पुष्पलालले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम अघि सारेका थिए । नयाँ जनवादी कार्यक्रम भनेको समाजवाद हुँदे साम्यवादसम्म पुग्ने कार्यक्रम हो । नेपालमा क्रान्ति कसरी सम्पन्न हुन्छ भन्ने सम्बन्ध पुष्पलालले आफूले लेखेका पुस्तक तथा लेखहरूमा स्पष्ट पारेकै थिए । उनले नेपालमा नेपाली कांग्रेससित मिलेर संयुक्त जनआन्दोलनको अवधारणा अनुसार नै क्रान्तिलाई अघि बढाउने कुरा गरेका थिए । त्यसलाई विजयको अन्तिम चरणसम्म पुराउने कुरा गरेका थिए ।
पुष्पलालले नेपाली क्रांग्रेसलाई संयुक्त जन आन्दोलनको एउटा बलियो मित्र त ठानेका थिए। तर नेपाली कांग्रेसलाई नेपाली क्रान्तिको भरपर्दो मित्रशक्ति भने मानेका थिएनन् । उनले नेपाली कांग्रेसलाई राजावादी पार्टी नै मानेका थिए । नेपालमा सशस्त्र क्रान्ति गर्न भनेर बनारसमा आसन जमाएर बसेका वी पी कोइरालाले तरुणमा प्रकाशित एउटा लेखमा भनेका थिए म राजतन्त्रको पूर्णतया विरोधी भने होइन । फेरि बनारसबाट नेपाल प्रवेश गर्दा वी पी कोइरालाले प्रष्ट भनेका थिए राजा र मेरो घाँटी जोडिएको छ । यसको अर्थ यही हुन्थ्यो वी पी कोइराला राजासित पावर शेयर गर्न मात्र चाहन्थे । उनी राजतन्त्रको पूर्णतया उन्मूलनको पक्षमा थिएनन् ।
वीपी कोइराला वा कांग्रेसको राजनीतिसित परिचित रहेका पुष्पलालले नेपालामा संयुक्त जन आन्दोलनको आवश्यकतालाई त राम्ररी बुझेका थिए । त्यसलाई आत्मसात गरेका थिए । तर उनलाई राम्ररी के कुरा थाहा थियो भने नेपाली कांग्रेस सम्झौतापरस्त पार्टी हो । यो राजतन्त्रसित सम्झौता गर्न हर हमेशा तयार नै हुन्छ । नेपाली कांग्रेसले राजतन्त्रलाई लत्याएको होइन बरु राजतन्त्रले नै नेपाली कांग्रेसलाई लत्याएको हो । २०१७ साल पुष १ गतेको घटनाले पनि यही कुरा पुष्टि गर्दछ । यही कुरालाई उजागर गर्दछ ।
पुष्पलाल नेपाली कांग्रेसका चारित्रिक विशेषताका व्याख्या गर्दै भन्दथे । नेपाली कांग्रेस सामन्तवादपरस्त पार्टी भए पनि यसमा एउटा क्रान्तिकारी तप्काको पनि राम्रै उपस्थिति रहेको छ । नेपाली कांग्रेसको नेतृत्व राजतन्त्रसित सम्झौता गर्ने मनस्थिति वा नीतिमा रहे भए पनि त्यसमा रहेको विशेष गरी युवावर्ग क्रान्तिकारी चरित्रको रहेको छ । हामीले नेपाली कांग्रेससित मिलेर जब संयुक्त जन आन्दोलन प्रारम्भ गर्नेछौं र त्यस संयुक्त जन आन्दोलनलाई एउटा उचाइमा पुराउने छौ त्यस अवस्थामा नेपाली कांग्रेसको नेतृत्व राजतन्त्रको अगाडि घुँडा टेक्न पुग्ने छ । राजतन्त्रसित सम्झौता गर्न थाल्नेछ । त्यस अवस्थामा नेपाली कम्युनिष्टहरूले संयुक्त जन आन्दोलनलाई पूर्ण विराम लाग्न दिनु हुने छैन । नेपाली कांग्रेसले नेपाली संयुक्त जन आन्दोलनलाई जुन विन्दुमा पुराएर राजतन्त्रसित सम्झौता गरेर रोक्न खोज्ने छ हामी कम्युनिष्टहरूले त्यस संयुक्त जन आन्दोलनलाई त्यस विन्दुबाट अघि बढाएर विजयको अन्तिम चरणसम्म पुराउनु पर्ने छ । कम्युनिष्टको यस आन्दोलनलाई सफल पार्न नेपाली कांग्रेसमित्र रहेको युवा क्रान्तिकारी तप्काले कम्युनिष्ट क्रान्तिकारीहरूलाई साथ दिने छ । यसरी हामी हाम्रो संयुक्त जन आन्दोलनलाई विजयको अन्तिम चरणसम्म पुराउन सफल हुने छौं । सक्षम हुने छौं ।
