मुटुको टुक्रा प्यारो घर प्रणाम सहित संझना, कुशल रहि कुशलताको लागि हाम्रा कुल देवता सहित नवदुर्गा भवानीसँग प्राथना गर्दछु ।
बिशेष कुरा कामको ब्यस्तताको कारण घरमा आई तिमीसँग रहन नसकेको कारण तिम्रो माया र संझना स्वरूप दुई चार शब्द लेख्न गइरहेको छु ।
प्रिय घर तिम्रोबारे केही लेख्ने कोसिस गर्दै गर्दा अनगिन्ती प्रश्नले सताइरहेका छन् । आफू जन्मेको, हुर्केको घरबाट टाढा रहनु पर्दाको पीडा सायद दुई चार शब्दमा के नै सकिन्थ्यो र ? तैपनि तिम्रो संझनामा छट्पटाइरहेको मनलाई केही शान्त पार्न खोजेको छु ।
प्रिय घर ! पत्र लेख्दै गर्दा हातहरु काँपिरहेका छन् । मनमा विभिन्न तरङ्गहरु उत्पन्न भइरहेका छन् । मन अशान्त र भावुक भएको छ । शरीर पसिनाले भिजेको छ ।
प्रिय घर ! ०३१\३२ सालतिर बढो मिहिनेतको साथ तिमीलाई बाबाले निर्माण गरेको कुरा माताजीबाट सुनिरहन्छु । तिमीले हामीलाई हुर्काउन खेलेको भुमिका, तिम्रा दुःख कष्टका ती क्षणहरु सबै जानकारी नै छ । आर्थिक अवस्था कमजोर हुँदा तिमीले धेरै ठूला–ठूला चुनौतीहरुको सामना गरिरहेका थियौ ।
हाम्रो लागि तिमीले गरेको दुःखबारे लेखेर साध्य छैन तर पनि जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई आत्मसात गर्न सक्ने घर तिमी महान छौ प्रिय घर !
तत्कालीन अवस्थामा स्थानीय सामन्त, जाली फटाहाहरुले दिने चुनौतीलाई सामना गर्दै निरन्तर रुपमा आजसम्म तिमी अगाडि बढिरहयौ, तिमी धन्य छौ ।
प्रिय घर ! कोही कसैसँग तिमी झुकेनौ,सतिसालको रुपमा सधै खडा रहँदै अगाडि बढिरहयौ । चारैतिरबाट तिमीलाई आक्रमणको प्रयास नगरेका होइनन् तर तिम्रो अगाडि केही लागेन, यो नै हाम्रो गौरवमय इतिहास हो ।
प्रिय घर ! अहिले दशैं आइसकेको छ । 'कान्छो कताबाट आउँछ ?' भन्दै मलाई हेरेर बसेका हौला । तर, चाहना हुँदाहुदै पनि म आउन सकिनँ । यसको लागि तिमीसँग क्षमाप्रार्थी छु ।
दशैं आउदै गर्दा कमेरो लगाउने, रातो माटोले लिप्ने, पुराना ब्याट्री फोरेर कालो लगाउने गर्दा तिमी कति खुशी हुने गर्थ्यौ ! यो सबै मलाई थाहा छ । प्रिय घर, बिगतको इतिहास मैले कहाँ भुलेको छु र ? मैले त्यो इतिहास भुल्न खोजेर पनि सक्ने छैन । किनभने तिमी मेरो मुटुमा बसेका छौं ।
प्रिय घर ! अहिले सबै वातावरण फेरिएको छ । म तिमीभन्दा धेरै टाढा छु । तिमीले मलाई संझिरहेको पनि थाहा छ । अहिले तिमी झन् दुःखकष्टमा छौ । तिमीलाई माया गर्ने मान्छेहरु थोरैमात्र हुनुहुन्छ । वरिपरिका अरु तिमीजस्तै धेरै घरहरु पनि खाली र एक्लै छन् ।
दशैंको बेला मलाई आयो कि ! भनेर हेरिरहने माइला बा, कान्छो आए त सत्र खेल्न हुन्थ्यो भनेर संझने साइला बा, तलतिर मोति कान्छा बा , पल्तिर दुर्गा दाइ अहिले कोही पनि हुनुहुन्न । वरिपरिका माया गर्ने मान्छेहरु पनि धेरै बसाइँसराइ गरिसक्नुभएको सुनेको छु ।
प्रिय घर ! हामी हुँदा समेत तिमीलाई कति दुःख दिन खोज्दथेँ तर अहिले झन् तिमीलाई कति गाह्रो होला ?
