दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको अस्ति शनिवार राति साढे आठबजेतिर हैदरावादको निजाम इंस्टिच्युट अफ मेडिकल साइन्सेज (निम्स) अस्पतालमा ५७ वर्षको उमेरमा निधन भयो ।
प्राध्यापक जीएन साईबाबालाई मई ९, २०१४ मा महाराष्ट्र पुलिसले गैरकानुनी गतिविधि रोकथाम कानुन (युएपिए) अनुसार माओवादी-नक्सलवादीसँग उनको सम्पर्क रहेको आशंकामा गिरफ्तार गरेको थियो । मार्च ७, २०१७ मा गादचिरोली सेसन कोर्टले उनलाई दोषी देखाउँदै आजीवन कारावासको सजाय सुनायो । अक्टोबर १४, २०२२ मा उनलाई बम्बई उच्च अदालतले रिहाइको आदेश दियो तर २४ घन्टा नवित्दै सर्वोच्च अदालतलका न्याधीश एमआर शाह र बेला त्रिवेदीले उच्च अदालतको फैसला उल्टाएर साईबाबालाई फेरि जेल पठाए । साईबाबालाई लागेको एउटा आरोप उनको कम्प्युटरमा कम्युनिस्ट सामग्री डाउनलोड गरेको भन्ने थियो । यो वर्ष मार्च ५, २०२४ बम्बई उच्च अदालतको नागपुर बेन्चले साईबाबालाई रिहा गरिदियो ।
इन्टरनेटबाट कम्युनिस्ट साहित्य डाउनलोड गर्नुलाई कुनै विचारधाराको समर्थक भन्न मिल्दैन भनेर सफाइ दियो । बीबीसी हिन्दी सेवाका राघवेन्द्र रावले साईबाबा रिहाभएकै मार्च महिनामा एउटा अन्तर्वार्ता लिएका थिए । उनको प्रश्न थियो जेल जीवनका दसवर्षमा तपाईंले गुमाएका महत्वपूर्ण कुराहरू के थिए ? उत्तरमा साईबाबाले भने केटाकेटीदेखि मेरी साथी पछि श्रीमती सामन्थासँग म एकपल पनि विछोड नचाहने दसवर्ष विछोड भयो, भारतका दस करोड आदिवासीको आन्दोलनमा सक्रिय सहभागिता गर्न नपाउनु मेरा गुमेका अमूल्य समय थिए ।
जीएन (गोकराकोन्डा नागा) साईबाबाको जन्म भारत आन्ध्र प्रदेशको अमलापुरममा सन १९६७ मा भएको थियो । पाँचवर्षको हुँदादेखि पोलियो पीडामा रहेका साईबाबा ह्वीलचेयरमा स्कुल जान्थे । अमलापुरमको श्री कोनासिमा भानोजी रामर्स (एसकेबीआर) कलेजबाट सर्वोत्तम भएर बीए उत्तीर्ण गरे । हैदरावाद विश्वविद्यालय, हैदरावाद, तेलंगानाबाट अंग्रेजीमा एमए गरे । दिल्ली विश्वविद्यालय, नयाँ दिल्लीबाट सन २०१३ मा पीएचडी गरे अनि दिल्ली विश्वविद्यालयको रामलाल आनन्द कलेजबाट प्राध्यापन पेशामा प्रवेश गरे । धेरै वर्ष प्राध्यापनमा रहेका साईबाबालाई भारत सरकारको निर्देशनमा माओवादी संलग्नताको आशंकामा कलेजले फेब्रुअरी २०२१ मा निष्कासन गर्यो । साईबाबा पेशाले प्राध्यापक, तेलगु, अंग्रेजी र हिन्दीमा उनको दखल थियो । उनको पहिचान प्राध्यापक, प्राज्ञ, मानवाधिकारवादी र लेखकको रूपमा रहेको छ । भारतको प्रसिद्ध जर्नल इकोनोमिक एन्ड पोलिटिकल वीकलीमा उनका लेखहरू प्रकाशनले उनको प्राज्ञिकता बुझ्न सकिन्छ । साईबाबाको सक्रिय जीवन २००३-२०२४ रहेको देखिन्छ । सन २००४ मा उनी विश्व सामाजिक मञ्च (वर्ल्ड सोसल फोरम) मा सक्रिय थिए । सन २००५ मा उनी क्रान्तिकारी लोकतान्त्रिक मोर्चा (रिभोल्युसनरी डेमोक्रेटिक फ्रन्ट) मा आवद्ध भए । साईबाबा सन २००९ मा भारत सरकारको आदिवासी विरोधी अप्रेसन ग्रीन हन्टको प्रतिरोधमा सक्रिय भए । उनी जेलमा रहेको बेला उनी संलग्न रहेका संस्थाहरूले मार्च २९, २०१७ मा साईबाबाको रिहाइका लागि भारत बन्द गरेका थिए जसको प्रभाव महाराष्ट्र, आन्ध्र र छत्तीसगढमा अत्यधिक देखियो ।
