(२ मई १९४२)
प्रस्तावना
कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् भन्ने र राष्ट्रिय सत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पूरा गर्न र क्रान्तिकारी कार्यलाई अझ सजिलो तुल्याउन अझ राम्ररी मद्दत गर्ने कुरो सुनिश्चित गर्नु हो ।
चिनियाँ जनताको मुक्तिका निम्ति गरिने हाम्रो सङ्घर्षका अनेकौँ मोर्चाहरू छन्, जसमा कलम र बन्दुकका मोर्चाहरू, सांस्कृतिक र सैनिक मोर्चाहरू पर्दछन् । सत्रुलाई हराउनका निम्ति हामीले मुख्य रूपले बन्दुकधारी सेनामाथि भर पर्नुपर्दछ । तर यो सेना मात्र पर्याप्त हुँदैन । हामीसित सांस्कृतिक सेना पनि हुनैपर्छ । जो हाम्रा पङ्क्तिलाई एकताबद्ध पार्न र दश्स्मनलाई हराउन अनिवार्य रूपले आवश्यक छ । मई ४ आन्दोलनदेखि चीनमा यस्तो सांस्कृतिक सेनाले साकार रूप लिएको छ र यसले चिनियाँ क्रान्तिलाई मद्दत गरेको छ । चीनको सामन्ती संस्कृति र साम्राज्यवादी अतिक्रमणलाई टेवा दिने दलाल–पुँजीवादी संस्कृतिको प्रभाव–क्षेत्र क्रमशः घटाएको छ र तिनको प्रभावलाई कमजोर पारेको छ । नौलो संस्कृतिको विरोध गर्नका निम्ति चिनियाँ प्रतिक्रियावादीहरूले अब ‘गुणसित मात्राले टक्कर लिने’ एक मात्र तरिका अपनाउन सक्छन् । अर्को शब्दमा भन्ने हो भने चिनियाँ प्रतिक्रियावादीहरूसित पैसा छ र उनीहरूले कुनै श्रेष्ठ रचना तयार पार्न नसके तापनि भएभरको शक्ति लगाएर मात्रा भने थुपार्न सक्छन् । मई ४ आन्दोलनदेखि साहित्य र कला सांस्कृतिक मोर्चाका महत्वपूर्ण र सफल अङ्ग हुन गएका छन् । दश वर्षको गृहयुद्धको अवधिमा क्रान्तिकारी साहित्य र कलाको आन्दोलनको औधी विकास भएको छ ।
यो आन्दोलन र क्रान्तिकारी युद्ध दुवै नै एउटै सामान्य दिशातर्फ अघि लम्कँदै गए तर यी दुई बन्धु सेनाहरू आ–आफ्ना व्यावहारिक कार्यमा एक–अर्कोसित गाँसिएनन् किनभने प्रतिक्रियावादीहरूले यिनलाई एक–अर्कोबाट अलग्याइदिए । जापानविरोधी प्रतिरोध युद्ध छोडिएपछि झन् झन् बढी क्रान्तिकारी लेखक र कलाकारहरू येनान र हाम्रा अरू जापानविरोधी आधारइलाकाहरूमा आइरहेका छन् । यो साह्रै राम्रो कुरा हो । तर, यसको अर्थ आधारइलाकाहरूमा आउँदैमा उनीहरू यहाँका जनसमूहहरूसित पुरापुर एकाकार भइहाले भन्ने होइन । हामीले आफ्नो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुईथरी सेनालाई एकाकार गर्नैपर्छ । हाम्रो आजको बैठकको उद्देश्य साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाको रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउने तथा सत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राणजस्तो भएर सत्रुसित जुध्न मद्दत गरून् भन्ने कुरालाई सुनिश्चित पार्नु हो । यो लक्ष्य प्राप्त गर्नका निम्ति हल गर्नुपर्ने समस्याहरू के–के हुन् ? मेरा विचारमा यी समस्याहरू हुन्– लेखक र कलाकारहरूको वर्गीय अडानको समस्या, उनीहरूको प्रवृत्तिको समस्या, उनीहरूका पाठक–दर्शकहरूको समस्या, उनीहरूको कार्यको समस्या र उनीहरूको अध्ययनको समस्या ।
वर्गीय अडानको समस्या : हाम्रो अडान सर्वहारा वर्ग र जनसमूहकै अडान हो । कम्युनिस्ट पार्टीका समस्याहरूका निम्ति यसको अर्थ हो पार्टीकै अडानबमोजिम चल्नु, पार्टीको भावना र पार्टीको नीतिबमोजिम चल्नु । अझै यस समस्याबारे गलत सोचाइ राख्ने वा यसलाई प्रस्टसित नबुझ्ने हाम्रा केही लेखक र कलाकर्मीहरू छन् कि ? मेरा विचारमा त्यस्ता मानिसहरू अझै छन् । हाम्रा निकै कमरेडहरू सही अडानबाट बारम्बार चिप्लिएका छन् ।
प्रवृत्तिको समस्या : आ–आफ्नो अडानबाट विशिष्ट प्रवृत्तिहरू देखा पर्छन् । दृष्टान्तका निम्ति हामीले गुणगान गर्ने कि उदाङ्गो पार्ने ? यो प्रवृत्तिको सवाल हो । यीमध्ये कुनचाहिँ प्रवृत्ति अपनाउने ? मेरा विचारमा दुवै प्रवृत्ति अपनाउनुपर्छ । अब सवाल उठ्छ, तपाईं कसका बारेमा कुरा गर्दै हुनुहुन्छ ? मानिसहरू तीन थरीका छन्– हाम्रा सत्रुहरू, संयुक्त मोर्चाका हाम्रा सहयोगीहरू र हाम्रा आफ्नै मानिसहरू । यिनमा पछिल्लो श्रेणीका मानिसहरू जनसमूहहरू र उनीहरूका अगुवाहरू हुन् । यी तीनथरीका मानिसमध्ये हामीले हरेकप्रति बेग्ला–बेग्लै प्रवृत्ति अपनाउनुपर्छ । सत्रुको हकमा अर्थात् जापानी साम्राज्यवाद र जनताका अरू सबै सत्रुहरूका हकमा, क्रान्तिकारी लेखक र कलाकारहरूको अभिभारा तिनको छलकपट र निष्ठुरतालाई उदाङ्गो पारिदिनु र त्यसका साथसाथै, तिनको हार अवश्यम्भावी छ भन्ने कुरा औँल्याइदिनु हो; जसले गर्दा जापानविरोधी सेना र जनतालाई ती सत्रुहरूलाई उखेलेर मिल्काउनका निम्ति एक मन, एकप्राण भएर दृढताका साथ जुध्ने काममा प्रोत्साहित गर्न सकियोस् । संयुक्त मोर्चाका हाम्रा विभिन्न सहयोगीहरूका हकमा हामीले सहयोग र आलोचना दुवैका प्रवृत्ति अपनाउनुपर्छ र यो सहयोग र आलोचना पनि बेग्लाबेग्लै किसिमको हुनुपर्छ । उनीहरूको जापानसित प्रतिरोध गर्ने कामलाई हामी समर्थन गर्छौँ र यस काममा उनीहरूले पाएको सफलताको प्रशंसा गर्छौँ तर उनीहरूको प्रतिरोध युद्धमा सक्रिय नभएको खण्डमा भने हामीले उनीहरूको आलोचना गर्नैपर्छ । कसैले कम्युनिस्ट पार्टी र जनताको विरोध गर्छ र प्रतिक्रियावादी बाटोतिर खस्कँदै जान्छ भने हामी दृढतापूर्व यसको विरोध गर्नेछौँ ।
जहाँसम्म जनसमूहहरू, उनीहरूको पराक्रम र सङ्घर्ष, उनीहरूको सेना र उनीहरूको पार्टीको सवाल छ, हामीले अवश्यै तिनको प्रशंसा गर्नैपर्छ । जनताका पनि आफ्नै कमजोरीहरू हुन्छन् । सर्वहारा वर्गका निकै मानिसहरूमा निम्न पुँजीवादी विचारहरू रहेका हुन्छन् । उता किसान र सहरिया निम्न पुँजीपति वर्गका मानिसहरूमा पिछडिएका विचारहरू रहेका हुन्छन् । यी विचारहरू सङ्घर्षमा तिनलाई वाधा पार्ने बोझहरू हुन् । उनीहरूलाई शिक्षित तुल्याउन र उनीहरूलाई आफ्नो पिठ्युँबाट यी बोझहरू मिल्काउन र आफ्ना कमजोरीहरूसित जुध्न मद्दत गर्न हामीले धैर्यपूर्वक निकै समय लगाउनुपर्छः जसले गर्दा लामा–लामा फड्का हाल्दै उनीहरू अघि लम्कन सकून् । उनीहरूले सङ्घर्षद्वारा आफ्नो संस्कार फेरेका छन् वा फेर्दै छन् र हाम्रो साहित्य र कलाले यस प्रक्रियाको चित्रण गर्नुपर्छ । यदि उनीहरू आफ्ना गल्तीहरू काखी च्यापेर बस्दैनन् भने हामीले खाली उनीहरूको नकारात्मक पक्षको कुरा गर्दै उनीहरूको खिल्ली उडाउने गर्नु वा अझ नराम्रो कुरा, उनीहरूप्रति वैरभाव राख्नुहुँदैन । हाम्रा रचनाहरूले त उनीहरूलाई एकताबद्ध हुन, प्रगति गर्न, एक मन र एकप्राण भएर अघि बढ्न, पिछडिएका कुराहरू त्याग्न र क्रान्तिकारी कुराहरूको विकास गर्न सघाउ पुर्याउनुपर्छ र त्यसको उल्टो काम भने निश्चय नै गर्नुहुँदैन ।
पाठक–दर्शकहरूको समस्या, अर्थात् ती मानिसहरूको समस्या; जसका निम्ति हाम्रो साहित्य र कलाका कृतिहरू रचिएका छन् । सेनसी–कानसु–चिङ्स्या सिमान्त क्षेत्रमा र उत्तरी चीन र मध्य–चीनका जापानविरोधी आधारइलाकाहरूमा यो समस्या क्वोमिन्ताङ शासित इलाकाहरूमा भन्दा बेग्लै छ र प्रतिरोध युद्धअघिको साङ्घाईमा भन्दा झन् बेग्लै छ । साङ्घाई अवधिमा क्रान्तिकारी साहित्य र कलाका कृतिहरूका पाठक र दर्शकहरू मुख्यतया विद्यार्थीहरू, कर्मचारीहरू र पसलका सहायकहरू नै हुन्थे । प्रतिरोध युद्ध छेडिएपछि क्वोमिन्ताङ–शासित इलाकाहरूमा पाठक र श्रोताहरूको घेरा अलि फराकिलो भयो, तैपनि तीमध्ये मुख्य रूपले उस्तै खालका मानिसहरू थिए किनभने त्यहाँ सरकारले मजदुर, किसान र सिपाहीहरूलाई क्रान्तिकारी साहित्य र कलाको सम्पर्कमा आउन दिएको थिएन । हाम्रा आधारइलाकाहरूमा भने परिस्थिति एकदमै फरक छ । यहाँ साहित्य र कलाका कृतिहरूका पाठक र दर्शकहरू मजदुरहरू, किसानहरू, सिपाहीहरू र क्रान्तिकारी काडरहरू नै छन् । आधारइलाकाहरूमा पनि विद्यार्थीहरू त छन् तर यी पुरानाखालका विद्यार्थीहरूभन्दा बेग्लै छन् । उनीहरू कि त पहिलेका कि भावी काडरहरू हुन् । साक्षर हुनासाथै, सबै किसिमका काडरहरू, सेनाका योद्धाहरू, कारखानाका मजदुरहरू र गाउँका किसानहरू सबैले पुस्तक र अखबारहरू पढ्न मन गर्छन् र निरक्षर रहेका मानिसहरूचाहिँ नाटक र ओपेराहरू, रेखाचित्र र रङ्गीन चित्रहरू हेर्न, गीत गाउन र सङ्गीत सुन्न मन गर्छन् । हाम्रो साहित्य र कलाका कृतिहरूका पाठक–दर्शकहरू यिनै हुन् । अब काडरहरूलाई मात्र लिऔँ । उनीहरू थोरै होलान् भन्ने नठान्नोस्, क्वोमिन्ताङ–शासित इलाकामा प्रकाशित हुने कुनै पनि पुस्तकका पाठकहरूभन्दा यिनीहरू कहाँ हो कहाँ धेरै छन् । त्यहाँ कुनै पुस्तकको एक संस्करणमा खालि २,००० थान पुस्तक छापिन्छन् र तीन संस्करण जोड्दासम्म ६,००० थान मात्र हुन्छन् तर जहाँसम्म आधारइलाकाका काडरहरूको सवाल छ, येनानमा मात्रै पुस्तक पढ्न सक्नेहरूको सङ्ख्या दशहजारभन्दा धेरै छ । अर्को कुरा, उनीहरूमध्ये धेरैजसो देशका सबै भागबाट आएका र लामो इतिहास भएका खारिएका क्रान्तिकारीहरू छन् र उनीहरू विभिन्न ठाउँमा काम गर्न जानेछन् । यसकारण उनीहरूका माझमा शैक्षिक कार्य गर्नु ज्यादै महत्वपूर्ण छ । हाम्रा साहित्य र कलाका कर्मीहरूले यस क्षेत्रमा साह्रै राम्ररी काम गर्नुपर्दछ ।
हाम्रो साहित्य र कलाका पाठक–दर्शकहरू मजदुर, किसान र सिपाहीहरू तथा उनीहरूका काडरहरू भएका हुनाले यहाँ उनीहरूलाई बुझ्नुपर्ने र राम्ररी चिन्नुपर्ने सवाल उठ्छ । उनीहरूलाई बुझ्न र राम्ररी चिन्नका निम्ति, पार्टी र सरकारका सङ्गठनहरू, गाउँ र कारखानाहरू तथा आठौँ मार्गसेना र नौलो चौथो सेनाहरूभित्र रहेका विभिन्न किसिमका मानिसहरू र घटनाक्रमहरूलाई बुझ्न र राम्ररी चिन्नका निम्ति थुप्रै काम गर्नुपर्ने भएको छ । हाम्रा लेखक र कलाकारहरूले आ–आफ्नो साहित्य र कला–सिर्जनाको काम गर्नु त छँदै छ तर उनीहरूको सबभन्दा पहिलो अभिभाराचाहिँ जनतालाई राम्ररी बुझ्नु र चिन्नु हो । यस सम्बन्धमा हाम्रा लेखक र कलाकारहरूको के कस्तो अवस्था छ त ? म के भन्न चाहन्छु भने उनीहरूमा ज्ञान र समझदारीको कमी छ । उनीहरू ‘शुर्याइँ देखाउने ठाउँ नपाएको शूरवीर’ जस्ता भएका छन् । ज्ञानको कमी भन्नाको अर्थ के हो ? यसको अर्थ हो जनतालाई राम्ररी नचिन्नु । लेखक र कलाकारहरूमा न त आफूले वर्णन गर्ने मानिसहरूको राम्रो जानकारी छ, न त उनीहरूमा आफ्ना पाठक–दर्शकहरूको राम्रो जानकारी छ, वास्तवमा उनीहरूले ती मानिसलाई बिरलै चिनेका होलान् । उनीहरूले मजदुरहरू वा किसानहरू वा सिपाहीहरूलाई राम्ररी चिन्दैनन् र काडरहरूलाई पनि राम्ररी चिन्दैनन् । समझदारीको कमी भन्नाको अर्थ के हो ? यसको अर्थ हो उनीहरूको भाषा नबुझ्नु अर्थात् जनसमूहको समृद्ध, सजीव भाषासित परिचित नहुनु । धेरै लेखक र कलाकारहरू जनसमूहबाट अलग्गै बस्ने र निस्सार जीवन बिताउने हुनाले उनीहरू जनभाषासित स्वाभाविकै रूपले अपरिचित छन् । परिणामस्वरूप उनीहरूका रचनाको भाषा निरस हुने मात्र होइन, तिनमा धेरैजसो उनीहरू आफूले रचेका त्यस्ता अनुपयुक्त अभिव्यक्तिहरू पनि पर्दछन्; जो प्रचलित प्रयोगको उल्टो हुन्छन् । धेरै कमरेडहरू ‘जनशैली’ बारे कुरा गर्न रुचाउँछन् ।
तर जनशैलीको साँचो अर्थ के हो ? यसको अर्थ के हो भने हाम्रा लेखक र कलाकारहरूका विचार र भावनाहरू मजदुर, किसान र सिपाहीहरूका जनसमूहका विचार र भावनाहरूसित ठ्याम्मै एकरूप भएर मिल्नुपर्छ । यस्तो एकरूपता हासिल गर्नका निम्ति उनीहरूले दिलोज्यानले जनसमूहको भाषा सिक्नुपर्छ । तपाईं जनसमूहको भाषाका थुप्रो कुरा नै बुझ्नुहुन्न भने साहित्य र कला सिर्जनाबारे कसरी कुरा गर्नुहुन्छ ? ‘शुर्याइँ देखाउने ठाउँ नपाएको शूरवीर’ भन्नाको हाम्रो तात्पर्य के हो भने तपाईंको तथाकथित महान् सत्यको सँगालोलाई जनसमूहले रुचाएका छैनन् । तपाईं जनसमूहका सामु जित दिग्गज हुने स्वाङ र ‘शूरवीर’ हुने नाटक रच्नुहुन्छ, जनसमूहलाई त्यति नै यस्ता फोहोर–कसिङ्गर कोच्ने प्रयत्न गर्नुहुन्छ अनि जनसमूहले यसलाई स्वीकार गर्ने सम्भावना त्यति नै कम हुन्छ । तपाईं जनताले आफूलाई बुझिदिऊन् भन्ने इच्छा गर्नुहुन्छ र तपाईं जनसमूहसित एकरूप हुन चाहनुहुन्छ भने, आफूलाई खार्ने दीर्घकालीन र अझ कष्टपूर्ण प्रक्रियाबाट गुज्रन तपाईंले अठोट गर्नैपर्छ । यहाँनेर मेरा आफ्नै भावनाहरू कसरी फेरिए भन्ने अनुभवको मैले चर्चा गर्नुपर्ला ।
मैले विद्यार्थीका रूपमा जीवनको थालनी गरेँ र विद्यालयमा विद्यार्थीको चालचलन सिकेँ । आफ्ना काँधमा वा हातमा एउटा छेस्कोसम्म पनि बोक्न नसक्ने सहपाठीहरूका अगाडि मैले मेरा आफ्नै सरसामानहरू बोक्नेजस्तो मामुली शारीरिक श्रम गर्दा पनि मेरो इज्जत गइहाल्ला कि भन्ने मलाई लाग्दथ्यो । त्यसबखत मलाई बुद्धिजीवीहरू मात्रै यस संसारका सफासुग्घर मानिस हुन् र तिनको दाँजोमा मजदुर र किसानहरूचाहिँ फोहोरी मानिस हुन् भन्ने लाग्थ्यो । बुद्धिजीवीहरू सफासुग्घर मानिस हुन् भन्ने विश्वास भएकाले उनीहरूका लुगा लाउन मलाई पटक्कै अप्ठेरो लाग्दैनथ्यो, तर मजदुर र किसानहरूचाहिँ फोहोरी हुन् भन्ने विश्वास भएकोले म तिनका लुगा लगाउँदैनथेँ । तर, म क्रान्तिकारी भएपछि र मजदुर र किसानहरू तथा क्रान्तिकारी सेनाका सिपाहीहरूसँग बसेपछि मैले विस्तारै–विस्तारै उनीहरूलाई राम्ररी चिनेँ र उनीहरूले पनि विस्तारै–विस्तारै मलाई चिने । पुँजीवादी विद्यालयहरूमा छँदा मेरा मनमा जरा गाडेका पुँजीवादी र निम्न पुँजीवादी भावनाहरूलाई मैले त्यसबखत मात्रै आधारभूत रूपमा फेर्न सकेँ । अनि मलाई कस्तो लाग्यो भने संस्कार नफेरिएका बुद्धिजीवीहरू मजदुर र किसानहरूको दाँजोमा सफासुग्घर हुँदा रहेनछन् र अन्तिम विश्लेषणमा मजदुर र किसानहरू नै सबभन्दा सफासुग्घर मानिस रहेछन् अनि हातमा हिलो लागेका र खुट्टामा गोबर लतपतिएका भए पनि किसान र मजदुरहरू पुँजीवादी र निम्न पुँजीवादी बुद्धिजीवीहरूभन्दा त साँच्ची नै सफासुग्घर पो हुँदा रहेछन् । भावनात्मक परिवर्तन, एक वर्गबाट अर्को वर्गमा परिवर्तन भन्नाको अर्थ यही हो । बुद्धिजीवी समुदायबाट आएका हाम्रा लेखक र कलाकारहरू जनसमूहले आफ्ना रचनाहरू राम्ररी रुचाएको देख्न चाहन्छन् भने उनीहरूले आफ्ना विचार र भावनाहरूलाई रूपान्तर गर्नुपर्छ र पुनःसंस्कार गर्नैपर्छ । यस्तो रूपान्तर नगरीकन, यस्तो पुनःसंस्कार नगरीकन उनीहरूले कुनै काम पनि राम्ररी गर्न सक्ने छैनन् ।
अन्तिम समस्या अध्ययनको समस्या हो । यसो भन्नाको मेरो तात्पर्य हो माक्र्सवाद–लेनिनवाद तथा समाजको अध्ययन । आफूलाई माक्र्सवादी लेखक ठान्ने कुनै पनि व्यक्तिले र विशेष गरेर कम्युनिस्ट पार्टीको सदस्य रहेको कुनै पनि लेखकले माक्र्सवाद–लेनिनवादको ज्ञान हासिल गर्नैपर्छ । तैपनि हाल केही कमरेडहरूमा माक्र्सवादका आधारभूत धारणाहरूको जानकारी पनि छैन । उदाहरणका निम्ति, मानिसको अस्तित्वले उसको चेतनालाई निर्धारित गर्छ र वर्गसङ्घर्ष र राष्ट्रिय सङ्घर्षका वस्तुगत वास्तविकताहरूले हाम्रा विचार र भावनाहरूलाई निर्धारित गर्छन भन्ने कुरा एउटा आधारभूत माक्र्सवादी धारणा हो तर हाम्रा केही कमरेडहरू यस तथ्यलाई उल्टाइदिन्छन् र ‘प्रेम’ बाटै हरेक कुराको थालनी हुनुपर्छ भन्छन् । अब प्रेमकै कुरा गर्ने हो भने वर्गीय समाजमा वर्गीय प्रेम मात्रै हुन सक्छ तर यी कमरेडहरू ने वर्गभन्दा माथि रहेको प्रेम, अमूर्त प्रेम, अमूर्त स्वतन्त्रता, अमूर्त सत्य, अमूर्त मानव स्वभाव आदि कुरा खोजिरहेका छन् । यसले के जनाउँछ भने उनीहरू पुँजीपति वर्गबाट साह्रै गहिरोसित प्रभावित भएका छन् । उनीहरूले आफूलाई यस प्रभावबाट पुरापुर मुक्त गर्नुपर्छ र नम्रतासाथ माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुपर्छ । लेखक र कलाकारहरूले साहित्य र कलाका कृतिहरूको अध्ययन गर्नु उचित कुरो हो तर माक्र्सवाद–लेनिनवादको विज्ञान भने सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपर्छ र यस कुरामा लेखक र कलाकारहरू पनि अपवाद हुँदैनन् । लेखक र कलाकारहरूले समाजको अध्ययन गर्नुपर्छ । भनाइको अर्थ के भने उनीहरूले समाजका विभिन्न वर्गहरू, तिनका आपसी सम्बन्धहरू र तिनका आ–आफ्ना स्थितिहरू, तिनको स्वरूप र तिनको मनोविज्ञानको अध्ययन गर्नुपर्छ । यी सबै कुरालाई प्रस्टसित ठम्याएपछि मात्रै हामीले समृद्ध विषयवस्तु र सही दिशा भएको साहित्य र कला हात पार्न सक्नेछौँ ।
निष्कर्ष
२३ मई १९४२
कमरेडहरू ! यस महिनामा हाम्रो गोष्ठीका तीनवटा बैठक भइसके । सत्यको खोजी गर्ने क्रममा हामीले जोसिला बहसहरू गर्यौं; जसमा पार्टी कमरेडहरू र गैरपार्टी कमरेडहरूले छलफलका विषयहरूलाई प्रस्ट पार्दै र तिनलाई अझ ठोस रूप दिँदै बोलिसकेका छन् । मलाई के विश्वास छ भने यसबाट सम्पूर्ण साहित्य र कलाको आन्दोलनलाई निकै ठूलो फाइदा हुनेछ ।
कुनै समस्याबारे छलफल गर्दा हामीले परिभाषाहरूबाट होइन, वास्तविक स्थितिबाट थाल्नुपर्छ । हामीले पहिले पाठ्यपुस्तकहरूमा साहित्य र कलाका परिभाषाहरू खोज्यौँ र त्यसपछि हालको साहित्य र कलाको आन्दोलनका मार्गदर्शक सिद्धान्तहरू निर्धारण गर्न र अचेल उत्पन्न हुने विभिन्न मत र मतभेदहरूको मूल्याङ्कन गर्न ती परिभाषाहरूलाई प्रयोग गर्यौं भने हामीले गलत पद्धतिको अनुशरण गर्नेछौँ । हामी माक्र्सवादी हौँ र माक्र्सवादले हामीले के कुरा सिकाउँछ भने कुनै समस्याको निक्र्योल गर्दा हामीले अमूर्त परिभाषाहरूबाट होइन, वस्तुगत तथ्यहरूको विश्लेषणबाट हाम्रा मार्गदर्शक सिद्धान्तहरू, नीतिहरू र कदमहरू फेला पार्नुपर्छ । साहित्य र कलासम्बन्धी कार्यको हाम्रो हालको छलफलमा पनि हामीले यसै गर्नुपर्छ ।
हालका त्यस्ता तथ्यहरू के के हुन् त ? ती तथ्यहरू यस प्रकार छन् : पाँच वर्षदेखि चीनले चलाइआएको जापानविरोधी प्रतिरोध युद्ध, फासिवादविरोधी विश्वव्यापी युद्ध, प्रतिरोध युद्धमा चीनको ठूलो जमिनदार वर्ग र ठूलो पुँजीपति वर्गको ढुलमुलेपना र जनतामाथि मनपरी ढङ्ग ले थिचोमिचो गर्ने तिनको नीति, मई ४ आन्दोलनदेखि चलिआएको साहित्य र कलाको क्रान्तिकारी आन्दोलन, विगत तीनवर्षमा यसले क्रान्तिप्रति गरेका महान् योगदानहरू र यसका थुप्रै कमजोरीहरू, आठौँ मार्गसेना र नौलो चौथो सेनाका जापानविरोधी जनवादी आधारइलाकाहरूका र यी सेनाहरू तथा यी इलाकाहरूका मजदुर र किसानहरूसित थुप्रै लेखक र कलाकारहरूको गहिरो हिमचिम, आधारइलाकाका लेखक र कलाकारहरू तथा क्वोमिन्ताङ–शासित इलाका लेखक र कलाकारहरूको वातावरण र अभिभारा दुवै कुरामाझ रहेको अन्तर तथा येनान र अरू जापानविरोधी आधारइलाकाहरूमा साहित्य र कलासम्बन्धमा उठेका विवादास्पद प्रश्नहरू यी सबै वास्तविक र अकाट्य तथ्यहरू हुन्; जसलाई अगाडि राखेर हामीले हाम्रा समस्याहरूमाथि सोचविचार गर्नुपरेको छ ।
उसोभए कुराको सार के हो त ? मेरा विचारमा जनसमूहका निम्ति काम गर्ने कुरा र जनसमूहका निम्ति कसरी काम गर्ने हो– यिनै हाम्रा आधारभूत समस्या हुन् । यी दुई समस्यालाई हल नगरुञ्जेलसम्म वा सही तरिकाले हल नगरुञ्जेलसम्म हाम्रा लेखक र कलाकारहरूले वातावरण र आफ्ना अभिभाराअनुरूप आफूलाई मिलाउन सक्नेछैनन् र उनीहरूले भित्र र बाहिर अनेकौँ कठिनाइहरूको सामना गर्नुपर्नेछ । मेरा बाँकी कुराहरू यिनै दुईटा समस्यामा केन्द्रित हुनेछन् । साथै, म यी कुरासित सम्बन्धित अरू केही कुराको पनि चर्चा गर्नेछु ।
१. पहिलो समस्या हो– हाम्रो साहित्य र कला कसका लागि ? माक्र्सवादीहरूले, खास गरेर लेनिनले यस समस्याको धेरै पहिले समाधान गर्नुभएको थियो । धेरै समयअघि १९०५ मा लेनिनले जोड दिँदै के कुरा औँल्याउनुभएको थियो भने हाम्रो साहित्य र कलाले “लाखांँ–करोडौँ श्रमजीवी जनताको सेवा गर्नुपर्छ ।” जापानविरोधी आधारइलाकामा साहित्य र कलाका काममा तल्लीन रहेका कमरेडहरूलाई यो समस्या पहिल्यै समाधान भइसकेको र यसबारे अरू छलफल गर्नु जरुरी छैन भन्ने लाग्न सक्छ । वास्तवमा कुरो त्यसो होइन । धेरै कमरेडहरूले यसको प्रस्ट समाधान फेला पारेका छैनन् । त्यसैकारण उनीहरूका भावना, उनीहरूका रचना, उनीहरूका कर्याकलापहरू र साहित्य र कलाका मार्गदर्शक सिद्धान्तहरूसम्बन्धी उनीहरूका विचारहरू अनिवार्य रूपले जनसमूह र व्यावहारिक सङ्घर्षका आवश्यकताहरूसित केही न केही मेल नखाने खालका छन् ।
साँचो कुरा के भने कम्युनिस्ट पार्टी, आठौँ मार्गसेना र नौलो चौथो सेनासँगसँगै महान् मुक्ति सङ्घर्षमा लागेका अनेकौँ सांस्कृतिक व्यक्तिहरू, लेखकहरू, कलाकारहरू र अरू साहित्य र कलाकर्मीहरूमध्ये केही थोरै त्यस्ता क्यारियरवादीहरू हुन सक्तछन्ः जो अस्थायी रूपले हामीसित रहेका छन् तर तिनको अति विशाल सङ्ख्याले हाम्रो साझा ध्येयका निम्ति ज्यादै उत्साहपूर्वक काम गरिरहेका छ । यिनै कमरेडहरूमाथि भर पर्दै हामीले हाम्रो साहित्य, नाटक, सङ्गीत र ललित कलाका क्षेत्रमा थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ । यी लेखक र कलाकारहरूमध्ये धेरैले प्रतिरोध युद्ध छेडिएपछि काम थालेका हुन् । अरू धेरैले भने यस युद्धअघि नै थुप्रो क्रान्तिकारी काम गरेका छन्, थुप्रै दुःख–कष्टहरू खपेका छन् र आफ्ना गतिविधि र कामहरूद्वारा व्यापक जनसमूहलाई प्रभावित पारेका छन् । उसो भए, यी कमरेडहरूमध्येमा पनि साहित्य र कला कसका लागि भन्ने समस्या सम्बन्धमा प्रस्ट समाधानको टुङ्गोमा पुगिनसकेका केही मानिसहरू छन् भनेर हामी किन भन्छौँ त ? क्रान्तिकारी साहित्य र कला जनसमूहको लागि नभईकन शोषकहरू र उत्पीडनहरूको लागि हुन् भन्ठान्ने केही मानिसहरू अझै पनि छन् भनेर लख काट्न सकिँदैन र ?
वास्तवमा त्यस्तो साहित्य र कला पनि छ, जो शोषकहरू र उत्पीडकहरूका लागि हो । जमिनदार वर्गका लागि रचिएको साहित्य र कला सामन्ती साहित्य र कला हो । चीनको सामन्ती युगको शासक वर्गको साहित्य र कला यस्तै थियो । आजसम्म पनि चीनमा यस्तो साहित्य र कलाको साह्रै ठूलो प्रभाव छ । पुँजीपति वर्गका लागि रचिएको साहित्य र कला पुँजीवादी साहित्य र कला हो । लु सुनले आलोचना गर्नुभएका ल्याङ् स छ्युजस्ता मानिसहरू साहित्य र कलालाई वर्गहरूभन्दा माथिको चीज भन्ठान्छन् तर वास्तवमा भने उनीहरूले पुँजीवादी साहित्य र कलाको पक्ष लिन्छन् । सर्वहारावादी साहित्य र कलाको विरोध गर्छन् । अनि चाओ च्वो रन, चाङ चि फिङ र अरू त्यस्तै मानिसहरूले रच्ने गरेको साहित्य र कला पनि छ; जसले साम्राज्यवादीहरूको सेवा गर्छ, जसलाई हामी देशद्रोही साहित्य र कला भन्दछौँ । हाम्रो साहित्य र कला भने माथि उल्लेख भएका कुनै पनि समूहका लागि नभईकन जनताका लागि हुन् । हामीले के भनेका छौँ भने वर्तमान अवस्थाको चीनको नौलो संस्कृति सर्वहारा वर्गको नेतृत्वअन्तर्गत जनसमूहको साम्राज्यवादविरोधी, सामन्तवादविरोधी संस्कृति हो । आज जुन कुरा साँच्ची नै जनसमूहको लागि हुन्छ, निश्चित रूपले त्यसको नेतृत्व सर्वहारा वर्गले नै गरेको हुनुपर्छ । पुँजीपति वर्गको नेतृत्वमा रहेको कुनै चीज पनि कुनै हालतमा जनसमूहका लागि हुन सक्दैन । नौलो संस्कृतिको अङ्गको रूपमा रहेको नौलो साहित्य र कला सम्बन्धमा स्वाभाविक रूपले यही कुरा लागू हुन्छ । हामीले चीन र विदेशी मुलुकहरूमा विगत युगहरूदेखि चलिआएको साहित्य र कलाको समृद्ध सम्पदा र श्रेष्ठ परम्पराहरूलाई स्वीकार गर्नुपर्छ तर त्यसो गर्दा पनि हाम्रो उद्देश्य भने जनसमूहको सेवा गर्ने हुनुपर्छ । अर्कातिर हामी विगतकालका साहित्य र कलाकारहरूको सदुपयोग गर्ने कुरालाई इन्कार गर्दैनौँ, तर यी पुराना रूपहरू हाम्रो हातमा परेपछि तिनमा नयाँ पाइन हालेर र नयाँ विषय भरेर हामी तिनलाई जनताको सेवा गर्ने क्रान्तिकारी चीजमा फेरिदिन्छौँ ।
उसो भए जनसमूह भनेका को हुन् त ? हाम्रो कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी भएका मजदुरहरू, किसानहरू, सिपाहीहरू र सहरिया निम्न पुँजीपति वर्गका व्यापकतम जनता नै हाम्रा जनसमूह हुन् । त्यसकारण हाम्रा साहित्य र कला सबभन्दा पहिले, क्रान्तिको नेतृत्व गर्ने मजदुर वर्गका लागि हुन् । दोस्रो स्थानमा ती सबभन्दा व्यापक जनसङ्ख्या भएका र हाम्रो क्रान्तिका दृढ सहयोगी किसानहरूका लागि हुन् । तेस्रो स्थानमा, ती क्रान्तिकारी युद्धको मुख्य शक्तिका रूपमा रहेका सशस्त्र मजदुर र किसानहरू अर्थात् आठौँ मार्गसेना र नौलो चौथो सेना तथा जनताका अरू सशस्त्र एकाइहरूका लागि हुन् । चौथो स्थानमा ती सहरिया निम्न पुँजीपति वर्गका श्रमिक जनसमूहरू र निम्न पुँजीवादी बुद्धिजीवीहरू लागि हुन् । यीमध्ये दुवै नै क्रान्तिमा हाम्रा सहयोगी हुन् र यिनले हामीसित लामो समयसम्म सरसहयोग गर्न सक्छन् । यी चार किसिमका मानिसहरू मिलेर चिनियाँ राष्ट्रको विशाल बहुसङ्ख्या, व्यापकतम, जनसमुदाय बन्दछ ।
हाम्रो साहित्य र कला माथि उल्लेख गरिएका चार किसिमका मानिसहरूको लागि हुनुपर्छ । उनीहरूको सेवा गर्नका निम्ति हामीले निम्न पुँजीपति वर्गको वर्गीय अडान नलिई सर्वहारा वर्गको वर्गीय अडान लिनुपर्छ । व्यक्तिवादी, निम्न पुँजीवादी अडान लिने लेखकहरू आज क्रान्तिकारी मजदुर, किसान र सिपाहीहरूका जनसमूहको सच्चा सेवा गर्न सक्दैनन् । उनीहरूको ध्यान मुख्य रूपले अल्पसङ्ख्यक निम्न पुँजीवादी बुद्धिजीवीहरूको हितमा केन्द्रित रहन्छ । हाम्रा केही कमरेडहरूले कसका लागि भन्ने समस्या समाधान गर्न नसक्नाको गाँठी कारण यही हो । यसो भन्दा म सिद्धान्तको कुरा गरिरहेको छैन । सिद्धान्तको स्तरमा वा कुराकानीमा, हाम्रो पङ्क्तिभित्रको कसैले पनि मजदुर, किसान र सिपाहीहरूको जनसमूहलाई निम्न पुँजीवादी बुद्धिजीवीहरूभन्दा कम्ती महत्वको ठान्दैन । म त यहाँ व्यवहारको, कामको कुरा गरिरहेको छु । तिनले व्यवहारमा र काममा निम्न पुँजीवादी बुद्धिजीवीहरूलाई मजदुर, किसान र सिपाहीहरूभन्दा ज्यादा महत्वपूर्ण ठान्दैनन् र ? मेरा विचारमा तिनले त्यस्तो ठान्छन् । धेरै कमरेडहरू निम्न पुँजीवादी बुद्धिजीवीहरूलाई मजदुर, किसान र सिपाहीहरूका जनसमूहसित निकट सम्पर्क राख्नमा आफूसँग सरिक गराउन जनसमूहका व्यावहारिक सङ्घर्षहरूमा भाग लिन, तिनको चित्रण गर्न र तिनलाई शिक्षित तुल्याउन पथप्रदर्शन गर्नुको सट्टा यस्ता बुद्धिजीवीहरूको अध्ययन गर्न र तिनको मनोविज्ञान केलाउनमै ज्यादा चासो राख्छन्, र ती बुद्धिजीवीहरूको चित्रण गर्न र तिनका कमजोरीहरूलाई ढाकछोप गर्न वा तिनको पक्षमा लिनमा नै आफ्नो ध्यान केन्द्रित गर्छन् ।
निम्न पुँजीपति वर्गबाट आएका हुनाले र आफू पनि बुद्धिजीवी भएका हुनाले धेरै कमरेडहरू खालि बुद्धिजीवीहरूका माझ साथीसँगी खोज्दछन् र तिनको अध्ययन र वर्णनमै केन्द्रित हुन्छन् । सर्वहारा वर्गीय दृष्टिबाट गरिएमा यस्ता अध्ययन र वर्णन उचित नै हुन्छन् । तर तिनले त्यसो गर्दैनन् वा पूर्ण रूपले त्यसो गर्दैनन् । उनीहरूले निम्न पुँजीपति वर्गको अडान लिन्छन् र त्यस्ता रचनाहरू रच्दछन् जसमा निम्न पुँजीपति वर्गको आत्माभिव्यक्ति हुन्छ । साहित्य र कलाका थुप्रै रचनाहरूमा यो कुरा देख्न सकिन्छ । उनीहरूले प्रायः निम्न पुँजीवादी स्रोतबाट आएका बुद्धिजीवीहरूप्रति हार्दिक सहानुभूति देखाउँछन् वा तिनको प्रशंसै गर्छन् । अर्कातिर यी कमरेडहरूले मजदुर, किसान र सिपाहीहरूका जनसमूहसित बिरलै सम्पर्क राख्छन्, तिनलाई बुझ्दैनन् वा तिनको अध्ययन गर्दैनन्, तिनीहरूका बिचमा उनका घनिष्ठ साथीहरू छँदै छैनन् र उनीहरू तिनको चित्रण गर्नमा सिपालु छैनन् । तिनले विशाल जनसमूहको चित्रण गर्दा तिनका पात्रपात्रीहरूको लवाइ त श्रमिक जनताका हुन्छ तर अनुहार भने निम्न पुँजीवादी बुद्धिजीवीहरूकै हुन्छ । कुनै–कुनै कुरामा उनीहरू मजदु, किसान र सिपाहीहरूलाई तथा उनीहरूबाट आएका काडरहरूलाई रुचाउँछन् तर कुनै–कुनै समयमा र कुनै–कुनै कुरामा उनीहरू तिनलाई रुचाउँदैनन्, उनीहरू तिनका भावना वा तिनको चालचलन वा तिनको भर्खर हुर्कन लागेको साहित्य र कला (भित्ते अखबार, भित्तेचित्र, लोकगीत, लोककथा) आदि रुचाउँदैनन् । बेलाबखतमा तिनले यी कुरा पनि रुचाउँछन्, तर त्यसबखत मात्र रुचाउँछन्; जब आफ्नै रचनाहरूमा फूलबुट्टा भर्न तिनले कुनै अनौठा कुराको सहारा लिन खोज्छन् ।
कतिसम्म भने कहिलेकाहीँ त तिनले पछौटे कुराहरूसमेत पनि रुचाउँछन् । अनि अरू बेलामा भने तिनले यी चीजहरूलाई ठाडै घृणा गर्छन् र निम्न पुँजीवादी बुद्धिजीवी वा अझ पुँजीपति वर्गकै चीजबीजहरूको पक्ष लिन्छन् । यी कमरेडहरूको जरो निम्न पुँजीवादी बुद्धिजीवीहरूतर्फ गाडिएको छ वा अझ आलङ्कारिक ढङ्गले भन्ने हो भने तिनको अन्तरात्मा अझै निम्न पुँजीवादी बुद्धिजीवी समुदायकै जगत्मा रहेको हुन्छ । यस प्रकार तिनले ‘कसका लागि’ भन्ने समस्या अझै समाधान गरेका छैनन् । यो कुरा येनानमा भर्खरै आइपुगेकाहरूमाथि मात्रै लागू हुने होइन, वर्षौदेखि मोर्चामा डटेका र हाम्रा आधारइलाका तथा आठौँ मार्गसेना तथा नौलो चौथो सेनामा काम गर्दै आएका हाम्रा धेरै कमरेडहरूले पनि यो समस्या पूर्णरूपले समाधान गरेका छैनन् । यसलाई पुरापुर समाधान गर्न त कम्तीमा पनि आठ–दशवर्षको लामो समय आवश्यक पर्छ तर जतिसुकै लामो समय लागोस्, हामीले यसलाई हरतरहले समाधान गर्नैपर्छ र प्रस्ट ढङ्गले पुरापुर रूपले समाधान गर्नैपर्छ । हाम्रा साहित्य र कलाका कर्मीहरूले यो अभिभारा पूरा गर्नैपर्छ र आफ्नो अडान फेर्नैपर्छ । मजदुर, किसान र सिपाहीहरूका बिचमा जाने र व्यावहारिक सङ्घर्षको बिचमा उभिने प्रक्रियाद्वारा तथा माक्र्सवाद र समाजको अध्ययन गर्ने प्रक्रियाद्वारा तिनले विस्तार–विस्तारै माथिका जनसमूहतर्फ सर्वहारा वर्गतर्फ आफ्ना पाइला सार्नैपर्छ । यस्तो ढङ्गले मात्रै हामी साँचो अर्थमा मजदुर, किसान र सिपाहीहरूका लागि, साँच्चीको सर्वहारा वर्गीय साहित्य र कला सिर्जना गर्न सक्छौँ ।
‘कसका लागि’ भन्ने यो सवाल आधारभूत सवाल हो, यो सिद्धान्तको सवाल हो । विगतकालमा केही कमरेडहरूका बिचमा उत्पन्न भएको विवाद र मतभेद, विरोध र फाटोहरू सिद्धान्तको यस आधारभूत सवाल सम्बन्धमा थिएनन् तर ती त गौण सवालहरू अझ सिद्धान्तसँग असम्बन्धित विषयहरूको सम्बन्धमा थिए । तथापि यी दुई प्रतिद्वन्द्वी पक्षहरूका बिचमा सिद्धान्तको यस सवालमा भने प्रायः मतभिन्नता छँदै छैन र तिनले झन्डै पूर्ण मतैक्य प्रदर्शन गरेका छन् । केही हदसम्म यी दुवै पक्षले मजदुर, किसान र सिपाहीहरूलाई घृणाका दृष्टिले हेर्ने गर्छन् र आफूलाई जनसमूहबाट अलग्याउँछन् । मैले ‘केही हदसम्म’ भन्नाको कारण के भने सामान्य रूपले भन्ने हो भने यी कमरेडहरूले क्वोमिन्ताङले झैँ मजदुर, किसान र सिपाहीहरूलाई घृणा गर्दैनन् अथवा त्यस ढङ्गले आफूलाई जनसमूहबाट अलग्याउँदैनन् । तैपनि उनीहरूमा यस्ता प्रवृत्ति भने अवश्य छ । आधारभूत समस्या समाधान नगरुन्जेलसम्म अरू थुप्रै समस्या समाधान गर्न सजिलो हुनेछैन । उदाहरणका लागि, साहित्य र कलाजगत्को सङ्कीर्णतावादलाई नै लिऔँ । यो पनि सिद्धान्तकै सवाल हो तर ‘मजदुर र किसानहरूका लागि’, ‘आठौँ मार्गसेना र नौलो चौथो सेनाका लागि’ र ‘जनसमूहका बिचमा जाऊ !’ भन्ने नाराहरू अघि सारेर र तिनलाई इमानदारीसाथ लागू गरेर मात्रै सङ्कीर्णतावादलाई निर्मूल पार्न सकिन्छ । नत्र भने सङ्कीर्णतावादको समस्यालाई कहिल्यै समाधान गर्न सकिनेछैन ।
लु सुनले एकपल्ट भन्नुभएथ्यो, “साझा उद्देश्य संयुक्त मोर्चाको एउटा पूर्वशर्त हो ... । हाम्रो मोर्चा एकताबद्ध नभएको तथ्यले के देखाउँछ भने हामी आफ्ना उद्देश्यहरूलाई एकीकृत गर्न समर्थ भएका छैनौँ र केही मानिसहरू खाली सस्याना गुटहरूका निम्ति वा साँच्ची नै खाली आफ्नै निम्ति काम गरिरहेका छन् । हामी सबैले मजदुर र किसानका जनसमूहको सेवा गर्ने उद्देश्य अँगालेका खण्डमा हाम्रो मोर्चा अवश्यै एकताबद्ध हुनेछ ।”
त्यसबखत यो समस्या साङ्घाईमा उठेको थियो, हाल चुङकिङमा पनि यो उठेको छ । यस्ता ठाउँहरूमा यस समस्यालाई पूर्ण रूपले समाधान गर्न गाह्रो छ किनभने शासकहरूले क्रान्तिकारी लेखक र कलाकारहरूलाई दबाउँछन् र तिनलाई मजदुर, किसान र सिपाहीहरूका जनसमूहका बिचमा जाने छुट दिंदैनन् । यहाँ हाम्रो हकमा भने स्थिति एकदमै फरक छ । हामी भने क्रान्तिकारी लेखक र कलाकारहरूलाई जनसमूहका बिचमा जाने पूर्ण छुट दिँदै तिनलाई मजदुर, किसान र सिपाहीहरूसित घनिष्ठ सम्बन्ध राख्ने कुरामा सक्रिय रहन र सच्चा क्रान्तिकारी साहित्य र कला सिर्जना गर्न हौसला दिन्छौँ । त्यसकारण यहाँ हाम्रो बिचमा यो समस्या समाधानको नजिक पुग्दै छ । तर समाधानको नजिक पुग्नु भनेको पूर्ण र साङ्गोपाङ्ग रूपले समाधान भइसक्नुचाहिँ होइन । हामीले भन्दै आएजस्तै यस समस्यालाई पूर्ण र साङ्गोपाङ्ग रूपले समाधान गर्नका लागि हामीले माक्र्सवादको अध्ययन गर्नैपर्छ र समाजवादको अध्ययन गर्नैपर्छ । माक्र्सवाद भन्नाको हाम्रो तात्पर्य कुराको माक्र्सवाद नभईकन जिउँदो माक्र्सवाद हो; जसले जनसमूहको जीवन र सङ्घर्षको प्रभावकारी भूमिका खेल्छ । कुराको माक्र्सवादलाई वास्तविक जीवनको माक्र्सवादमा रूपान्तर गरेपछि भने सङ्कीर्णतावादको समस्या बाँकी रहनेछैन । यसबाट सङ्कीर्णतावादको समस्या मात्र होइन, अरू थुप्रै समस्याहरूको पनि समाधान हुनेछ ।
