-मनिश आजाद
क्रान्तिहरू जब
माक्र्सका आँखै अगाडी
एक एक गरेर पराजित भैसकेका थिए !
जब माक्र्सको आफ्नो कुनै देश थिएन
आफ्नो कुनै घर थिएन
उनका आँखै अगाडी
उनका बच्चाहरु
छट्पटाउँदै मरिसकेका थिए
उनकी सबै कुरा 'जेनी'
उनलाई छोडेर गइसकेकी थिइन् !
तब पनि माक्र्सले
क्रान्तिको नयाँ संस्करणको
पटकथा लेख्न छोडेका थिएनन्
जब औंलाहरू थाक्दथे
खुट्टाहरू फलामजस्तै नचिनिने हुन्थे
तब माक्र्स बिस्तारै उठ्थे
र आफ्नो प्यारो साथी समुद्र भेट्न जान्थे ।
माक्र्सलाई देख्नासाथ समुद्र
उनीसँग अँगालो मार्न
उफ्रिन थाल्थ्यो
र उनलाई आफ्नो प्रेमले भिजाएर
फर्केर जान्थ्यो ।
माक्र्स आफ्ना गहिरा आँखाले
समुद्रलाई यसरी हेर्दथे
मानौं
समुद्रको अतल गहिराइमा
हाहाकार गर्दै लुकेर बसेको
क्रान्तिलाई हेर्ने प्रयत्न गर्दैछन् !
एकदिन
अचानक त्यहीं बसेर, समुद्रलाई हेर्दै गरेको
एउटा बुढो मजदूरले
दार्शनिक तरिकाले
माक्र्ससँग सोध्यो–
आखिरमा जीवनको अर्थ के हो माक्र्स ?
माक्र्सले ऊतिर गहिरो नजरले हेरे
अनि लामो सास फेरे
त्यसपछी त्यही समयमा
समुद्रको लहर उनीतिर आयो !
माक्र्सले त्यो विशाल छचल्किरहेको
ज्वारभाटासँग ठोक्किदै भने–
सङ्घर्ष ! सङ्घर्ष ! र मात्र सङ्घर्ष !
(अनु. बलराम तिमल्सिना)
