पाल्पाको रिब्दीकोट गाउँपालिकामा 'समृद्ध रिब्दीकोट निर्माणको आधार, कृषिमा व्यापक विस्तार' भन्ने मूल लक्ष्यका साथ अकबरे खुर्सानीको व्यावसायिक संकलन तथा बजारीकरण तीव्रताका साथ अघि बढेको छ।
गाउँपालिकाको वडा नं. ३ खस्यौलीस्थित अकबरे खुर्सानी संकलन केन्द्रबाट चालू भाद्र २८ गतेसम्ममा करिब ८५ हजार किलोग्राम खुर्सानी देशका प्रमुख बजारहरूमा पठाइसकिएको छ।
संकलन केन्द्रका व्यवस्थापक जनक आचार्यका अनुसार हाल बजारमा ठूलो खाले खुर्सानीको मूल्य प्रति किलोग्राम रु. १८० र सानो खाले खुर्सानीको मूल्य रु. २०० कायम गरिएको छ। बजारको माग र आपूर्ति अनुसार यो मूल्यमा थपघट हुन सक्ने व्यवस्थापन पक्षले जनाएको छ।
यसैबीच, संकलन केन्द्रको वस्तुस्थिति, बजारीकरणको प्रभावकारिता र किसानका समस्या बुझ्न भाद्र ३१ गते गाउँपालिकाको टोलीले खस्यौली पुगेर प्रत्यक्ष अध्ययन तथा अनुगमन गरेको छ।
अनुगमनमा कार्यवाहक अध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, निवर्तमान अध्यक्ष नारायण बहादुर जि.सि. र पालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा खुर्सानी संकलन, भण्डारण र बजारसम्म पुर्याउँदा देखा परेका चुनौती तथा समाधानका उपायहरूबारे व्यवस्थापक आचार्यसँग विस्तृत छलफल गरिएको छ।