पुष्पलालको जीवनकालमा पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले खासै काम गरेन । तर उनको मृत्यु पछि २०४६ सालको जन आन्दोलनको बेलामा कम्युनिष्टहरूको नेपाली कांग्रेससितको संयुक्त जन आन्दोलन यति अघि बढ्यो कि यसले ३० वर्षसम्म जरा गाढको फासिष्ट पंचायती व्यवस्थालाई जरैदेखि उखेलेर फालिदियो । तर यसले सामन्ती राजतन्त्रलाई भने कायम नै राख्यो । तर त्यतिबेला कम्युनिष्टहरूले भने पुष्पलालको संयुक्त जन आन्दोलनको नीति सफल भयो भने । वास्तवमा पुष्पलालले भनेको कुरा त के थियो भने नेपाली कांग्रेसको नेतृत्वले जुन विन्दुमा आएर संयुक्त जन आन्दोलनलाई सामन्तवादसितको सम्झौतमा टुंगाउन खोज्दछ त्यस विन्दुबाट कम्युनिष्टले संयुक्त जन आन्दोलनको नेतृत्व गर्दै त्यसलाई विजयको अन्तिम चरणसम्म पुराउन पर्दछ । त्यसलाई कुनै पनि हालतमा समझौतामा टुंगाउन हुन्न । साँचो कुरा गर्ने हो भने संयुक्त जन आन्दोालनलाई माओवादीको दश वर्षे जनयुद्धले ०६२—०६३ को दोस्रो जन आन्दोलन मार्फत राजतन्त्रको उन्मूलनको चरणसम्म पुरायो । कम्युनिष्टहरूको जन गणतन्त्रको चरणसम्म पुराउन नसके पनि बुर्जुवा गणतन्त्रको चरणसम्म पुरायो । यस सफलतालाई पनि एउटा ठूलै सफलता मान्नु पर्ने हुन्छ । यस उपलब्धिलाई पनि एउटा ठूलै उपलब्धि मान्नु पर्ने हुन्छ । अवश्य उल्लेखनिय उपलब्धि मान्नु पर्दछ ।
०६२—०६३ को जन आन्दोलनले नेपाली कांग्रेसलाई चाहिएभन्दा बढी उपलब्धि प्राप्त भएको छ । उसले कहे न पत्याएको उपलब्धि प्राप्त गरेको छ । त्यो उसले कम्युनिष्टहरूको साथ पाएर नै प्राप्त गरेको हो । उसरी कम्युनिष्टहरू यहाँसम्म पुग्न सकेको पनि कांग्रेसको साथ पाएर हो । यसमा कुनै शंका छैन । यसमा कुनै विवाद छैन । कांग्रेस त राजनैतिक रूपले आफू जहाँ पुग्ुनु थियो त्यहाँ पुगिसक्यो । अझ आफू जहाँ पुग्नु थियो त्यहाँभन्दा धेरै अगाडि पुगिसक्यो । तर कम्युनिष्टहरूलाई अझ आफ्नो लक्ष्यसम्म पुग्न हजारौं माइलको यात्रा तय गर्नु पर्ने छ । लंग मार्चको कठोर कठिन यात्रा तय गर्नु पर्ने छ । प्रश्न यही छ कुन कम्युनिष्टहरू त्यहाँसम्म पुग्न आफ्नो भए भरको शक्ति प्रयोग गर्ने हुन् र कुन कम्युनिष्टहरू चुपचाप यसैमा सन्तोष मानेर थन्किएर बस्ने हुन् त्यसको रूपरेखा त आउने दिनले नै कोर्ला । तर कति कम्युनिष्ट यही अवस्थाबाट भोलि समाजवाद र साम्यवादमा सजिलै पुग्न सकिन्छ भन्ने मान्यता राख्दछन् । बाकस थापेर पनि समाजावादमा पुग्न सकिन्छ भन्ने मान्यता राख्दछन् । बाकस थापेर पनि साम्यवादमा पुग्न सकिन्छ भन्ने मान्यता राख्दछन् ।