२. कसको सेवा गर्ने भन्ने समस्याको समाधान गरिसकेपछि अब कसरी सेवा गर्ने भन्ने अर्काे समस्या आइलाग्छ । हाम्रा केही कमरेडहरूका शब्दमा भन्ने हो भने हामीले स्तर उकास्ने काममा लाग्ने हो कि लोकप्रियकरणका काममा लाग्ने हो ? विगतकालमा हाम्रा केही कमरेडहरूले केही हदसम्म वा अझ गम्भीर हदसम्म लोकप्रियकरणको कार्यलाई नगण्य सम्झेर बेवास्ता गरे अनि स्तर उकास्ने कुरामा भने चाहिनेभन्दा ज्यादा जोड दिए । स्तर उकास्ने काममा अवश्य जोड दिनुपर्छ तर एकतर्फी ढङ्गले र अलग ढङ्गले यसमाथि जोड दिनुचाहिँ गलत हो । मैले पहिले उठाएको ‘कसका लागि’ भन्ने समस्याको प्रस्ट समाधान नभएको कुरा पनि यस सन्दर्भमा अभिव्यक्त भएको छ । यी कमरेडहरू ‘कसको लागि’ भन्ने समस्याबारे प्रस्ट नभएका हुनाले आफूले उठाएका ‘स्तर उकास्ने’ र ‘लोकप्रियकरण गर्ने’ कुराको पारख गर्ने सही कसी उनीहरूसित छैन र यी दुई कुरामाझको सही सम्बन्ध पत्ता लगाउने सामथ्र्य त उनीहरूमा झन् कम्ति छ ।
हाम्रा साहित्य र कला आधारभूतरूपले मजदुर, किसान र सिपाहीहरू लागि भएका हुनाले ‘लोकप्रियकरण गर्नु’ भन्नुको अर्थ हो मजदुर, किसान र सिपाहीहरूमाझ लोकप्रिय तुल्याउनु र ‘स्तर उकास्नु’ भन्नुको अर्थ हो हालको स्तरबाट माथि उकास्नु । उनीहरूका बिचमा हामीले प्रचार गर्नुपर्ने कुरा के हो त ? सामन्ती जमिनदार वर्गलाई आवश्यक पर्ने र त्यसले सजिलैसित स्वीकार गर्ने कुराको प्रचार गर्ने हो कि ? पुँजीपति वर्गलाई आवश्यक पर्ने र त्यसले सजिलैसित स्वीकार गर्ने कुुराको प्रचार गर्ने हो कि ? निम्न पुँजीवादी बुद्धिजीवीहरूलाई आवश्यक पर्ने र तिनले सजिलैसित स्वीकार गर्ने कुराको पो प्रचार गर्ने हो कि ? होइन, यीमध्ये कुनैबाट पनि हाम्रो काम चल्दैन । हामीले त मजदुर, किसान र सिपाहीहरूलाई आवश्यक पर्ने र तिनले सजिलैसित स्वीकार गर्ने कुराको पो प्रचार गर्नुपर्छ । परिणामस्वरूप मजदुर, किसान र सिपाहीहरूलाई शिक्षित तुल्याउने कामभन्दा अघि उनीहरूबाट सिक्नुपर्ने अभिभारा हाम्रोसामु छ । स्तर उकास्ने कुराका हकमा यो कुरा झन् बढी सत्य छ । स्तर उकास्नका लागि एउटा आधार हुनैपर्छ । उदाहरणका लागि एक बाल्टिन पानीलाई लिऔँ, यसलाई जमिनबाट नउठाउने हो भने अन्त कताबाट उठाउने हो त ? माथि हावाबाट ? उसो भए साहित्य र कलालाई कुन आधारबाट उकास्ने हो त ? सामन्ती वर्गको आधारबाट हो कि, पुँजीपति वर्गको आधारबाट हो कि, निम्न पुँजीवादी बुद्धिजीवीहरूको आधारबाट हो ? होइन, यीमध्ये कुनैबाट पनि होइन, मजदुर किसान र सिपाहीहरूका जनसमूहको आधारबाट मात्र उकास्नुपर्छ । यसो भन्नाको अर्थ मजदुर, किसान र सिपाहीहरूलाई जमिनदार वर्गहरू, पुँजीपति वा निम्न पुँजीपति वर्गका बुद्धिजीवीहरूको ‘उचाई’ सम्म उकास्नु भन्ने पनि होइन । यसको अर्थ त के भने साहित्य र कलाको स्तरलाई त्यस दिशातर्फ उकास्नुपर्छ भन्ने हो । जतातिर मजदुर, किसान र सिपाहीहरू लम्किरहेका छन् । जतातिर सर्वहारा वर्ग लम्किरहेको छ । यहाँनेर फेरि मजदुर, किसान र सिपाहीहरूबाट सिक्नुपर्ने अभिभाराको सवाल उठिहाल्छ । मजदुर, किसान र सिपाहीहरूबाट थालेर मात्रै हामीले लोकप्रियकरण गर्ने र स्तर उकास्ने कार्यसम्बन्धी सही समझदारी हासिल गर्न र यी दुईबिचको उचित सम्बन्ध पत्ता लगाउन सक्छौँ ।
अन्तिम विश्लेषणमा सबै साहित्य र कलाको स्रोत के हो त ? विचारधारात्मक रूपमा साहित्य र कलाका कृतिहरू कुनै खास सामाजिक जीवनले मानव मस्तिष्कमा पार्ने छापका उपजहरू हुन् । क्रान्तिकारी साहित्य र कला क्रान्तिकारी साहित्य र कला क्रान्तिकारी लेखक र कलाकारहरूका मस्तिष्कमा जनजीवनले पारेका छापका उपजहरू हुन् । जनजीवन सधैँ नै साहित्य र कलाका कच्चा पदार्थहरूको खानी हुन्छ । यस्ता कच्चा पदार्थ जुन आफ्नो स्वभाविक रूपमा रहेका हुन्छन्; ती अपरिष्कृत भए पनि ज्यादै सजीव, समृद्ध र आधारभूत हुन्छन्; तिनको दाँजोमा सबै साहित्य र कला फिका देखिन्छन् । ती कच्चा पदार्थहरू साहित्य र कलाका अनन्त स्रोत हुन् र एक मात्र स्रोत हुन् । ती एक मात्र स्रोत हुन् किनभने तीबाहेक अर्को स्रोत हुनै सक्दैन । कसैले सोध्न सक्छ– पुस्तकहरूमा, प्राचीनकालको र विदेशी मुलुकहरूको साहित्य र कलाका कृतिहरू कुनै स्रो पनि छैन र ? वास्तवमा, विगतकालका साहित्य र कलाका कृतिहरू कुनै स्रोत नभईकन ती त एउटा धारा मात्र हुन् । हाम्रा पुर्खाहरू र विदेशीहरूले आ–आफ्नो समय र स्थानको जनजीवनमा फेला पारेका साहित्य र कलाका कच्चा पदार्थहरूबाटै तिनको सिर्जना गरेका हुन् । हाम्रो साहित्य र कलाका परम्परामा रहेका सबै असल कुरालाई हामीले अँगाल्नुपर्छ, तिनमा रहेका उपयोगी कुराहरूलाई आत्मसात् गर्नैपर्छ र हाम्रो आफ्नै समय र स्थानको जनजीवनमा रहेका साहित्य र कलाका कच्चा पदार्थबाट हामीले आफ्ना कृतिहरू रचना गर्दा तिनलाई उदाहरणका रूपमा प्रयोग गर्नुपर्छ । यसखालका उदाहरणहरू हामीसित हुँदा वा नहुँदा ठूलो फरक देखापर्छ । जस्तो कि अपरिष्कार र परिष्कारमाझको फरक, उच्चस्तर र निम्नस्तरमाझको फरक र छिटो गति र ढिलो गतिको सिर्जन कार्यमाझको फरक ।
त्यसकारण हामीले कुनै हालतमा पनि आफ्ना पुर्खाहरू र विदेशीहरूका परम्परालाई पन्छाउनु वा तिनबाट सिक्न इन्कार गर्नुहुँदैन, चाहे ती कृतिहरू सामन्त वा पुँजीपति वर्गकै किन नहोऊन् । तर, परम्परालाई अँगाल्ने र तिनलाई उदाहरणका रूपमा प्रयोग गर्ने कामलाई हाम्रो सिर्जनात्मक कार्यको सट्टामा कदापि राख्नुहुँदैन, कुनै कुराले पनि यस्तो सट्टाको काम गर्न सक्दैन । साहित्य र कला क्षेत्रमा आफ्ना पुर्खाहरू र विदेशीहरूका कृतिहरू आँखा चिम्लेर लिने वा नक्कल गर्ने काम ज्यादै असिर्जनशील र हानिकारक जडसूत्रवाद हो । चीनका क्रान्तिकारी लेखक र कलाकारहरूले, होनहार लेखक र कलाकारहरूले जनसमूहका बिचमा जानैपर्छ, सबैखालका मानिसहरू, सबै वर्गहरू, सबै जनसमूहहरू, जीवन र सङ्घर्षका सबै सजीव रूपहरू, साहित्य र कलाका सबै कच्चा पदार्थहरूको निरीक्षण, अनुभव, अध्ययन र विश्लेषण गर्नका लागि उनीहरूले बिनाशर्त र दिलोज्यानले लामो समयसम्म मजदुर, किसान र सिपाहीहरूका जनसमूहको बिचमा जानैपर्छ, सङ्घर्षको ज्वालाका बिचमा, साहित्य र कलाको यो एक मात्र स्रोत, सबैभन्दा व्यापक र समृद्ध स्रोतका बिचमा जानैपर्छ । त्यसो गरेपछि मात्रै उनीहरूले सिर्जन–कार्य थाल्न सक्छन्, नत्रभने तपाईंहरूसँग रचना गर्ने कुनै विषय–सामग्री नै हुनेछैन र तपाईंहरू त्यस्तोखालका नक्कली लेखक र कलाकारहरू हुनुहुनेछ, जस्तो कहिल्यै नहुनु भन्दै लु सुनले आफ्नो इच्छापत्रमा छोरालाई खुबै सजग पार्नुभएको थियो ।६
साहित्य र कलाको एक मात्र स्रोत मानिसको सामाजिक जीवन भए तापनि र यसको विषय साहित्य–कलाभन्दा अतुलनीय रूपले बढी सजीव र समृद्ध भए तापनि मानिसहरू जीवनबाट मात्रै सन्तुष्ट हुँदैनन् र तिनले साहित्य र कलाको पनि माग गर्छन् । यस्तो किन हुन्छ त ? किनभने जीवन र कला दुवै सुन्दर हुन्छन् तापनि साहित्य र कलाका कृतिहरूमा प्रतिबिम्बित मानव जीवन वास्तविक दैनिक जीवनभन्दा बढी उचस्तरीय, बढी तीव्र, बढी केन्द्रीकृत, बढी विशिष्टतापूर्ण, आदर्शको बढी नजिक र त्यसैले धेरै बढी व्यापक हुन सक्छ र हुनु पनि पर्छ । क्रान्तिकारी साहित्य र कलाले वास्तविक जीवनबाट विभिन्नखालका पात्रहरू सिर्जना गर्नुपर्छ र इतिहासलाई अघि बढाउने काममा जनसमूहलाई मद्दत गर्नुपर्छ । उदाहरणका लागि एकातिर भोक, जाडो र उत्पीडनबाट भएको दुःख र पीर छ भने अर्कातिर मानिसले मानिसमाथि गर्ने गरेको शोषण र उत्पीडन छ । यी कुरा जताततै रहेका छन् र जनताले तिनलाई मामुली कुरा ठान्दछन् । लेखक र कलाकारहरूले यस्ता दैनिक घटना–चक्रहरूलाई केन्द्रीकरण गर्छन्, तीभित्र रहेका अन्तर्विरोध र सङ्घर्षहरूलाई मूर्त रूप दिन्छन् र यस्ता रचनाहरूको सिर्जना गर्छन्; जसले जनसमूहलाई ब्युँझाउँछन्, उनीहरूमा उत्साहको राप भर्छन् र आफ्ना आचरणलाई रूपान्तरण गर्ने उद्देश्यले एकताबद्ध हुन र सङ्घर्ष गर्न उनीहरूलाई प्रेरित गर्छन् । यस्तो साहित्यबेगर यो अभिभारा पूरा गर्न सकिँदैन वा कम्तीमा पनि प्रभावकारी ढङ्गले र उति छिटो पूरा गर्न सकिँदैन ।
साहित्य र कलाकृतिहरूलाई लोकप्रिय गराउनु र तिनको स्तर उकास्नु भनेको के हो ? यी दुई कामका बिचमा के सम्बन्ध छ ? लोकप्रिय रचनाहरू बढी सरल र सुबोध हुन्छन् । त्यसैले आज व्यापक जनसमूहले तिनलाई बढी सजिलोसित स्वीकार गर्छन् । उच्चस्तरका रचनाहरू बढी परिष्कृत हुने हुनाले रच्न पनि बढी गाह्रो हुन्छ र सामान्य रूपले त्यस्ता रचनाहरू जनसमूहका माझमा सजिलै र छिट्टै फिँजिन पनि सक्दैनन् । मजदुर, किसान र सिपाहीहरूले हाल सामना गर्नुपरेको समस्या यस प्रकार छ– हाल उनीहरू सत्रुसितको कठोर रक्तपातपूर्ण सङ्घर्षमा जुटेका छन् तर धेरै वर्षको सामन्ती र पुँजीपति वर्गको शासनले गर्दा उनीहरू निरक्षर र अशिक्षित छन् । त्यसैले गर्दा उनीहरू ज्यादै उत्सुकतासाथ त्यस्तो जागृति, शिक्षा, साहित्य र कलाका रचनाहरूको माग गरिरहेका छन्; जसले उनीहरूको तत्कालको खाँचो पूरा गर्न सकून् र जसलाई उनीहरूले सजिलै आत्मसात् गर्न सकून् र जसबाट उनीहरूको सङ्घर्ष गर्ने उत्साह र विजय हासिल गर्ने विश्वास बढोस्, उनीहरूको एकता दरिलो होस् र एकमन एक प्राणले सत्रुसँग भिँड्न सकियोस् । उनीहरूको सबभन्दा ठूलो खाँचो ‘रेशमी कपडामा अरू फूलबुट्टा भर्नु’ होइन तर ‘जाडो मौसममा दाउरा पुर्याउनु’ हो । त्यसकारण, वर्तमान अवस्थामा लोकप्रियकरण नै बढी आवश्यक काम हो । लोकप्रियकरणको काममा हेलचेक्र्याइँ वा बेवास्ता गर्नु गलत हुनेछ ।
त्यसो हुँदाहुँदै पनि लोकप्रियकरणमा गर्ने र स्तर उकास्ने कामका बिचमा कुनै अकाट्य विभाजन रेखा कोर्न सकिँदैन । अहिले नै पनि उच्चस्तरका केही रचनाहरूलाई लोकप्रिय तुल्याउन सम्भव भएको मात्र होइन तर व्यापक जनसमूहको सांस्कृतिकस्तर पनि लगातार उक्सिरहेको छ । लोकप्रियकरण सधैँ एउटै स्तरमा रहने हो भने र महिनैपिच्छे र वर्षैपिच्छे उही एउटै सामग्री दिँदै जाने हो भने सधैँ उही ‘साने गोठालो’ र उही ‘मान्छे, हात, मुख, चक्कु, गाई, बाख्रो’ कै कुरा घोकाइराख्ने हो भने शिक्षा दिनेहरू र शिक्षा प्राप्त गर्नेहरू सधैँ नै जहाँको त्यहीँ नरहलान् र ? यस्तो लोकप्रियकरणको के अर्थ होला ? जनताले पहिले लोकप्रियकरणको माग गर्छन् अनि त्यसपछि स्तर उकास्ने कुराको माग गर्छन्, उनीहरूले महिनैपिच्छे झन् झन् उच्चस्तरको माग गर्छन् । यहाँ लोकप्रियकरणको अर्थ जनताको लागि लोकप्रिय तुल्याउनु हो र स्तर उकास्नुको अर्थ जनताका लागि स्तर उकास्नु हो । अनि यस्तो उकास्ने काम शून्य ठाउँबाट वा एकान्त कोठाबाट हुँदैन, यो त साँच्ची नै लोकप्रियकरणमा नै आधारित हुन्छ । यो लोकप्रियकरणबाटै निर्धारित हुन्छ ।
त्यसका साथै, यसले लोकप्रियकरणलाई पथप्रदर्शन गर्छ । सम्पूर्ण रूपले हेर्दा चीनमा क्रान्तिको विकास र क्रान्तिकारी संस्कृतिको विकास असन्तुलित रूपले भइरहेको छ र तिनको प्रसार विस्तार–विस्तारै भइरहेको छ । कुनै कुनै ठाउँमा लोकप्रियकरणको काम पूरा भइसकेर लोकप्रियकरणको आधारमा स्तर उकास्ने काम सुरु भइसकेको छ भने कुनै ठउँमा चाहिँ लोकप्रियकरणकै काम पनि सुरु भएको छैन । त्यसले कुनै एक क्षेत्रमा लोकप्रियकरणका आधारमा स्तर उकास्ने कामबाट प्राप्त राम्रो अनुभवलाई अरू–अरू क्षेत्रमा पनि लागू गर्न सकिन्छ र त्यो अनुभव ती क्षेत्रमा लोकप्रियकरण गर्ने र स्तर उकास्ने कामलाई पथप्रदर्शन गर्नमा सहायक हुन सक्छ र त्यसले थुप्रै घुमाउरा बाटा पार गर्नुपर्ने कामबाट हामीलाई जोगाउँछ । अन्तर्राष्ट्रिय रूपमा विदेशी मुलुकहरूका राम्रा अनुभवले विशेष गरेर सोभियत सङ्घका राम्रा अनुभवले पनि हाम्रो पथप्रदर्शन गर्ने काम गर्न सक्छन् । त्यसो हुनाले हाम्रो दृष्टिकोणअनुसार स्तर उकास्ने काम लोकप्रियकरणमा आधारित हुन्छ र अर्कातिर लोकप्रियकरणको काम स्तर उकास्ने कामद्वारा निर्देशित हुन्छ । त्यसैले हामीले भनेका हौँ– लोकप्रियकरणको कामले स्तर उकास्ने काममा वाधा पुर्याउँदैन, बरु यसले त स्तर उकास्ने कामको लागि आधार तयार पार्छ, जस्तो हामी अहिले सीमित स्तरमा गरिरहेका छौँ । यसले पछि गएर अझ व्यापक रूपमा स्तर उकास्ने कामका लागि आवश्यक परिस्थिति तयार गरिदिन्छ ।
