२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
अर्थ-उत्पादन

बार्षिक साढे ७६ करोडको कोदो आयात

बार्षिक साढे ७६ करोडको कोदो आयात

मुलुकमा अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा एक वर्षको अवधिमा करिब साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यबाली आयात भएको छ।

बिहिवार, श्रावण १६ २०८२
बिहिवार, श्रावण १६ २०८२
  • मुलुकमा अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा एक वर्षको अवधिमा करिब साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यबाली आयात भएको छ।

    सरकारले ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित साउन १५ गते कोदो दिवस मनाउने तयारी गरिरहँदा आ.व २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १८ हजार तीन सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको हो।

    कोदोजन्य बालीमा प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्त्वहरूको राम्रो स्रोत हुने भएकाले यसको प्रयोग हुन्छ।

    नेपालबाट कोदोजन्य उत्पादन विदेश पनि निर्यात हुने गरेको छ। गत आवमा ९४ लाख ७ हजार रुपैयाँ बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको भन्सार विभागले जनाएको छ।

    कोदोजन्य बालीहरूको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए।

    पछिल्लो समय अस्वस्थ कर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीव्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा पर्दै आएको छ। कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि मार्फत विद्यमान समस्या समाधानमा योगदान पुर्‍याउन सकिने विज्ञले बताएका छन्।

    कोदोजन्य बालीहरूले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

    नेपालमा धान, मकै र गहुँ पछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो। कोदोलाई पहाडी क्षेत्रमा मकै पछिको महत्त्वपूर्ण बालीको रुपमा लिइन्छ। यसको खेती सिँचाइ कम हुने, कम मलिलो, पाखो बारी र आकासे पानीको भरमा पनि गर्न सकिन्छ।

    जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २०८०/८१ मा दुई लाख २४ हजार ९ सय ३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई तीन लाख सात सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको छ। कोदोजन्य बालीको उत्पादकत्व केवल १.३३ मे.टन प्रति हेक्टर रहेको छ।

    संयुक्त राष्ट्र संघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली’ वर्षको रुपमा मनाउने घोषणा गरे अनुरूप नेपालमा पनि विभिन्न गतिविधिहरू सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाएको थियो।

    पोषण तथा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेता पनि परम्परागत तरिकाले गरिने खेती प्रणालीका कारण कोदोजन्य बालीहरूको उत्पादन न्यून छ। कोदोबाट रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा, दुनोट जस्ता आधुनिक परिकार तयार गरिन्छ।

    कोदोजन्य बालीको परिकार विविधीकरण भएमा निजी उद्यमी तथा होटल व्यवसायी र होमस्टे संचालकहरु मार्फत आन्तरिक र बाह्य पर्यटकसम्म पनि बजार विस्तार गर्न सकिन्छ।

    नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत कोदोजन्य बालीमा अनुसन्धान गरि हालसम्म कोदोको ६ वटा, चिनोको एउटा, कागुनोको एउटा, गरि ८ वटा जातहरू उन्मोचन तथा दर्ता गरेका छन्।

    कोदोजन्य बाली र तिनीहरूको जङ्गली प्रजातिहरूको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ। राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका ११४० परिग्रहणहरु सुरक्षित गरि राखिएको छ।

    यस वर्षको प्रथम राष्ट्रिय कोदो दिवस-२०८२ कृषि विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, भक्तपुर, राष्ट्रिय कृषक समूह महासंघ, अनाज नेपाल, खाद्य तथा कृषि संगठन, नेपालको संयुक्त आयोजनामा बिहीबार चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा आयोजना गरिएको छ।

    दिवसमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी लगायतको सहभागिता रहने विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij