पछिल्लो एक महिनामा अत्यावश्यक खाद्य वस्तुको मूल्य बढेर छोइ नसक्नु छ । केही समय स्थिर रहेको महंगी चाडपर्व नजिकिँदै गर्दा झन् बढेको हो । विशेष गरी बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि आपूर्ति शृङ्खला खल्बलिएको र मूल्यवृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
अब हेरौँ कुन खाद्यान्नको मूल्य कति बढ्यो ?
भदौ महिनामा मात्रै चामलको मूल्य २ सय रुपैयाँदेखि ४०० रुपैयाँ प्रतिबोरा बढिसकेको छ । १५ सय रुपैयाँ प्रतिबोरा पर्ने मोटो चामल अहिले १७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
२ हजारदेखि २३ सय पर्ने मसिनो चामल प्रतिबोरा २५ सयदेखि २७ सय रुपैयाँमा बिक्री भइरहेको छ । यो एक महिनामा बढेको मूल्य हो ।
माघमा १६० प्रतिकिलो रहेको बासमती चामल भदौमा १९५ पुगेको छ । अर्थात् यो चामल झन्डै २२ प्रतिशतले महँगिएको छ ।
२४५ रुपैयाँ प्रतिलिटर पर्ने भटमास तेल भदौमा २९० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य १८.४ प्रतिशतको वृद्धि भएको छ ।
सनफ्लावर तेलको मूल्य पनि २६० बाट २९५ पुगेको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य १३.५ प्रतिशतले बढेको छ ।
चिनीको मूल्य माघमा १०५ रहेकोमा भदौमा १२० पुगेको छ । यो आधिकारिक तथ्याङ्क हो । बजारमा चिनी पाउनै मुस्किल छ ।
१५० रुपैयाँभन्दा बढीमा चिनी बिक्री भइरहेको छ, जसको लेखाजोखा यसरी आधिकारिकरूपमा हुँदैन ।
आधिकारिक मूल्यसूची, तर बजारमा यो भन्दा महँगोमा बिक्री भइरहेको छ ।प्रतिकेजी ९० रहेको कागतीको मूल्य भदौसम्म आइपुग्दा ३७५ पुगेको छ । अर्थात् ८ महिनामा कागतीको मूल्य २८५ अर्थात् ३१६.७ प्रतिशतले बढेको छ । यो अवधिमा कागतीको मूल्य चार गुणाभन्दा बढी पुगेको छ ।
त्यस्तै, माघमा १६.२५ रुपैयाँ प्रतिकेजी रहेको स्थानीय काउलीको मूल्य भदौमा १११ पुगेको छ । काउलीको मूल्य ९४.७५ अर्थात् करिब ५८३ प्रतिशतले बढेको छ ।
प्याजको मूल्य गत माघमा ४५ रुपैयाँ थियो । अहिले करिब १ सय रुपैयाँ पुगिसकेको छ । प्याजको मूल्य करिब ११५ प्रतिशतले महँगिएको छ । यो पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भएको कारोबार मूल्य हो । कालीमाटीबाट बाहिरिएपछि पनि तरकारी तथा फलफूलको मूल्य बढ्छ । प्रत्येक पसलपिच्छे फरक मूल्य हुन्छ ।
रातो आलुको मूल्य पनि ३० रुपैयाँ प्रतिकिलोबाट ५३ रुपैयाँ पुगेको छ । त्यस्तै, ब्रोकाउलीको मूल्य ११० बाट १९० र गाजर ७५ बाट ११० रुपैयाँ पुगेको छ ।
१५०/१६० रुपैयाँ दर्जन पर्ने केराको मूल्य चैत वैशाखमा २७५–३०० रुपैयाँसम्म पुग्यो । अहिले केही घटेर भदौमा २२० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
पछिल्लो एक महिनामा खाद्यान्नभन्दा फलफूल तथा तरकारीमा मूल्य वृद्धि बढी भएको देखिन्छ ।
आठ महिनाको अवधिमा कागती, स्थानीय काउली, प्याज, आलु र ब्रोकाउलीजस्ता वस्तुको मूल्यमा ठूलो वृद्धि भएको छ । यसले उपभोक्ताको दैनिक भान्साको खर्चमा दबाब बढाउँदै लगेको छ ।
थोक मूल्य । खुद्रा पसलमा यो भन्दा निकै बढीमा बिक्री हुन्छ । विशेष गरी चाडपर्वका बेला माग बढ्ने वस्तुमा आपूर्ति व्यवस्थापन कमजोर भएमा बजार मूल्यमा थप दबाब पर्छ ।ठ्याक्कै काठमाडौं जोडिने प्रमुख राजमार्गमा बाढीपहिरोले अवरोध पुर्याएपछि आपूर्ति शृंखला खल्बलिएको छ । जसको फाइदा व्यपारीहरूले उठाइरहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमितभन्दा बढी १० वटा टोली बजारमा खटाएर अनुगमन गरिरहेको जनाएको छ । कालोबजारी र मूल्यवृद्धिका विषयमा विभागले कडारूपमा अनुगमन गरिरहेको विभागका निर्देशक अनिल किरातीले बताए । बिदाको दिन पनि अनुगमन टोली खटाएर बजारमा अनियमितता गर्नेलाई कारबाही गरिरहेको उनको भनाइ छ ।
‘नियमित ४ वटा टोलीले बजार अनुगमन गर्ने हो । अहिले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएका छौँ’, उनले भने, ‘पछिल्लो समय ग्यासको विषयमा अत्यधिक गुनासो आइरहेको हो । त्यसलाई पनि उजुरीका आधारमा फिल्डमा गएर कारबाही पनि गरिरहेका छौँ ।’
विभागले अनुगमन गरिरहेको दाबी गरे पनि बजारमा महंगी अनियन्त्रित तबरले बढिरहेको देखिन्छ । बजार फुक्काफाल हुँदा सरकार लाचार बनिरहेको देखिएको छ ।
अंकुश विष्ट, लोकान्तर
