आज असोज १ गते, कन्या सङ्क्रान्ति वा विश्वकर्मा पूजा । नेपाल र भारतका केही स्थानमा यस संक्रान्तिका दिन विश्वकर्मा पूजा गरिन्छ ।
विश्वकर्मा पूजा सरकारी वा गैरसरकारी इन्जिनियरिङ संस्थान, प्रतिष्ठानहरूमा बडो हर्षोल्लाषबाट सम्पन्न गरिन्छ । यातायात कलकारखाना, कालिगड पसल आदि यस दिन बन्द रहन्छन् । भगवान् विश्वकर्मालाई शिल्पशास्त्रका आराध्य मानेर कालिगड, मिस्त्रीहरूले पूजा गर्छन् र त्यसपछि धुमधामसँग उत्सव मनाउँछन् । भनिन्छ, चीनमा पनि बरही मिस्त्रीहरूले ‘लु पान’लाई शिल्पी देवता मानेर पूजा गर्छन् ।
मान्यताका अनुसार भगवान् विश्वकर्मा प्रथम वास्तुकार हुन् । उनले नै स्वर्ग लोक, पुष्पक विमान, द्वारिका नगरी, यमपुरी, कुबेर पुरी आदिको निर्माण गरेका थिए । यस दिन विशेष रूपमा औजार, मेसिन, कारखाना, मोटर, ग्यारेज, वर्कसप, लेथ युनिट आदिका देवता भगवान् विश्वकर्माको विशेष पूजा आयोजना गरिन्छ ।
प्राचीन ग्रन्थहरूमा जहाँ ब्रह्मा, विष्णु र महेशको वन्दना–अर्चना भएको छ, त्यहाँ भगवान् विश्वकर्माको पनि स्तुति गरिएको छ ।
‘विश्वं कृत्स्नं गर्म व्यापारो वा यस्य सः’ अर्थात् विश्वकर्मा शब्दबाटै यो अर्थ व्यञ्जित हुन्छ । जसको सम्यक् सृष्टि र गर्म व्यापार छ, उनी विश्वकर्मा हुन् ।
वेदमा ‘विश्वतः चक्षुरुत विश्वतोमुखो विश्वतोबाहुरुत विश्वस्पात्’ भनेर उनलाई सर्वव्यापक, सर्वज्ञ, शक्ति–सम्पन्न र अनन्त आयामी पुरुषको रूपमा दर्शाइएको छ ।
विश्वकर्मा कंबासूत्र, जलपात्र, पुस्तक र ज्ञानसूत्र धारक हुन्, हंसवाहन आरुढ, सर्वदृष्टिधारक, शुभ मुकुट र वृद्धकाय हुन् ।
भगवान् विश्वकर्माको प्रतिमा बनाएर वा चित्र राखेर पूजा गर्ने गरिन्छ । उनको अष्टगंधादिबाट पूजनको विशेष महत्त्व छ ।
विष्णुपुराणमा विश्वकर्मालाई देवताहरूको वर्धकी (देव–बढई) भनिएको छ, तथा शिल्पावतारका रूपमा बताइएको छ । यही मान्यता अनेक पुराणमा पाइन्छ । शिल्पग्रन्थमा उनलाई सृष्टिकर्ता भनिएको छ । स्कन्दपुराणमा उनलाई देवालयका स्रष्टा भनिएको छ । भनिन्छ, उनी शिल्पकलाका यस्ता ज्ञाता थिए, जो पानीमाथि चल्न सक्ने खडाऊ बनाउन समर्थ थिए ।
वास्तुका १८ उपद्रष्टामा विश्वकर्मालाई प्रमुख मानिएको छ । उत्तर र दक्षिण भारत तथा नेपालमा, विश्वकर्मा पूजालाई लोकमान्यता प्राप्त छ । वराहमिहिरले पनि अनेक कृतिमा विश्वकर्मा मत उद्धृत गरेका छन् ।
बृहस्पते भगिनी भुवना ब्रह्मवादिनी ।
प्रभासस्य तस्य भार्या बसूनामष्टमस्य च ।
विश्वकर्मा सुतस्तस्यशिल्पकर्ता प्रजापतिः ।।
अर्थात् महर्षि अङ्गिराका ज्येष्ठ पुत्र बृहस्पतिको बहिनी भुवना जो ब्रह्मविद्याकी ज्ञाता थिइन्, अष्टम् वसु महर्षि प्रभासको पत्नी बनिन् र भुवनादेवीबाट सम्पूर्ण शिल्प विद्याका ज्ञाता प्रजापति विश्वकर्माको जन्म भयो ।
विश्वकर्मा स्वयंमा एक भगवान् हुन् कि प्रजापतिको जस्तो उपाधि भन्ने विचार पनि गरिन्छ । विश्वकर्माको गुण र धर्म धारण गर्ने श्रेष्ठ पुरुष युगान्तकारी विश्वकर्माको उपाधिबाट अलङ्कृत हुने गरेको धारणा पनि पाइन्छ ।