जनसमूहका आवश्यकताहरू प्रत्यक्ष रूपले पूरा गर्ने र स्तर उकास्ने यसखालको कामबाहेक परोक्ष रूपले आवश्यकता पूरा गर्ने अर्को काम पनि छ, अर्थात् हाम्रा क्याडरहरूका लागि आवश्यक पर्ने खालको स्तर उकास्ने काम । क्याडरहरू जनसमूहका अघि बढेका तत्वहरू हुन् र उनीहरू सामान्य रूपले बढी शिक्षित हुन्छन् । उनीहरूको लागि उच्चस्तरको साहित्य र कला अचाक्ली आवश्यक हुन्छ । यस कुरालाई बेवास्ता गर्नु गलत हुनेछ । क्याडरहरूका लागि जे–जति काम गरिन्छ; त्यो समुच्चरूपले जनसमूहकै लाग हुन जान्छ किनभने हामीले क्याडरहरूमार्फत मात्रै जनसमूहलाई शिक्षित तुल्याउन र पथप्रदर्शन गर्न सक्छौँ । हामी यस उद्देश्यको विपरीत चल्यौँ भने हामी क्याडरहरूलाई जे जति कुरा सिकाउँछौँ, त्यसले जनसमूहलाई शिक्षित तुल्याउने र पथप्रदर्शन गर्ने काममा उनीहरूलाई सघाउ पु पुर्याउन सकेन भने स्तर उकास्ने हाम्रो काम निशानाबेगर वाण हान्नुजस्तो हुनेछ र व्यापक जनसमूहको सेवा गर्ने आधारभूत सिद्धान्तबाट यो विमुख हुनेछ ।
निचोडमा जनजीवनमा पाइने कच्चा पदार्थहरू क्रान्तिकारी लेखक र कलाकारहरूको सिर्जनात्मक श्रमबाट व्यापक जनसमूहको सेवा गर्ने साहित्य र कलाको विचारधारात्मक रूपमा फेरिन्छन् । प्रारम्भिकखालको साहित्य र कलाका आधारमा विकसित भएका बढी उन्नतस्तरका साहित्य र कला पनि यसैभित्र पर्छन् र यस्तो साहित्य र कला जनसमूहको त्यस फाँटका लागि जरुरी हुन्छ; जसको स्तर उक्सिकेको छ वा सबभन्दा पहिले जनसमूहमध्येका क्याडरहरूका लागि यो जरुरी हुन्छ । यसभित्र त्यस्ता प्रारम्भिक साहित्य र कला पनि पर्दछन्; जुन बढी उन्नत साहित्य र कलाबाट निर्देशित हुन्छन् र हाल जनताको व्यापक बहुसङ्ख्याका लागि मुख्य रूपले तिनको खाँचो पर्दछ । बढी उन्नत होऊन् वा प्रारम्भिक, हाम्रा सर्बै साहित्य र कला व्यापक जनसमूहका लागि हुन् र ती सबभन्दा पहिले मजदुर, किसान र सिपाहीहरूका लागि हुन् । मजदुर, किसान र सिपाहीहरूका लागि हुन् । मजदुर, किसान र सिपाहीहरूका लागि तिनको सिर्जना भएको हो र ती उनीहरूकै फाइदाको लागि हुन् ।
स्तर उकास्ने र लोकप्रियकरण गर्ने कामका माझ रहेको सम्बन्धको समस्या समाधान गरिसकेपछि अब हामी विशेषज्ञहरू र प्रचारकहरूमाझको सम्बन्धको समस्या पनि समाधान गर्न सक्छौँ । हाम्रो विशेषज्ञहरू र प्रचारकहरू क्याडरहरूका लागि मात्र होइनन्, तर ती साँच्ची नै मुख्य रूपले जनसमूहका लागि पनि हुन् । हाम्रा साहित्यका विशेषज्ञहरूले जनसमूहका भित्ते–अखबारहरू र सेनामा तथा गाउँमा लेखिएका रिपोर्टमा पनि ध्यान दिनुपर्छ । हाम्रा नाटकका विशेषज्ञहरूले सेनाका र गाउँका साना–साना नाटक–टोलीहरूमा ध्यान दिनुपर्छ । हाम्रा सङ्गीतका विशेषज्ञहरूले जनसमूहका गीतमा ध्यान दिनुपर्छ । यी सबै कमरेडहरूले जनसमूहमाझ साहित्य र कलाको प्रचारमा जुटेका कमरेडहरूसित घनष्ठि सम्पर्क राख्नुपर्छ । एकातिर उनीहरूले प्रचारकहरूलाई सघाउ पुर्याउनु र पथप्रदर्शन गर्नुपर्छ र अर्कातिर ती कमरेडहरूबाट सिक्नुपर्छ र आफ्ना विशेषताहरू जनसमूह र वास्तविकताबाट अलग्गिएका र विषय वा जीवनशून्य भएका ‘हवाईमहल’ जस्ता नहोऊन् भन्ने उद्देश्यले आफ्नो खुराकी बटुल्न र आफूलाई समृद्ध तुल्याउन ती कमरेडहरूमार्फत जनसमूहबाट पोषकतत्व प्राप्त गर्नुपर्छ । हामीले विशेषज्ञहरूलाई सम्मान गर्नुपर्छ किनभने हाम्रो ध्येयका लागि उनीहरू ज्यादै मूल्यवान् हुन्छन् । तर हामीले उनीहरूलाई के कुरा बताइदिनैपर्छ भने जनसमूहसित घनिष्ठरूपले नगााँसिउञ्जेल, उनीहरूका विचार र भावनाहरूलाई अभिव्यक्ति नदिउञ्जेल तथा एउटा बफादार प्रवक्ताका रूपमा उनीहरूको सेवा नगरुञ्जेल कुनै पनि क्रान्तिकारी लेखक वा कलाकारले कुनै पनि सार्थक काम गर्न सक्दैन । जनसमूहको प्रवक्ता बनेर मात्रै र उनीहरूको चेलो बनेर मात्रै ऊ उनीहरूको गुरु हुन सक्छ । ‘तल्लो तहका मानिसहरू’ माथि हैकम चलाउने कुनै कुलीन जस्तै उसले आफूलाई जनताको मासिक ठान्ने गर्छ भने ऊ जतिसुकै प्रतिभाशाली किन नहोस्, जनसमूहलाई उसको खाँचो हुने छैन र उसका रचनाको भविष्य अन्धकार हुनेछ ।
हाम्रो यो प्रवृत्ति उपयोगितावाद त हैन ? माक्र्सवादीहरूले सामान्यतया उपयोगितावादको विरोध गर्दैनन् तर सामन्ती वर्ग, पुँजीपति वर्ग र निम्न पुँजीपति वर्गको उपयोगितावादको भने उनीहरूले विरोध गर्छन् । कुरामा उपयोयिगतावादमाथि जाइलाग्ने तर व्यवहारमा भने सबभन्दा स्वार्थी र अदूरदर्शी उपयोगितावाद अँगाल्ने पाखण्डहरूको उनीहरूले विरोध गर्छन् । उपयोगितावादी विचारबाट माथि उठेको ‘वाद’ यस संसारमा छँदै छैन, वर्ग समाजमा वर्गविशेषको उपयोगितावाद मात्र हुन सक्छ । हामी सर्वहारावादी क्रान्तिकारी उपयोगितावादी हौँ र हाम्रो कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी सङ्ख्या भएका व्यापक जनसमूहहरूको वर्तमान र भावी हितहरूको कुरालाई हामी प्रस्थानविन्दु मानेर चल्छौँ, त्यसैले हामी सबभन्दा व्यापक र सबभन्दा दीर्घकालीन उद्देश्यका लागि काम गर्ने क्रान्तिकारी उपयोगितावादी हौँ, हामी आंशिक र तत्कालीन उद्देश्यमा मात्र चासो राख्ने सङ्कीर्ण उपयोगितावादी होइनौँ ।
उदाहरणका लागि, यदि कसैले व्यापक जनसमूह उपयोगितावादी छ भनी खोट लाउँछ तर ऊ आफूचाहिँ आफ्नै उपयोगिता वा एउटा सङ्कीर्ण गुटको उपयोगिताका लागि आफ्ना कृतिहरू बजारमा बलजफ्ती थोपर्ने गर्छ वा थोरै मानिसलाई खुसी पार्ने तर धेरैलाई चाहिँ काम नलाग्ने, अझ नोक्सानै गर्नेखालका कुरा अँगालेर व्यापक जनसमूहका माझ आफ्ना कृतिहरूको डम्फू पिट्दै हिँड्छ भने उसले व्यापक जनसमूहको बेइज्जती गरिरहेको मात्र होइन तर आफ्नै अज्ञानताको परिचय पनि दिइरहेको हुन्छ । व्यापक जनसमूहलाई साँच्ची नै फाइदा पुर्याउँछ भने मात्रै कुनै पनि चीज राम्रो हुन्छ । तपाईंको कृति ‘वसन्ते हिउँ’ जितकै राम्रो होला तर त्यसले हाल थोरै मानिसको मात्र खाँचो पूरा गर्छ र जनसमूहचाहिँ ‘गाउँले गरिबको गीत’ नै गाइरहन्छन् भने र जनताको स्तर उकास्ने कोसिस गर्नुको सट्टा तपाईंले तिनको निन्दा मात्रै गर्नुहुन्छ । यसबाट केही फाइदा हुनेछैन । हालको समस्या हो, ‘वसन्ते हिउँ’ र ‘गाउँले गरिबको गीत’ का बिचमा उच्चस्तर लोकप्रियकरणका बिचमा एकता ल्याउनु । यस्तो एकता नहुञ्जेलसम्म खप्पीस कलाकारको सर्वोत्कृष्ट कला पनि अत्यन्त सङ्कीर्ण उपयोगितावादी कला नै हुनेछ । तपाईं यस्तो कलालाई ‘विशुद्ध र उच्चस्तरको’ भन्दै हिंड्न सक्नुहुन्छ तर त्यो त तपाईं आफैँले राखेको नाम हो र जनसमूहले भने त्यसो भनिदिनेछैनन् ।
आधारभूत नीतिका समस्याहरू अर्थात् मजदुरहरू, किसान र सिपाहीहरूको सेवा गर्ने र त्यो सेवा कुन किसिमबाट गर्ने भन्ने समस्याहरूको एकपल्ट समाधान गरिसकेपछि जीवनको उज्यालो पक्षबारे लेख्ने कि अँध्यारो पक्षबारे लेख्ने भन्ने समस्या र एक्ताको समस्या जस्ता अरू समस्याहरूको पनि समाधान भइहाल्छ । आधारभूत नीतिसम्बन्धमा सबैको सहमति छ भने साहित्य र कलाक्षेत्रका हाम्रा सबै कार्यकर्ताहरू साहित्य र कलाका सबै धाराहरू, प्रकाशन र सङ्गठनहरू, साहित्य र कलासम्बन्धी हाम्रा सबै गतिविधिले यस नीतिअनुसार चल्नैपर्छ । यस नीतिबाट बेग्लिनु गलत हुनेछ र यस नीतिसित मेल नखाने हरेक कुरालाई बेलैमा सच्याउनुपर्छ ।
३. हाम्रो साहित्य र कला व्यापक जनसमूहका लागि भएको हुनाले अब हामी अन्तरपार्टी सम्बन्धहरूसम्बन्धी एउटा समस्या अर्थात् पार्टीले साहित्य र कलाको क्षेत्रमा गर्ने काम र पार्टीले गर्ने सम्पूर्ण कामका बिचको सम्बन्धबारे छलफल थाल्न सक्छौँ र त्यसबाहेक पार्टीका बाहिरी सम्बन्धहरूसम्बन्धी एउटा समस्या अर्थात् साहित्य र कलाका क्षेत्रमा पार्टीले गर्ने काम र यस क्षेत्रमा पार्टीबाहिरका मानिसहरूले गर्ने कामका बिचको सम्बन्धको समस्या साहित्य र कलाजगत्मा रहेका संयुक्त मोर्चाको समस्याबारे पनि छलफल थाल्न सक्छौँ ।
अब पहिलो समस्याबारे सोचविचार गरौँ । आजको संसारमा सबै संस्कृति, सबै साहित्य र कला कुनै खास वर्गका लागि हुन्छन् र तिनलाई कुनै खास राजनीतिक कार्यदिशातर्फ लगाएको हुन्छ । वास्तवमा कला कलाका निम्ति, वर्गहरूभन्दा माथिको कला वा राजनीतिबाट अलग्गिएको वा स्वतन्त्र रहेको कला भनेजस्तो चीज कतै पनि हुँदैन । सर्वहारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी ध्येयकै एक अङ्ग हुन् । लेनिनले भन्नुभएजस्तै ती सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पुर्जा हुन् । त्यसकारण साहित्य र कलाका क्षेत्रमा पार्टीद्वारा गरिने कामले पार्टीको सम्पूर्ण क्रान्तिकारी काममा एउटा निश्चित र उत्तरदायित्वपूर्ण स्थान ओगट्छ र त्यो कुनै खास क्रान्तिकारी अवधिका लागि पार्टीद्वारा निर्धारित गरिने क्रान्तिकारी अभिभाराहरूकै मातहतमा रहन्छ । यस योजनाको विरोध गर्नाले हामी निश्चय नै द्वैतवाद वा बहुवादमा पुग्दछौँ र ट्राटस्कीले भनेजस्तै यसको सारचाहिँ ‘राजनीति माक्र्सवादी, कला पुँजीवादी’ हुन पुग्छ । हामी साहित्य र कलाको महत्वलाई आवश्यकभन्दा बढी जोड दिने पक्षमा छैनौँ, हामी न त तिनको महत्वलाई आवश्यकभन्दा कम्ती नै आँक्दछौँ । साहित्य र कला राजनीतिको मातहतमा रहन्छन् तर तिनले आफ्नो तर्फबाट राजनीतिमाथि ठूलो प्रभाव पनि पार्छन् । क्रान्तिकारी साहित्य र कला सम्पूर्ण क्रान्तिकारी ध्येयकै अङ्ग हुन्, ती यसका दाँती र पुर्जा हुन् र अरू कुनै बढी महत्वपूर्ण अङ्गहरूका दाँजोमा ती कम महत्वका र कम आवश्यक भए तापनि र तिनको स्थान गौण भए तापनि सम्पूर्ण मेसिनका ती अनिवार्य दाँती र पेच हुन् र समुच्च क्रान्तिकारी ध्येयका अनिवार्य अङ्ग हुन् । अति व्यापक र अति सामान्य अर्थमा पनि हामी के भन्न सक्छौँ भने हामीसित साहित्य र कला नहुँदो हो त हामी क्रान्तिकारी आन्दोलन चलाउन र विजय हासिल गर्न सक्ने थिएनौँ । यस कुराको महत्व बुझ्न नसक्नु भूल हुनेछ ।
अझ अर्को कुरा साहित्य र कला राजनीतिको मातहत रहन्छन् भन्नाको हाम्रो तात्पर्य हो– ती वर्गीय राजनीतिको मातहतमा, जनसमूहको राजनीतिको मातहतमा रहन्छन्, केही दुईचार तथाकथित राजनीतिज्ञहरूको राजनीतिको मातहतमा भने होइन । क्रान्तिकारी राजनीति होस् वा प्रतिक्रान्तिकारी राजनीति होस्, त्यो दुईचार व्यक्तिहरूको कार्यकलाप नभएर एक वर्गका विरुद्ध अर्को वर्गकै सङ्घर्ष हो । विचारधारा र कलाका क्षेत्रमा चल्ने क्रान्तिकारी सङ्घर्षलाई राजनीतिक सङ्घर्षका मातहतमा राख्नैपर्छ किनभने वर्ग र जनसमूहका आवश्यकताहरू राजनीतिमार्फत मात्रै केन्द्रीकृत रूपमा अभिव्यक्त हुन सक्छन् । क्रान्तिकारी राजनीतिज्ञहरू अर्थात् क्रान्तिकारी राजनीतिको विज्ञान र कलाका जानकार राजनीतिक विशेषज्ञहरू करोडौँ–करोड राजनीतिज्ञहरू वा आम जनताका नेताहरू मात्रै हुन् । उनीहरूको अभिभारा राजनीतिज्ञहरूको यो विशाल जनसमूहका रायहरू सँगाल्नु, तिनलाई व्यवस्थित तथा परिष्कृत पार्नु र त्यसपछि ती कुरा जनसमुदायलाई फिर्ता दिनु हो । जनसमूहले भने ती कुरालाई अँगाल्दछन् र व्यवहारमा लागू गर्दछन् । त्यसकारण ती राजनीतिज्ञहरू एकान्त कोठामा बसेर काम गर्ने र आफूलाई सारा बुद्धि–विवेकका एकलौटी हकवाला सम्झने कुलीन ‘राजनीतिज्ञ’ जस्ता हुँदैनन् । सर्वहारावादी राजनीतिज्ञ र पतनशील पुँजीवादी राजनीतिज्ञमाझको वास्तविक भिन्नता यही हो । यसै गाँठी कारणले गर्दा नै हाम्रा साहित्य र कलाका कृतिहरूको राजनीतिक चरित्र र तिनको सत्यतामाझ पूर्ण एकता हुन सक्छ । यो कुरा बुझ्न नसक्नु र सर्वहारा वर्गको राजनीति र सर्वहारा वर्गका राजनीतिज्ञहरूलाई होच्याउनु भूल हुनेछ ।
अब साहित्य र कलाजगत्मा संयुक्त मोर्चाको सवालबारे सोचविचार गरौँ । साहित्य र कला राजनीतिको मातहतमा रहने हुनाले र जापानको प्रतिरोध गर्नु आजको चीनको राजनीतिको आधारभूत समस्या हुनाले र जापानको प्रतिरोध गर्ने सवालमा हाम्रा पार्टी लेखक र कलाकारहरूले सबै गैर–पार्टी लेखक र कलाकारहरूसित (पार्टीका शुभचिन्तक, निम्न पुँजीवादी लेखक, र कलाकारहरूदेखि लिएर जापानको प्रतिरोधको पक्ष लिने पुँजीपति वर्ग र जमिनदार वर्गहरूका सबै लेखक र कलाकारहरूसित) एकताबद्ध हुनुपर्छ । दोस्रो कुरा, जनवादको सवालमा पनि हामीले उनीहरूसित एकताबद्ध हुनुपर्छ । यस सवालमा हामीसित सहमत नहुने जापानविरोधी लेखक र कलाकारहरूको पनि एउटा अंश छ । त्यसो हुनाले यो एकताको घेरा अनिवार्य रूपले केही साँघुरो हुनेछ । तेस्रो कुरा, हामीले साहित्य र कलाजगत्का विशेष सवालहरूलाई लिएर, साहित्य र कला क्षेत्रको पद्धति र शैलीलाई लिएर उनीहरूसित एकताबद्ध हुनुपर्छ ।
यहाँ फेरि हामी समाजवादी यथार्थवादको पक्षमा उभिन्छौँ र केही मानिस यस कुरामा हामीसित सहमत हुँदैनन्, अनि एकताको घेरा झन् साँघुरो हुनेछ । कुनै एउटा सवालमा एकता हुन्छ भने अर्को सवालमा सङ्घर्ष र आलोचना चल्छ । यी कुराहरू अलग–अलग र त्यसका साथै अन्तसम्बन्धित पनि छन्, त्यसैले जापानको प्रतिरोध गर्नेजस्तो सवालमा एकता छ भने यसका साथै, त्यसमा पनि सङ्घर्ष र आलोचना चल्छ । संयुक्त मोर्चामा ‘सबै कुरामा एकता र सङ्घर्ष पूरै बन्द’ तथा ‘सबै कुरामा सङ्घर्ष र एकताको कुरै बन्द’ भन्ने दुवै नीतिहरू गलत छन् । जस्तो विगतकालमा केही कमरेडहरूले अपनाएका दक्षिणपन्थी आत्मसमपर्णवाद र पुच्छरवाद वा ‘वामपन्थी’ एकलकाँट्वाद र सङ्कीर्णतावादजस्ता सबै नीतिहरू गलत छन् । यो कुरा राजनीतिमा झैँ साहित्य र कलामा पनि उत्तिकै सत्य छ ।
चीनको साहित्य र कलाजगत्को संयुक्त मोर्चाका शक्तिहरूमा निम्न पुँजीवादी लेखक र कलाकारहरू एउटा महत्वपूर्ण शक्तिका रूपमा रहेका छन् । उनीहरूको सोचाइ र कार्य दुवै कुरामा थुप्रै कमजोरीहरू छन् तर तुलनात्मक दृष्टिले भन्ने हो भने उनीहरू क्रान्तितर्फ ढल्केका छन् र श्रमिक जनताको निकट सम्पर्कमा छन् । त्यसकारण, यी कमजोरीहरू हटाउन उनीहरूलाई मद्दत गर्नु र श्रमिक जनताको सेवा गर्ने यस मोर्चातर्फ उनीहरूलाई तान्नु हाम्रा लागि एउटा विशेष महत्वको काम हो ।
४. साहित्य र कलाजगत्मा साहित्य र कलासम्बन्धी आलोचना सङ्घर्षका प्रमुख पद्धतिमध्ये एक हो । यस पद्धतिलाई विकास गर्नुपर्छ र कमरेडहरूले सही ढङ्गले औँल्याउनुभएजस्तै यस सम्बन्धमा हाम्रो यस अवधिको काम अपर्याप्त रहेको छ । साहित्य र कलाको आलोचना एउटा जटिल सवाल हो– जसका लागि निकै मात्रामा विशेष अध्ययनको खाँचो पर्छ । यहाँ म आलोचनाको मापदण्डसम्बन्धी आधारभूत सवालको मात्र चर्चा गर्नेछु । यसबाहेक, केही कमरेडहरूले उठाउनुभएका केही विशिष्ट सवालहरू र केही गलत विचारहरूबारे पनि टीकाटिप्पणी गर्नेछु ।
साहित्य र कलाको आलोचनाका दुईटा मापदण्ड हुन्छन्– राजनीतिक र कलात्मक मापदण्ड । राजनीतिक मापदण्डअनुसार एकताका लागि र जापानको प्रतिरोधका लागि सघाउ पुर्याउने, जनसमूहलाई एकमन एकप्राण हुन उत्साहित गर्ने, अधोगतिको विरोध गर्न र प्रगतिलाई अघि बढाउने जति सबै कुरा असल हुन् । अर्कातिर एकता र जापानको प्रतिरोध कार्यलाई बिगार्ने, जनतामा फाटो र झगडा पैदा गर्ने र प्रगतिको विरोध गर्ने तथा जनतालाई पछाडि धकेल्ने जति सबै कुरा खराब हुन् । हामीले असललाई खराबबाट कसरी छुट्याउने– अभिप्रायबाट (मनोगत इच्छा) कि परिणाम (सामाजिक व्यवहार) बाट ? आदर्शवादीहरूले अभिप्रायःमाथि जोड दिन्छन र परिणामलाई बेवास्ता गर्छन्, यान्त्रिक भौतिकवादीहरूले भने परिणाममाथि जोड दिन्छन् र अभिप्रायलाई बेवस्ता गर्छन् । यी दुवैको विपरीत हामी द्वन्द्वात्मक भौतिकवादीहरू भने अभिप्रायः र परिणामको एकतामा जोड दिन्छौँ । जनसमूहको सेवा गर्ने अभिप्रायः उनीहरूको समर्थन प्राप्त गर्ने परिणामसित अभिन्न रूपले गाँसिएको हुन्छ । यी दुई कुरामा एकता हुनैपर्छ । व्यक्तिको सेवा गर्ने वा एउटा सानो गुटको सेवा गर्ने अभिप्रायः राम्रो होइन, न त जनसमूहको समर्थन पाउने र उनीहरूलाई फाइदा गर्ने परिणामबिना नै जनसमूहको सेवा गर्ने अभिप्रायः राख्नु राम्रो कुरा हो ।
कुनै लेखक वा कलाकारको मनोगत इच्छा जाँच्नुपर्दा हामी उसका घोषणाहरूबाट उसको मूल्याङ्कन गर्दैैनौँ, तर उसका कामदारहरू (मुख्य रूपले उसका रचनाहरू) ले समाजका जनसमूहमा पारेको प्रभावका आधारमा नै उसको मूल्याङ्कन गर्छौँ । मनोगत इच्छा वा अभिप्रायःको मूल्याङ्कन गर्ने मापदण्ड सामाजिक व्यवहार र त्यसको परिणाम नै हो । हामी हाम्रा साहित्य–कलाको आलोचनामा सङ्कीर्णतावादलाई स्थान दिँदैनौँ र जापानको प्रतिरोध गर्ने कुरामा एकता स्थापना गर्ने सामान्य सिद्धान्तका आधारमा विभिन्न राजनीतिक प्रवृत्तिहरू रहेका साहित्य र कलाका कृतिहरूप्रति हामीले सहिष्णु हुनुपर्छ । तर, त्यसका साथसाथै, हामीले हाम्रो आलोचनामा सिद्धान्तलाई दरिलो ढङ्गले अँगाल्नुपर्छ र राष्ट्रविरोधी, विज्ञानविरोधी, जनविरोधी र कम्युनिस्ट पार्टीविरोधी विचार प्रकट गर्ने सबै साहित्य र कलाका कृतिहरूको कठोर आलोचना र खण्डन गर्नुपर्छ किनभने साहित्य र कलाका यी तथाकथित कृतिहरू अभिप्रायःका आधारमा चल्छन् र यिनले जापानको प्रतिरोध गर्नका लागि सपना गरिने एकताको जरै खल्बल्याउने परिणाम पैदा गर्छन् । कलाको मापदण्डअनुसार उच्चस्तरीय कलात्मक गुण भएका सबै कृतिहरू असल वा तुलनात्मक रूपले असल हुन् र निम्नस्तरीय कलात्मक गुण भएका कृतिहरू भने खराब वा तुलनात्मक रूपले खराब हुन् । यहाँनेर पनि हामीले वास्तवमा कृतिको सामाजिक परिणाममाथि ध्यान दिनुपर्छ । आफ्नो रचनालाई सुन्दर नठान्ने लेखक वा कलाकार बिरलै होला र हाम्रो आलोचनाले सबै किसिमका कलाकृतिहरूमा खुला प्रतियोगिता हुन दिनैपर्छ, तर सौन्दर्यशास्त्रको मापदण्डअनुसार यी कृतिहरूको सही आलोचना गर्नु पनि ज्यादै जरुरी हुन्छ, जसले गर्दा निम्नस्तरीय कला विस्तार–विस्तारै उच्च स्तरतर्फ उठोस् र व्यापक जनसमूहका सङ्घर्षका मागहरू पूरा नगर्नेखालको कला ती मागहरू पूरा गर्न सक्ने कलामा फेरिन सकोस् ।
यसरी एउटा राजनीतिक मापदण्ड हुन्छ र अर्को कलात्मक मापदण्ड हुन्छ । यी दुईका बिचमा कस्तो सम्बन्ध छ ? कलालाई राजनीतिको समकक्षमा राख्न सकिँदैन, न त कलात्मक सिर्जना र आलोचनाको पद्धतिलाई सामान्य विश्वदृष्टिकोणको समकक्षमा राख्न सकिन्छ । हामी अमूर्त र एकदमै अपरिवर्तनीय राजनीतिक मापदण्डको अस्तित्वलाई मात्र होइन, अमूर्त र एकदमै अपरिवर्तनीय कलात्मक मापदण्डको अस्तित्वलाई पनि इन्कार गर्छौँ । हरेक वर्ग समाजमा हरेक वर्गका आफ्नै राजनीतिक र कलात्मक मापदण्ड हुन्छन । तर सबै वर्ग समाजहरूमा सबै वर्गले सधैँ नै राजनीतिक मापदण्डलाई प्रमुख स्थान दिन्छन् र कलात्मक मापदण्डलाई गौण स्थान दिन्छन् । जतिसुकै उच्चस्तरीय कलात्मक गुणले सिँगारिएको भए तापनि सर्वहारा साहित्य र कलालाई पुँजीपति वर्गले सधै अस्वीकार गर्छ । सर्वहारा वर्गले पनि त्यसरी नै विगत युगका साहित्य र कलाकृतिमध्येबाट जनताप्रति तिनले अपनाएको दृष्टिकोणतर्फ विचार गर्दै र आफ्नो समयको इतिहासमा तिनको कुनै प्रगतिशील महत्व थियो वा थिएन भन्ने कुरा छुट्याउँदै त्यसैको आधारमा तिनको जाँचबुझ गरिसकेपछि मात्रै ती कृतिहरूप्रति आफ्नो दृष्टिकोण निश्चित पार्नुपर्छ । राजनीतिक दृष्टिले घोर–प्रतिक्रियावादी रहेका कुनै कुनै कृतिहरूमा केही कलात्मक गुण हुन सक्छ । तिनको विषय जति बढी प्रतिक्रियावादी र कलात्मक गुण जति उच्चस्तरको छ, जनताका लागि ती त्यति नै बढी बिखालु हुन्छन् र तिनलाई अस्वीकार गर्नु पनि त्यति नै बढी आवश्यक छ । सबै शोषक वर्गहरूको पतनकालको साहित्य र कलाको साझा विशेषता तिनका् प्रतिक्रियावादी राजनीतिक विषय र कलात्मक शैलीमाझको अन्तर्विरोध हो । हामीले माग गर्ने कुराचाहिँ राजनीति र कलाको एकता, विषय र शैलीको एकता, क्रान्तिकारी राजनीतिक विषय र यथासम्भव उच्चस्तरको कलात्मक शैलीको एकता हो । राजनीतिक दृष्टिले जतिसुकै प्रगतिशील भए पनि कलात्मक गुण नभएका कलाकृतिहरूमा कुनै ज्यान हुँदैन । त्यसकारण हामी गलत राजनीतिक दृष्टिकोण भएका कलाकृति सिर्जना गर्ने मनोवृत्ति र त्यसका साथै राजनीतिक दृष्टिले सही भएर पनि कलात्मक ज्यान नभएका ‘पोस्टरे र नारावादी शैली’ तर्फ झुक्ने मनोवृत्तिको विरोध गछौं । साहित्य र कलासम्बन्धी सवालहरूलाई लिएर हामीले दुई मोर्चामा सङ्घर्ष चलाउनुपर्छ ।
धेरै कमरेडहरूको सोचाइमा यी दुवै मनोवृत्तिहरू पाइन्छन् । निकै धेरै कमरेडहरू कलात्मक विधिप्रति हेलचेक्र्याइँ गर्न खोज्छन् । त्यसै हुनाले कलात्मकस्तर उकास्ने कुरामा ध्यान दिनु आवश्यक छ । तर मलाई कस्तो लाग्छ भने हाल यस समस्याको राजनीतिक पक्षचाहिँ बढी गम्भीर समस्या हो । केही कमरेडहरूलाई त राजनीतिक ज्ञानको क, ख, ग पनि थाहा छैन । त्यसको परिणामस्वरूप उनीहरूमा अनेक किसिमका गञ्जागोले विचारहरू पाइन्छ । यस सम्बन्धमा येनानमै पाइने केही उदाहरणहरू म अघि सार्न चाहन्छु ।
‘मानव स्वभावको सिद्धान्त ।’ मानव स्वभाव जस्तो चीज पनि हुन्छ र ? अवश्यै हुन्छ । तर मूर्तरूपको मानव स्वभाव मात्र हुन्छ, अमूर्तरूपको मानव स्वभाव भने हुँदैन । वर्ग समाजमा वर्गचरित्र भएको मानव स्वभाव मात्र हुन्छ, वर्गहरूभन्दा माथि उठेको मानव स्वभाव भने हुँदैन । हामी सर्वहारा वर्ग र व्यापक जनसमूहको मानव स्वभावको पक्ष लिन्छौँ, जमिनदार र पुँजीपति वर्गहरूले चाहिँ उनीहरूका आ–आफ्नै वर्गको मानव स्वभावको पक्ष लिन्छन् । उनीहरू मुखले त यस्तो कुरा गर्दैनन् तर के देखाउनचाहिँ खोज्छन् भने उनीहरूले पक्ष लिने गरेको मानव स्वभाव नै एक मात्र वास्तविक मानव स्वभाव हो । केही निम्न पुँजीवादी बुद्धिजीवीहरूले धुमधामसित बखान गर्दै अघि सारेको मानव स्वभाव पनि व्यापक जनसमूहबाट बेग्लिएको हुन्छ वा तिनका विरुद्ध उभिएको हुन्छ । उनीहरूले मावन स्वभाव भन्ने गरेको चीज साररूपमा अरू केही होइन, पुँजीवादी व्यक्तिवाद नै हो । त्यसै हुनाले उनीहरूका दृष्टिमा सर्वहारा मानव स्वभाव भन्ने चीज मानव स्वभावकै उल्टो हुन्छ । येनानमा केही मानिसहरूले साहित्य र कलासम्बन्धी आफ्नो तथाकथित सिद्धान्तलाई आधार बनाउँदै वकालत गर्ने गरेको मानव–स्वभावको सिद्धान्तले पनि यस्तै बाटो समातेको छ र यो पूर्णरूपले गलत छ ।
‘साहित्य र कलाका लागि आधारभूत प्रस्थान विन्दु प्रेम हो, मानवताको प्रतीक प्रेम हो ।’ प्रेम एउटा प्रस्थानविन्दु त हुन सक्ला तर त्यसभन्दा आधारभूत प्रस्थानविन्दु अर्कै छ । विचारगत रूपमा प्रेम भनेको वस्तुगत व्यवहारकै उपज हो । आधारभूत रूपमा हामी कुनै पनि कुराको थालनी विचारबाट होइन, वस्तुगत व्यवहारबाट गर्दछौँ । बुद्धिजीवीहरूको पङ्क्तिबाट आएका हाम्रा लेखक र कलाकारहरूले सर्वहारा वर्गलाई प्रेम गर्छन् किनभने समाजले उनीहरूलाई के कुराको अनुभव गराएको छ भने उनीहरू र सर्वहारा वर्ग एउटै साझा भाग्यका अंशियार हुन् । हामी जापानी साम्राज्यवादलाई घृणा गछौँ किनभने जापानी साम्राज्यवादले हामीमाथि थिचोमिचो गर्छ । कुनै न कुनै कारण वा ध्येयबिनाको प्रेम वा घृणाजस्तो चीज यस संसारमा हुनै सक्दैन । जहाँसम्म तथाकथित मानवप्रेमको कुरा छ, मानवजाति वर्गहरूमा बाँडिएयता यस्तो सर्वव्यापी प्रेम भन्ने चीज पनि छँदै छैन । विगतकालका सबै शासक वर्गहरू यस्तो प्रेमको वकालत गर्न रुचाउँथे र धेरै तथाकथित महात्माहरू र बुद्धिमानहरू पनि यसै गर्थे, तर कसैले पनि कहिल्यै यसलाई वास्तविक व्यवहारमा उतारेको छैन किनभने वर्ग समाजमा यसो गर्नु असम्भव छ । संसारभरि नै वर्गहरूलाई निर्मूल पारेपछि भने सच्चा मानवप्रेम कायम हुुनेछ । वर्गहरूले समाजलाई अनेकौँ सत्रुतापूर्ण समूहमा टुक्र्याइदिएका छन् । सबै वर्गहरूलाई निर्मूल पारेपछि मानवप्रेमको उदय हुनेछ तर अहिलेचाहिँ होइन । हामी सत्रुहरूलाई प्रेम गर्न सक्दैनौँ । हामी समाजका खराब कुराहरूलाई प्रेम गर्न सक्दैनौँ । हाम्रो उद्देश्य त तिनलाई नास गर्नु हो । यो त एक साधारण ज्ञानकै कुरा हो । हाम्रा केही लेखक र कलाकारहरूले अझै पनि यस कुरालाई नबुझेको हुन सक्ला र ?
