२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
संस्कृति

युजिन पोत्तरको कम्युन र अन्तर्राष्ट्रिय गीत

युजिन पोत्तरको कम्युन र अन्तर्राष्ट्रिय गीत

युजिन पोत्तरका पुरा नाम हो युजिन एडिन पोत्तर । उनको जन्म त्यतिबेला क्रान्तिको केन्द्र रहेको पेरिसमा ४ अक्टुबर १८१६ मा एउटा गरीब मजदूर परिवारमा भएको थियो । उनले १३ बर्षको उमेरमा स्कूल पढ्न छोडेर आफ्ना बाबुसित प्याकेट पेकिङ गर्ने काममा लागेका थिए ।

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • विषय प्रवेश

    पितृको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्ने प्रचलन छ । गाई जात्रामा परिवारले मृतहरूको स्मरण गर्दछन् । प्रसिद्ध राष्ट्रिय विभूति वा सहिदहरूको स्मरणमा जन्म जयन्ती वा स्मृति दिवस मनाउने गरिन्छ । यसरी नै कुनै ऐतिहासिक दिन वा महापुरुषको स्मरणमा शतबार्षिकी मनाउने प्रचलन र परम्परा रहेको छ । यस प्रकारका ऐतिहासिक सन्दर्भका अवसरहरूमा जन्म जयन्ती स्मृति दिवस वा शतवार्षिकी सम्बन्धी विविध कार्यक्रम सभा समारोह गोष्ठी आदिको आयोजना गर्दै तिनलाई भव्यताका साथमा मनाउनुको अर्थ हुन्छ – ती महापुरुष, राष्ट्रिय विभूति वा ऐतिहासिक घटनाबाट आवश्यक शिक्षा तथा प्रेरणा लिनु । ती ऐतिहासिक दिवस जयन्ती स्मृति दिवस शतवार्षिकी आदिले संकेत गरेको पथलाई अवलम्बन र अनुशरण गर्नु । निश्चित रुपमा यस्ता ऐतिहासिक प्रसंगहरूबाट सकारात्मक तथा नकारात्मक दुबै प्रकारको शिक्षा लिन सकिन्छ । लिनु पर्दछ पनि । यहाँ मैले सर्वहारा वर्गको अन्तर्राष्ट्रिय गीतका रचयिता फ्रान्सका मजदूर नेता युजिन पोत्तरको दोस्रो शतवार्षिकी दिवसको अवसरमा संक्षिप्त चर्चा गर्न खोजिरहेको छु ।

    के हुन् युजिन पोत्तर ?

    युजिन पोत्तरका पुरा नाम हो युजिन एडिन पोत्तर । उनको जन्म त्यतिबेला क्रान्तिको केन्द्र रहेको पेरिसमा ४ अक्टुबर १८१६ मा एउटा गरीब मजदूर परिवारमा भएको थियो । उनले १३ बर्षको उमेरमा स्कूल पढ्न छोडेर आफ्ना बाबुसित प्याकेट पेकिङ गर्ने काममा लागेका थिए । उनले केही समय पसलमा पनि नोकरी गरे । पछि उनले कपडा उद्योगमा कपडामा पेन्ट गर्ने काम गर्न थाले । १८४० पछि उनी पेरिसमा हुने जुनसुकै आन्दोलन वा संघर्षमा सरिक हुन थाले । उनले १४ बर्षको उमेरदेखि गीत कविता लेखेर जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेले । उनले मजदूरहरूलाई एकजुट हुन आह्वान गरे । १८७१ मा सर्वहाराहरूको पहिलो राज्य पेरिस कम्युन स्थापित हुँदा अत्यधिक मत (३६०० मतमा ३३५२ मत) प्राप्त गरी पेरिस कम्युनको सदस्यको पदमा निर्वाचित भए । पेरिस कम्युननको पराजयपछि उनले सर्वप्रथम इङ्गलैंड, त्यसपछि अमेरिकामा १८७३ देखि १८८० सम्म निर्वासित भए । उनी ९ बर्ष जति निर्वासित जीवन ब्यतीत गरेर पेरिसमा फर्केका थिए । उनको अनुपस्थित फ्रान्सको प्रतिक्रियावादी बुर्जुवा सरकारले उनलाई मृत्युदण्डको सजाय दिएको थियो । उनले सर्वहाराहरूको अन्तराष्ट्रिय गीत पेरिस कम्युनको पराजयपछि ३० जुन १८७१ मा रचेका थिए । उनको मृत्यु ६ नोवेम्बर १८८७ मा पेरिसमा भएको थियो ।

    लाखौं मजदूरहरूले युजिन पोत्तरको अन्तेष्टिको लागि पेरिस कम्युनका योद्धाहरूलाई दफन गरिएको ठाउँ पियरे लासज सेमट्री (Père Lachaise cemetery) तर्फ लैंजादा उनीहरूमाथि पुलिसहरूले सांघातिक आक्रमण गरेका थिए । उनीहरूले बोकेका राता झण्डा खोस्ने हरकत पनि गरेका थिए । तरपनि लाखौं लाख मजदूरहरूको सामूहिक ताकतको अगाडि उनीहरूको केही सीप लागेन । मजदूरहरूले आफ्ना लक्ष्य सफल पारी छाडे ।

    लेनिनको आँखामा युजिन पोत्तर

    लेनिनले युजिन पोत्तरको २५ औं स्मृति दिवसको स्मरणमा एउटा लेख लेखेर प्राब्दा नँ. २ जनवरी ३, १९१३ मा प्रकाशित गरेका थिए । यो लेख लेनिनका संकलित रचनाको ३६ औं ग्रन्थमा समावेश गरिएको छ । यस लेखमा लेनिनले सर्वहाराको अन्तर्राष्ट्रिय गीत लेख्ने युजिन पोत्तरका सम्बन्धमा विभिन्न उद्गार तथा धारणा व्यक्त गरेका छन् । लेनिन भन्दछन् – सर्वहाराका योद्धा तथा कवि युजिन पोत्तरको गीतलाई संसारभरिका सर्वहाराबर्गले आफ्नो विश्वव्यापी गीत बनाएका छन् । अगाडि लेनिन लेख्दछन् – युजिन पोत्तर जबसम्म बाँचे, अत्यन्त कष्टकर गरिबीमा बाँचे । उनको मृत्युपछि उनकी श्रीमती र छोरी अझै पनि अत्यन्त गरिबीमा रहेर जीवन व्यतित गरिरहेका छन् ।

    Music.jpg
    undefined

    लेनिन भन्दछन् – १८७६ मा अमेरिका निर्वासनको बेलामा युजिन पोत्तरले अमेरिकाका मजदूरहरूको तर्फबाट फ्रान्सका मजदूरलाई शीर्षकको कविता लेखेका थिए — जसमा उनले  पूँजीवाद, गरिबी  ढाँड भाँचिने श्रम, तीब्र शोषण आदिको जुवामा प्रताडित जीवन बिताइरहेका मजदूरहरूको भविष्यप्रतिको अटुट आस्थाका भावना र बिचारको सजीव रुपमा चित्रण गरेका थिए । यसै लेखमा लेनिन लेख्दछन् – कम्युनलाई ध्वस्त पारियो । तर युजिन पोत्तरको अन्तर्राष्ट्रिय गीत विश्वभरि फैलियो र त्यो हिजोभन्दा आज अझ बढी जीवित रहेको छ ।

    आफ्नो छोटो लेखको अन्त्यमा लेनिन लेख्दछन् – पोत्तरको मृत्यु गरिवीको बीचमा रहेर नै हुनगयो । तर उनले हाम्रो मन मस्तिष्कमा अमिट छाप छोडेर गएका छन् । हिजो उनको ऐतिहासिक गीत सीमित मान्छेको बीचमा पुगेको थियो भने आज त्यो असंख्य सर्वहाराबर्ग बीचसम्म पुग्न सफल भएको छ ।  