के कुरा स्पष्ट भन्न सकिन्छ भने जबसम्म यो मुलुकमा साम्यवादी व्यवस्था स्थापना हुन्न तबसम्म पुष्पलालले देखेको सपना पूरा हुने कारण छैन । नेपालमा राजतन्त्र त उन्मूलन भयो तर जन गणतन्त्र आएको छैन । साम्यवादको त कुरै नगरौं समाजवाद पनि आएको छैन ।
कति कम्युनिष्ट पार्टीका नेताहरू भन्न थालेका छन् नेपालको राजनैतिक क्र्रान्ति पूुरा भयो अव आर्थिक क्रान्ति पूरा गर्नुछ । यस्तो संसदवादी कम्युनिष्टहरूकोे अवधारणा हुने गरेको देखिन्छ । यस्तो अवधारणले पुष्पलालको सपना साकार पार्न सक्दैन । साँचो कुरा गर्ने हो भने नेपालमा पुष्पलालको अनुयायी बताउने कम्यनिष्टहरू पनि पुष्पलालले लिएको बाटोमा हिंड्न तयार देखिन्नन् । उनले प्रतिपादन गरेको बिचारमा चल्न चाहँदैनन् । उनको नाम त जप्दछन् । उनको भजन किर्तन पनि त गर्दछन् । तर उनको बिचारलाई समात्ने प्रयास गर्दैनन् ।
माक्र्सले लेखेका थिए अंग्रेजी कवि शेलीका प्रशंसक शेलीको २९ वर्षको उमेरमा मृत्यु भएकोमा दुखित थिए किनभने उनी त्यहाँभन्दा बढी वाँचेको भए सर्वहारा क्रान्तिका अग्रदस्ता बन्दथे । अंग्रेजी कवि वाइरनका प्रशंसक उनको मृत्यु ३५ वर्षको उमेरमा मृत्यु भएकोमा खुशी छन् यस कारण कि उनी त्यो भन्दा बढी बाँचेका भए प्रतिक्रियावादी हुन्थे । प्रतिक्रियावादी हुन पुग्दथे ।
हामी यही कुरा कमरेड पुष्पलालको सम्बन्धमा पनि भन्न सक्दछौं । तर केही फरक ढंगले । पुष्पलालको नेपालमा आजको परिवर्तन नआउँदै मृत्यु भएकोमा पुष्पलालका प्रशंसक दुखित छन् । तर उनीहरूलाई के कुराले खुशी पारेको छ भने वर्तमान परिववर्तन पछि धेरै कम्युनिष्ट नेतालाई विग्रे भन्ने आरोप लागे जस्तै पुष्पलालमाथि त्यस्तो आरोप लाग्न सक्ने कुनै खतरा रहेको छैन । उनी हिजो जति सम्मानित थिए आज त्योभन्दा कम होइन बरु बढी नै सम्मानित हुन पुगेका छन् । वास्तवमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नेपाली कम्युनिष्ट जगतमा सबभन्दा बढी लोकप्रिय, स्थापित तथा सम्मानित व्यक्तित्व हुन पुगेका छन् । यो राम्रो कुरा हो । वास्तवमा पुष्पलाल कम्युनिष्ट नेताहरूमा सर्वमान्य नेता हुन पुगेका छन् । पुष्पलालको जीवनकालमा धेरै कम्युनिष्टहरू पुष्पलालका कटु आलोचक बन्न पुगेका भए पनि यतिबेला उनीहरू निसन्देह पुष्पलालका ठूला प्रशंसक हुन पुगेका छन् । दिन प्रति दिन पुष्पलालको लोकप्रियता बढ्दो छ । उनको उच्च मूल्यांकन हुन थालेको छ । मानिसहरू नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको ठूलो योगदान रहेको वास्तविकतालाई बुझ्न थालेका छन् । आत्मसात गर्न थालेका छन् ।