-पत्र)

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij