कला भनेको अभिव्यक्तिको माध्यम हो । सङ्गीत, साहित्य र चित्रकला यस्तै अभिव्यक्तिका माध्यम हुन् । समाजको सभ्यता बुझ्न कलाको इतिहास बुझ्नुपर्छ । कलाप्रतिको रुचि र व्यवहारबाट मान्छेको जीवनदर्शन बुझ्न सकिन्छ । रसियन कला चिन्तक अभ्नेर जीसले कलाले मानिसको सौन्दर्य सम्बन्धी धारणा निर्माण गर्न निर्णायक भूमिका खेल्ने बताएका छन् ।
सामुन्द्रिक सतहदेखि दुईहजार मिटर उचाइँमा रहेको गुल्मीको सुन्दर पर्यटकीय क्षेत्र सत्यवतीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी दुईदर्जन कलाकारहरुले लालीगुराँसका मुढाहरुमा कलात्मक मूर्तिका आकृति र चित्रहरुमा रङ भरे । पूर्वतिर नजिकै आँखामा धौलागिरी, माछापुच्छे, अन्नपूर्ण, मानापाथी हिमालका सुन्दर दृश्यहरु, उत्तरतिर थाप्ले लेक, पश्चिमतिर रेसुङ्गा डाँडा र दक्षिणतिर हचिङ्कोटमा रहेको पुरातात्विक दरवारको अवशेष र पाल्पाको श्रीनगर डाँडाको दृश्यावलोकन गर्दै, स्थानीय रैथाने मगर संस्कृति, बाजा र अर्गानिक खानपिनमा झुम्मिदै सत्यवतीमा बसेर कलाकारहरुले आ–आफ्नो सिर्जनाहरु प्रस्तुत गरे । कार्यशालाको अवसरमा सत्यवतीको प्राकृतिक सौन्दर्य, धार्मिक किम्बदन्ती र सांस्कृतिक ऐतिहासिकतालाई साहित्यकारहरुले समेत कविता, गीत, गजल र मुक्तकहरुमा उने ।
ती कलाकारहरु मध्ये थिइन्–रिमा मिधुन । उनी ललितकलाका विद्यार्थी हुन् । उनी झोलामा रङ, कुची र क्यान्भास बोकेर ठूलो लुम्पेकको सत्यवतीमा आइपुगिन् । रिमाले सत्यवतीको किम्बन्दती वा पौराणिक इतिहासमाथि कुची चलाइन् र रङहरुमा घोलेर सचित्र क्यान्भासमा उतारिन् । सत्यवती बज्यैको अलौकिक कथालाई बिम्ब बनाएर ‘नारीशक्ति’लाई चित्रण गरिन् । प्रकृति र नारीबीचको अन्तरसम्बन्धलाई जोडिन् । पूर्वीय चिन्तनमा सत्यदेवी एउटा मिथक हो । हिन्दु धर्मालम्बीहरुको आस्थाको प्रतीक हो । मिथकहरुबारे विभिन्न धारणाहरु छन् । जर्मन शून्यवादी दार्शनिक नित्सेले यसलाई विगतका असीम सम्झनाहरु भनेका छन् । सिग्मन फ्रायडले अचेतनमा पुग्ने राजमार्ग नै मिथक हो । मिथक कल्पनाकै उपज हो । रिमाले मिथकको कथात्मक बिम्बमार्फत् सत्यदेवीका स्वरैकल्पनाहरुलाई रङहरुमा सम्मिश्रण गरिन् । आदिबासीहरुको सांस्कृतिक पक्षलाई समेत उजागार गर्ने कोशिस गरिन् ।
ललितकला क्याम्पस ‘ब्याचलर इन फाइन आर्टस्’ तेस्रो बर्ष पढ्दै गरेकी रिमाको पुख्र्यौली घर ठूलो लुम्पेक रहुँता हो । बुवा इन्द्रबहादुर मिधुन र आमा पार्वती मिधुनकी छोरी रिमाको परिवार अहिले नवलपुरको कावासोतीमा बसोबास गर्दै आएपनि उनले काठमाडौंस्थित विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म अध्ययन गरेकी थिइन् । उनको बुवा इन्द्रबहादुर नेपाली सेना भएकोले रिमाले सैनिक स्कूलमा पढ्ने अवसर पाएकी थिइन् ।
ललितकला क्याम्पसमा म्युजिक र आर्टस पढेकी रिमा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनले ‘सपनाका आवाज’, ‘राजकुमार’, ‘अलपत्र’, ‘ड्रिमलिङ्क’लगायत आदि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । शतिस प्रसाइले डिरेक्सन गरेको ‘बकम्फुसे अभिभावक’ नाटकको थिएटरमा अभिनय समेत गरेकी थिइन् । उनले अभिनय गरेको ‘सपनाका आवाज’ म्युजिक भिडियोले ९ वटा भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ । उक्त म्युजिक भिडियो अष्ट्रेलियन नागरिक कलानी गाकोनले गरेका छन् । रिमा भन्छिन्, ‘म्युजिक र आर्टस् एकअर्कामा रिलेटेड छ ।’ उनी पेन्टिङलाई नै जीवनको करिअर बनाउने सोँचमा छिन् ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ मा रहेको सत्यवती पर्यटन क्षेत्रमा कार्तिक १ देखि १० गते सम्म चलेको लाली गुराँसको मूर्तिकला तथा चित्रकला कार्यशालामा सहभागी हुन गाउँ आएकी रिमाले भनिन्, ‘आफुले पढेको पेन्टिङ कलाको महत्व आफ्नो गाउँले बुझेकोमा म निकै खुशी छु ।’ उनले कार्यशालामा हिन्दु धर्मालम्बीहरुले शक्तिपीठका रुपमा मान्दै आएको सत्यवती बज्यैको चित्रलाई रङको माध्यमबाट क्यान्भासमा उतारिन् । उनको चित्रमा रङको मीठो सौन्दर्य र साधना छ । क्यान्भासमा रङ र रेखाको सुन्दर संयोजन छ । शैली, भावना र विषयवस्तुको अन्तरसम्बन्ध छ । पेन्टिङप्रति नै रुचि कसरी बढ्यो भन्ने जिज्ञासामा रिमा भन्छिन्, ‘मनको भावना पस्किन पेन्टिङलाई रोजेँ ।’ उनले पेन्टिङ कलाले मेडिटेसनको आनन्द दिने समेत बताईन् । चित्रकला आफैमा ध्वनि र भाषा हो । लिपिको विकास हुनुअगाडी भाषाको माध्यम चित्र थियो । अमेरिकी फोटोग्राफर रेनियर रकवेलको लोकप्रिय भनाई छ,–‘तश्वीर आफै बोल्छ !’ चित्रकार रिमा चित्रकला मार्फत् आफ्नो ज्ञान, अनुभव, अनुभूति र बिषयगत सन्देश दिन चाहन्छिन् ।
चित्रकार रिमाले आफु कलातिर प्रेरित हुनुको अर्को कारण अग्रजहरु भएको बताईन् । उनले भनिन्,‘अग्रज कलाकारहरु भुवन थापा, यमबहादुर थापा, बेनु थापा, सुमित्रा राना, शान्ता राहादीलगायत गाउँका अग्रजहरु कला क्षेत्रमा रहेकोले म पनि यस क्षेत्रमा आउन प्रेरित भएँ ।’ तीनदशक भन्दा बढी समयदेखि कलाक्षेत्रमा सक्रिय काठमाडौ विश्वविद्यालयका सहायक प्राध्यापक एवं वरिष्ठ मूर्तिकार भुवन थापा ‘बहुवि’ले कला भनेको विचार, भावना र कौशलताको संयोजन भएको बताउदै क्लासिकल ज्ञानले मात्रै अमूर्त कला सिर्जना हुने बताए । उनले भने, ‘कला यथार्थदेखि अमूर्तसम्म हुन्छ तर प्रस्तुति शैलीहरु परिस्थितिले निर्धारण गर्छ ।’ सत्यवतीमा आदिबासी र संस्कृतिमा केन्द्रीत कार्यशालाको बिषयवस्तुबारे बहुविले भने,‘नयाँ पुस्तालाई सबै पुराना ज्ञान नहुन सक्छ, तर एउटा कलाकारलाई आफ्नो कलाबारे आधारभूत ज्ञान हुनुपर्छ ।’
ललितकला क्याम्पसका सहप्राध्यापक एवं वरिष्ठ मूर्तिकार नरेन्द्र भण्डारीले रिमाका सिर्जनाहरु सामाजिक बिषयवस्तुमा केन्द्रीत रहेको बताए । भण्डारीले भने,‘कलाको उद्देश्य सामाजिक हुनुपर्छ । रिमाका हरेक सिर्जनाहरु सामाजिक बिषयवस्तुमा केन्द्रीत छन् । उनको सिर्जनाको यो महत्वपूर्ण पक्ष हो ।’ जर्मन दार्शनिक इमानुअल कान्टले ‘कला कलाका लागि’ भनेका थिए । तर साँचो अर्थमा कला आफ्नै मन बहलाउन वा ‘स्वान्त सुखाय’का लागि मात्रै हुनुहुँदैन । कलाको उद्देश्य सौन्दर्यको सम्प्रेषण र मनोरञ्जनको साधन मात्रै हुनुहुँदैन, सामाजिक उद्देश्यमा केन्द्रीत हुनुपर्छ । माक्र्सवादी विद्धान एवं चिन्तक क्रिष्टोफर कड्वेल भन्छन्,‘विज्ञानले संसारलाई बदल्छ, कलाले मनुष्यलाई बदल्छ ।’
रिमा आफ्नो मन बहलाउन मात्रै चित्र कोर्दैनन् । उनी रियालिस्टिक चित्र बनाउँछन् र सामाजिक बिषयवस्तु मार्फत् नयाँ सन्देश दिन खोज्छिन् । यसबारे पुष्पलालको महत्वपूर्ण भनाई छ,‘कला कलाकै लागि यो त ज्यादै आश्चर्यलाग्दो कुरा हो । त्यसो त कला र मानिसका बीच कुनै सम्बन्ध भएन । मूर्ति मूर्तिकै लागि हुने भयो, त्यसलाई सबैले देख्ने ठाउँमा राख्नु परेन । नाटक नाटककै लागि भयो, दर्शकका लागि होइन । किताब किताबकै लागि, विद्यार्थीका लागि होइन । यो त असाध्यै गलत कुरा हो ।’
रिमाको कलाकारिताबारे चित्रकार सुमित्रा राना सुत्पराई भन्छिन्,‘उनी असाध्यै मेहनती, इमान्दार र बिषयकेन्द्रीत छिन् । कार्यशालामा उनको प्रस्तुति यसको सूचक हो ।’ उनी भन्छिन्, ‘हरेक मान्छेभित्र कुनै न कुनै कला हुन्छ, चित्रकारले रङमार्फत् आफ्नो विचार व्यक्त गर्छ ।’ कोभिडको बेला सम्भावित जोखिमबाट बच्न गरिएको लकडाउन र एकान्तबासले नयाँ पुस्तालाई चित्रकलातर्फ केन्द्रीत गरेको बताईन् ।
सत्यवतीमा कलाकारहरुले सिर्जना गरेका लाली गुराँसका मूर्ती तथा चित्रहरु अमूर्त र यथार्थवादी दुवै किसिमका छन् । दर्शकहरुले रुचि अनुसार मूर्ति र चित्रहरुको अवलोकन र अध्ययन गर्न सकिन्छ । महान कलाकार एगर डेगसको शब्दमा कला बुझ्नलाई आफुलाई समाहित गरेर बुझ्नुपर्दछ । रिमाको प्रचुर इच्छाशक्ति, दृढसङ्कल्प र अविराम मेहनतले कलाकारितालाई अझ माझ्दै लैजाने छ ।
(लुम्बिनी दैनिक, २०८१ मङ्सिर १)