    पेरिस कम्युन

    फ्रान्सका मजदूर नेता युजिन पोत्तरको नाम तथा काम विश्वकै सर्वहारा बर्गको पहिलो राज्य पेरिस कम्युनसित अभिन्न रुपले जोडिएको छ । पेरिस कम्युनको आयु भने त्यति लामो हुन सकेन । यो १८ मार्च १८७१ देखि २८ मई १८७१ सम्म कायम रहेको थियो । प्रतिक्रियावादी बुर्जुवा सरकारले संसारको सर्वहाराको पहिलो राज्य पेरिसमाथि ठूलो रक्तपातपूर्ण आक्रमण गरेको थियो । यसलाई रक्तपाती सप्ताह पनि भनिन्छ । यसमा कति योद्धाहरूको ज्यान गयो, कति पक्राउ परे, कतिलाई मुत्यदण्ड दिइयो, कति जेल परे, कति देश निकाला गरिए, कति विभिन्न मुलुकमा पलायन भए, कति बेपत्ता भए, यकिन साथ भन्न सकिन्न । यस सम्बन्ध तथ्य फरक फरक दिइएका छन् । एउटा तथ्य अनुसार प्रतिक्रियावादी तर्फको शक्ति लगभग १,७०,००० र क्रान्तिकारी तर्फको शक्ति २,००,००० भनिएपनि वास्तवमा २५००० देखि ५०००० सम्मको शक्ति हुन सक्ने बताइएको छ । प्रतिक्रियावादी सत्ता तर्फको मृत्यु तथा घाइतेको संख्या क्रमशः ८७७ र ६४५४ बताएको छ भने क्रान्तिकारी पेरिस कम्युनका योद्धातर्फ ६,६६७ मुत्यु भएको र उनीहरूलाई सामुहिकमा रुपमा दफनाइएको भनिएको छ । अन्य स्रोतको तथ्य अनुसार २०,००० देखि २५,००० सम्मको मृत्यु भएको हुन सक्ने भनिएको छ । युजिन पोत्तर विश्वका सर्वहाराबबर्गको पहिलो राज्य पेरिस कम्युनको परिषद्का सदस्य निर्वाचित भएका थिए ।

    पेरिस कम्युन सम्बन्धमा माक्र्स, एंगेल्स र लेनिन

    पेरिस कम्युनबाट शिक्षा लिएर नै माक्र्सले सशस्त्र क्रान्ति, प्रतिक्रियादीवादी राज्ययन्त्रको ध्वस्त र  सर्वहाराबर्गको बर्गको अधिनायकत्वको अनिवार्यता बारेको  बिचार वा सिद्धान्त प्रतिपादन गरेका थिए । उनले आफ्नो पुस्तक फ्रान्समा गृहयुद्धमा पेरिस कम्युनको विशेष समीक्षा तथा प्रशंसा गरेका छन् । पछि लेनिनले यसमाथि विशेष जोड दिंदै आफ्नो चर्चित पुस्तक राज्य र क्रान्तिमा बिस्तृत व्याखा गरेका छन् । माओले पनि सर्वहाराबर्गको अधिनायकत्वका बारेको विशेष शिक्षा पेरिस कम्युनबाट नै लिएका छन् । यसकारण पेरिस कम्युनको घटना सर्वहाराबर्गको लागि अत्यन्त ठूलो तालिम मात्र होइन, शिक्षाको विश्वविद्यायल नै भएको छ ।

    पेरिस कम्युनको समीक्षा गर्दै माक्र्सले भनेका छन्– “यसलाई हामी भविष्यमा हुने सर्वहाराबर्गको क्रान्तिको लागि रिहर्सल वा अभ्यासको रुपमा लिन सक्दछौं ।” माक्र्सले अगाडि के पनि भनेका छन् भने सर्वहाराबर्गले पेरिस कम्युनको सधैभरि गौरवको साथमा स्मरण गरिहने छ । यो नयाँ समाजको जन्मदाता र पथप्रदर्शक सावित हुने छ । यसले सर्वहाराबर्गको मुक्तिको बाटो प्रशस्त गरिदिने छ । माक्र्सले पेरिस कम्युनको स्थापना गरेपनि त्यसको रक्षाको लागि आवश्यक काम पूरा नगरेको हुनाले नै त्यो सजिलै उल्टिन पुगेको हो भन्दै आलोचना पनि गरेका छन् ।

    एंगेल्सले पेरिस कम्युनको आफ्नो तैनाथ सैनिक नभएको कारणले नै त्यो गुम्न गएको भनेका छन् । लेनिनले पेरिस कम्युनले सर्वहाराबर्गको अधिनायकत्व बिना कम्युनिष्ट व्यवस्था कायम हुन नसक्ने कुरालाई स्पष्ट पारेका छन् । लेनिनको भनाइ रहेको छ– “गृहयुद्धमा सैनिकको उपस्थिति आवश्यक हुन्छ ।” यो कुरा पेरिस कम्युनका क्रान्तिकारीहरुले गंभीरतापूर्वक लिन सकेनन् ।