वरिपरि बगैंचाका रहेका फलफूलले कति बाटो हेरेर बसेका होलान् ? कटहर रोइरहेको होला । लौसी, सुन्तला, आँप, आरु, आरुपखरा , नासपति, अम्बा आदिले चौधरेतिर हाम्रो बाटो हेरेर बसेका होलान् ! उनीहरूलाई पनि कति आक्रमण भए होला ? स्यानी चौतारीले कति खोजेको हो ? जुकिया र तिनधाराको पानीले कति सम्झेको होला ?
खोलाखर्क र चौधरेमुनिको घाँसले कति बाटो हेरेको होला ? त्यो फाँटको खेतले कति खोजेको होला ? त्यो हामीलाई हुर्काउने खोरियाको बारी कति आत्तिएको होला ? ती कुटमिरा, दबदय र बडाहरका रुखहरुले कति खोजेका होलान् ? बाटोमा हिँड्दा बस्ने झाँक्रीथानको दिदिको घरले समेत कति सम्झेको होला ?
प्रिय घर ! अहिले म टाढा छु । तिम्रो न लिपपोत छ, न अरु संरक्षण नै भएको छ । कति धेरै रोएका हौला ! कति धेरै निराश भएका हौला! कति धेरै एक्लो महसुस गरेका हौला ? मन कति आत्तिएको होला ? कति आक्रमण सहेका हौला ?
प्रिय घर ! तिमीप्रति यति धेरै माया हुँदाहुँदै पनि छाडेर हिँड्न पर्दाको पीडा र तिमीलाई संरक्षण गर्न नसक्दाको नरमाइलो महसुस भएको छ । सँगै तिम्रो साथमा तिम्रो मायामा रमाउने ईच्छा हुँदाहुँदै विभिन्न कारणहरुले तिमीबाट टाढा रहन पर्यो ।
प्रिय घर ! दशैं आयो भन्छ्न् । समाजमा सबै जना कति रमाएका छन् । घर त जेनतेन यहाँ पनि बनाएको छु तर तिमी नभएको ठाउँमा भएको घरमा मलाई कुनै रमाइलो लागेको छैन ।
अघिपछि दाजुभाई छरछिमेकमा झगडा भएर लामो समयसम्म बोलचाल नै बन्द भएपनि दशैंमा टिका लगाउन गएपछि बोलचाल हुने र फेरि माया सद्भावको नयाँ भावना अगाडि बढ्ने क्षण कति आनन्दमय हुन्थ्यो । सायद दशैंको अर्को महत्त्वपूर्ण बिशेषता यो पनि थियोे ।
प्रिय घर ! तिमीलाई पत्र लेख्दा लेख्दै मलाई झन् भावुक बनायो । झन् भन्दा झन् अप्ठ्यारो महसुस गर्दैछु । घरिघरि सपनामा पनि मेरो घर भनि चिच्याइरहने गरेको छु ।
अहिले त सबैतिर सुनसान भएको देखेको छु । दशैं आयो भनेर चौपारीमा जम्मा भएर बाटोघाटो सरसफाई गरिन्थ्यो । पिङ खेलिन्थ्यो । यी सबै एकादेशको कथाजस्तै भएका छन् । वरिपरि भएका छरछिमेकहरु घरहरुमा पनि जमरा त राख्नु भएको छ होला तर छोराछोरी निकै टाढा छन् । ती बाबा आमाहरुले दहीमा मुछेका राता अक्षता त्यत्तिकै सुक्ने छन् । प्रिय घर, यो पीडा तिमीलाई मात्र होइन, अरु तिमीजस्तै धेरै घरहरूमा पनि छ । धेरै घरहरुको हालत तिम्रो जस्तै छ । मैले सुनेको छु-फल्ला, साँहुधर, छागादी, आखेत, खोरिया थर सबैतिरका घरहरुले समेत आफुलाई संरक्षण गर्ने छोराछोरीको पर्खाइमा रहेका छन् ।
प्रिय घर ! सायद यो पत्र तिम्रो लागि अन्तिम पत्र पनि हुन सक्छ । किनभने मेरो अनुपस्थितमा तिमी अब धेरै समय रहने छैनौं । दशैमा आउन र तिमीलाई संरक्षण गर्न नसकेकोमा म तिमीसँग माफी माग्न चाहन्छु । आशा छ मेरो बाध्यता बुझेर तिमीले मलाई माफ गर्नेछौ । साथै बाटोमा हिँड्दै गर्दा तिम्रो ख्याल गर्ने वरिपरिका छरछिमेक तथा हाम्रा शुभचिन्तकहरुलाई मेरो तर्फबाट बिजया दशमीको शुभकामना र सम्झना सुनाइदिनु ।
उही तिम्रो मान्छे, रामकृष्ण शर्मा, हाल बुटवल ।
(लेखक पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष तथा संचार कर्मी हुन् ।)