शारीरिक रूपले कम्मरमुनिको ९० प्रतिशत अपाङ्ग व्यक्ति एक समय भारत सरकारको मोस्ट वान्टेकको सूचीमा राखिएको थियो । लोकतन्त्रमा विचारको विविधता रहनु स्वभाविक हुन्छ तर साईबाबाको हकमा त्यो देखिएन त्यसैले उनी अन्याय र अत्याचारी व्यवस्था विरुद्ध जीवनभरि लडिरहे । विश्वविद्यालयमा पढाइरहेको बेला उनलाई सादा पोसाकका प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेका थिए । गिरफ्तारीको १० वर्षमा साईबाबालाई आठवर्ष भारतको केन्द्रीय कारागार नागपुरको कुख्यात कोठा (अन्डा सेल) मा कठोर यातनामा राखिएको थियो । जेल जीवनको यातना विरुद्ध साईबाबा अक्टोबर २२, २०२० मा अनशन बसेका थिए । साईबाबालाई सरकारले उनकी ७४ वर्षीय आमा क्यान्सरले पीडित हुँदा भेट्न दिएन र आमाको निधनमा अन्तिम संस्कारमा सामेल समेत गराएन ।
जेल परेपछि धेरै रोगका विमारी साईबाबा उपचारका लागि दसदिन अगाडि हैदरावादको निजाम इंस्टिच्युट अफ मेडिकल साइन्सेज (निम्स) मा भर्ना भएका थिए । उनको पित्तथैलीमा रहेको पत्थर निकाल्न अप्रेसन भएको थियो तर रक्तस्राव नरोकिएर अक्टोबर १२, २०२४ मा उनको निधन भएको पारिवारिक स्रोत श्रीमती सामन्था कुमारी र छोरी मन्जिराले जानकारी सार्वजनिक गरेका थिए । मैले अप्रिल १७, २०२० मा पारिजात, साईबाबा र सरकार अनि अप्रिल १८ मा लकडाउन र सरकारी षडयन्त्र शीर्षकमा साईबाबाबारे मेरो फेसबुक पेजमा पोस्ट गरेको थिएँ । आज जीएन साईबाबाको निधनमा श्रद्धाञ्जलि दिन उनकै उएटा अंग्रेजी कविता नेपालीमा उल्था गरेर राख्न उपयुक्त ठानेको छु ।
I refused to die
When I refused to die
my chains were loosened
I came out
Into the vast meadows
Smiling at the leaves of grass
My smile caused intolerance in them
I was shackled again
Again, when I refused to die
tired of my life
my captors released me
I walked out
into the lush green valleys under the rising sun
smiling at the tossing blades of grass
Infuriated by my undying smile
They captured me again
I still stubbornly refuse to die
The sad thing is that
They don't know how to make me die
Because I love so much
The sounds of growing grass
G N Saibaba
म मर्न मानिन
जब म मर्न मानिन
मेरा बन्धनहरू खोलिए
म घाँसका पातहरू हेरी हाँस्दै
फराकिलो घाँस मैदानमा निस्कें
मेरो हाँसो उनीहरूलाई सह्य भएन
उनीहरूले मलाई फेरि बाँधे
फेरि मैले मर्न अस्वीकार गरें
म मेरै जीवनबाट थाकेको ठानेर
कैद गर्नेहरूले मलाई मुक्त गरी दिए
म बाहिर झुल्के घाममा नुहाएको हराभरा
घाटीतर्फ हिँडे
हाँसेर घाँसका त्यान्द्रा हल्लिएको हेर्ने
मेरो अनुहारमा हाँसो देखेर उनीहरू बहुलाए
उनीहरूले मलाई फेरि कैदी बनाए
म अहिले पनि जबर्जस्ती मर्न अस्वीकार गर्छु
दुखको कुरा के छ भने
उनीहरूलाई मलाई कसरी मार्ने थाहै छैन
किनभने म बढ्दो घाँसको आवाजलाई
धेरै माया गर्छु ।