‘साहित्य र कलाका कृतिहरूले उज्यालो र अँध्यारो पक्षमाथि सधैँ बराबरी जोड दिँदै आएका छन्, पचास प्रतिशतको हिसाबले ।’ यस भनाइभित्र थुप्रै अन्योलपूर्ण विचारहरू रहेका छन् । साहित्य र कलाले सधैँ यसै गरेका छन् भन्ने कुरा सत्य होइन । थुप्रै निम्न पुँजीवादी लेखकहरूले उज्यालो पक्ष कहिल्यै फेला पारेकै छैनन् । तिनका कृतिहरूले सधैँ अँध्यारो पक्षलाई उदाङ्याउँछन् र ती ‘उदाङ्याउने साहित्य’ का रूपमा नामी छन् । तिनका कुनै–कुनै कृतिहरूले त निराशावाद र वैराग्यवादको उपदेश दिने काममा मात्र विशेषज्ञता प्राप्त गरेका छन् । अर्कातिर समाजवादी निर्माणकालको सोभियत साहित्यले भने मुख्य रूपले उज्यालो पक्षकै चित्रण गर्दछ । यसले पनि कामकाजमा रहेका कमजोरीहरूको वर्णन र नकारात्मक पात्रहरूको चित्रण त गर्छ, तर सम्पूर्ण तस्बिरको उज्यालो पक्षलाई अझ टड्कारोसित प्रस्तुत गर्नका लागि मात्र यसो गर्छ, तथाकथित पचास–पचास प्रतिशतको आधारमा होइन । पुँजीपति वर्गको प्रतिक्रियावादीकालमा यस वर्गका लेखक र कलाकारहरूले क्रान्तिकारी जनसमूहलाई हुल्याहाका रूपमा र आफूलाई चाहिँ महात्माका रूपमा चित्रण गर्दछन् । यसरी उज्यालो र अँध्यारो पक्षलाई ठीक उल्टो देखाइदिन्छन् । प्रशंसा गर्ने कि उदाङ्गो पार्ने भन्ने समस्याको सही समाधान सच्चा क्रान्तिकारी लेखक र कलाकारहरूले मात्र गर्न सक्छन् । जनसमूहलाई हानि–नोक्सानी गर्ने सबै काला शक्तिहरूलाई उदाङ्ग्याउनैपर्छ । व्यापक जनसमूहका सबै क्रान्तिकारी सङ्घर्षहरूको प्रशंसा गर्नैपर्छ । क्रान्तिकारी लेखक र कलाकारहरूको आधारभूत काम यही हो ।
“साहित्य र कलाले आजसम्म सधैँ नै उदाङ्ग्याउने काम गर्दै आएका छन् ।” अघिल्लो भनाइजस्तै यो भनाइ पनि इतिहास विज्ञानको अनभिज्ञताबाट जन्मेको हो । हामीले पहिल्यै भनिसकेजस्तै साहित्य र कलाको काम कहिल्यै पनि खाली उदाङ्गो पार्नु मात्र रहेको छैन । जनसमूहहरू कहिल्यै पनि क्रान्तिकारी लेखक र कलाकारहरूका लागि उदाङ्ग्याउने कामको निशाना हुन सक्दैनन् तर अतिक्रमणकारीहरू, शोषकहरू–उत्पीडकहरू र तिनले जनतामा पारेको कुप्रभावहरू मात्रै त्यस्ता निशाना हुन सक्छन् । जनसमूहमा पनि कमजोरीहरू हुन्छन्, जनताका आफ्नै पङ्क्तिभित्र आलोचना र आत्मालोचना चलाएर ती कमजोरीहरू हटाउन सकिन्छ अनि साहित्य र कलाका ज्यादै महत्वपूर्ण अभिभाराहरूमध्ये यस्तो आलोचना र आत्मालोचना पनि एक हो । तर, यसलाई कहिल्यै पनि ‘जनतालाई उदाङ्ग्याउने’ खालको काम सम्झनु हुँदैन । जनताको हकमा, मूलभूत सवाल उनीहरूलाई शिक्षित तुल्प्याउने र उनीहरूको स्तर उकास्ने सवाल नै हो । प्रतिक्रान्तिकारी लेखक र कलाकारहरूले मात्र जनतालाई ‘जन्मजात मूर्ख’ र क्रान्तिकारी जनसमूहलाई ‘अत्याचारी हुल्याहा’ का रूपमा वर्णन गर्छन् ।
“यो अवधि अझै पनि व्यङ्ग्यात्मक निबन्ध लेख्ने अवधि हो । लु सुनको लेखन शैलीको अझै खाँचो छ ।” काला शक्तिहरूको शासनमुनि बसेर अनि वाक् स्वतन्त्रताबाट बञ्चित रहेर लु सुनले पोल्ने व्यङ्ग्य र ठिहिर्याउने व्यङ्ग्योक्तिको प्रयोग गर्दै काला शक्तिहरूका विरोधमा जुध्नका लागि तिनलाई निबन्धको रूप दिनुभयो र उहाँले यसो गर्नु एक्दमै ठीक थियो । फासिस्टहरू, चिनियाँ प्रतिक्रियावादीहरू र जनतालाई हानी–नोक्सानी गर्ने हरेक कुरालाई हामीले पनि आफ्नो व्यङ्ग्योक्तिद्वारा बेस्सरी खिल्ली उडाउनुपर्छ तर सेनसी–कासु–निङ्स्या सिमान्त क्षेत्रमा र सत्रुको पछिल्लो भागमा रहेका जापानविरोधी आधार इलाकाहरूमा क्रान्तिकारी लेखक र कलाकारहरूलाई पुरापुर जनवाद र स्वतन्त्रता प्रदान गरिएको छ र प्रतिक्रान्तिकारीहरूलाई मात्रै यी कुराबाट बञ्चित गरिएको छ । त्यसैले यहाँको निबन्धको शैली लु सुनको जस्ता मात्र भएर पुग्दैन । यहाँ हामी सकेसम्म जोडले कराउन सक्छौँ र यहाँ जनतालाई बुझ्न गाह्रो पर्नेखालका अस्पष्ट र घुमाउरा अभिव्यक्तिहरूको कुनै खाँचो छैन । सत्रुहरूति व्यवहार गर्दाचाहिँ होइन तर जनतासित व्यवहार गर्दा लु सुनले आफ्नो ‘व्यङ्ग्य निबन्धको अवधिमा’ क्रान्तिकारी जनतालाई र क्रान्तिकारी पार्टीलाई कहिल्यै खिल्ली उडाउनुभएन वा प्रहार गर्नुभएन । यी निबन्धहरू शैलीका दृष्टिले सत्रुलाई ताकेर लेखिएका निबन्धहरूभन्दा एकदमै बेग्लै छन् । हामीले पहिले नै भनेजस्तै जनताका कमजोरीहरूको आलोचना गर्नु आवश्यक छ तर यसरी आलोचना गर्दा हामीले सच्चारूपले जनताको अडान लिनुपर्छ र जनतलाई जोगाउने र शिक्षित पार्ने हार्दिक अभिलासाबाट बोल्नुपर्छ । कमरेडहरूसित सत्रुहरूसित जस्तो व्यवहार गर्नु भनेको सत्रुको अडान लिएर चल्नु हो । उसो भए के हामीले व्यङ्ग्यलाई निर्मूलै पार्ने हो त ? त्यसो होइन, व्यङ्ग्यको सधैँ खाँचो हुन्छ । तर व्यङ्ग्यहरू धेरै किसिमका हुन्छन् र हरेक व्यङ्ग्यको बेग्लाबेग्लै अभिप्रायः हुन्छ । जस्तै, सत्रुहरूप्रतिको व्यङ्ग्य, हाम्रा सहयोगीहरूप्रतिको व्यङ्ग्य र हाम्रा आफ्नै पङ्क्तिहरूप्रतिको व्यङ्ग्य । हामीहरू सामान्यरूपले व्यङ्ग्यका विरोधी होइनौँ, हामीले निर्मूल पार्नुपर्ने कुराचाहिँ व्यङ्ग्यको दुरूपयोग हो ।
“म प्रशंसा र गुणगान गर्ने काम गर्दिनँ । उज्यालोको गुणगान गर्ने मानिसहरूका कृतिहरू महान् नै हुन्छन् भन्ने केही छैन र अँध्यारोको चित्रण गर्ने मानिसहरूका कृतिहरू तुच्छ नै हुन्छन् भन्ने केही पनि छैन ।” तपाईं पुँजीवादी लेखक वा कलाकार हुनुहुन्छ भने तपाईंले सर्वहारा वर्गको गुणगान नगरी पुँजीपति वर्गकै गुणगान गर्नुहुन्छ अनि तपाईं सर्वहारावादी लेखक वा कलाकार हुनुहुन्छ भने तपाईंले पुँजीपति वर्गको गुणगान नगरी सर्वहारा वर्ग र श्रमिक जनताकै गुणगान गर्नुहुनेछ । तपाईंले दुईमध्ये एकको गुणगान गर्नैपर्छ । पुँजीपति वर्गको गुणगान गर्नेहरूका रचना महान् हुन्छन् भन्ने केही छैन र पुँजीपति वर्गको अँध्यारोपनाको चित्रण गर्नेहरूका रचना तुच्छ नै हुन्छन् भन्ने पनि केही छैन । सर्वहारा वर्गको गुणगान गर्नेहरूका रचना महान् हुँदैनन् भन्ने केही कुरा छैन तर सर्वहारा वर्गको तथाकथित ‘अँध्यारो पक्ष’ को चित्रण गर्नेहरूका रचना भने निश्चित रूपले तुच्छ हुन्छन् । केही साहित्य र कलासम्बन्धी ऐतिहासिक तथ्यहरू होइनन् र ? मानवजातिको इतिहासको निर्माताका रूपमा रहेका जनताको हामीले गुणगान किन नगर्ने ? हामीले सर्वहारा वर्ग, कम्युनिस्ट पार्टी, नौलो जनवाद र समाजवादको गुणगान किन नगर्ने ? एकथरी त्यस्ता मानिसहरू छन्; जसका मनमा जनताको ध्येप्रति कुनै उत्साह छैन र तिनीहरू एक कुनातिर उभिएर सर्वहारा वर्ग र यसको अगुवा पङ्क्तिका सङ्घर्षहरू र विजयहरूलाई बडो निरुत्साहपूर्वक हेर्ने गर्छन् । उनीहरूको चाख भएको र गुणगान गरेर उनीहरू कहिल्यै नअघाउने कुनै विषय छ भने त्यो हो तिनको आफ्नै व्यक्तित्व र तिनको साँघुरो घेराभित्रका अरू केही मानिसहरूको व्यक्तित्व । वास्तवमा यस्ता निम्न पुँजीवादी व्यक्तिवादीहरू क्रान्तिकारी जनताका पराक्रम र सद्गुणहरूको गुणगान गर्ने अथवा सङ्घर्ष गर्ने काममा उनीहरूको उत्साह उकास्न र विजय हासिल गर्ने काममा उनीहरूको आत्मविश्वास बढाउन इच्छुक हुँदैनन् । यस्ताखालका मानिसहरू क्रान्तिकारी पङ्क्तिभित्रका धमिरा नै हुन् । साँच्ची नै क्रान्तिकारी जनतालाई ‘गायकहरू’ को कुनै खाँचो छैन ।
“यो त अडानको सवाल होइन, मेरो वर्गीय अडान सही छ, मेरो अभिप्रायः असल छ र म कुराकानी एकदम राम्ररी बुझ्छु तर आफ्ना भावना व्यक्त गर्ने सीप मसँग छैन, त्यसैले मेरा रचनाहरूको प्रभाव नराम्रो हुन्छ ।” अभिप्रायः र परिणामसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबारे मैले पहिले नै बताइसकेको छु । अब म सोध्न चाहन्छु– के परिणामको सवाल भनेको अडानकै सवाल होइन र ? खालि अभिप्रायःकै भरमा काम गर्ने र आफ्नो कामको के कस्तो परिणाम होला भनेर कहिल्यै खोजीनीति नगर्ने मानिस त्यो डाक्टरजस्तै हो; जसले खालि औषधीहरू लेखिदिने काम गर्छ तर आफुले लेखिदिएको औषधीले गर्दा के कति रोगीहरू मरे भन्ने कुराको वास्तै गर्दैन । अथवा त्यस्तो एउटा राजनीतिक पार्टीलाई लिऔँ, जसले खालि घोषणाहरू गर्छ तर ती घोषणाहरू लागू भए वा भएनन् भन्ने कुराको ख्यालै राख्दैन । हामी यहीँनेर सोध्न सक्छौँ– के यो सही अडान हो र ? अनि यहाँ राम्रो अभिप्रायः रहेको छ त ? वास्तवमा परिणाममाथि पहिले नै ध्यान दिँदादिँदै पनि गल्तीहरू हुन सक्छन् तर परिणाम खराब निक्लेको कुरालाई तथ्यहरूले सिद्ध गरिसकेपछि पनि कसैले उही पुरानै कुरा दोहोर्याइरहन्छ भने उसको अभिप्रायः असलै छ भन्न सकिन्छ र ? कुनै पार्टी वा डक्टरको मूल्याङ्कन गर्दा हामीले व्यवहार हेर्नुपर्छ, परिणाम हेर्नुपर्छ । कुनै लेखकको मूल्याङ्कन गर्ने कुरामा पनि सोही कुरा लागू हुन्छ । साँच्ची नै राम्रो अभिप्रायः भएको मानिसले परिणाममाथि ध्यान दिनुपर्छ, अनुभवको निचोड निकाल्नुपर्छ र कार्यपद्धतिहरू अध्ययन गर्नुपर्छ वा कुनै पनि सिर्जनात्मक कार्य भएको मानिसले आफ्नो काममा भएका कमजोरी र गल्तीहरूको ज्यादै खुला दिलले आलोचना गर्नुपर्छ र तिनलाई सच्याउने अठोट गर्नैपर्छ । कम्युनिस्टहरूले आत्मालोचनाको पद्धति लागू गर्नाको गाँठी कारण पनि यही हो । यो नै एक मात्र सही अडान हो । यसै गम्भीर र जिम्मेवारपूर्ण व्यवहारको प्रक्रियामा मात्र विस्तारै विस्तारै सही अडानलाई बुझ्न र त्यसलाई विस्तारै–विस्तारै आत्मसात् गर्न सम्भव छ । कुनै पनि मानिसले व्यवहारमा यस दिशालाई अनुशरण गर्दैन भने ‘मैले खुब राम्रोसँग बुझेको छु’ भनेर ऊ ढुक्क हुन्छ भने वास्तवमा उसले केही पनि बुझेको छैन ।