    माओले सर्वहाराको अधिनायकत्वलाई जनताको जनवादी अधिनायकत्वको रुपमा परिभाषित गरेका छन् । यो अवधारणा पनि पेरिस कम्युनकै शिक्षामाथि आधारित छ । युजिन पोत्तरले पेरिस कम्युनको दुर्घटनापछि नै गोप्य ठाउँमा बसेर अन्तर्राष्ट्रिय गीतको रचना ३० मई १८७१ मा गरेका हुन् ।

    युजिन पोत्तरको अन्तराष्ट्रिय गीत

    युजिन पोत्तरलाई के थाहा पेरिस कम्युनको पराजयपछि उनले गोप्य ठाउँमा बसेर ३० मई १८७१ मा लेखेको यो गीत अन्ततोगत्वा विश्वभरिका सर्वहाराबर्गको गीत हुन पुग्नेछ ! फ्रेन्च भाषामा लेखिएको यो कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत यतिबेला संसारका प्रायः सबै भाषामा अनुवाद भएको छ । युजिन पोत्तरले लेखेको यस अन्तर्राष्ट्रिय गीतको संगीत दिएका थिए– फ्रान्स कै संगीतकार पियरे गेटरले । संसारभरि अन्तर्राष्ट्रिय गीतको अनुवाद वा गाउने तरिका फरक परे पनि संगीत भने एउटै रहेको छ ।

    माक्र्स एंगेल्सले तयार पारेको १९४८ को कम्युनिष्ट पार्टीको घोषणा र युजिन पोत्तरले लेखेको १८७१ को अन्तर्राष्ट्रिय गीत विश्व सर्वहारा क्रान्तिका अभिन्न अंग बनेका छन् । अपरिहार्य बस्तु बनेका  छन् । ठूला पूँजी बनेका छन् । यिनको अभावमा हामी कम्युनिष्ट क्रान्तिको परिकल्पना नै गर्न सक्दैनौं । संसारमा सर्वहारावादी बिचारलाई जीवित राख्न, फैलाउन र शक्तिशाली बनाउन यी दुई कृतिहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ । यी कृतिहरूले मुर्दाहरूलाई पनि चिहानबाट जगाउन सक्नेछन् ।

    अन्तर्राष्ट्रिय गीतको अनुवाद एउटै भाषामा पनि फरक–फरक तरिकाले भएको छ । अंग्रेजी भाषामा अनुवाद भएको अन्तर्राष्ट्रिय गीतमा इङ्गलैण्डको छुट्टै छ । अमेरिकाको छुट्टै छ । नेपाली भाषामा बढी प्रचलनमा आएको अनुवाद नेकपा मालेले गाउन गरेको अनुवाद हो । यो अनुवाद – “उठ जाग ए भोका नाङ्गा, संसारका दुःखी...” बाट सुरु हुन्छ । यो अमेरिकाको अंग्रेजी अनुवादमाथि आधारित देखिन्छ । यो प्रथम इन्टरनेशनल, दोस्रो इन्टरनेशनल र तेस्रो इन्टरनेशनलको गीतको रुपमा स्थापित भएको थियो । यो गीत सोभियत भूमिको राष्ट्रित गीत पनि बनेको थियो ।

