साथीहरू ?
तपाईंहरूसँग कुराकानी गर्ने जे-जति मौका पाएको छु, ती मौकाहरूमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न सिकें सोध्नुभएको छ । यही सवाल समाजवादी सोभियत गणतन्त्र संघका सबै ठाउँबाट मसँग पत्राचार गर्ने मजदुर, किसान तथा सैनिकहरू र सामान्यतया भर्खर-भर्खर लेख्न सुरु गरेका युवाहरूले पठाएका चिठ्ठीहरूमा सोधिएको छ । धेरैले मलाई ‘कथाहरू कसरी लेख्नुपर्छ भन्ने सम्बन्धमा एउटा किताब लेख्न’ वा ‘साहित्यको इतिहास विकास गर्न’ वा ‘साहित्यका बारेमा पाठ्य-पुस्तक प्रकाशित गर्न’ अनुरोध गरेका छन् । म त्यस्तो पाठ्य-पुस्तक लेख्न सक्तिनँ र त्यसो गर्न सक्षम पनि नहुँला, यस अतिरिक्त, यस्ता किताबहरू पहिलेदेखि नै छन् र ती ज्यादै राम्रा नभएको खण्डमा पनि उपयोगी भने छन् नै ।
लेख्न सुरु गर्नेहरूका लागि साहित्यको इतिहासको ज्ञान जरुरी हुन्छ । यसका लागि मास्को राज्य प्रकाशन गृहले प्रकाशित गरेको भी. केल्तुयालको ‘साहित्यको इतिहास’ नामक पुस्तक उनीहरूका लागि सहयोगी हुनेछ । मौखिक (‘लोक’) र लिखित (‘साहित्यिक’) सृजन कसरी विकास भएर आयो, यस सम्बन्धमा यो पुस्तकले एकदमै राम्रो विवरण दिएको छ । कुनै मानिसको रचना-शिल्प जस्तो भए पनि उसले यसको विकासको इतिहास भने जानेकै हुनुपर्दछ । यदि कुनै उद्योगधन्दा वा कलकारखानामा संलग्न मजदुरहरूले उद्योगधन्दाहरूको कसरी उत्पत्ति भयो, क्रमश: कसरी यसको विकास भयो र कसरी उत्पादनले पूर्णता पाउँदै गयो भन्ने सम्बन्धमा पूरा जानकारी पाएको खण्डमा उनीहरूले संस्कृतिको इतिहासमा आफ्नो श्रमको महत्त्वलाई अझ पूरा समझदारीका साथ बुझेर अरू बढी उत्साहका साथ राम्ररी काम गर्ने थिए ।
विदेशी साहित्यको ज्ञान पनि आवश्यक हुन्छ । किनभने आफ्नो सारमा साहित्यिक सिर्जनशीलता सबै ठाउँमा र सबै जनताका लागि उस्तै नै हुन्छ । यो केवल रूपगत र बाहिरी सम्बन्धहरूको कुरो होइन । जस्तो कि पश्किनले गोगोललाई मृत आत्माहरूको कथ्य दिनुभएको थियो भने पुश्किन आफैले चाहिँ सम्भवत: यो कथ्य अङ्ग्रेज लेखक लरेन्स स्टर्नको एक भावुक यात्राबाट लिनुभएको थियो । यस्तै, मृत आत्माहरू र अङ्ग्रेज उपन्यासकार डिकेन्सको पिकविक कागजपत्रहरूको विषयवस्तुमा भएको समानताले त्यति महत्त्व राख्तैन । कुन तथ्यको बोध चाहिँ महत्त्वपूर्ण छ भने धेरै पहिलेदेखि मानिसका आत्माहरूलाई कैद गर्न सबैतिर एउटा जालो बुनिएको थियो र अर्कातिर सधैं र जहाँतहीं अन्धविश्वास, द्वेषभाव र पूर्वाग्रहहरूबाट मानिसहरूलाई मुक्त पार्न आफ्ना कृतिहरूको उद्देश्य बनाउने मानिसहरू थिए । के कुरो जान्नु महत्त्वपूर्ण छ भने जसरी यहाँ सधैंभरि मानिसलाई खुसी पार्ने तुच्छ र निष्कृष्ट भोगविलासमा लाग्न उत्प्रेरित गर्नेहरू थिए र छन्, त्यसरी नै समाजमा चारैतिर रहेका जीवनका तुच्छ र बेकम्मा कुराहरूका विरुद्ध उभिएका विद्रोहीहरू पनि छन् । के अनुभूत गर्नु पनि महत्त्वपूर्ण छ भने अन्तिम विश्लेषणमा मानिसहरूलाई अघिल्तिर बढ्न बाटो देखाउने र त्यो बाटामा हिंड्न प्रेरित गर्ने विद्रोहीहरूले नै श्रमजीवी जनतामा लोभ, द्वेष, अल्छीपन र श्रमप्रति विरक्तिजस्ता दुर्गुणहरू फैलाउने वर्गसमाज र बुर्जुवासमाजले सृजना गरेका घृणित अवस्थाहरूसँग लोलोपोतो र मेलमिलाप गर्नुपर्छ भनी प्रचार गर्नेहरूले भन्दा माथिल्लो स्थान हासिल गरेका छन् ।
कल्पना र अन्तर्प्रज्ञाले तथ्यहरूको शृङ्खलामा रहेका खाली ठाउँहरू भर्न सहयोग पऱ्याउँछन र यसरी वैज्ञानिकहरूलाई प्राकतिक शक्तिहरू र सङघटनाका बारेमा मस्तिष्कमा रहेका सवालहरूलाई कमबेसी प्रभावकारी तरिकाले पथप्रदर्शन गर्ने प्राक्कल्पना र सिद्धान्तहरू विकास गर्न सक्षम बनाउँछन् । क्रमश: प्राकृतिक शक्ति र सङ्घटनाका अधीनमा रहेर मानिसको मस्तिष्क र इच्छाशक्तिले मानवीय संस्कृतिको सृजना गर्दछ, जुन वास्तवमा हाम्रो ‘दोस्रो प्रकृति’ हो।
यस भनाइलाई दुईवटा तथ्यद्वारा पुष्टि गर्न सकिन्छ । त्यतिखेर थाहा भएका आधारभूत तत्त्वहरू- फलाम, सीसा, गन्धक, पारो आदि-को आफ्नो अध्ययनको आधारमा प्रसिद्ध रसायनशास्त्री दिमित्री मेन्देलेयेभले आधारभूत तत्त्वहरूको एउटा आवधिक तालिका तयार पारे, यसले के उल्लेख गर्यो भने प्रकृतिका थुप्रै आधारभूत तत्त्वहरू अझै पत्ता नलागेका तत्त्वका रूपमा अस्तित्वमा छन् । उनले ती अपरिचित तत्त्वहरू प्रत्येकको विशिष्ट गुरुत्वाकर्षणका बारेमा पनि सङ्केत गरे, त्यतिखेरदेखि नै तिनको आविष्कार हुँदै आएको छ र यस अतिरिक्त मेन्देलेयेभको पद्धतिले अन्य थुप्रै तत्त्वहरू पत्ता लगाउन सहयोग पुयाएको छ, जसको अस्तित्वमा उनी आफूले कहिल्यै सन्देह गरेनन् ।
अर्को तथ्य : फ्रेन्च उपन्यासकार र महानतम लेखकहरूमध्येका एक अनरे द बाल्जाकले आफ्नो एउटा पुस्तकमा त्यतिखेर विज्ञानका निम्ति अज्ञात, निश्चित शक्तिशाली स्रावहरूले मानवशरीरमा कार्य गरेका हुन्छन् र विविध मानसिकशारीरिक लक्षणहरूका लागि तिनले महत्त्व राख्छन् भन्ने आफ्नो विचारलाई उल्लेख गरेका थिए । मानवशरीरका पहिले थाहा नभएका थुप्रै हार्मोन उत्पादन गर्ने ग्रन्थिहरूको आविष्कार धेरै दशकहरूपछि मात्र भयो र यसैले अन्त:स्रावी ग्रन्थिहरूको उच्च महत्त्वको विज्ञानको सृजन गराउन सहयोग पुयायो । वैज्ञानिकहरू र नेतृत्वदायी साहित्यकारहरूको सृजनात्मक क्रियाकलापको यस्तो सम्मिश्रण विरल छ भन्ने होइन । लोमोनोसोभ र गेटे कवि तथा वैज्ञानिक दुवै थिए, उपन्यासकार स्ट्रिन्दबर्गको पनि यस्तै स्थिति थियो, उनको पात्र क्याप्टेन कूल वायुमण्डलबाट नाइट्रोजन निष्काशनलाई पहिल्यै देख्नेहरूमध्येको एक थियो।
चरित्रहरू र ‘प्रतिनिधि पात्रहरू’को रचनासँग सम्बन्धित साहित्यसृजनको कलाले कल्पना र आविष्कारशीलताको माग गर्दछ । यदि आफूसँग परिचित कुनै पसले, निजामती कर्मचारी वा मजदुरको चित्रण गर्दा लेखकले मात्र एक व्यक्तिको घटी वा बढी विश्वसनीय फोटो उत्पादन गर्दछ भने यो एउटा फोटोकपीभन्दा बढी अरू केही हुने छैन, सामाजिक र शैक्षिक महत्त्व विनाको त्यसले मानिस र जीवनको हाम्रो ज्ञानमा झन्डै केही पनि विस्तार गर्ने छैन ।
तर यदि बीस, पचास अझ भनौं सय पसले, निजामती कर्मचारी वा मजदुरका अति महत्त्वपूर्ण विशेषता, वर्ग लक्षण, स्वभाव, रुचि, हाउभाउ, विश्वास र बोलीचालीका ढङ्गहरूको सार झिक्न लेखक सक्षम भएमा ऊ तिनलाई एउटै पसले, निजामती कर्मचारी वा मजदुरको एक्लो व्यक्तित्वमा सारमा र सङ्घनित रूपमा प्रस्तुत गर्न समर्थ हुन्छ, फलस्वरूप उसले प्रतिनिधि पात्र सृजन गर्दछ र यही नै कला हो । लेखकको निरीक्षणको परिधि र उसको समृद्ध जीवनानुभवले प्राय: कलाकारलाई यस्तो शक्ति प्रदान गर्दछ, जसले तथ्यप्रतिको उसको व्यक्तिगत अभिवृत्ति, अर्को शब्दमा उसको आत्मगततामाथि विजय हासिल गर्दछ । बाल्जाक आत्मगत रूपमा पुँजीवादी सामाजिक व्यवस्थाका पक्षमा थिए, तर उनले आफ्ना रचनाहरूमा अद्भुत र निर्मम दृढताका साथ निम्न पुँजीपतिवर्गको तुच्छ र घृणित स्वभावलाई चित्रण गरे । लेखकहरू आफ्नो वर्ग, आफ्नो समय र आफ्ना कृतिहरूमा वस्तुगत इतिहासकार बनेका थुप्रै उदाहरणहरू फेला पर्दछन् । यस्तो स्थितिमा वस्तुगततामा लेखकहरू जनावरहरूको भोजन र अस्तित्वका अवस्थाहरू, तिनको प्रजनन र लोपका कारणहरू र बाँच्नका लागि तिनले गर्ने भयानक सङ्घर्षका बारेमा अध्ययन एवम् व्याख्या-विश्लेषण गर्ने प्रख्यात प्रकृतिवैज्ञानिकहरू समान बन्न पुग्छन् ।
हावा ‘रोइरहेको’ वा ‘बिलौना गरिरहेको’, जूनको ‘विचारमग्न प्रकाश’, ‘गनगनाइरहेको’ खोलो. ‘कलकल बगिरहेको’ नदी र अन्य यस किसिमका थप्रै अभिव्यक्तिहरू हामी सुन्दछौं र बोल्दछौं पनि, यस्ता अभिव्यक्तिहरूको उद्देश्य प्राकृतिक सङ्घटनालाई बढी जीवन्त बनाउनु नै हो ।
यसलाई मानवीयकरण वा मानवत्त्वारोपण (anthropomorphism) भनिन्छ, जुन दुई ग्रीक शब्द मिलेर बनेको छ : anthropos यसको अर्थ हो – मानिस र morphe अर्थात् रूप वा बिम्ब । यहाँनिर के ख्याल गर्नु उचित हुनेछ भने आफूले देखेका हरेक वस्तुलाई मानवीय गुणहरूले आरोपित गर्ने मानिसको एउटा आफ्नै तरिका छ । यी वस्तुहरू ऊ कल्पना गर्छ र तिनलाई प्राकृतिक सङ्घटनासँग, आफ्नो श्रम र बुद्धिले सृजना गरेका हरेक वस्तुसँग सम्मिलित गर्छ । साहित्यमा मानवीयकरणलाई ठाउँ दिइन हन्न भन्ने सोच राख्ने मानिसहरू छन र यसलाई उनीहरू हानिकारक समेत ठान्दछन्, तर यिनै मानिसहरू भन्छन्, ‘तुषारोले आफ्नो कान निमठ्यो’, ‘घाम हाँस्यो’, ‘मे आयो’ र कतिसम्म भने ‘खलनायक मौसम’ समेत भन्न उनीहरू बाँकी राख्तैनन्, यद्यपि मौसमको सन्दर्भमा नैतिक मानदण्ड प्रयोग गर्नु कठिन हुन्छ ।
एक प्राचीन ग्रिक दार्शनिक सेनाफेनसको के दाबी छ भने पशुहरूले कल्पनाको उपहार पाएको भए सिंहहरूले देवतालाई एक किसिमको विराट् र हराउनै नसकिने सिंह ठान्थे होलान्, मुसाहरूले उसलाई मुसाको रूपमा हेर्थे होलान् र यस्तै-यस्तै । लामखुट्टेको देउता सम्भवत: लामखुट्टे हुन्थ्यो होला भने क्षयरोग कीटाणको देउता कीटाण नै । मानिसले आफनो ईश्वरलाई सर्वज्ञ, सर्वशक्तिमान र सर्वव्यापी बनाएको छ । अर्को शब्दमा, उसलाई आफ्ना अत्युत्तम आकाङ्क्षाहरूले समृद्ध बनाएको छ । ईश्वर मात्र मान्छेको रचना, ‘जीवनको नीरस गरिबी’को र मान्छेको जीवनलाई बढी समृद्ध, बढी सुगम, बढी न्यायपूर्ण र मनमोहक बनाउने अस्पष्ट तीव्र इच्छाको परिणाम हो । ईश्वरलाई साधारण जीवनभन्दा धेरै माथि उठाइएको छ, किनभने महिला र पुरुषका अत्युत्तम गुणहरू र अभिलाषाहरूले नाङ्गो जीवननिर्वाहका लागि गर्नुपर्ने कठिन सङ्घर्षको चित्र भएको जीवनको यथार्थमा पूर्ति हुने कुनै अवसर नै पाउँदैनथे ।
हामी के देख्तछौं भने जब मजदुरवर्गका अघिल्लो पङ्क्तिमा रहेकाहरूले आफ्ना उत्तम गुणहरूले निर्बाध विकास पाउन सक्ने गरी जीवनलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्ने अनुभव गरे, ईश्वर अर्थहीन वस्तु बन्न पुग्यो, जुन लामो अवधिसम्म आफै बाँचेको थियो । अब ईश्वरको विम्बमा मान्छेका उत्तम कुराहरूले उदात्तीकरण गर्नु आवश्यक भएन, किनभने ती उत्तम कुरालाई जीवित र भौतिक यथार्थमा बदल्न सकिन्थ्यो ।
साहित्यिक ‘प्रतिनिधि पात्रहरू’ जसरी सृजना गरिएका थिए, ईश्वर पनि त्यही तरिकाले सारग्रहण र मर्तीकरणका नियमहरूअनसार सिर्जना गरिएको थियो । विभिन्न नायकहरूले सम्पन्न गरेका विशिष्ट महान् कार्यहरू सङ्घनित वा ‘सारग्रहित’ हुन्छन् र अनि तिनलाई एक्लो नायक, उदाहरणका लागि भनौं हर्कुलस वा रुसी पौराणिक किसान नायक इल्या मोरुमेत्स्को व्यक्तित्वमा ठोस आकार दिइन्छ । कुनै व्यापारी, कुलीन पुरुष वा किसानका विशिष्ट लक्षणहरू यसैगरी ‘सारग्रहित’ हुन्छन् र त्यसपछि कोही व्यापारी, कुलीन पुरुष वा किसानको व्यक्तित्वमा प्रारूपित हुन्छन्अर्को शब्दमा अब एउटा साहित्यिक प्रतिनिधि पात्र सृजित हुन्छ ।
यही तरिकाले फाउस्ट, ह्याम्लेट र डन क्विजोट सृजन भएका थिए । यसरी नै तोल्स्तोइले विनम्र र ईश्वरभीरु पात्र प्लातोन करतायेभ (प्लातोन करतायेभ- तोल्सतोइको उपन्यास युद्ध र शान्तिको प्रख्यात पात्र हो) , दोस्तोयेभ्स्कीले करामाजोभ दाजुभाइ र स्विद्रिगाइलोभ र गोन्चारोभले आब्लोमोभको सृजन गरेका थिए ।
यथार्थमा यी मानिसहरूको अस्तित्व कहिल्यै थिएन, तर यिनीहरू जस्ता भने प्रशस्त थिए केही घटी बढी स्वभाव र रूप भएका । निर्माणकर्ताहरूले एक एक इँटाबाट स्तुप र मन्दिरहरू जसरी खडा गर्दछन्, त्यसरी नै लेखकहरूले साहित्यिक प्रतिनिधि पात्रहरू रचना गरेका हुन्, जसले खास मानवीय गुणहरूको सार प्रस्तुत गर्दछन् । हामी कुनै ढंटुवालाई ख्लेस्ताकोभ (ख्लेस्ताकोभ- गोगोलको सुखान्तक दि इन्स्पेक्टर जनरलको प्रमुख चरित्र हो), चापलुसलाई मोल्क्षालिन (मोल्क्षालिन- ग्रिबोदोयेभको सुखान्तक विट वर्क्स वोको पात्र हो), पाखण्डीलाई तर्तुफे भन्दछौं भने ईष्यालु मानिसलाई ओथेलो । यो सूचीलाई अरू लम्ब्याउन सकिन्छ ।
गर्नु आवश्यक छ । निष्क्रिय स्वच्छन्दतावादले कि यथार्थमा रङ्गरोगन भरेर मानिसलाई त्यससँग समन्वय र सम्झौता गराउने कि त यथार्थबाट विमुख गराएर मानिसका व्यर्थका आन्तरिक जगत्का गहिराइतिर लैजाने प्रयत्न गर्दछ । प्रेम, मृत्यु र अन्य तुच्छ ‘जीवनका समाधान हुन नसक्ने समस्याहरू’ र त्यस्ता विचार र समस्यातिर लैजान्छ, जुन अनुमान र अनुध्यानबाट होइन कि विज्ञानद्वारा मात्र समाधान हुन सक्तछन् । सक्रिय स्वच्छन्दतावादले मानिसको बाँच्ने आकाङ्क्षालाई तीव्र पार्ने प्रयत्न गर्दछ र मानिसमा आफू वरिपरिको जीवन र सबै किसिमका उत्पीडनका विरुद्ध विद्रोहको भावना उत्पन्न गर्दछ ।
तथापि बाल्जाक, तुर्गेनेभ, तोल्स्तोइ, गोगोल, लेस्कोभ वा चेखोभका उत्कृष्ट कृतिहरू स्वच्छन्दतावादी थिए कि यथार्थवादी थिए, पर्याप्त निश्चितताका साथ भन्न गाहो छ । किनभने महान् कलाकारहरूमा यथार्थवाद र स्वच्छन्दतावाद सम्मिश्रण भएको देखिन्छ । बाल्जाक यथार्थवादी थिए, तर उनले यथार्थवादबाट धेरै पछि हटेको ला पो दे शाग्रे जस्तो कथा पनि लेखेका छन् । तुर्गेनेभले पनि स्वच्छन्दतावादी मनस्थितिमा लेखेका छन्, यस्तो हाम्रा सबै शीर्षस्थ लेखकहरू गोगोलदेखि पछिका चेखोभ र बुनिनसम्मले गरेका छन् । यथार्थवाद र स्वच्छन्दतावादको यो सम्मिश्रण हाम्रा महान् रचनाकारहरूको उच्च किसिमको विशेषता हो, जुन उनीहरूका कृतिमा मौलिकता र तागतका रूपमा ओतप्रोत छ र यसले सारा विश्वको साहित्यमाथि पहिलेभन्दा कता हो कता बढी प्रभाव पारिरहेको छ ।
साथीहरू, ‘लेख्ने इच्छा किन उत्पन्न हुन्छ ?’ यो प्रश्नलाई मनन गरेको खण्डमा तपाईहरूलाई स्वच्छन्दतावाद र यथार्थवादका बीचको सम्बन्ध अझ स्पष्ट हुनेछ । यस प्रश्नका दुईवटा उत्तर छन्, जसमध्ये एउटाको उत्तर मसँग पत्राचार गर्ने एउटी पन्ध्र वर्षकी मजदुरकी छोरीले दिएकी छन् । उनले मलाई चिठीमा यस्तो लेखेकी छन् :
‘म पन्ध वर्षकी भएँ, तर यस्तो कलिलै उमेरमा समेत ममा लेखकको प्रतिभा उत्पन्न भएको छ, यसको कारण चाहिँ मेरो गरिबीको थकाइलाग्दो नीरस जीवन हो।’
लेखकको प्रतिभा भन्नुको साटो साधारणतया लेख्ने इच्छा भन्नु बढी ठीक हुने थियो, जसले गर्दा उनले गरिबीको थकाइलाग्दो नीरस जीवनलाई उज्यालो र समृद्ध बनाउन सक्ने थिइन् । प्रश्न उठ्छ : यस किसिमको जीवनको अवस्थामा कसैले के लेख्न सक्छ ?
यस सवालको जवाफ भोल्गा, उराल र साइबेरियामा जीवन व्यतीत गर्ने थुप्रै अल्पसङ्ख्यक जातिहरूले दिएका छन् । यीमध्ये धेरैसँग हिजो वर्णमालासम्म थिएन, तथापि उनीहरूले धेरै शताब्दीअघिदेखि आजसम्म जङ्गलको गहिराइमा, दलदले जमिनको बीचमा, पूर्वको बाँझो स्तेपी र उत्तरको टुन्ड्रामा रहेर गीत, परिकथा, नायकका वीरगाथा र ईश्वरका मिथकहरू सृजना गरी आफ्नो गरिबीले थङ्थिलो बनाएको जीवनलाई समृद्ध र सुन्दर बनाएका छन् । यो सबैलाई धार्मिक सृजनको नाम दिइन्छ, तर सारमा यो कलाको विश्वसँग सम्बन्धित छ ।
मसँग पत्राचार गर्ने यी किशोरीमा वास्तवमा नै लेखन-प्रतिभा विकसित भएको हो भने- उनमा त्यस्तो होस् भनी म अन्तरहृदयदेखि नै चाहन्छु- उनले सम्भवत: स्वच्छन्दतावादी मानसिक स्थितिमा लेख्नेछिन्, कल्पनाका, मनले गढेका, सुन्दर चीजहरूले उनको गरिबीले थथिलो भएको नीरस जीवनलाई सजाउन प्रयत्न गर्नेछिन् र यथार्थमा मानिसहरू जस्ता छन्, उनीहरूलाई त्यो भन्दा धेरै राम्रो रूपमा चित्रित गर्नेछिन् । गोगोल इभान इभानोभिचले इभान निकिफोरोभिचसँग कसरी झगडा गर्यो, पुरानो ढाँचाका जमिनदारहरू र मृत आत्माहरूका लेखक हुन् । तर उनले तारास बुल्बा पनि लेखे । अघिल्ला तीनवटा कृतिहरूले मृतआत्मा भएका मानिसहरूको चित्रण गर्दछन् र यस्ता मानिसहरू बितेको समय (भूत)मा बाँच्छन् र पनि वर्तमानमा अस्तित्व राख्छन् भन्ने भयावह सत्यको वर्णन गर्दछन् । यी कृतिहरूमा यस्तो चित्रण गर्दा गोगोल एक यथार्थवादी थिए ।
कमरेड बुद्योन्नीले बाबेल (बाबेल- इजाक बाबेल (१८९४-१९४१) प्रसिद्ध सोभियत लेखक थिए) को अश्वारोही सेनाको निन्दा गरेका छन् । तर मेरो मतमा चाहिँ यसो गर्दा उनी गलत छन् । कमरेड बुद्योन्नी उनका सिपाहीहरूलाई मात्र होइन, घोडाहरूलाई पनि सिँगारपटारसहित प्रस्तुत गराउन चाहन्थे । बाबेलले उनका लडाकु मानिसहरूलाई अन्तरदेखि नै सिँगारपटार गरेका थिए र म के ठान्छु भने गोगोलले आफ्ना कजाकहरूलाई गरेको भन्दा उनले यो काम धेरै राम्रोसँग र बढी सत्यनिष्ठ तरिकाले गरेका थिए ।
धेरै हदसम्म, मानिस अझ पनि एक पशु हो, तर सँगसँगै संस्कृतिक रूपले अझै ऊ अनुभवहीन युवा छ र उसलाई अलि अलि प्रशंसा गर्नु र सिँगारपटार गर्नु उपयोगी हुन्छ । यसले उसमा आत्मसम्मान बढाउँछ र उसका आफ्ना सृजनात्मक शक्तिहरूमा विश्वास हुर्काउँछ । यसबाहेक मानिसको प्रशंसा गर्न भएभरका कारणहरू छन्, किनभने त्यो हरेक चीज जुन असल र सामाजिक रूपमा मूल्यवान् छ, मानिसकै बल र इच्छाशक्तिले सृजना गरेको हो।
त के अहिलेसम्म मैले जे भनें, त्यसको अर्थ म साहित्यमा स्वच्छन्दतावाद आवश्यक छ भनी दावा गर्दछु भन्ने हो ? हो, म त्यो आवश्यकताको पक्षमा छु, तर यस पदावलीमा खास उच्च किसिमको महत्त्वपूर्ण विस्तार भने गरिनुपर्दछ ।
यहाँ म अर्को मसँग पत्र-व्यवहार गर्ने एक सत्रवर्षीय युवा मजदुरको आवाज सुनिरहेको छु : ‘मसँग यति बिघ्न अधिक अनुभूतिहरू छन् कि म तिनलाई नलेखी त्यसै बसिरहन नै सक्तिनँ ।’
यस मामिलामा लेख्ने इच्छाको कारण जीवनको ‘दरिद्रता’ होइन, जीवनको समृद्धि हो, अनुभूतिको विपुलता हो र तिनका बारेमा भन्ने आन्तरिक व्यग्रता हो । मसँग पत्राचार गर्ने युवाहरूको अत्यधिक बहुमत लेख्ने आकाङ्क्षा किन राख्तछ भने उनीहरूसँग जीवनानुभूतिको विपुलता छ र उनीहरू आफूले जे देखेको हो र जे अनुभव गरेको हो, त्यसका बारेमा मौन रहन सक्तैनन् । सम्भवत: उनीहरूको पङ्क्तिबाट कैयौं ‘यथार्थवादीहरू’ जन्मिएलान्, तर मलाई के लाग्दछ भने उनीहरूको यथार्थवाद निश्चित मात्रामा स्वच्छन्दतावादसँग मिसिएको हुनेछ, जुन आजको हामी बाँचिरहेको स्वस्थ आत्मिक उन्नतिको लहरको अवधिमा अपरिहार्य एवं नियमसङ्गत पनि छ ।
अनि मैले लेख्न किन सुरु गरें भन्ने प्रश्नको उत्तर म यसरी दिनेछ : किनभने ममाथि गरिबीले थथिलो पारेको नीरस जीवनको दबाब थियो र यसकारणले पनि कि मसँग यति धेरै अनुभूति थिए कि तिनले मलाई लेख्न बाध्य पारे । पहिलो कारणले मलाई बाजको गीत, बल्दो हृदयको दन्त्यकथा, तूफानी पितरेलजस्ता रचनाका माध्यमबाट रङ्गहीन दरिद्र जीवनमा काल्पनिक र मनगढन्त भाव हाल्न बाध्य पायो भने दोस्रो कारणले ‘यथार्थवादी’ चरित्रका छब्बीस पुरुष र एक केटी, ओर्लोभ दम्पत्ति, उत्पाती जस्ता कथाहरू लेख्न प्रवृत्त गरायो।
हाम्रो ‘स्वच्छन्दतावाद’को प्रश्नका सम्बन्धमा निम्न कुराहरू सम्झनु पर्दछ : चेखोभको मुझिक्स (किसानहरू) तथा कुलेसोमा र बुनिनको गाउँ एवम् किसान समुदायसम्बन्धी उनका सबै कथाहरू प्रकाशनमा नआउन्जेल, अभिजातवर्गको हाम्रो साहित्य किसानको चित्रण गर्न खुबै मन पराउँथ्यो र वास्तवमा अत्यन्त निपुणतापूर्वक किसानको चित्रण गर्दथ्यो, विनीत, धैर्यशाली मानिसका रूपमा, जो अर्कै संसारको कुनै किसिमको ‘क्राइष्टको सत्य’को इच्छा राख्तथ्यो, केही त्यस्तो चीज जसको जीवनका यथार्थ कुराहरूमा आधार हुँदैन, त्यसो भए तापनि तुर्गेनेभको ‘कथा खोर’ र कालिनीचको ‘कालिनीच’ र तोल्स्तोइको उपन्यास ‘युद्ध र शान्ति’को प्लातोन करतायेभजस्ता किसानहरूबाट त्यसको आकाङ्क्षा गरिएको थियो । भूदासप्रथाको उन्मूलन हुनुभन्दा लगभग बीस वर्ष पहिलेदेखि किसानलाई विनीत, धैर्यवान् र ‘ईश्वरको सत्य’को सपना बोक्ने व्यक्तिका रूपमा चित्रण गर्ने प्रवृत्ति देखापरेको थियो, यद्यपि त्यतिखेर नै दास किसान समुदायले आफ्ना अज्ञानीहरूको पङ्क्तिबाट कोकोरेभ, गुबोनिन, मोरोजोभ जस्ता र अन्य प्रतिभाशाली उद्योगपतिहरू उत्पादन गरिसकेको थियो र प्रेसजगत्मा बारम्बार के सन्दर्भ उल्लेख भइरहन्थ्यो भने किसान समुदायले कवि र प्रमुख वैज्ञानिक लोमोनोसोभजस्ता शक्तिशाली र धेरै उच्च व्यक्तित्व दिएको छ ।
ठोस परिस्थितिहरूले दीनहीन र क्राइष्टप्रिय मानिसहरूलाई नयाँ स्वरूपको आर्थिक जीवनको निर्माताका रूपमा, निम्न पुँजीपतिवर्ग र ठूला व्यापारीका रूपमा र साल्तिकोभ-श्चेद्रिन र ग्लेब उस्पेन्स्कीले चित्रित गरेका राजुभायेभ र कोलुपायेभ (राजुभायेभ र कोलुपायेभ- महान् व्यङ्ग्यकार एम्. साल्तीकोभ- श्चेद्रिन (१९२६-१८८९)का चरित्रहरू हुन् ) जस्ता लोभी र क्रूर व्यक्तिका रूपमा परिवर्तित गरिरहेको थियो । त्यतिबेला विद्रोही र क्रान्तिकारीहरू समाजमा देखा परिरहेका थिए । तथापि यी सम्पूर्ण मानिसहरूलाई जमिनदारवर्गको साहित्यले वास्ता गरेको थिएन । हाम्रो साहित्यको अत्युत्तम उपन्यासमध्येको एक ओब्लोमोभमा गोन्चारोभले अभिजातवर्गीय व्यक्तिलाई भिन्न रूपमा प्रस्तुत गरे । आफ्नो पूरापूर अल्छीपनले उसलाई झन्डै जडतामा खसाउँछ, ऊ जर्मन थियो, गोन्चारोभ जससँग सँगै बसेका र जसले देशको आर्थिक जीवनलाई सञ्चालन गर्न थालिसकेका थिए, ती पहिलेका रुसी दासहरूको समुदायबाट यो पात्र आएको थिएन । जमिनदारवर्गका लेखकले क्रान्तिकारी पात्रलाई चित्रण गरेको खण्डमा त्यो मानिस कि त बुल्गेरियाली हुन्थ्यो कि रुदिन जस्तो नाम मात्रको विद्रोही हुन्थ्यो । समयको नायकको रूपमा इच्छा र कार्यमा दृढ कुनै रुसीले साहित्यमा प्रतिबिम्बन पाएन । यद्यपि साहित्यको क्षेत्रभन्दा बाहिर रुसीहरूले बमको सहयोगले ठूलो होहल्लासहित आफूलाई प्रदर्शित गरिरहेका थिए । रुसी जमिनदारवर्गको साहित्यमा सक्रिय र उद्देश्यपूर्ण स्वच्छन्दतावाद बिरानो थियो भन्ने देखाउन प्रशस्त उदाहरणहरू प्रस्तुत गर्न सकिन्थ्यो । शिलरको उत्पादन गर्न यो शक्तिहीन थियो र यसले डाकूहरूको सट्टा मृत आत्माहरू, जीउँदो लास, मुर्दाघर, तीन मृत्यु र अरू थुप्रै मृत्युहरूको उच्च कोटिको चित्रण दियो । दोस्तोयेभ्स्कीको अपराध र दण्ड धेरै हदसम्म शिलरको डाकूहरूको विरोधमा लेखिएको थियो भने उनको वशीभूत सत्तरीको दशकको क्रान्तिकारी आन्दोलनलाई बदनाम गर्ने असङ्ख्य प्रयत्नहरूमध्येको सबैभन्दा बढी प्रतिभासम्पन्न र द्वेषपूर्ण थियो ।
सक्रिय सामाजिक-क्रान्तिकारी स्वच्छन्दतावाद राइनोक्षिनेत् (राझनोक्षिनेत- उन्नाइसौं शताब्दीको उत्तरार्धमा किसान, पादरी, निम्न पुँजीपतिवर्गको समुदायबाट आएका र सामन्तवर्गबाट वर्ग परिवर्तन गरेर आएका रुसी बुद्धिजीवी समुदायकासदस्यलाई दिइएको नाम राझनोक्षिनेत थियो ) बुद्धिजीवीहरूको साहित्यमा पनि बिरानो थियो । राझ्नोछिनेत् आफ्नो निजी नियतिका बारेमा र जीवनको नाटकमा आफ्नै स्थान फेला पार्नमा बढी चासो राख्थ्यो, ऊ आफूलाई निरङ्कुशतन्त्रको घन र ‘जनता’को अचानाको बीचमा पाउँथ्यो।
स्लेप्क्षोभ (स्लेप्क्षोभ- भी. स्लेप्क्षोभ (१८३६-१८७८) रुसी क्रान्तिकारी जनवादी लेखक । उन्नाइसौं शताब्दीको साठीको दशकतिर उनका किताबहरू लोकप्रिय थिए । कारण तिनमा साधारण जनताको जीवन चित्रण गरिएको हुन्थ्यो) को कठिन समयहरू र ओसिपोभिच-नोभोद्भोस्कीको न मुजुर न भँगेराको जीवनको एक घटना बुद्धिजीवीहरूको दुःखान्तका सत्यपरक र शक्तिशाली कथाहरू थिए, यस्ता बुद्धिजीवीहरूको जीवनमा आधार थिएन र ती ‘न मुजुर न भँगेरा’ थिए वा आत्मसन्तुष्ट निम्न पुँजीपतिवर्गमा बदलिएका थिए, यस्ता खालका बुद्धिजीवीहरूको चित्रण कुश्क्षेभ्स्की (कुश्क्षेस्की- आई. कुश्क्षेस्की (१८४७-१८७६) रुसी जनवादी लेखक) र प्रतिभाशाली, उल्लेख्य रूपमा बौद्धिक तर पर्याप्त मात्रामा प्रशंसा नगरिएका लेखक पोम्यालोभ्स्की (पोम्यालोभ्स्की- निकोलाई पोम्यालोभ्स्की (१८३५-१९६३) प्रख्यात रुसी लेखक थिए ।उनी क्रान्तिकारी जनवादीहरूका निकट थिए र उनका उपन्यासहरूले राझनोक्षिनेत – बुद्धिजीवीहरूको जीवनलाई चित्रण गरेका छन् ) ले आफ्नो मोलोतोभ र कूपमण्डूकको खुशीमा गरेका थिए । संयोगवश, यी दुवै कथाले हाम्रो आजको समयतिर चाख राख्न पुगेका छन्, जहाँ कूपमण्डूक फेरि बिउँझिन थालेको छ, मात्रात्मक सफलता प्राप्त गर्दै आफूलाई केही सस्तो रूपमा बढाउँदै लगेको छ, त्यस्तो देशमा जहाँ मजदुरवर्गले समाजवादी संस्कृतिको निर्माण गर्ने अधिकारका निम्ति आफ्ना रगतका प्रचण्ड धाराहरू लगानी गरेको छ ।
हर्जेन – सारै प्रतिभासम्पन्न कुलीन पुरुष- किसान समुदायप्रति यस्तो अभिवृत्तिलाई सम्बर्द्धन गर्ने पहिलो व्यक्ति थिए र उनको अडानको अनुसरण एन. मिखाइलोभ्स्कीले गरे, जसले दुई सत्य -‘यथार्थ’ र ‘न्याय’ आविष्कार गरे । ‘समाज’मा नरोदनिक लेखकहरूले पारेको प्रभाव कमजोर र क्षणजीवी थियो, उनीहरूको ‘स्वच्छन्दतावाद’ तिनका अभिजाततन्त्रका साथीहरूको भन्दा विरलैले फरक थियो, प्रतिभाको कमी र तिनका स्वप्नद्रष्टा-मिनाई र मित्याई जस्ता किसानहरू- पोलिश्का, कालिनीच र करतायेभ र अन्य त्यस्तै धार्मिक मुझिक चरित्रहरूका कमजोर प्रतिलिपि मात्र थिए ।
त्यस समयमा दुईजना अति महत्त्वपूर्ण लेखक थिए, जो भर्खरै उल्लेख गरेको समूहको निकट त थिए तर सामाजिक रूपमा धेरै धेरै दूरदृष्टिका र नरोदनिकहरूभन्दा कता हो कता धेरै प्रतिभासम्पन्न थिए, वास्तवमा नरोदनिकहरू सबैलाई एकै ठाउँका राख्दा समेत सबैको भन्दा बढी प्रतिभा उनीहरूको थियो । उनीहरू थिए डी. ममिन-सिबिर्याक र ग्लेब उस्पेन्स्की, सहर र गाउँका बीचको भिन्नता र औद्योगिक मजदुर र किसानका बीचको भिन्नतालाई पहिलो पटक देख्ने र चित्रण गर्ने उनीहरू नै थिए ।
यस विषयमा विशिष्ट विवेकशीलता ग्लेब उस्पेन्स्कीद्वारा प्रदर्शन भयो, उनले दुईवटा उत्कृष्ट पुस्तक लेखे : रास्तेर्यायेभ गल्लीका आचारहरू र माटाको शक्ति, यी किताबको सामाजिक मूल्य अद्यावधि यथावत् छ । सामान्यतया, उस्पेन्स्कीका कथाहरूले आफ्नो शैक्षिक महत्ता सुरक्षित राखेका छन् र हाम्रा युवा लेखकहरूले निरीक्षण गर्ने उनको खुबी र आफ्नो चारैतिरको जीवनको उनको विस्तृत ज्ञानबाट राम्ररी सिक्नु जरुरी छ ।
मैले यसअघि, उल्लेख गरेका कथा मुभिकहरू, कुलेसोमा र नयाँ घरमा पनि अन्तोन चेखोभले किसानहरूको कुनै पनि किसिमको आदर्शीकरणका विरुद्धमा जबर्जस्त रूपमा आफूलाई उभ्याए, यो भन्दा बढी विरोधभाव यस प्रवृत्तिका विरुद्ध इभान बुनिनको लघु उपन्यास गाउँका अतिरिक्त उनका सम्पूर्ण किसानसम्बन्धी कथाहरूमा प्रदर्शित भयो । कुन तथ्य अति विलक्षण छ भने सेम्योन पोद्याक्षेभ (पोद्याक्षेभ सेम्योन (१८६६-१९३४) रुसी सोभियत लेखक हुन्) र अत्यन्त प्रतिभासम्पन्न र विकासमान लेखक इभान भोल्नोभ (भाल्नोभ, इभान (१८३५-१९३१) भूदासप्रथाको उन्मूलनपछिको रुसी किसान समुदायको जीवन र नैतिकताका बारेमा कलम चलाउने लेखक थिए) जस्ता किसानका बारेमा लेख्ने लेखकहरूले केही नलुकाई गाउँले जीवनका बारेमा खुलस्त चित्रण गरे । ग्रामीण जीवन र किसानहरूको मानसिकताका कथ्यहरू आज अत्यन्त सामयिक एवम् महत्त्वपूर्ण छन्, जसका बारेमा हाम्रा युवा लेखकहरूले पूर्णतया बुझ्नैपर्दछ ।
माथि भनिएका सबै कुराबाट के स्पष्ट छ भने वास्तविकताप्रति सक्रिय रवैया व्यक्त गर्ने, श्रमको महिमा गाउने, जीवनका नयाँ रूपहरूको निर्माणमा प्रेरणाको स्रोतका रूपमा जीउने आकाङ्क्षा जगाउने, जसको खराब परम्परालाई हामी यति कष्टपूर्वक उन्मूलन गरिरहेछौं, त्यो पुरानो संसारलाई घृणा गर्न शिक्षा दिने ‘स्वच्छन्दतावाद’ हाम्रो साहित्यमा अझै पनि अपरिचित छ । यदि हामी वास्तवमै पुँजीपतिवर्गको अझ भन्ने हो भने पुँजीपतिवर्गको माध्यमबाट परजीवी र लुटाहाहरूबाट मजदुर र किसानहरूको शोषण र वर्गीय राज्यको कुनै किसिमको पुनरुत्थानलाई रोक्न चाहन्छौं भने यो शिक्षा एकदमै आवश्यक छ । यो त्यस्तो ‘पुनर्जीवन’ हो, जसको सपना सोभियत संघका सबै शत्रुहरू देखिरहेका छन्, उनीहरूले मजदुरवर्गलाई पुरानो वर्गीय राज्य पुनर्स्थापना गराउन बाध्य पार्ने विशेष उद्देश्यसहित सोभियत संघमाथि आर्थिक नाकाबन्दी लगाइरहेका छन् । मजदुर-लेखकले अत्यधिक स्पष्टतासाथ के महसुस गर्नुपर्दछ भने मजदुरवर्ग र पुँजीपतिवर्गका बीचको अन्तर्विरोधमा मेलमिलाप हुन सक्तैन र यो अन्तर्विरोध पूर्ण विजय वा पूर्ण विनाशबाट मात्र समाधान हुन सक्तछ । यही दुःखपूर्ण अन्तर्विरोधको कारणले, इतिहासले मजदुरवर्गको काँधमाथि कठोर रूपमा स्थापित गरेको कष्टकर प्रकृतिको कार्यभारका कारणले सक्रिय ‘स्वच्छन्दतावाद’को सृजनात्मक तीव्र इच्छा, इच्छाशक्ति र बुद्धिको साहस र रुसी क्रान्तिकारी श्रमजीवी मानिसले सधै प्रकट गरेका क्रान्तिकारी गुणहरूको प्रादुर्भाव हुनैपर्दछ ।
जीवनका वास्तविकताहरूले के कुरा निर्णय गर्न बढीभन्दा बढी बाध्य पारेका छन् भने जीवनका आजका अवस्थाहरूअन्तर्गत शान्तिपूर्ण एकान्त बास निर्माण गर्न सकिन्न, एकान्तको बास वा आफूले चयन गरेको साथीसँगको बसाइले समेत सुख ल्याउने छैन, त्यस्तो कूपमाण्डूक समृद्धि दीर्घकालीन हुन सक्दैन, किनभने त्यस किसिमको सम्पन्नताका आधारहरू संसारभरि नै गामगुर्लुम ढल्दैछन् । द्वेष, नैराश्य, सारा संसारमा पुँजीपतिवर्गमाथि आएको खतराको सङ्केत, युरोपको साहित्यमा प्रकट भइरहेको विलाप, भोलिको भयलाई दमन गर्ने व्यर्थको आशामा सहयोगको बाटो समातेका सम्पन्न पुँजीजीवीहरूको भयोत्पादक उल्लास र अन्तिममा निष्कृट आनन्दका लागि व्यक्त रोगग्रस्त तिर्सना, यौनउन्मादको विकास र अपराधहरू र आत्महत्याहरूको विस्तारजस्ता थुप्रै लक्षणहरूले अति विश्वसनीय रूपबाट यस तथ्यलाई समर्थन गरेका छन् । वास्तवमा नै ‘पुरानो विश्व’ साङ्घातिक रूपले रोगी छ र यसको विषाक्त समृद्धिबाट प्रभावित हुनुबाट जोगिदै त्यस विश्वलाई परित्याग गर्न हामी हतारिनै पर्दछ ।
यतिखेर युरोपका मानिसमा नैतिक हास आएको छ भने हाम्रो देशमा चाहिँ मजदुर जनसमुदायका बीचमा सामूहिकताको आफ्नो बल र क्षमतामा दृढ विश्वास विकसित भइरहेको छ । तपाईं, युवाजनहरूले के बुझ्नुपर्छ भने यो विश्वास समुन्नत जीवनको मार्गमा आइपर्ने बाधा व्यवधानहरूमाथि एउटा विजय हासिल हुनासाथ सधैं जागृत हुन्छ र यस किसिमको विश्वास अत्यन्त बलियो सिर्जनात्मक शक्ति हो । तपाईहरूले के पनि जान्नु जरुरी छ भने त्यो ‘पुरानो संसार’मा विज्ञान मात्र मानवोचित छ । यसकारण त्यसको विवादहीन मूल्य छ । अपवादका रूपमा समाजवादका विचारहरूलाई छाडेर ‘पुरानो संसार’मा फैलिएका सबै ‘विचारहरू’मा मानवीय गुणहरू छैनन्, किनभने यी विचारहरूले कुनै न कुनै तरिकाले श्रमजीवी जनताको स्वतन्त्रता र संस्कृतिको मूल्यमा व्यक्तिहरूको अधिकार र ‘सुख’ स्थापित गर्ने र त्यसलाई कानुनसङ्गत प्रमाणित गर्ने प्रयत्न गर्दछन् ।
मैले आजसम्म कहिल्यै आफ्नो युवाजीवनका बारेमा बिलौना गरेको मलाई सम्झना छैन । म ती मानिसहरूका बीचमा रहें, जो जीवनका बारेमा असन्तोष व्यक्त गर्न मन पराउँथे । धुर्त्याइँका कारण र एक-अर्कालाई सहयोग गर्ने अनिच्छालाई लुकाउन उनीहरू यसो गर्दछन् भन्ने जब मलाई अनुभव भयो, उनीहरूको अनुकरण गर्नबाट मैले आफूलाई सकेसम्म बचाउन प्रयत्न गरें । चाँडै नै मैले के थाहा पाएँ भने जीवनका बारेमा सिकायत गर्नेहरूमध्ये अधिकांश मानिसहरू कुनै पनि किसिमको प्रतिरोध गर्न अक्षम थिए, तिनीहरू आफै काम गर्न सक्दैनथे वा चाहँदैनथे र सामान्यतया साथीभाइको परिश्रमको मूल्यमा सजिलो जिन्दगी बाँच्ने चाहना राख्तथे ।
मैले धेरै परिमाणमा जीवनका त्यस्ता कठिनाइहरूको अनुभव गरें, जसले गर्दा म जीवनसँग भयभीत हुन्थे । आज म त्यस्तो डरलाई अन्धो मान्छेको डर ठान्दछु । मैले पटक-पटक वर्णन गरेजस्तै अत्यन्त कठिन परिस्थितिहरूमा रहेर मैले बालककालदेखि नै मानिसहरूको विवेकहीनता, क्रूरता, बुझ्नै नसकिने वैमनस्य अनुभव गरेको छु र केही मानिसमाथि थोपरिएको ढाड भाँचिने परिश्रम र अर्काथरी मानिसले उपभोग गर्ने गरेको अकूत वैभवबाट म चकित भएको छु । धेरै कलिलो उमेरमा नै मैले के बुझे भने आफूलाई ‘ईश्वरको निटकतर’ ठान्ने धार्मिक मानिसहरू उनीहरूका निम्ति काम गर्ने मानिसहरूबाट त्यत्तिकै परपर हुन्थे र कामदारहरूलाई त्यत्तिकै निर्दयतापूर्वक बढी काम गर्न माग गर्दै काममा जोताउँथे । मैले के भन्नैपर्छ भने तपाईहरूले जे-जति मौका पाउनुभएको छ, त्यो भन्दा कता हो कता जीवनका धेरै हेलापूर्ण कुराहरू मैले देखेको छु र तिनलाई धेरै बढी घृणाजनक रूपहरूमा देखेको छु । किनभने तपाईहरूले आज भेटेको साधारण बुर्जुवा व्यक्ति क्रान्तिबाट त्रस्त छ र आफ्नो स्वभावअनुसार यस्तो हुनु उसको अधिकार हो भन्नेमा ऊ पूर्णतया विश्वस्त छ । मैले त पुँजीवादको काम राम्ररी सञ्चालन भइरहेको र उसको आरामदायी एवम् दुःखरहित जीवन सधैंका निम्ति निर्दिष्ट छ भन्नेमा पुँजीवाद पूर्णतया निश्चिन्त रहेको अवस्था पो देखेको र भोगेको थिएँ ।
त्यसबेला म विदेशी उपन्यासका अनुवादहरू पढ्दै थिएँ, जसमा डिकेन्स र बाल्जाकजस्ता भव्य लेखकका पुस्तकहरू र इन्सवर्थ, बुल्वर-लिटन र दुमाका ऐतिहासिक उपन्यासहरू पनि समावेश थिए । यी उपन्यासहरूले दृढ इच्छाशक्ति र अदम्य चरित्रका मानिसहरूको चित्रण गर्दथे, जसका सुख र दुःखहरू मैले देखेका र जानेकाहरूको भन्दा फरक थिए र तिनका द्वेषहरू मैले जानेको बुझेका भन्दा महत्त्वपूर्ण भिन्नताबाट उत्पन्न हुन्थे । जे भए पनि, मेरा चारैतिर कन्जुस र तुच्छ मानिसहरू थिए, तिनको लोभ, शत्रुता र ईर्ष्या, झगडा, मुद्दा, स-साना कुराबाट भनौं, छिमेकीको छोराले पोथी कखराको खट्टा भाँचेमा वा झ्यालको सीसा फटाएमा वा पाई (मासु र फलफूल मिसाएर बनाएको परिकार) बिग्रेमा, बन्दाको सुप बढी उम्लिएमा वा दूध फाटेमा सुरु भइहाल्दथ्यो । पसलेले एक पाउ चिनीमा वा एक गज सुतीको कपडामा एक पैसा भाउ बढाएमा उनीहरू घण्टौंसम्म गनगन गर्न सक्थे । छिमेकीकहाँ सानोभन्दा सानो कुनै विपत्ति आइपयो भने त्यसले उनीहरू साँच्चिकै खुसी हुन्थे तर त्यसलाई उनीहरू सहानुभूतिको प्रदर्शनले लुकाउँथे । मैले राम्ररी देखेको छु- साधारण बुर्जुआको स्वर्गको चम्किलो सूर्य पैसा नै हो । त्यही पैसाले नै मानिसहरूका बीच क्षुद्र र घिनलाग्दो वैरभाव बढाउँथ्यो । खानपानका भाँडाकुँडाहरू, कुखुरा, हाँस र बन्दाकोबी, रोटी र चर्चगमन, जन्मदिवस र मृत्युसंस्कार, उधुमैको खन्चुवापन र पशुपन यस्तो थियो, तिनको जीवनको अन्तर्वस्तु जसका बीच म हुर्किएँ । त्यो वाक्कलाग्दो अस्तित्वले कहिले ममा सुषुप्त जडता उमार्यो भने कहिले जडताबाट आफूलाई ब्यूँझाउनका लागि उपद्रवी काममा कुद्ने तीव्र व्यग्रता उत्पन्न हुन्थ्यो । सम्भवत: यस्तो नीरसता हुनुपर्छ, जसका बारेमा मसँग पत्र-व्यवहार गर्ने उन्नाइस वर्षीय युवकले हालसालै निम्न शब्द लेखेका छन् :
वर्णन गरिएको यही नीरसताले मलाई सबै किसिमका उपधोहरूमा तान्दथ्यो : म छानाबाट हाम फाल्थें र चिम्नीको नलीमा थाङ्नाहरू कोच्थें, उम्लँदै गरेको बन्दाको सुपमा मुट्ठीका मुट्ठी नुन हाल्थें, घडीमा कुहिरीमन्डल धुलो फ्याँक्थें र सामान्यतया जसलाई गुन्डागर्दी भनिन्छ, त्यसैको अनुसरण गर्दथें । यसको कारण के थियो भने जतिखेर ममा म जीवित व्यक्ति हुँ भन्ने अनुभूति गर्ने व्यग्रता हुन्थ्यो, त्यतिखेर त्यसमा आफूलाई विश्वस्त पार्ने अरू उपाय फेला पार्न म असमर्थ हुन्थे । मेरो अनुभूति कस्तो थियो भने ढलेका रूखका फेदैफेदहरू चारैतिर फैलिएको बाक्लो जङ्गलमा मैले आफ्नो बाटो हराएको छु, बाक्ला बुटाबुटी र कुहेका पातहरूमा म घुडासम्म भासिएको छु ।
म निम्न घटना सम्झन्छु : कैदीहरूका टोलीहरू सैनिक सुरक्षाका साथ म बसेको ठाउँको बाटो हुँदै झ्यालखानाबाट अवतरण गर्ने ठाउँसम्म गइरहेका थिए, त्यहाँबाट उनीहरूलाई भोल्गा र कमा नदीमा यात्रा गर्ने पानीजहाजबाट साइबेरिया लगिदै थियो । त्यो धूलोले धुस्रोफुस्रो भएर रङ्मगिएको र फोहोरी भीडबाट म अनौठोसँग आकर्षित भएको मैले अनुभव गरें, सायद यो ईर्ष्याको भावनाले जन्मिएको थियो, उनीहरू सेनाको सुरक्षामा थिए र तीमध्ये केही हत्कडी र नेलमा समेत थिए । तथापि उनीहरूको कुनै गन्तव्यस्थल थियो, जब कि म भने एउटा बिँडीमा एक्लो मुसो जस्तो बाँचिरहेको थिएँ र मैले फोहोर, इँट्टाको भुइँ भएको भान्सामा जोतिनुपर्यो । एकदिन नेल लगाएका कैदीहरूको एउटा ठूलो समूहलाई नदी किनारतिर लगिदै थियो । हातखुट्टामा हथकडी र नेल लगाइएका दुईजना अपराधीहरू सडकको पेटीको नजिकैबाट हिँडिरहेका थिए, तीमध्ये एकजना मोटोघाटो, घोडाका जस्ता आँखा, कालो दारी, निधारको छेउमा कालो-नीलो रङ्गको दाग र एउटा कान काटिएको जस्तो डरलाग्दो आकृतिको थियो । त्यो मान्छेमा आँखा स्थिर गरेर म पेटीमा ऊसँगसँगै हिँडे । अकस्मात् उसले चिच्याउँदै प्रफुल्ल स्वरमा मलाई भन्यो’ऐ केटा आइज, हामीसँगै मिसिएर हिँड् ।’
अनौठोसँग तानिएर म उतिर दौडिएँ, तर सुरक्षामा खटिएको सैनिकमध्येको एकजनाले मूर्ख भन्दै मलाई गाली गर्यो र पछिल्तिर धकेल्यो । उसले यस्तो नगरेको भए सपनामा जस्तै म त्यस भयानक मान्छेको पछि लाग्ने थिएँ होला, किनभने ऊ साधारण मान्छेभन्दा फरक थियो, मैले चिनेजानेका मान्छेभन्दा एकदमै भिन्न थियो । ऊ केही डरलाग्दो एवम् नेल र हतकडीमा थियो तापनि मैले अर्को किसिमको जीवनतिर तानिएको अनुभव गरें । मैले झट्ट त्यो मान्छे र उसको प्रफुल्ल एवम् दयालु आवाज बिर्सन सकिनँ । उसँग गाँसिएको अर्को, त्यत्तिकै बलियो त्यतिबेलाको अनुभव छ । कुनै किसिमले मैले एउटा मोटो किताब फेला पारें, जसका सुरुका पानाहरू च्यातिएका र हराएका थिए र मैले त्यो पुस्तक पढ्न थालें । यो कथा एउटा राजाको बारेमा थियो र एउटा धनुर्धारीलाई ऊ भारदार बनाउन चाहन्थ्यो, तर धनुर्धारीले कवितामा राजालाई निम्न उत्तर दियो भन्ने बाहेक अरू मैले केही बुझिनँ :
मलाई किसान नै रहन देऊ मृत्यु मलाई त्यसैमा छ प्यारो
थिए मेरा बाबु किसान, बाँच्नुपर्छ त्यसरी नै उसको पनि छोरो
यस्तो लाग्छ- फेदमा रहेका सबै मानिसहरूका निम्ति छ
यो श्रेयश्कर हुनु ओहदाका मानिसभन्दा गर्ने काम धेरै धेरै महान् ।’
मैले यी अति कष्टकर पङ्क्तिहरू आफ्नो कापीमा सारें र यी पङ्क्तिहरूले धेरै वर्षसम्म मलाई त्यसरी नै सहायता गरे, जसरी एकजना यात्रीलाई लौरोले सहयोग गर्दछ वा एउटा ढालले झै तिनले त्यतिखेरका ‘श्रेष्ठ मानिस’ निम्नपुँजीपतिहरूद्वारा दिइएका प्रलोभन एवम् तुच्छ सल्लाहबाट मलाई रक्षा गरे । मलाई लाग्छ, थुप्रै युवाहरूले संयोगवश यस्ता पङ्क्तिहरू फेला पार्दछन्, जसले उनीहरूको कल्पनालाई पूर्ति गर्दै चालक शक्तिको काम गर्दछन्, जसरी पाललाई हावाले शक्ति दिएर नाउ चलाउँछ ।
झन्डै दश वर्षपछि आएर मात्र मैले थाहा पाएँ, यी पङ्क्तिहरू शेक्सपियरका एकजना पूर्ववर्ती रबर्ट ग्रीनले लेखेको सोह्रौं शताब्दीको प्रफुल्ल धनुर्धारी जर्ज ग्रीन र रवीन हुडको सुखान्तकबाट लिइएका रहेछन् । यो आविष्कारबाट म अत्यन्तै खुशी भएँ र प्राचीन समयदेखि नै मानिसहरूको साँच्चिकैको साथी र उनीहरूको कष्टसाध्य जीवनमा सहयोग बन्दै आएको साहित्यप्रति मैले पहिलेको भन्दा अरू बढी माया अनुभव गरें ।
म त्यो भयबाट त्यतिखेर मुक्त भएँ, जतिखेर मैले के अनुभव गरें भने मानिसहरू दुष्टभन्दा बढी अज्ञानी छन्, म उनीहरूबाट वा जीवनबाट संत्रस्त भएको थिइनँ, मेरो सामाजिक र अन्य किसिमका निरक्षरताबाट, जीवनविरुद्ध सङ्घर्ष गर्ने मेरो अशक्तता र असहायपनबाट संत्रस्त भएको थिएँ । ठीकसँग भन्दा कुरो यही हो । यस विषयमा तपाईहरूले राम्ररी चिन्तन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । किनभने, तपाईंहरूमध्येका केही मानिसहरूबाट आइरहेको बिलौना र सिकायत अरू केहीबाट उत्पन्न भएको नभएर आफ्नै असशक्तताको भावना. मानिसलाई भित्र र बाहिर दुवैतिरबाट उत्पीडन गर्न प्रयोग हुने ‘पुरानो संसार’का हरेक चीजसँग सङ्घर्ष गर्ने आफ्नो क्षमतामा विश्वासको अभावबाट उत्पन्न भएको हो ।
तपाईहरूले के जान्नु आवश्यक छ भने ती दिनहरूमा म जस्ता मानिसहरू एक्ला, ‘समाज’का झड्केला छोराहरू थियौं, जबकि तपाईहरू अहिल्यै सङ्ख्यामा सयौं हुनुहुन्छ र त्यो मजदुरवर्गसँग सम्बन्धित हुनुहुन्छ, जो आफ्नो बलका बारेमा, आफ्नो हातमा शक्ति छ भन्ने कुरामा सचेत छ र जसले व्यक्तिहरूको उपयोगी श्रमलाई पूर्ण श्रेय दिन द्रुततर गतिले सिकिरहेको छ । हाम्रो मजदुर तथा किसानहरूको सरकारमा तपाईहरूसँगै शक्ति छ, जसले तपाईंहरूको योग्यता र क्षमताहरूको पूर्ण विकास गर्न सहयोग गर्नुपर्छ र गर्न सक्यो । यो काम उसले क्रमश: गरिरहेको छ र यदि बुर्जुआवर्ग- सरकार र तपाईहरूको साहै नराम्रो दुश्मन-ले यसको जीवन तथा काममा बाधा पुयाएन भने धेरै सफलताका साथ गर्ने थियो ।
तपाईंहरूले आफू र आफ्नो शक्तिमा आत्मविश्वासको भावना बढाउनै पर्छ, एउटा विश्वास जुन बाधा-व्यवधानहरूमाथि विजय हासिल गर्दै र इच्छाशक्तिलाई दरिलो बनाउँदै प्राप्त भएको छ । तपाईहरूले आफूभित्रका र आफ्नो वातावरणका विगतको खराब र निष्कष्ट परम्परा (पैत्रक देनहरूलाई उन्मलन गर्न सिक्नैपर्दछ, नत्रभने तपाईहरू कसरी ‘पुरानो संसारलाई परित्याग’ गर्न (सन् १८७५ तिरको एक रुसी क्रान्तिकारी गीत-मजदुरहरूको राष्ट्रिय गीतबाट लिइएका शब्दहरू- अनु.) सक्षम हुनु होला ? तपाईंहरूले त्यतिखेरसम्म यो गीत गाउन सक्नुहुन्न, जबसम्म यसले जे शिक्षा दिएको हो, त्यस अनुरूपको तपाईमा बल हुँदैन र त्यसरी नै काम गर्ने इच्छा तपाईमा हुँदैन । सानो नै भए पनि आफूमाथिको विजयले कसैलाई पनि अझ बढी बलियो बनाउँछ । कसरी शारीरिक तालिमले मानिसलाई राम्रो स्वास्थ्य, स्फूर्ति र तागत दिन्छ, तपाईंहरू राम्ररी नै जान्नुहुन्छ, त्यस्तै किसिमको तालिम, बुद्धि र इच्छाशक्तिले पनि पाउनु पर्दछ ।
यस्तो तालिमले उल्लेखनीय उपलब्धिहरू ल्याउन सक्तछ भन्ने विषयमा यहाँ एउटा उदाहरण प्रस्तुत छ : केही समयअघि बर्लिनमा एउटी महिलालाई प्रदर्शन गरिएको थियो, उनी प्रत्येक हातमा दुईवटा पेन्सिल र दाँतले अर्को एउटा पेन्सिल समेत समात्न सक्थिन् र सँगसँगै पाँचवटा फरक-फरक भाषाका पाँचवटा शब्द पनि लेख्न सक्थिन् । यो अविश्वसनीय कुरो जस्तो देखिन्छ, किनभने शारीरिक दृष्टिले मात्र यो कठिन छैन र यसका निम्ति विचारको असाधारण विभाजन पनि चाहिन्छ । जे भए पनि यो तथ्य हो । अर्कातिर यो तथ्यले के देखाउँछ भने अव्यवस्थित पुँजीवादी समाजमा कसरी चम्किला प्रतिभाहरू त्यसै खेर फ्याँकिन सक्छन्, जुन समाजमा अरूको ध्यानाकर्षण गराउन अर्कैको दायित्वमा सडक चाहार्नु, व्यावहारिक मूल्य झन्डै नभएका वा हुँदै नभएका द्रुत गतिका कीर्तिमानहरू स्थापित गर्नु, एकैसाथ बीसजना प्रतिद्वन्द्वीहरूसँग बुद्धिचाल प्रतियोगिताको खेल खेल्नु, सरकसका अद्भुत कलाबाजी देखाउनु र सामान्यतया थकित एवम् विरक्त मानिसहरूको संवेदनालाई कुत्कुत्याउने प्रचारमुखी र रवाफिला प्रदर्शनहरूको आविष्कार गर्नु जरुरी हुन्छ ।
तपाई, युवाजनरूले के थाहा पाउनु जरुरी छ भने विज्ञान, कला र टेक्नोलोजीका क्षेत्रमा मानवजातिले हासिल गरेका वास्तवमै, मूल्यवान्, स्थायी उपयोगी र सुन्दर जे जति चीजहरू छन्, ती सबै अभिव्यक्त गर्न नसकिने कष्टपूर्ण परिस्थितिमा काम गर्दै, “समाजको” गहन अज्ञानता, चर्चको तीव्र शत्रुता, पुँजीपतिहरूको अतिशय धनलिप्सा र कला र विज्ञानका ‘संरक्षकहरू’को स्वेच्छाचारी मागका विरुद्ध व्यक्तिहरूद्वारा सिर्जना गरिएका थिए । हरेकले मनमा के लिनुपर्दछ भने संस्कृतिका स्रष्टाहरूमध्ये धेरैजसो साधारण श्रमजीवी मानिसहरू रहेका छन्, उदाहरणका निम्ति, भौतिकशास्त्री फराडे र आविष्कर्ता एडिसन । धागो कात्ने यन्त्रका आविष्कर्ता आर्क राइट एक हजाम थिए, कलात्मक माटाका भाँडा बनाउने कलाका श्रेष्ठ आविष्कर्ता बनार्ड पलासी एक लोहकर्मी थिए । विश्व परिचित, महानतम नाटककार शेक्सपियर एकजना साधारण अभिनेता नै थिए र मोलियर पनि । साधारण जनता आफ्ना खुबीहरू विकसित गर्न कुन तरिकाले सक्षम छन् भनी प्रमाणित गर्ने यस किसिमका सयौं उदाहरणहरू उल्लेख गर्न सकिन्छ ।
तपाईंहरू ‘पुरानो संसार परित्याग गर्ने र नयाँ निर्माण गर्ने महान् र पूर्णतया स्पष्ट कार्यभारको सामना गरिरहनुभएको छ । यो सुरु भइसकेको छ । हाम्रो मजदुर वर्गले उदाहरण प्रस्तुत गरेपछि यो प्रक्रिया सबैतिर विकसित हुँदो छ र पुरानो संसारले यसको प्रगतिको बाटोमा जस्तोसुकै बाधाअड्चनहरू खडा गरोस्, त्यसको कुनै पर्वाह नगरी यो विकसित भइरहनेछ । संसारभरिका श्रमजीवी जनताहरू यो कामको तयारीमा आफ्ना बाहुलाहरू माथि सारिरहेका छन् । व्यक्तिहरूका कामको चारैतिर सहानुभूतिको वातावरण सिर्जना गरिदैछ, जुन व्यक्तिहरू अब आफूलाई सामूहिकताको एक्लिएको अंशहरू ठान्दैनन्, बरू सामूहिकताको सिर्जनात्मक इच्छालाई आवाज दिने यसको अग्रगामी तत्त्व ठान्छन् ।
पहिलोपटक यस किसिमको लक्ष्यसहित कसैले यति साहसका साथ प्रस्तुत भएको बेला ‘के गर्ने ?’ भन्ने खालका प्रश्नहरूको कुनै औचित्य हुन सक्दैन । कोही भन्छन्- ‘बाँच्नु कठिन छ ।’ सबै कुरा विचार गर्दा के बाँच्नु अति कठिन छ ? यो कठिन होइन, किनभने तपाईका अपेक्षाहरू बढेका छन् र तपाईका बाबुले कहिल्यै नसोचेका र कहिल्यै नेदेखेका चीजहरूको आवश्यकता तपाईंलाई छ । सम्भवत: तपाईका मागहरू अतिशय भए कि ?
निश्चय नै म के कुरामा सचेत छु भने तपाईहरूमध्ये धेरै त्यस्तो हुनुहुन्छ, जसले सामूहिक कार्यको आनन्द र सौन्दर्यलाई बुझ्दछ र लाखौं सञ्चय गर्नतिर होइन बरु मानवमाथि शासन गर्ने पैसाको खराब शक्तिलाई ध्वंस गर्ने आकाङ्क्षा राख्तछ, जुन मानवसंसारको महानतम चमत्कारपूर्ण चीज हो र संसारका सबै आश्चर्यजनक चीजहरूको स्रष्टा हो ।
अब म मैले कसरी लेख्न सिकें भन्ने प्रश्नको उत्तर दिनेछु ।
मैले अनुभवहरू सीधा जीवन र पुस्तकहरू दुवैबाट सँगाले । पहिलोलाई कच्चा पदार्थसँग र पछिल्लालाई आधा उत्पादित सामग्रीसँग तुलना गर्न सकिन्छ अथवा विषयलाई अपरिष्कृत तर प्रस्ट शब्दमा राख्ने हो भने पहिलो उदाहरणमा मैले जनवारसँग लेनदेन गर्नुपर्यो भने दोस्रोमा चाहिँ त्यसको अत्यन्त राम्ररी लुगा लगाइएको छालासँग । म विदेशी साहित्यप्रति विशेषगरी फ्रान्सको साहित्यप्रति अत्यन्त आभारी छु ।
मेरा हजुरबा, क्रूर एवम् कन्जुस थिए, तर मैले उनलाई उचित रूपमा बाल्जाकको युजिन ग्रान्डेट पढ्नु अघिसम्म बुझेको थिइनँ । युजिनका पिता, बूढो ग्रान्डेट पनि क्रूर एवम् कन्जुस थिए र मेरो हजुरबासँग समानता राख्तथे, तर उनी बढी मूर्ख र मेरो हजुरबाभन्दा कम रमाइला थिए । यो फ्रान्सेली मान्छेसँग तुलना गर्दा मैले मन नपराएका रुसी बृद्ध श्रेष्ठ देखिए । यसले उनीप्रतिको मेरो रवैयालाई परिवर्तन गरेन तर मैले एउटा ठूलो अन्वेषण गरें, त्यो के भने मानिसमा मैले नदेखेका र नजानेका केही कुरा मलाई उद्घाटित गर्न पुस्तकहरू सक्षम थिए ।
जर्ज इलियटको नीरस उपन्यास मिडिलमार्च, अउर्बस र स्पीलहेगनले लेखेका पुस्तकहरूले मलाई के देखाए भने अङ्ग्रेज र जर्मन प्रान्तहरूमा बसेकाहरूको जीवनशैली निझनी नोभगोरोदको ज्वेस्दिन्स्काय गल्लीमा बस्नेहरूको जीवनशैलीको दुरुस्तै त थिएन, तर धेरै राम्रो पनि थिएन । उनीहरू अधिकांश उनै चीजबिजका बारेमा कुरा गर्दथे, उनीहरूको अङ्ग्रेज रूपियाँ र उनीहरूको जर्मन रूपियाँ, ईश्वरसँग डराउनु र उसलाई प्रेम गर्नु पर्ने आवश्यकता, तर हाम्रो गल्लीका बासिन्दाहरूसरह नै उनीहरू एक-अर्कालाई मन पराउँदैन थिए, विशेषगरी फरक साँचोमा ढालिएकाहरूलाई जो कुनै न कुनै रूपमा आफू वरिपरिका बहुसङ्ख्यक मानिसहरूभन्दा फरक हुन्थे । म रुसीहरू र विदेशीहरूका बीच समानताका बिन्दुहरू खोजिरहेको थिइनँ, बरु यसका विपरीत भिन्नताहरू पत्ता लगाउँदै थिएँ, तथापि मैले समानताहरू पनि फेला पारें ।
सङ्कीर्ण कठमुल्लावादीहरू र परम्परागत पुरेतहरूका बीच हुने गरेका वादविवादलाई केही ध्यानपूर्वक सुन्ने काम गरेपछि मैले के पत्ता लगाएँ भने यी दुवैथरी अन्य देशका पादरीहरूले झै उही तरिकाले शब्दलाई बलियोसँग अठ्याउँथे । किनभने सबै पादरीहरूका शब्दहरू अरूलाई अधीनमा राख्ने तरिका थिए र यहाँ त्यस्ता लेखकहरू पनि थिए, जो धेरै पादरीहरू जस्तै थिए । यो समानतामा म चाँडै नै केही मात्रामा शङ्कालु बनें, यद्यपि यो तुलना चाखलाग्दो थियो ।
वास्तवमा, मेरो पढाइमा प्रणालीबद्धता वा सङ्गति थिएन, सबै कुरो संयोगको विषय थियो । मलाई नोकरी दिने मानिसको भाइ भिक्टर सर्गेयेभको जेभियर द मोन्तेपिन, गाबोरिऔं, जाकोने र बोभिएले लेखेका फ्रान्सेली ‘पहेंलो गाता’का सस्ता उपन्यासहरू पढ्ने सोख थियो र ती किताबहरू पढेपछि उनले रुसी पुस्तक पढ्न सुरु गरे, जसमा ‘शून्यवादी-क्रान्तिकारीहरू’ को उपहास हुन्थ्यो र तिनलाई द्वेषपूर्ण रूपबाट चित्रण गरिन्थ्यो । मैले ती किताबहरूका अतिरिक्त क्रेस्तोभ्स्की, स्तेन्नित्स्की-लेस्कोभ, क्ल्युश्निकोभ र पिसेम्स्कीद्वारा लेखिएका किताबहरू पनि पढें । म जुन मानिसहरूका बीच थिएँ, तिनीहरूसँग झन्डै कुनै किसिमको समानता नभएका मानिसहरूका बारेमा पढ्नु मलाई रुचिकर लाग्यो । तर ती मानिसहरू बढी ती अपराधीहरूसँग सम्बन्धित थिए, जसमध्येको एकजनाले मलाई उसँगै मिसिन र जान आमन्त्रण गरेको थियो । वास्तवमा यी मानिसहरूको ‘क्रान्तिकारीपन’ कहाँनिर रहेको थियो, सबै ‘क्रान्तिकारीहरू’लाई एउटै बुरुसले रङ्गाइएको कारणले लेखकको अभिप्रायको अंश केले बनेको हुन्थ्यो, म बुझ्न सक्तिनथें ।
मैले यसको उत्तर पोम्यालोभ्स्कीका कथाहरू मोलोतोभ र कूपमण्डूक खुसीमा फेला पारें । यसले मलाई कूपमण्डूक अस्तित्वको ‘दरिद्रताको नीरस जीवन’ र कूपमण्डुक खुसीको तुच्छता उद्घाटित गयो । अस्पष्ट रूपमा नै सही, मैलै के अनुभव गरें भने उदास ‘शून्यवादीहरू’ सम्पन्न मोलोतोभभन्दा केही न केही राम्रा छन् । पोम्यालोभ्स्कीपछि मैले रुसी जीवनका अँध्यारा र उज्याला पक्षहरू शीर्षकको जारुबिनद्वारा लिखित अति नै नीरस पुस्तक पढें । किताबमा उज्याला पक्षहरू फेला पार्न म असफल भएँ, मेरा निम्ति अँध्यारा पक्षहरू भने अरू प्रस्ट भए र ती अझ बढी घृणाजनक बने ।
मैले अनगिन्ती कमसल किताबहरू पढें, तर मेरा निम्ति त्यस्ता पुस्तक समेत उपयोगी थिए । जीवनको नकारात्मक पक्ष त्यस्तो चीज हो, जो कसैले पनि यसका सकारात्मक पक्षसँगै जान्नुपर्छ । जो कसैसँग पनि ज्ञानको अधिकतम सम्भावित भण्डार हुनैपर्दछ, जुन मानिससँग जति बढी विविध अनुभव हुन्छ, त्यति नै बढी उसले शारीरिक उच्चता प्राप्त गर्दछ र त्यत्ति नै बढी उसको दृष्टिको व्यापक क्षेत्र बन्दछ ।
विदेशी साहित्यले मलाई तुलनाका निम्ति प्रचुर सामग्री उपलब्ध गरायो भने यसमा सजाइएको कौशलले मलाई चकित बनायो । यी पुस्तकहरूले मानिसहरूलाई यस्तो सजीव र स्पष्ट तरिकाले चित्रण गर्दथे कि ती मेरा निम्ति वास्तविक रूपमा नै मूर्त हुन्थे । म सधै यी मानिसहरूलाई रुसी मानिस र म आफूभन्दा बढी सक्रिय पाउँथे, उनीहरू कुरा थोरै, काम बढी गर्दथे ।
स्तेन्धाल, बाल्जाक र फ्लावेयर जस्ता ‘ठूला’ फ्रान्सेली लेखकहरूले ममा वास्तविक र गहन रूपगत प्रभाव पारेका छन् र यी लेखकहरूलाई पढ्न म सबै ‘लेख्न प्रारम्भ गरेकाहरू’लाई सुझाउ दिन्छु । उनीहरू वास्तवमै प्रतिभावान् कलाकारहरू थिए र उच्च कोटिका रूपका मर्मज्ञ थिए । रुसी साहित्यले उनीहरू जस्ता लेखकहरू अझै पाएको छैन । मैले उनीहरूलाई रुसी भाषामा पढे, तर फ्रान्सेली लेखनको शक्तिबोध गर्न मलाई त्यसले रोकेन । पछि थुप्रै ‘बुले भार्ड’ उपन्यासहरू, माइने रीद, जेम्स फेनिमोर कूपर, गुस्ताभ ऐमार्द र पोन्सन दु तरेली जस्ता महान् लेखकका कथाहरूले ममाथि अचम्मको प्रभाव पारेका छन् ।
रहस्यमय र रक्तपातपूर्ण अपराधहरूको चित्रण गरिएका दर्जनौं पुस्तकहरूसँग म परिचित थिएँ । तर जब मैले स्तेन्धालको इटालीका कथाहरू पढें, कसरी यो सबै लेखियो मैले बुझ्नै सकिनँ । यहाँ लेखक क्रूर कामहरूको र प्रतिशोध लिने हत्याराहरूको वर्णन गरिरहेको थियो तापनि म चाहिँ सन्त, महात्माहरूका जीवनीहरू हुन् कि भनेझै गरी वा ईश्वरकी आमा नरकमा भइरहेको यातनामा सान्त्वना दिन त्यहाँ जाने हाम्री भद्र महिलाको एक सपना सुनिरहेझै उसका कथाहरू पढिरहेको थिएँ।
जब मैले बाल्जाकको ला पो दे शाग्रेका एकजना बैङ्क मालिकले दिएको भोजको वर्णन भएका पृष्ठहरू पढें, म पूर्णतया आश्चर्यचकित भएँ । त्यहाँ लगभग दुई दर्जन अतिथि थिए र कोलाहल सृष्टि गर्दै एउटै समयमा ती सबै कुरा गरिरहेका थिए, जसले मेरा कानको जालीमा हिर्काइरहेजस्तो लाग्दथ्यो । त्यो भन्दा बढी महत्त्वपूर्ण कुरो के थियो भने म उनीहरूको आवाज मात्र सुन्दैनथें, वास्तवमा प्रत्येक अतिथिहरू बोलिरहेको देख्थे, म उनीहरूका आँखा, हँसाइ र हाउभाउहरू देख्न सक्थें, जबकि बाल्जाकले बैङ्क मालिकका अतिथिहरूको आकृति र अनुहारको वर्णन नै गरेका थिएनन् ।
शब्दको माध्यमबाट जनतालाई चित्रण गर्ने कलामा, उनीहरूको बोलीचालीलाई जीवन्त र श्रवणीय बनाउने कलामा, संवादहरू सृष्टि गर्ने उत्कृष्ट सीपमा, बाल्जाक र अन्य फ्रान्सेली लेखकहरूले देखाएको कौशलले म सधैं हायलकायल भएँ । बाल्जाकका पुस्तकहरू तेल रङ्गमा लेखिएका जस्ता छन् । रुविनले बनाएका चित्रहरू सर्वप्रथम हेर्दा तत्काल मैले बाल्जाकलाई सम्झिएँ । दोस्तोयेभ्स्कीका उत्तेजनापूर्ण किताबहरू पढेपछि म के सोच्न बाध्य भएँ भने दोस्तोयेभ्स्की उपन्यासका यी महान् हस्तीका धेरै नै ऋणी छन् । कलमले उतारेका ड्रइङजस्ता सुगठित र संक्षिप्त शब्द प्रयोग भएका गनकौर्ट बन्धुका उपन्यासहरू पनि मलाई मन परे र मलिन रङ्गमा निर्मित प्रभावकारी क्यानभास जस्तो जोलाको निराशाजनक लेखन पनि । ह्युगोका उपन्यासहरूले मलाई प्रभावित पार्न असफल रहे, क्वात्रे-भिन्जट्रेइजे समेत मैले उदासीनताका साथ पढें । पछि, यो उदासीनताको कारण अनातोले फ्रान्सको लेस डिउक्स अन्ट सोइफ पढेपछि मात्र मैले थाहा पाएँ । धेरै कुराहरूलाई घृणा गर्न सिकेपछि मात्र मैले स्तेन्धाल पढें र उनको शान्त वाणी र संशयपूर्ण हाँसोले मेरो घृणामा मलाई अझ बलियो बनायो ।
माथिको विवरणबाट के पुष्टि हुन्छ भने कसरी लेख्ने भन्ने कुरो मैले फ्रान्सेली लेखकहरूबाट सिकें । यो आकस्मिक थियो र परिणामले लाभकारी प्रमाणित भयो । यही कारण म नयाँ लेखकहरूलाई महान् हस्तीहरूलाई मूलरूपमा पढ्नका लागि र उनीहरूबाट शब्दको कला सिक्नका लागि फ्रान्सेली भाषाको अध्ययन गर्ने सल्लाह दिन्छ ।
रुसी साहित्यका महान् व्यक्तित्वहरू गोगोल, तोल्सतोइ, तुर्गेनेभ, गोन्चारोभ, दोस्तोयेभ्स्की र लेस्कोभलाई त मैले धेरैपछि मात्र पढें । नि:सन्देह आफ्नो आश्चर्यचकित बनाउने ज्ञान र भाषाको प्रगल्भताले लेस्कोभले मलाई निकै प्रभावित पारे । उनी रुसी जीवनका सम्बन्धमा प्रगाढ अर्न्तदृष्टि राख्ने उत्कृष्ट लेखक हुन् र हाम्रो साहित्यमा उनले प्राप्त गर्नु पर्ने पूर्ण र उचित सम्मान पाएनन् । चेखोभले भनेका थिए- उनी लेस्कोभका ऋणी थिए । मलाई के लाग्छ भने ए. रेमिक्षोभ (रेमिक्षोभ- ए.एम. रेमिक्षोभ- पितृसत्तात्मक रुस र चर्चसम्बन्धी चित्रणमा लेस्कोभद्वारा स्थापित परम्पराको अनुसरण गर्ने रुसी लेखक थिए । उनी आलंकारिक शैलीको भाषा उपयोगमा ल्याउँथे) ले पनि यही कुरो भन्न सक्थे ।
बीस वर्ष जतिको उमेरमा मलाई के लाग्न थाल्यो भने मैले देखेका, सुनेका र अनुभव गरेका जे जति मानिसहरू छन्, तिनका बारेमा सबै नै अरूलाई भन्न सकिन्छ र भनिनुपर्दछ । मलाई कस्तो लाग्यो भने कतिपय विषयहरूलाई मैले अरू मानिसहरूले भन्दा फरक तरिकाले बुझे र अनुभव गरें । यी दुवै कुराले मलाई व्यग्र बनाए र अशान्त र कुरौटे स्थितिमा पुयाए । कतिसम्म भने तुर्गेनेभजस्ता महान् हस्तीले लेखेका पुस्तकहरू भनौं एक शिकारीका रेखाचित्रहरू पढ्दा कहिलेकाहीँ तुर्गेनेभले प्रस्तुत गरेको भन्दा अर्कै तरिकाले मुख्य पात्रहरूका सम्बन्धमा सम्भवतः म केही भन्न सक्थें भन्ने मलाई लाग्यो । त्यतिखेरसम्म मैले राम्रो कथा भन्नेहरूका रूपमा पर्याप्त ख्याति प्राप्त गरिसकेको थिएँ र जहाजमा काम गर्ने मजदुरहरूले, रोटी बनाउनेहरूले, खातेहरूले, सिकर्मीहरूले, रेल्वे मजदुरहरूले, तीर्थयात्रीहरूले र सामान्यतया म जसका बीच रहेको थिएँ, ती सबैले मेरो कुरा ध्यान दिएर सुन्थे । मैले पढेका किताबहरूका अन्तर्वस्तु अरूलाई सुनाइरहँदा बहुधा त्यसको कथानकमा फेरबदल गरिरहेको, मैले पढेको कथालाई विकृत पारिरहेको र मेरो आफ्नै जीवनका अनुभवहरूबाट चयन गरिएका कुराहरू त्यसमा थपिरहेको म आफै फेला पार्दथें । त्यस्तो किन भएको थियो भने मेरो मनमा, जीवनका तथ्यहरू र साहित्य एकअर्कामा विलय भएका थिए । पुस्तक मान्छेझै जीवनको सङ्घटना जस्तै हो । यो पनि जीवित हुन्छ र यथार्थका बारेमा भन्छ र यो मान्छेले सिर्जना गरेका वा गरिरहेका अरू सबै चीजहरू जस्तो अति कम ‘चीज’ हो ।।
मलाई सुन्ने जति पनि बुद्धिजीवीहरू थिए, तिनले एउटै सल्लाह दिए’तिमीले लेख्नैपर्छ, लेख्ने कोसिस गर ।’
म प्राय: लठ्ठिएको र मलाई पीडा दिने वा खुशी पार्ने सबै कुरालाई अभिव्यक्ति दिने व्यग्रताबाट उत्पन्न बाग्चातुर्य र शब्दहरूको प्रलापको आक्रमण आफूमाथि भएको अनुभव गर्थे । ‘सबै व्यक्त गरेर मुक्त हुन’ म उत्सुक थिएँ । मभित्रका तनाउहरूको कारण तीव्र पीडाका क्षणहरू देखापर्थे, त्यस्ता क्षणहरू जतिखेर मेरो घाँटी अवरुद्ध हुन्थ्यो र म चिच्याउन चाहन्थे- मेरो साथी, सीसा ढाल्ने अनातोली प्रतिभा भएको ठिटो हो, तर उसले सहयोग पाएन भने ऊ समाप्त हुनेछ, गल्ली चाहार्ने थेरेसा, उत्तम महिला हुन्, उनी वेश्या हुनु एकदमै अन्यायपूर्ण छ, उनीकहाँ जाने विद्यार्थीहरू यो कुरो बुझ्दैनन् । उनीहरू पढे-लेखेकी युवती याकोभ्लेभाको भन्दा बाँच्नका निम्ति मागी हिंड्ने बूढीआमै मतिसाको बढी बुद्धि छ भन्ने पनि बुझ्दैनन् ।
मैले घनिष्ठ मित्र, विद्यार्थी गुरी प्लेत्न्योभलाई समेत थाहा नदिई गुप्तरूपले थेरेसा र अनातोलीका बारेमा कविताहरू लेखें । कविताहरूमा मैले लेखें- रोटी बनाउनेहरूले काम गर्ने, बिँडीमा फोहोरपानीको प्रचण्ड धारा नपुगोस् भन्नका लागि वसन्तमा हिउँ पग्लन्छ, भोल्गा सुन्दर नदी हो, रोटीवाला कुजिन विश्वासघाती थियो र जीवन फोहोर र शून्यताको दलदल हो, जसले आत्मालाई तहसनहस पार्दछ, आदि आदि ।
मलाई कविता लेख्न त एकदमै सहज लाग्थ्यो तर मलाई के लाग्यो भने मैले जे लेखें, त्यो अरुचिकर छ र सीप तथा प्रतिभाको अभावको लागि मैले आफैलाई घृणा गरें । पुश्किन, लेर्मोन्तोभ, नेक्रासोभ र कुरोधिकनको अनुवादबाट बेरोन्जेलाई म यी कुनै पनि कविहरूसँग अलिकति पनि समानता राख्तिनँ भन्ने स्पष्ट बोधसहित पढ़ें । मैले गद्य लेख्ने आँट गर्न सकिनँ । मेरो दष्टिमा गद्य कविताभन्दा बढी कठिन थियो र यसले दृष्टिको विशेष तीक्ष्णता, अरूले देख्न नसकेका विषयहरूलाई राम्ररी ठम्याउने एवम् ध्यान दिने क्षमता र सङ्क्षिप्त, गहन र सारगर्भित शैलीको माग गर्दछ । त्यसो भए तापनि, ‘लयात्मक’ गद्यको माध्यमलाई चयन गर्दै मैले गद्य लेख्न प्रयत्न गरें, किनभने साधारण गद्य लेख्नु मेरो क्षमता बाहिरको मलाई लाग्यो । सरल शैलीमा लेख्ने मेरा प्रयत्नहरूको परिणाम खेदजनक र हास्यास्पद रह्यो । लामो ‘कविता’ बूढो अग्राखको गीत मैले लयात्मक गद्यमा नै लेखें । भी.जी. कोरोलेन्कोले यो भद्दा कवितालाई धुजा-धुजा पारेर रद्दीको टोकरीमा फ्याँक्न मात्र एक दर्जन जति शब्दहरू उपयोग गरे । सम्झेअनुसार मैले यस कवितामा ‘जीवनको भुमरी’ शीर्षकको म गलत नभए ज्नानिने (ज्ञान)मा प्रकाशित लेखप्रतिको आफ्नो विचार व्यक्त गरेको थिएँ र विकासको सिद्धान्तबारे मत राखेको थिएँ । यसभित्रको सम्झनामा रहेको एउटा मात्र वाक्य छ- ‘यस संसारमा म असहमत हुनका लागि आएको हुँ ।’ मैले भन्नै पर्ने कुरो, के छ भने वास्तवमा म विकासको सिद्धान्तसँग सहमत थिइनँ ।
‘समुद्र हाँसिरहेको थियो’, मैले लेखें र लामो समयसम्म यसो भन्नु रानै त हो नि भन्ने मैले ठानें । सौन्दर्यको पछि दगुराइमा म सधैं चित्रणको सुनिश्चितता वा यथार्थताको विरोधमा भएँ र वस्तुहरूलाई कु-ठाउँमा राख्ने र मानिसहरूलाई गलत रूपबाट चित्रण गर्ने बाटोमा हिँडे ।
‘तिम्रो अगेनो जहाँ हुनु पर्ने हो त्यहाँ छैन’ मेरो कथा छब्बीस पुरुष र एउटी केटी कथाका सन्दर्भमा लेभ तोल्सतोइले एकपटक मलाई भने । बिस्तारै के थाहा भयो भने मैले चित्रण गरेको ढाँचाले अगेनाको आगोले रोटी बनाउनेहरूको अनुहारमा प्रकाश दिदैनथ्यो । मेरो फोमा गोर्देयभकी मेदीन्स्कायाका बारेमा चेखोभले औंल्याए, ‘उनका तीनवटा कान छन् जस्तो छ, चिउँडोमा समेत हेर त’ र वास्तवमा यो सबै साँचो पनि थियो, मेदीन्स्कायाले सामना गरेको प्रकाशको बाटो गलत थियो ।
साना देखिए पनि यस्ता गल्तीहरू ठूलो महत्त्वका हुन्छन्, किनभने यिनले कलाको सत्यतामाथि अतिक्रमण गर्दछन् । सामान्यत: सुनिश्चित शब्दहरू फेला पार्नु र तिनलाई अति थोरै शब्दमा धेरै व्यक्त हुने गरी उचित ठाउँमा राख्नु, शब्दमा मितव्ययी हुनु र पनि विचारमा असीमित वेग दिनु, शब्दका माध्यमबाट जीवित दृश्यहरू सृष्टि गर्नु र सङ्क्षिप्तमा पात्रका मुख्य लक्षणहरू परिभाषित गर्नु, पात्रका आचरण र बोलीका स्वरहरूलाई तत्कालै पाठकका मनमा कुँद्नु धेरै कठिन कार्य हो । मानिसहरू र वस्तुहरूमा शब्दहरूको माध्यमबाट ‘रङ्ग’ भर्नु एउटा कुरा हो भने तिनलाई जस्ता छन्, त्यही किसिमले युद्ध र शान्तिका पात्रहरूझै शारीरिक रूपबाट मूर्त हुने गरी ‘तीन आयामहरू’मा सजीव र स्पष्ट तरिकाले चित्रण गर्नु एकदमै अर्को कुरो हो ।
एकपटक, केन्द्रीय रुसको एउटा सानो प्रान्तीय सहरको आकारका बारेमा लघुशब्दचित्र बनाउने जब मैले मौका पाएँ- तलका शब्दहरू उत्पादन गर्न समर्थ हुनुअघि झन्डै तीन घन्टा म घोरिन बाध्य भएँ :
‘नागबेली उपत्यका, सुनसान सडकद्वारा आपसमा काटिएको थियो, फलस्वरूप चहकिलो रङ्गको ओकुरोभ शहर फराकिलो र मुजैमुजा परेको हत्केलाको चम्किलो खेलौनासरह थियो ।’
असल लेखनको एउटा उदाहरण बनाएँ भन्ने मैले सोचेको थिएँ । तर जब त्यो कथा प्रकाशित भयो, मैले के बोध गरें भने यो त सिँगारिएको अदुवाको रोटी वा चकलेटको बाकसको एउटा चित्र सरहको पो भएछ ।
सामान्यतया, शब्दहरूको प्रयोग एकदमै ठीकसँग गरिनुपर्दछ । यहाँ अर्को क्षेत्रको एउटा उदाहरण प्रस्तुत छ : ‘धर्म अफीम हो’ यसो भनिएको छ । तर अफीम त डाक्टरहरूद्वारा पीडासमनको औषधीका रूपमा प्रयोग हुन्छ, यसकारण यो असल वस्तु हो । तथ्य के हो भने अफीम सुर्तीजस्तै पिइन्छ, यस्तो अफीमपियाइले मानिसहरूलाई मार्दछ र त्यो अफीम बिख हो, रक्सीभन्दा धेरै बढी हानिकारक, जुन कुरा आम जनतालाई थाहा छैन ।
मेरो अघि बढ्ने क्रममा देखापरेका बाधाहरूले सधै मेरो मष्तिष्कमा एकजना कविका द:खदायी शब्दहरूलाई सम्झना गराउँथे, ‘संसारमा शब्दहरूको यन्त्रणाभन्दा बढी तीक्ष्ण अर्को कुनै यन्त्रणा छैन ।’ तर त्यो यस्तो चीज हो, जसका बारेमा मभन्दा धेरै राम्रोसँग सन् १९२७ मा मास्को प्रकाशन गृहबाट प्रकाशित ‘शब्दहरूको यन्त्रणा’ नामक पुस्तिकामा ए.जी. गर्नफेल्डले छलफल गरेका छन् । यो उत्तम कृति हो, म नयाँ लेखकहरूलाई पढ्नका निम्ति ध्यानाकर्षण गराउँछ ।
मलाई लाग्छ- यी सिकायतहरू ‘गरिबी’का विरुद्ध लक्षित छन्, त्यति बढी रुसी भाषाप्रति नभएर सामान्यत: समस्त मानवभाषासँग सम्बन्धित छन्, किनभने यहाँ कतिपय त्यस्ता भावना एवम् विचारहरूको अस्तित्व छ, जसलाई शब्दहरूले न सुराकी लगाउँछन्, न त व्यक्त नै गर्दछन् । यस्ता कुराहरूलाई नै गर्नफिल्डको पुस्तकले निकै राम्ररी व्यक्त गर्दछ । तर शब्दहरूले सुराकी लगाउन सक्दैनन् भन्ने कुरालाई अलग्ग राख्दा, रुसी भाषा अपार शब्दभण्डार भएको भाषामध्ये एक हो र जुन तीब्र गतिले यो समृद्ध बनिरहेको छ, त्यसले चकित तुल्याउँछ । हाम्रो भाषाको बृद्धिको द्रुतगतिलाई स्थापित गर्न गोगोल र चेखोभ, तुर्गनेभ र उदाहरणका निम्ति बुनिन, दोस्तोयेभ्स्की र भनौं लेओनिद लेओनोभ (लेओनोभ- लिओनिद लेओनोभ (१८९९-) लेनिन पुरस्कार विजेता, प्रमुख रुसी सोभियत लेखक) ले प्रयोग गरेको शब्दभण्डारलाई तुलना गर्नु उपयोगी हुनेछ । पछिल्लाले स्वयम् यसबारेमा के भनेका छन् भने उनी दोस्तोयेभ्स्कीबाट व्युत्पन्न भएका हुन्, तर उनले निश्चित मात्रामा- आफू- बौद्धिक मूल्याङ्कनसहित म आव्हान गर्नेछु- लेभ तोल्स्तोईबाट पनि जन्मिएको भन्न सक्नुपर्थ्यो । जे भए पनि, यी दुवै सम्बन्धहरू यस्ता छन्, जसले युवालेखकको महत्त्वलाई मात्र प्रमाणित गर्दछन् र तिनले लेखकको मौलिकतालाई कम पार्दैनन् । उनको पुस्तक ‘चोर’मा उनले नि:सन्देह भाषाको आश्चर्यजनक वैभव प्रदर्शन गरेका छन् । उनले थुप्रै उच्च किसिमले भावनालाई व्यक्त गर्ने आफ्नै निजी शब्दहरू निर्माण गरेका छन् र साथै उनको उपन्यासको बनोट यसको जटिलतामा र काल्पनिकतामा आश्चर्यजनक छ । मैले देखेअनुसार लेओनेभ आफ्नो निजी सन्देश भएका मानिस हुन्, जसमा माथिल्लो तहको मौलिकता छ, उनले भर्खरै तिनलाई जन्माउँदै छन् र यसमा न दोस्तोयेभ्स्की न अरू कसैले उनलाई हानि पुयाउन सक्तछ ।
तपाईहरूलाई के स्मरण गराउनु उपयुक्त होला भने भाषा जनताद्वारा सिर्जना गरिएको हो । साहित्यको भाषा र जनताको (बोलचालको- अनु.) भाषा यी दुई विभाजनले नै के व्यक्त गर्दछ भने एउटा ‘कच्चा पदार्थ’ हो भने अर्को चाहिँ पारङ्गत हातहरूद्वारा परिष्कृत गरिएको भाषा हो । यसलाई बुझ्ने पहिलो व्यक्ति पुश्किन थिए र जनताले दिएको बोलीचालीको भाषालाई कसरी प्रयोग गर्नुपर्छ र कसरी त्यसलाई परिष्कार गर्नुपर्छ देखाउने पनि उनी नै पहिला साहित्यकार थिए ।
कलाकार, उसको देश र उसको वर्गमाथि पर्ने सम्पूर्ण प्रभावहरूको संवेदनशील ग्रहणकर्ता हो, ऊ आफ्नो वर्गको आँखा, कान र हृदय हो । उसको आवाज उसको समयको आवाज हो । ऊ कर्तव्यले नै जति सकिन्छ, त्यति जान्न बाध्य छ र विगतलाई उसले जति बढी जान्दछ, त्यति नै बढी वर्तमानलाई उसले बुझ्नेछ र त्यति नै बढी गहन रूपमा र उत्सुकतापूर्वक हाम्रो समयको शाश्वत क्रान्तिकारीपनलाई र समयले सामना गर्नुपरेका कार्यभारहरूको क्षेत्रलाई बोध गर्नेछ । जनताको इतिहासको ज्ञान अनिवार्य छ र यस्तै जनताको सामाजिक र राजनीतिक चिन्तनको विधिलाई जान्नु अपरिहार्य छ । विद्वान्हरू- संस्कृतिका इतिहासकारहरू र मानवशास्त्रीहरू-ले के इङ्गित गरेका छन् भने यस चिन्तनले परिकथाहरू, पौराणिक कथाहरू, उखान-तुक्काहरू र उक्तिहरूमा अभिव्यक्ति पाउँछ । उक्ति तथा उखानतुक्काहरू नै हुन्, जसले वास्तविक रूपमा आम जनसमुदायको चिन्तनको तरिकालाई अत्यन्त शिक्षाप्रद र पूर्ण ढङ्गले अभिव्यक्त गर्दछन् । सिकारु लेखकहरूले यी सामग्रीहरूको ज्ञान हासिल गर्नु शब्दहरूको अल्पता, विषयको सारभाग र विम्बविधानमा यसले अत्युत्तम शिक्षा दिने कारणले मात्र होइन, निम्न कारणले समेत आवश्यक छ : सोभियत भूमिको जनसङ्ख्याको अत्यधिक बहुमत किसानहरूले बनेको छ । त्यो कमलो माटोबाट जन्मिएकाहरूलाई इतिहासले श्रमिकहरू, सहरवासीहरू, व्यापारीहरू, पुरेत-पादरीहरू, अफिसरहरू, भारदारहरू, विद्वान्हरू र कलाकारहरूमा ढालेको छ । राजकीय गिर्जाघर (चर्च) सञ्चालन गर्नेहरू, यस्तो गिर्जाघरबाट निस्केका विभिन्न पन्थहरूभित्र निरन्तर किसान मासिकताले प्रभाव पारिरहेको छ । शताब्दीयौंदेखि किसानहरूलाई बनिबनाउ पदावलीमा र तयारी रूपमा सोच्न सिकाइएको छ । उदाहरणका लागि, उक्तिहरू र उखानतुक्काहरू, तीमध्ये अधिकांश अति सङ्क्षिप्त रूपमा शब्दमा व्यक्त चर्चका शिक्षा बाहेक अरू केही होइनन् । …
‘अनुदारवादीहरू’ले, निरङ्कुशतन्त्रको समर्थन गर्नेहरूले लेखेका पुस्तकहरू पढ्दा, तिनमा नयाँ कुरो मैले केही भेटिनँ । किनभने हरेक पृष्ठहरू फराकिलो मात्रामा-सविस्तार-पुनरुत्पादित थिए- केही उखानहरू त मैले वालककालदेखि नै जानेको थिएँ । मेरा निम्ति के प्रत्यक्ष थियो भने के लेओक्षेभ, के. पोबेदोनाक्षेभ र त्यस्तै अनुदारवादीहरूको समस्त गहन ज्ञान ‘जनताको ज्ञान’द्वारा अनुप्राणित थियोजसले चर्चको भावनालाई सारमा प्रस्तुत गर्दथ्यो ।
मैले उखानतुक्काहरूबाट अर्को शब्दमा सूत्रका रूपमा चिन्तनबाट प्रशस्त सिकेको छु । म एउटा घटना सम्झन्छु : मेरो एकजना साथी याकोभ सोल्दातोभजो पाले थिए र ख्यालठट्टा गर्न खुबै मन पराउँथे- एकपटक नयाँ कुचो समातेर बाटो बढारिरहेका थिए । याकोभले मलाई पुलुक्क हेरे, प्रमुदित आँखा यस्सो झिम्क्याए र टिप्पणी गरे :
‘म जे गर्छ, कहिल्यै पूरा गर्दिनँ जति-जति बढार्छ, त्यति-त्यति फोहोर आउँछ ।’
उनी एकदमै साँचो बोलिरहेका थिए भन्ने मलाई लाग्यो । छिमेकीहरूले आफ्नो हिस्साको बाटो सफासुग्घर राखेकै भए पनि हावाले नजिकैका बाटाहरूबाट धूलो ल्याउँथ्यो, सहरका सबै बाटाहरू सफा राखिए भने पनि हावाले नजिकैका बाटाहरूबाट धुलो ल्याउँथ्यो, सहरका सबै बाटाहरू सफा राखिए भने पनि छिमेकका सहरहरूबाट वा वरिपरिका मैदान र सडकहरूबाट धूलोको बादल त्यहाँभित्र आउँथ्यो । वास्तवमा, आफ्नो घर वरिपरिको क्षेत्र हरेकले सफा राख्नैपर्छ, तर हरेकको श्रमले त्यतिखेर मात्र बढी लाभ पुयाउनेछ, जब यसलाई सम्पूर्ण बाटो, सम्पूर्ण सहर र सम्पूर्ण विश्वमा विस्तार गरिनेछ ।
यही किसिमले एउटा सूत्र निर्माण गर्न सकिन्छ । कसरी एउटा सूत्र अस्तित्वमा आउँछ, त्यसको एउटा उदाहरण यहाँ प्रस्तुत छ । निझनी-नोभगोदोरोभमा एकपटक हैजा फैलियो, त्यतिखेर बासिन्दामध्येको एकजनाले के हल्ला फैलाउन थाल्यो भने डाक्टरहरूले रोगीहरूलाई मार्दैछन् । गभर्नर बरानोभले उसलाई समात्न र हैजाको मामिला हेने हस्पिटलमा सेवकको रूपमा काम गर्न लगाउन पठाउने आदेश दिए । के भनिन्छ भने केही समयपछि पहिलेको हल्लावाजले आफलाई त्यो शिक्षा दिएकोमा गभर्नरलाई धन्यवाद दियो । त्यसको ओठे जवाफ गर्भनरले यसरी दिए :
‘साँचो डक्दैन, झूटो टिक्दैन ।’
बरानोभ खस्रो खालका मान्छे थिए, तर मूर्ख थिएनन् र मलाई लाग्छ, यस्ता कुराहरू भन्न एकदमै सक्षम व्यक्ति थिए । यस अतिरिक्त यी शब्दहरू कसले भन्यो, त्यसले के पो फरक पर्छ र ?
यस्ता थिए जीवित विचारहरू जसले मलाई सिक्न, सोच्न र लेख्न सहयोग पुयाए । किताबहरूमा मैले उस्तै विचारहरू पाएँ, जुन विचारहरू मैले पाले र कानुन व्यवसायीहरूबाट, त्यस्ता व्यक्तिहरूबाट जसले आफ्नो जाति, मानिसका अवस्था र अवसर सबै गुमाएका छन्, तिनबाट सुनेको थिएँ । तर किताबमा यी विचारहरू अरू नै शब्दका पोसाकमा थिए । वास्तवमा जीवनका अनुभवहरू र साहित्यका तथ्यहरू एक दोस्राका पूरक हुन् ।
साहित्यकारहरू ‘कसरी प्रतिनिधि पात्र’ (प्रारूप) र चरित्रहरू सिर्जना गर्दछन् मैले भनिसकेको छु । यस सम्बन्धमा सायद, म दुईटा रमाइला उदाहरणहरू उल्लेख गर्न सक्छु ।
गेटेको फाउस्ट, कलात्मक सिर्जनशीलताको उच्च कोटिको उपज हो, जुन अविष्कार र कल्पना हो वा अझ बढी ठीकसँग भन्ने हो भने जीवनबाट प्राप्त चीजहरू थपेर बनाइएको अनुमानित वस्तुका साथै बिम्बमा चिन्तनको अनुवाद हो । पहिलोपटक फाउस्ट पढ्दा म बीस वर्षको थिएँ र केही समयपछि मैले के थाहा पाएँ भने जर्मन गेटेले भन्दा दुई सय वर्ष अघि नै क्रिस्टोफर मार्लो नामक अङ्ग्रेज व्यक्तिले फाउस्टका बारेमा लेखेका थिए, पान त्वार्दोस्की नामक सस्तो र भर्कोलाग्दो उपन्यास पनि एक किसिमको फाउस्ट थियो र त्यस्तै फ्रान्सेली लेखक पल भुसेतको उपन्यास ज्याँ ले बौभे पनि, फाउस्ट बारेका सबै पुस्तकहरू व्यक्तिगत सुख, समृद्धि प्राप्त गर्ने र अरू मानिसहरू र प्रकृतिका रहस्यहरूमाथि अधिकार जमाउने अतिशय तृष्णाका कारण आफ्नो आत्मा बेच्ने एउटा व्यक्तिसँग सम्बन्धित मध्ययुगीन पौराणिक कथाबाट जन्मिएका थिए । यो कथा जीवनबारे गरिएका निरीक्षणहरू र आधारभूत धातुहरूलाई सुनमा बदल्न र जीवनलाई अजर-अमर बनाउने औषधी आविष्कार गर्नका निम्ति रसायनविद्हरूले गरेका प्रयत्नहरूको निरीक्षणहरूबाट विकसित भएको थियो । यिनीहरूमध्येका कोही इमानदार र सच्चा चरित्रका स्वप्नद्रष्टा र मनोग्रन्थिबाट मुक्त मानिसहरू थिए भने केही चाहिँ छद्म चिकित्सक र छद्म पण्डित पनि थिए । ‘सर्वोच्च शक्ति’ प्राप्त गर्ने यी व्यक्तिहरूको प्रयत्नहरूको व्यर्थतालाई उपहास गर्नका निम्ति शैतान स्वयम्को सामर्थ्यभन्दा बाहिरको वस्तु प्रमाणित सर्वज्ञता र अमरत्व प्राप्त गर्ने मध्ययुगीन फाउस्टको दुस्साहसको कथालाई नमूनाका रूपमा प्रस्तुत गरिएको थियो ।
यी दुई उदाहरणले फेरि पनि मैले पहिले भनेजस्तै ‘नामहीन’ कार्यहरूअर्थात् त्यस्ता कामहरू जुन हामीले केही पनि नजानेका जनताहरूले (यस्ता कृतिहरूको उल्लेख गर्दा हामी ‘लोक सृजन’ भनेर शीर्षक दिने गर्दछौं । किनभने यो सम्भवतः बिदाका दिनहरूमा मंचमा प्रदर्शन गरिन्थ्यो र दस्तकारहरूद्वारा विकसित गरिएको थियो) उत्पादन गरेका छन्- को समर्थन गर्दछन् र कुनै सामाजिक समूहका विशेषता र लक्षणहरूको अमूर्तीकरणका नियमहरूका साथै त्यस समूहको प्रतिनिधि पात्रमा यी लक्षणहरूको प्रारूपीकरणका नियमहरूको अनुमोदन गर्दछन् । कलाकारले ती नियमहरूको पालना गरेको खण्डमा ऊ ‘प्रतिनिधि पात्र’ रचना गर्न सक्षम हुन्छ । यही तरिकाले चार्ल्स द क्रोष्टरले थील उलेन्स्पेइजेल, सिर्जना गरेका थिए भने फ्लेमिङ र रोमा रोलाँका राष्ट्रिय प्रतिनिधि पात्र-कोलास ब्रेउग्नोन (बुर्गुन्डी) र अल्फोन्से दाउदेत (तार्तरियन) यसरी नै बनेका थिए । प्रारूपित मानिसहरूका यस्ता जीवन्त चित्र निरीक्षण-शक्ति, समानता र असमानता खोज्ने र विवेचना गर्ने योग्यता र निरन्तरको अथक अध्ययन भएको खण्डमा मात्र सृजन गर्न सकिन्छ । ठीक-ठीक ज्ञान नभएमा अनुमान गर्नुपर्ने हुन्छ र दशवटा अनुमानमध्ये नौवटा अनुमान निश्चित रूपमा गलत हुन्छन् ।
म आफूलाई ओब्लोमोभ, रुदिन, र्याक्षानोभ (कठिन समयमा राझनोक्षिनेत् बुद्धिजीवीका रूपमा धेरै राम्रो चित्रण गरेका छन् स्लेप्क्षोभले) र यस खालका प्रतिनिधि पात्र र चरित्रहरूका समक्ष मूल्य राख्ने चरित्र र प्रतिनिधि पात्रहरू सृजन गर्नमा सक्षम र निपुण हस्ती ठान्दिनँ । तथापि, फोमा गोयेभ लेख्नका निम्ति मैले थुप्रै दर्जन व्यापारिक घरानाका त्यस्ता सन्ततिहरूको अध्ययन गर्नुपर्यो, जो आफ्ना बाबुहरूको जीवन र कामसँग असन्तुष्ट थिए र जसमा त्यस किसिमको एकरस जीवन र ‘उत्पीडनकारी नीरस’ जीवनमा खास अर्थ छैन भन्ने खालको अस्पष्ट भावना थियो । जीवनको नीरसतालाई आफ्नो अपमान ठानेर त्यसलाई निन्दा गर्ने फोमा गोर्देयेभजस्ता मानिसहरूका बीचमा एकातिर रक्स्याहाहरू, गुन्डाहरू र लम्पटहरू उत्पन्न भैरहेका छन् भने सामान्य चलनको अपवादका रूपमा सम्पन्न वर्गका अर्कातिर लेनिनवादी इस्क्राको प्रकाशनको आर्थिक प्रबन्ध गर्ने, सभ्भा मोरोजोभ, सामाजिक क्रान्तिकारीहरूलाई आर्थिक सहारा दिने पर्मका जहाज मालिक एन. मेश्कोभ, कलुगाका कारखाना मालिक गोन्चारोभ र मास्कोका कारखाना मालिक एन. मिल्युतिन र अरू थुप्रै मानिसहरू देखापरिरहेका छन् भन्ने कुरा मानिसहरूले विचार गर्न थाले । त्यही सामाजिक वातावरणबाट क्षेरेपोभेत्सका मेयर मिल्युतिन र मास्को र प्रान्तबाट थुप्रै व्यापारीहरू जस्ता संस्कृतिका नेताहरू जन्मिए, जसले विज्ञान, कला र अन्य सांस्कृतिक गतिविधिको सम्बर्द्धनमा पर्याप्त कौशल र समर्पणभाव प्रदर्शन गरे । फोमाका धर्मपिता मयाकिन पनि ‘उखानतुक्काहरू’का निम्नलक्षणहरूद्वारा बनेका मानिस थिए र मैले यहाँ विवेकपूर्ण मूल्याङ्कन के गर्नुपर्दछ भने सन् १९०५ मा मजदुर र किसानहरूका लासहरूले मयाकिनहरूलाई सरकारमा जान सजिलो बनाइदिएपछि यी मयाकिनहरूले पछि आएर मजदुरवर्गकै विरुद्ध एकदमै महत्त्वपूर्ण भूमिका खेले र आजसमेत आफ्ना पुराना गुँडहरू फर्काउने आशा उनीहरू गरिरहेका छन् ।
नवयुवकहरू मसँग सवाल गरिरहेका छन् किन मैले ‘आवारा र असहायहरू’का बारेमा लेखें ।
कारण, एकदमै सरल थियो । जुन समयमा क्षुद्र कूपमण्डूकहरूका बीचमा म रहेको थिएँ र अरूहरूको जीवन-रक्त चुस्ने, त्यस रगतलाई पैसामा बदल्ने र अनि त्यो पैसालाई पनि रूपैयाँमा रूपान्तरण गर्ने प्रयत्नबाट सताइएकाहरूले घेरिएको थिएँ, त्यतिखेर मसँग पत्रव्यवहार गर्ने उन्नाइस वर्षीय युवकमा जस्तै ममा पनि मेरो अस्तित्वका रेसा-रेसामा एउटै सालमा एउटै टकसारमा छापिएका पाँच पैसे ढ्याक जस्तै एक दोस्रासँग दुरुस्त र समान नीरस मानिसहरूको लामखुट्टे सरहको अस्तित्वप्रति स्वस्थ घृणा विकसित भएको थियो ।
आवारा र असहायमध्येका केही निझ्नी नोभगोरोदको कथित मिलिओन्कामा बस्तथे र उनीहरू एक आपसमा मित्रतापूर्वक जीवन बिताउँथे । पहिलेका सम्पन्न नगरवासी, मेरो मामा अलेक्जान्डर कासिरिन, इटालेली चित्रकार विनम्र स्वप्नदर्शी तोन्तिनी, पूर्वव्यायाम शिक्षक ग्लाद्कोभ, पहिले डाकाजनीको समयमा पुलिसमा सहायक निरीक्षकको काम गर्ने कोही व्यारोन बी. र वास्तविक नाम भान्दर फ्लित भएको ‘निकोल्का दि जनरल’ उपनामको नामी चोर यी सबै त्यहाँ घनिष्टतापूर्वक बसेका थिए ।
कजानको स्तेक्ल्यान्नी क्षाभोदमा लगभग बीस जनाको उस्तै प्रकृतिका विभिन्न रङ्गका मानिसको एउटा टोली थियो । तीमध्ये केही पहिलेको झुत्रा कपडा र हड्डी सङ्कलक, दश वर्ष कठिन श्रमसेवा गरेको भनेर चिनिने रादलोभ वा रादुनोभ, ‘विद्यार्थी’, गभर्नर एन्द्रियेभ्स्कीको एकपटक सेवकको काम गरेको भोस्का ग्राचिक, एकजना बेलोरुसी पादरीको छोरो र इन्जिनड्राइभर रोझियेभिच, पशुचिकित्सक, सर्जन, दाभिदोभ थिए । त्यहाँका अधिकांश मानिसहरू बिरामी थिए र उनीहरू आफ्ना स्वास्थ्यले धान्नेभन्दा बढी मद्यपान गर्दथे र झगडा गरिरहन्थे । तर उनीहरूमा कमरेडशिप (साथीपन) र परस्पर सहयोगको भावना थियो, कमाउन वा चोर्न सफल भएको बेला सधैंभरि उनीहरू खाएको खानपानको पैसा सामूहिक रूपले तिर्दथे र म के देख्थें भने यिनीहरूको जीवन ‘साधारण मानिसहरूको भन्दा अझ कठोर थियो तापनि उनीहरू साधारण मानिसहरूको तुलनामा आफूलाई माथिल्लो र राम्रो तहको ठान्दथे । कारण के थियो भने उनीहरूमा धनको कुनै लिप्सा थिएन, उनीहरू एक अर्कालाई खुट्टाको पैतालाले मिच्दैनथे र विशेष उद्देश्यका लागि पैसा बचाउँदैनथे । तीमध्ये केहीको बचत हुन सक्थ्यो किनभने उनीहरूमा मितव्ययिता र ‘व्यवस्थित’ जीवनको मायाका पदचिन्हहरू अझै बाँकी थिए । उनीहरूसँग बचत हुन सक्थ्यो किनभने चलाख र सफल चोर भास्का ग्राक्षिक आफूले चोरेको सामान सुरक्षित जिम्माका निम्ति ‘खजान्ची’ रोदक्षियेभिचकहाँ प्राय: ल्याउँथ्यो । रोझियेभिच यस
आवारा र बेकार समुदायको एक किसिमको प्रबन्धक (जनरल मेनेजर) थियो, सबैको विश्वासपात्र थियो र बढी नै छक्कलाग्दो कुरो सौम्य र कमजोर इच्छाशक्तिको मानिस थियो।
म मनमा थुप्रै दृश्यहरू सम्झन सक्छु : एकपटक आवारा भातृसङ्घको एक सदस्यले चोरेर एकजोडी टपबुट (धुंडासम्म लगाउने बुट) मात्र ल्यायो । सर्वसम्मतिले त्यसलाई बेच्ने र बेचेर आएको पैसा मदिरामा खर्च गर्ने निधो भयो । यस्तो भए तापनि, पुलिस थानामा पाएको पिटाइले त्यतिखेर बिरामी अवस्थामा भएको रोदक्षियेभिचले के भन्यो भने बुटको माथिल्लो भाग मात्र बेचेर बाँकी चाहिँ बुट फाटेको ‘विद्यार्थीलाई दिनुपर्छ । उसले भन्यो, ‘नत्र चिसोले समातेर मर्छ त्यो केटो, राम्रो पनि छ ।
बुटको माथिल्लो भाग हटाइसकेपछि बुट चोर्ने अपराधीले त्यसबाट एकजोर आफू स्वयम् र अर्को जोर रोदक्षियेभिचका निम्ति जुत्ता बनाउने सुझाव दियो । यसरी चोरेको बुट अन्तत: मदिरामा बदलिन पाएन । ग्राक्षिकले के भन्यो भने’शिक्षित मानिसहरू प्रति अभिरुचि रहेका कारण उनीहरू सबैप्रति ऊ मित्रवत् व्यवहार गर्दथ्यो र उनीहरूलाई सहयोग पनि गर्दथ्यो ।
‘म सुन्दर महिलाहरूलाई भन्दा शिक्षा प्राप्त मानिसलाई मन पराउँछु’ उसले मलाई भन्यो । ऊ अनौठो मानिस थियो, कालो कपाल, मिलेको जीउडाल र मनमोहक हाँसो, सामान्यत: विचारमग्न र कम बोल्ने, कहिलेकाहीँ ऊ अनियन्त्रित र उन्मुक्त हाँसोको पर्रा छाड्न सक्थ्यो, ऊ गाउन, नाच्न, आफूले गरेको शोषणमा घमण्ड गर्न र कहिल्यै नफर्कने गरी लडाइँमा जाने मानिसले मैं सबै र विविध कुराहरू अँगाल्न सक्थ्यो । ऊ एउटा धर्मशालाको बिँडीमा बस्ने आठजना मागिखानेहरूलाई भरणपोषण गर्दथ्यो । तीमध्ये एक वर्षको नानीसहितकी एउटी बौलाही युवती र अति जीर्ण, निर्बल बुढाबुढी थिए । ऊ चोर बन्नुको कारण यस्तो थियो : गभर्नरको सेवक भएताका, उसले पूरा एकरात आफ्नी प्रेयसीकहाँ बितायो । बिहानी घर फर्कदै गर्दा, मातेको स्थितिमा दूध बेच्दै गरेकी महिलाको दूधको भाँडो बलजफ्ती खोसेर उसले सबै दूध पिइदियो । समात्न खोज्दा उसले प्रतिरोध गर्यो र उसलाई उदार भनेर ख्याति पाएका न्यायाधीश कोलोन्तायेभले कठोरता प्रदर्शन गर्दै कारावासको सजाय दिए । जेलबाट छुट्नासाथ भास्काले कोलोन्तायेभको अध्ययनकोठा फोयो र त्यहाँ भएका सबै कागजपत्र च्यातिदियो, घन्टी दिने टेबिलघडी र एक जोडा दुरविन चोयो र फेरि जेल पर्यो । असफल चोरीको प्रयत्नपछि रातमा पालो दिने केही चौकीदारहरूबाट भाग्दै गरेको बेला उसँग मेरो परिचय भएको थियो, मैले उसलाई लखेट्नेमध्येको एकजनालाई घचेटिदिएँ, यसरी भास्कालाई भाग्न सहयोग गर्दै उस सँगसँगै भागें ।
कुभाला एउटा लजको पाले थियो, जसको बारेमा मैले आवारा र बेकारहरूमा चित्रण गरेको छु- कोलोन्तायेभले अध्यक्षता गरेको इजलासमा प्रस्तुत मैले देखेको पहिलो व्यक्ति थियो ऊ । यस झुमेझाने व्यक्तिले न्यायाधीशले सोधेका प्रश्नहरूको जवाफ जुन मर्यादाले दियो र प्रहरी, वकिल र वादी – कुभालाले पिटेको भट्टीपसलेले अघि सारेका घटनाको प्रतिवाद गर्दा जुन घृणा प्रदर्शन गयो, त्यसबाट म आश्चर्यचकित भएँ । मैले चेल्कासमा वर्णन गरेको घटना मलाई सुनाउने ओदेसाको आवाराले गरेको असल प्रकृतिको व्यङ्ग्यबाट पनि म कम अचम्ममा परेको थिइन । हाम्रो भेट निकोलायेभ सहरको एउटा अस्पतालमा भएको थियो र हाँस्ता अति सेता दाँतहरू प्रदर्शन गर्ने उसको हाँसो र ज्यालामा केही काम गर्न लगाएको ठिटोबाट ऊ कसरी ठगियो, त्यससम्बन्धी विवरण दिँदा उसले गरेको अन्तको सुखद सम्झना मसँग अझै छ : ‘यसरी मैले पैसा दिएर उसलाई जाने मौका दिएँ, जा, मूर्ख र तँलाई जे जे मन पर्छ, गर ।’
उसलाई देखेर मैले दुमाका ‘भद्र’ नायकहरू सम्झिएँ । अस्पताल छोडेपछि सहरको बाहिरी भागको एउटा किल्लाको हावा खाने ठाउँमा हामी बसिरहेका थियौं र मलाई खरबुजाका टुक्राहरू खान दिदै उसले सोध्यो, ‘केही लाभदायी काम मसँग मिलेर गर्न चाहन्छौ ? त्यस कामका निम्ति तिमी लायक ठिटो हौ भन्ने मलाई लागेको छ ।’
यो मख्ख पर्ने प्रस्ताव थियो, तर त्यतिखेसम्ममा म तस्कर-व्यापार र चोरीभन्दा बढी असल कामहरू संसारमा छन् भन्ने राम्ररी नै जान्न सक्ने भइसकेको थिएँ ।
मैले यहाँ जे भनें, त्यो आवारा र बेकारहरूप्रतिको मेरो पूर्वाभिरुचिको व्याख्या हो- दरिद्र कूपमण्डूकको होइन, साधारण ढर्राका मानिसभन्दा फरक मानिसहरूको चित्रण गर्ने मेरो तीव्र आकाङ्क्षा हो । म विदेशी साहित्य, सर्वप्रथम फ्रान्सेली साहित्यको प्रभावमा पनि थिएँ, जसलाई मैले रुसी साहित्यभन्दा बढी सजीव र रङ्गीन पाएँ । जे होस्, मुख्य कारण मसँग पत्राचार गर्ने पन्धवर्षीय किशोरीले उल्लेख गरेझै आफ्नो कल्पनाद्वारा ‘गरिबीले थथिलो पारेको नीरस जीवन’लाई रङ्गीन पारेर सजाउने मेरो आकाङ्क्षा नै थियो ।
मैले माथि उल्लेख गरिसकेझै यस इच्छालाई ‘स्वच्छन्दतावाद’ भनिन्छ । केही समालोचकका मतमा मेरो स्वच्छन्दतावाद मेरो दार्शनिक प्रत्ययवाद (आदर्शवाद)को प्रतिबिम्ब हो । मेरो विचारमा यो मूल्याङ्कन गलत छ ।
दार्शनिक प्रत्ययवादले के शिक्षा दिन्छ भने मानिस, पशुहरू र मानवसृजित चीजहरू ‘प्रत्यय’को नियन्त्रणमा हुन्छन् । यिनै प्रत्ययहरू मानिसद्वारा सृजना गरिएका सम्पूर्ण चीजहरूका अतिशयपूर्ण आदर्श रूपहरू हुन्, मानिसका गतिविधिहरू ती आदर्श रूपहरूमाथि पूर्णतया निर्भर हुन्छन् र उसका सबै कार्यहरू ‘प्रत्यय’को अनुकरण मात्र हो, जसको अस्तित्वको अनुभव मानिस केही अस्पष्ट तरिकाले गर्न बाध्य छ । यस दृष्टिकोणअनुसार माथि कहीँ र हाम्रा सामु प्रत्ययको अस्तित्व छ, बन्धन र आन्तरिक ज्वलन इन्जिनको प्रत्यय, क्षयरोगका कीटाणु र आधुनिक बन्दुकको प्रत्यय, भ्यागुतो, कूपमण्डूक, मुसो र सामान्यत: पृथ्वीमा अस्तित्वमा रहेका र मानिसले सृष्टि गरेका सबैको प्रत्यय । के पूर्णत: प्रत्यक्ष छ भने सबै प्रत्ययहरूको स्रष्टाको अस्तित्व छ, त्यसमध्ये कसैले, कुनै कारणले चील र जुम्रो, हात्ती र भ्यागुताको सृष्टि गर्यो भन्ने कुराको अनिवार्य मान्यतालाई समर्थन गर्दछ ।
मेरा निम्ति मानिसभन्दा बाहिर कुनै प्रत्ययको अस्तित्व छैन, मेरा निम्ति मानिस नै र खालि मानिस मात्र सबै वस्तुहरू र प्रत्ययहरूको स्रष्टा हो, उही अर्थात् मानिस नै चमत्कारकर्ता हो र सम्पूर्ण प्राकृतिक शक्तिहरूको भावी स्वामी हो । हाम्रो यस संसारमा सबैभन्दा सुन्दर वस्तुहरू जे छन्, ती मानिसको श्रम, मानिसका चतुर हातहरूबाट सिर्जना भएका हुन्, हाम्रा सम्पूर्ण विचारहरू र प्रत्ययहरू श्रमको प्रक्रियाबाट नै जन्मिन्छन्, कला, विज्ञान र टेक्नोलोजीको इतिहासले हामीलाई यही विश्वास दिलाउँछ । विचारले तथ्यको अनुसरण गर्दछ । म मानवका सम्मुख कुन कारणले शिर निहुयाउँछु भने उसको विवेकबुद्धि, उसको कल्पना र उसको अनुमानका अतिरिक्त यस संसारमा म अरू केही नै देख्न सक्दिनँ । ईश्वर फोटोग्राफी जस्तै मानिसको मस्तिष्कको आविष्कार मात्र हो । फरक के छ भने यथार्थमा जे छ, फोटोग्राफीले त्यसैको रेकर्ड गर्दछ भने यसका विपरीत ईश्वर चाहिँ वास्तवमा मान्छेले प्राणीका रूपमा ‘सर्वज्ञ’, सर्वशक्तिमान् र एकदमै न्यायपूर्ण हुने आकाङ्क्षा र क्षमताको आफैमाथि गरेको आविष्कारको फोटोग्राफ हो ।
१९२८
(यो सामग्रीको अनुवाद नारायण गिरीले गरेका हुन् । यसलाई हामीले https://narayangiri.wordpress.com बाट लिएका हौं ।)