“माक्र्सवाद पढ भनेर हामीले भन्नु द्वन्द्वात्मक भौतिकवादी सिर्जनात्मक पद्धतिको गल्ती दोहोर्याउनु हो र यसले हाम्रो सिर्जनात्मक मनस्थिति तहस–नहस पार्छ ।” माक्र्सवादको अध्ययन गर्नुको अर्थ हो संसार, समाज र साहित्य तथा कलासम्बन्धी हाम्रो निरीक्षण कार्यमा द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी दृष्टिकोण लागू गर्नु । यसको अर्थ साहित्य र कलाको सिर्जनकार्यमा माक्र्सवादले यथार्थवादलाई अँगाल्दछ तर त्यसको ठाउँ लिन भने सक्दैन । जसरी यसले भौतिक विज्ञानका आणविक र विद्युतअणुसम्बन्धी सिद्धान्तहरूलाई अँगाल्छ तर तिनको ठाउँ लिन भने सक्दैन । खोक्रो, निरस जडसूत्रहरूले सिर्जनात्मक मनस्थितिलाई निश्चय नै तहस–नहस पार्छन् । जडसूत्रवादी ‘माक्र्सवाद’ माक्र्सवाद नै होइन, यो त माक्र्सवादविरोधी कुरा हो । उसो भए माक्र्सवादले सिर्जनात्मक मनस्थितिलाई तहस–नहस पार्दैन त ? हो, तहस–नहस पार्छ । यसले सामन्ती, पुँजीवादी, निम्न पुँजीवादी, उदारवादी, व्यक्तिवादी, अनास्थावादी, कलाका लागि कलावादी, कुलघरानियाँवादी, पतनशील वा निराशावादी र व्यापक जनसमूह र सर्वहारा वर्गका लागि बिराना रहेका यस्ता सबै सिर्जनात्मक मनस्थितिहरूलाई निश्चय नै तहस–नहस पारिदिन्छ । जहाँसम्म सर्वहारावादी लेखक र कलाकारहरूको प्रश्न छ, के उनीहरूले यसखालका सिर्जनात्मक मनस्थितिहरूलाई तहस–नहस पारिदिनुपर्दैन र ? मेरो विचारमा त्यसो गर्नैपर्छ, तिनलाई जरैदेखि तहस–नहस पार्नुपर्छ र तिनलाई तहस–नहस पार्दै जाँदा नौला कुराहरूको सिर्जना पनि गर्न सकिन्छ ।
५. हामीले यहाँ चर्चा गरेका समस्याहरू येनानकै साहित्य र कलाजगत्मा पनि पाइन्छन् । यसले के कुरा देखाउँछ त ? यसले के देखाउँछ भने हाम्रो साहित्य र कलाजगत्मा गलत कार्यशैलीहरू अझै गम्भीर मात्रामा रहेका छन् र हाम्रा कमरेडहरूमा अझै पनि आदर्शवाद, जडसूत्रवाद, फोस्रो मिथ्यावाद, फोस्रा गफ, व्यवहारप्रति घृणा र जनसमूहबाट अलग्याइँजस्ता थुप्रै खोटहरू पाइन्छन् । यी समस्याहरूको समाधान गर्न एउटा प्रभावकारी र गम्भीर शुद्धीकरण अभियान चलाउनु ज्यादै आवश्यक देखिन्छ ।
हाम्रा निकै कमरेडहरू सर्वहारा वर्ग र निम्न पुँजीपति वर्गबिचको भिन्नताबारे अझै राम्ररी प्रस्ट भएका छैनन् । निकैजसो पार्टी सदस्यहरू कस्ता छन् भने तिनीहरू सङ्गठनात्मक रूपले त कम्युनिस्ट पार्टीमा सामेल भएका छन् तर विचारधारात्मक रूपले भने अझै पूर्णरूपले सामेल भएका छैनन् वा अलिकति पनि सामेल भएका छैनन् । विचारधारात्मक रूपले पार्टीमा अझै सामेल नभएका यी मानिसहरूले आफ्ना मगजमा शोषक वर्गहरूका थुप्रै फोहोर कुराहरू बोकेका छन् अनि तिनलाई सर्वहारावादी विचारधारा वा साम्यवाद वा पार्टीको कपुरी ‘क’ सम्म पनि थाहा छैन । ‘सर्वहारावादी विचारधारा रे ?’ उनीहरू तर्क गर्छन्, ‘फेरि उही थोत्रो विषय !’ यसै विषयको जानकारी हासिल गर्न पनि सजिलो छैन भन्ने कुरा उनीहरूलाई रत्तिभर थाहा छैन । यीमध्ये कसैकसैमा त पार्टीमा रहुञ्जेलसम्म अलिकति पनि साम्यवादी रङ चढ्दैन र आखिरमा उनीहरू पार्टीलाई छाडेर जान्छन् । त्यसकारण हाम्रो पार्टी वा हाम्रो पङ्क्तिभित्रका बहुसङ्ख्यक मानिसहरू चोखा र इमानदार छन् तापनि क्रान्तिकारी आन्दोलनलाई अझ प्रभावकारी ढङ्गले विकास गर्ने हो र यसलाई अझ छिटो सफलतातिर पुर्याउने हो भने हामीले विचारधारात्मक र सङ्गठनात्मक रूपले सुव्यवस्थित तुल्याउनको लागि पहिले यसलाई विचारधारात्मक रूपले सुव्यवस्थित तुल्याउनु र गैर–सर्वहारावादी विचारधाराका विरुद्ध सर्वहारावादी विचारधाराको सङ्घर्ष चलाउनु आवश्यक छ ।
येनानमा साहित्य र कलाजगत्मा विचारधारात्मक सङ्घर्षको थालनी भइसकेको छ र यो ज्यादै जरुरी कुरा हो । निम्न पुँजीवादी स्रोतबाट आएका बुद्धिजीवीहरूले साहित्य र कलालगायत सबैखालका उपायहरूबाट सधैँ हठपूर्वक आफ्नो अस्तित्व जोगाउन र आफ्ना विचारहरू फिँजाउन कोसिस गर्छछ् र तिनले पार्टी र संसारलाई आफ्नै तस्बिरको साँचोमा ढालिएको देख्न चाहन्छन् । यस अवस्थामा हाम्रो कर्तव्य के हो भने हामीले यी ‘कामरेडहरू’ लाई बेस्सरी घच्घच्याउनुपर्छ, चर्को स्वरले भनिदिनुपर्छ, “लौ, यसरी काम चल्दैन ! सर्वहारा वर्गले आफुलाई तपाईंहरूको विचारको साँचोमा ढाल्न सक्दैन । तपाईंहरूको अगाडि घुँडा टेक्नु भनेको साँचो अर्थमा जमिनदार वर्ग र ठूलो पुँजीपति वर्गकै अगाडि घुँडा टेक्नु र पार्टी र हाम्रो देश दुवैलाई डुबाउने जोखिम उठाउनु हो ।” उसो भए हामी कसको विचारअनुसार चल्ने हो त ? हामीले पार्टी र संसारलाई सर्वहारावादी अगुवा दलको विचारको साँचोमा मात्र ढाल्न सक्छौँ । हामी के आशा गर्छौँ भने साहित्य र कलाजगत्का हाम्रा कमरेडहरू यस महान् वादविवादको गम्भीरतालाई बुझेर सङ्घर्षमा सक्रियतासाथ डट्नुहुनेछ, जसले गर्दा हाम्रा सबै कमरेड दरिला हुन सकून् र हाम्रा समुच्च पङ्क्तिहरू विचारधारात्मक र सङ्गठनात्मक रूपले साँच्चै नै एकताबद्ध र सुदृढ हुन सकून् ।
हाम्रा धेरैजसो कमरेडहरू आफ्नो अन्योलपूर्ण सोचाइले गर्दा हाम्रा क्रान्तिकारी आधारइलाकाहरू र क्वोमिन्ताङ–शासित इलाकाहरूमाझको वास्तविक भिन्नता प्रस्ट रूपले छुट्याउनै सक्दैनन् र त्यसको परिणामस्वरूप धेरै गल्तीहरू गर्छन् । हाम्रा निकै कमरेडहरू साङ्घाईका साँघुरा कोठाहरूबाट यहाँ आएका छन् र ती साँघुरा कोठाहरूबाट क्रान्तिकारी आधारइलाकाहरूमा आउँदा उनीहरू एक किसिमको ठाउँबाट अर्को किसिमको ठाउँमा सरेका मात्र होइनन्, एउटा ऐतिहासिक युग पार गरेर अर्को ऐतिहासिक युगमा भित्रिएका छन् । अघिल्लो समाज ठूला जमिनदारहरू र पुँजीपतिहरूको शासनअन्तर्गत रहेको अर्धसामन्ती, अर्धउपनिवेशवादी समाज हो भने अर्कोचाहिँ समाज सर्वहारा वर्गको नेतृत्वअन्तर्गत रहेको क्रान्तिकारी नौलो जनवादी समाज हो । क्रान्तिकारी आधारइलाकाहरूमा आउनुको अर्थ हजारौँ वर्षको चिनियाँ इतिहासमै अभूतपूर्व रहेको एउटा युगमा प्रवेश गर्नु हो । एउटा यस्तो युग; जसमा व्यापक जनसमूहले आफ्नो हातमा राजसत्ता लिएका छन् । यहाँ हाम्रो चारैतिरका मानिसहरू र हाम्रो प्रचार कार्यका श्रोताहरू एकदमै बेग्लैखालका छन् । पुरानो युग फेरि कहिल्यै नफर्कने गरी बितेर गएको छ । त्यसैले हामीले पटक्कै सङ्कोच नमानीकन यहाँका नौला जनसमूहहरूसित गाँसिएर एक हुनुपर्छ ।
मैले यसअघि उल्लेख गरेजस्तै नौला जनसमूहहरूमाझ रहँदा–बस्दा केही कमरेडहरूमा अझै ‘ज्ञान र समझदारी’ को कमी हुन्छ र उनीहरू ‘शुर्याइँ देखाउन ठाउँ नपाएका शूरवीरहरू’ नै रहिरहन्छन् भने उनीहरूका अगाडि कठिनाइहरू उत्पन्न हुनेछन् । गाउँमा जाँदा मात्र होइन, यहीँ येनानमै पनि उनीहरूकै अगाडि कठिनाइहरू उत्पन्न हुनेछन् । केही कमरेडहरू यस्तो सोच्लान्, “अहो ! मैले त विशाल पछिल्लो इलाकाकै पाठकहरूका लागि लेख्दै गए बेस होला । त्यो त मैले राम्ररी जानेको काम हो र त्यसो ‘राष्ट्रिय महत्व’ छ ।” यो विचार पूरापूर गलत छ । विशाल पछिल्लो इलामा पनि बदलिँदै छ । त्यहाँका पाठकहरू क्रान्तिकारी आधारइलाकाहरूका लेखकहरूबाट नौला मानिस र नौला संसारसम्बन्धी कथा सुन्ने आशा राख्छन् र उनीहरू उही पुरानै कुरा सुनेर वाक्क भइरहन चाहँदैनन् । त्यसकारण कुनै पनि रचना क्रान्तिकारी आधारइलाकाका जनसमूहलाई जति धेरै ध्यानमा राखेर लेखिन्छ, त्यसको त्यति नै धेरै राष्ट्रिय महत्व हुनेछ । ‘विध्वंस’ नामको उपन्यासमा फादेयेभले एउटा सानो छापामार टोलीको कथा प्रस्तुत गरेका छन् र त्यो कथा प्रस्तुत गर्दा पुरानो संसारका पाठकहरूको दिल बहलाउने उनको कुनै इरादा थिएन, तैपनि त्यस पुस्तकले संसारैभरि प्रभाव जमायो । तपाईंहरूलाई थाहा भएकै कुरा हो, चीनमा यसले साह्रै ठूलो प्रभाव पारेको छ । चीनपछाडि होइन, अगाडि बढिरहेको छ र पिछडिएका, पतनशील इलाकाहरूले होइन, बरु क्रान्तिकारी आधारइलाकाहरूले नै चीनलाई अगाडि डोर्याउँदै छन् । यो एउटा आधारभूत सवाल हो; जसलाई शुद्धीकरण आन्दोलनको सिलसिलामा कमरेडहरूले सबभन्दा पहिले राम्ररी बुझ्नैपर्छ ।
व्यापक जनसमूहको यस नौलो युगसित एक भएर गाँसिनु अति आवश्यक भएकाले व्यक्ति र जनसमूहमाझको सम्बन्धको समस्यालाई पूर्ण रूपले समाधान गर्नु आवश्यक छ । लु सुनको एउटा कविताका यी दुई पङ्क्तिहरू हाम्रा लागि निर्देशक सिद्धान्त हुनुपर्छ :
आँखीभौँ यी क्रुद्ध तुल्याउँदै
लिन्छु म टक्कर कत्ति नआत्तिई
मलाई ताक्ने यी हजार औँलाहरूको
शिर झुकाउँदैन
विनम्र गोरुझैँ
गर्छु म सेवा बालकहरूको ।
यहाँ ‘मलाई ताक्ने हजार औँलाहरू’ भनेका हाम्रा सत्रुहरू हुन् । तिनीहरू जतिसुकै डरलाग्दा भए पनि हामी तिनका अगाडि कहिल्यै घुँडा टेक्ने छैनौँ । यहाँ ‘बालकहरू’ भन्नाले सर्वहारा वर्ग र व्यापक जनसमूहलाई जनाउँछ । सबै कम्युनिस्टहरू, सबै क्रान्तिकारीहरू र सबै क्रान्तिकारी लेखन तथा कलाकर्मीहरूले लु सुनको उदाहरणबाट सिक्नैपर्छ र जीवनको अन्तिम घडीसम्म पनि ढाड कुप्र्याएर काममा जोतिँदै सर्वहारा वर्ग र व्यापक जनसमूहका ‘गोरु’ बन्नुपर्दछ । व्यापक जनसमूहसित गाँसिएर एक हुन चाहने र व्यापक जनसमूहको सेवा गर्न चाहने बुद्धिजीवीहरूले एउटा त्यस्तो प्रक्रियाबाट गुज्रनुपर्छ; जसबाट उनीहरू र व्यापक जनसमूहहरूले एक–अर्कालाई राम्ररी चिन्न सकून् । यो प्रक्रिया निकै कष्टपूर्ण छ र टक्करपूर्ण हुन सक्छ र निश्चय नै त्यस्तो हुनेछ, तर तपाईंहरूमा दरिलो अठोट छ भने यी माथिका आवश्यकताहरूलाई तपाईंहरूले अवश्यै पूरा गर्न सक्नुहुनेछ ।
आज हाम्रा साहित्य र कलाको आन्दोलनको आधारभूत दिशासम्बन्धी केही समस्याहरूबारे मात्र मैले चर्चा गरेँ, अरू थुप्रै विशेष समस्याहरू बाँकी नै छन्; जसबारे अझ माथि औँल्याइएको दिशातर्फ पाइला चाल्न अठोट गरिसक्नुभएको होला । मलाई के विश्वास छ भने शुद्धीकरण आन्दोलनका सिलसिलामा र अध्ययन तथा कामको आउँदो लामो अवधिमा तपाईंहरू आफुमा र आफ्ना कृतिहरूमा एउटा नौलो रूपान्तर गर्न, व्यापक जनसमूहले न्यानो ढङ्गले स्वागत गर्नेखालका राम्रा–राम्रा रचनाहरू सिर्जना गर्न र क्रान्तिकारी आधारइलाकाहरूको तथा सिङ्गै चीनको साहित्य र कलाको आन्दोलनलाई एउटा गौरवशाली नौलो अवस्थातिर लम्काउन अवश्यै सक्षम हुनुहुनेछ ।
(माओ सङ्कलित रचना, भाग ३ बाट)