    अन्तर्राष्ट्रिय गीतको महत्व

    विश्व कम्युनिष्ट आन्दोलनपछि परेको विश्वको बर्तमान अवस्थामा युजिन पोत्तरले लेखेको यस अन्तराष्ट्रिय गीतको महत्व केही घटेजस्तो देखिए पनि यथार्थ यो होइन । यसले. फेरि चिहानबाट उठेर आफ्नो प्रभाव विश्वभरि फैलाउने क्षमता राख्दछ । उसरी विश्वको सर्वहारा क्रान्ति यतिबेला शिथिल भएपनि यो समाप्त भएको. छैन र नयाँ शिराबाट र नयाँ जगबाट उठ्ने प्रयासमा लागेको छ । माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओले देखेको विश्व सर्वहारा क्रान्तिको सपना इतिहासको खास–खास कालखण्डमा कमजोर हुन गएपनि समाप्त भएर जान सक्दैन । जसरी ढिलो चाँडो साम्यवादको विजय निश्चित छ । सर्वहारा क्रान्तिको विजय निश्चित छ । त्यसरी नै युजिन पोत्तरको गीतले बोकेको अन्ततः मानव जाति हुने कुरा निश्चित छ । युजिन पोत्तरको अन्तर्राष्ट्रिय गीतले विश्वका सर्वंहाराबर्गको भावना बिचार र आकांक्षालाई प्रतिविम्बित र प्रतिनिधित्व गरेको छ र गरेको छ– माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओले. देखेको साम्यवादको सपना । विश्व सर्वहारा क्रान्तिको सपना । मान्छेको मान्छेले शोषण गर्ने व्यवस्थाको अन्त्य र नयाँ समतामूलक समाजको सिर्जना । यस अर्थमा युजिन पोत्तरको अन्तर्राष्ट्रिय गीत नयाँ समाजको सिर्जना गर्ने गीत हो । नयाँ युगको आह्वान गर्ने गीत हो । यदि कुनै गीतलाई कालजयी गीत भन्न सकिन्छ भने यो निश्चित रुपमा कालजयी गीत हो । वास्तवमा कुनै कम्युनिष्ट पार्टी आफैमा कम्युनिष्ट पार्टी रहेको छ वा छैन ? त्यसको मापन गर्ने गीत पनि हो यो । कम्युनिष्ट पार्टीको घोषणापत्रले गरेको आह्वान हो विश्वका मजदूर एक हौ । यही कुराको माग गर्दछ, युजिन पोत्तरको यस अन्तर्राष्ट्रिय गीतले पनि ।

    युजिन पोत्तरका कविता

    १४ बर्षकै उमेरदेखि गीत कविता लेख्न थालेका युजिन पोत्तरका थुप्रै क्रान्तिकारी कविता तथा गीतहरू संग्रहका रुपमा प्रकाशित भएका छन् । अमेरिकामा निर्वासित जीवन ब्यतित गर्दा उनले तीनवटा कथात्मक कविता लेखेका थिए । ती कविता हुन्– अमेरिकाका मजदूरहरूका तर्फबाट फ्रान्सका मजदूरहरूलाई (१८७६), पेरिस कम्युन (१८७७) र मजदूरहरूको पार्टी (१८७८) । युजिन पोत्तरका १८८४ मा सामाजिक आर्थिक कविता संग्रह, समाजवादी क्रान्तिकारी गीत संग्रह र पागल को हो ? गीत संग्रह प्रकाशित भएका छन् । उनको क्रान्तिकारी गीत संग्रह १८८७ मा प्रकाशित भएको हो । उनका क्रान्तिकारी गीत र कविताले त्यतिबेला मजदूर बर्गको क्रान्ति चेत फैलाउन र संघर्षलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । अहिले पनि ती गीत र कविता उत्तिकै सान्दर्भिक छन् ।

    पेरिस कम्युनको लडाईमा ठूलो संख्यामा महिलाहरू पनि सामेल भएका थिए । यही कुरामाथि प्रकाश पार्दै युजिन पोत्तर भन्दछन् –

    हामी किसानहरू, शिल्पकारहरू र अन्य शोषित पीडितहरू

    श्रमका छोरा र छोरीहरूको भई भर्ती भएका थियौं

    हामी दाबी गरौं कि यो संसार गरिखाने श्रमिकहरूको हो

    बसिखाने लुटाहालाई यो धरतीबाटै धपाउँ ।

    आशावादी स्वर गुञ्जित गर्दै र दमनकारी लुटाहा बर्गबैरीलाई चुनौति युजिन पोत्तर भन्दछन् –

    दुष्टहरू हाम्रो मासु लुछेर बाँचेका छन्

    हामी युगौंदेखि गिद्धहरूका शिकार भएका छौं

    अब कायरहरूको प्रेतात्मालाई हामीले बिदाइ दिनुपर्दछ

    विहानीको मिर्मिरेले उज्यालो चम्किलो दिन ल्याउने छ ।

     

    युजिन पोत्तरले पेरिस कम्युनलाई प्रतिक्रियावादी सत्ताले बर्बरता र क्रुरतापूर्वक ध्वस्त गरेको १५ बर्ष पछि क्रान्तिप्रति आफ्नो उद्गार र भावना पोख्दै १८८६ मा लेखेका थिए –

    दुश्मनहरूले राइफल सोझाएर उसको हत्या गरे

    मसिन गन चलाएर उसको हत्या गरे

    र उसलाई रातो झण्डासितै

    जमिनमा घिसारे, लतारे

    र अथुराएको जल्लादहरूको भीडले

    आफूलाई निकै सर्वशक्तिमान ठान्यो

    तर त्यसले कुनै पात पनि हल्लाउन सकेन

     

    यस कारण कि, निकोलस

    कम्युन मरेको छैन

    जसरी खेतीवालाले बाली उठाएर खेत खाली पार्दछन्

    जसरी रुखबाट स्याउहरू भूईमा झर्दछन्

    भर्ससाइको नरसंहार

    सयौं हजारौं मान्छेहरूको नरसंहार

    सयौं हजारौं मान्छेहरूको बर्बर हत्या गरेर

    खोई त तिनले के लछारपाटो लाए ? 

    आखिर त्यसले कुनै परिवर्तन त भएन

    निकोलस

    यसकारण कि कम्युन मरेको छैन

    ठीक हो उनीहरूले हत्या गरे बर्लिनको

    फलोरेनको, डुभलको, मिलीरेको,

    फेरीको, रिगौको, टोनी मोलिनको

    र भरे धमाधम चिहानहरू

    हत्याराहरूले सोंचे

    हामीले उसको हात नै काटिदियौं

    हामीहरूको उसको रगतको मूल नै बन्द गरिदियौं

    तर यी सबकुराले केही पनि त परिवर्तन भएन

    निकोलस,

    यसकारण कि कम्युन मरेको छैन

    उनीहरूले डाँकाले जस्तै आक्रमण गरे

    चुपचाप उनीहरूले अस्पतालको बेडबाट

    थुतेर घाइतेहरूको हत्या गरे

    बेडको रक्ताम्म चाँदरबाट बगिरहेको रगत

    ढोकामुनि समेत बग्यो

    तर यसले खोई कुनै परिवर्तन ल्याएन

    निकोलस,

    यसकारण कि कम्युन मरेको छैन

    बेचिएका पत्रकारहरूले

    बदनामीका व्यापारीहरूले

    हाम्रो सामूहिक चिहानप्रति

    आफ्ना अनेक लाञ्छना, आरोप

    र आक्षेपका विष फिंजाए मेक्सिम डुक्याम्प,

    डुमासले आफ्नो जाँड रक्सी ओकले

    तर त्यसले कुनै हेरफेर ल्याएन

    निकोलस,

    यसकारण कि कम्युन मरेको छैन

    दमोक्लिजको तलबार

    उनीहरूका शिरमाथि झुण्डिरहेको छ

    भेलिजको शवयात्रामा

    उनीहरूलाई चूप बनाइएको थियो

    यसकारण कि हामीहरू त्यहाँ पंक्तिबद्ध थियौं

    उसलाई सुरक्षा दिन खटिएका असंख्य योद्धाहरू

    यसले हरहालतमा यही कुराको प्रमाणित गर्दछ

    निलोलस,

    यसकारण कि कम्युन मरेको छैन

    यी सब चीजले योद्धाहरूलाई यही कुराको प्रमाण दिन्छ

    मरियनाको छाला तंग्रिएको छ

    उनी युद्धको लागि तयार छिन्

    यो अब गगनभेदी स्वरमा नारा घन्काउने बेला हो 

    कम्युन जिन्दावाद

    यसले सबै जुदाजहरूलाई छर्लङ्ग पार्दछ

    सब चीज कस्तो छ

    छिटै नै उनीहरूलाई थाहा हुने छ

    हरे ! कम्युन त मरेको छैन ।

     

    उपसंहार

    अन्तराष्ट्रिय गीतका कारण संसारभरि चर्चित हुन पुगेका युजिन पोत्तरले अमर र अजय गीत कविता मात्र कोरेनन्, मजदूर आन्दोलन, संघर्ष र क्रान्तिमा होमिएर संसारलाई फेर्ने मामिलामा ठूलो भूमिका खेले । उनको जुझारु संघर्षमय जीवन, क्रान्तिकारी गीत, कविता र अन्तर्राष्ट्रिय गीतले गर्दा उनी विश्व सर्वहारा क्रान्तिका पाटपुर्जा भएर बाँचिरहेका छन् । दाँती र पेची भएर बाँचिरहेका छन् । उनको अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको पर्यायबाची बनेको छ । उनी आफ्नो महान कार्यको. लागि सधैं सर्वहारा बर्गका आँखामा तारा रहिरहनेछन् ।

    (स्रोतः जनबाटो डटकम)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij