२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
गाउँ सम्झेर

दशैंमा आफु जन्मेको पुर्खेउली घर सम्झेर लेखेको मार्मिक पत्र

दशैंमा आफु जन्मेको पुर्खेउली घर सम्झेर लेखेको मार्मिक पत्र

मुटुको टुक्रा प्यारो घर प्रणाम सहित संझना, कुशल रहि कुशलताको लागि हाम्रा कुल देवता सहित नवदुर्गा भवानीसँग प्राथना गर्दछु ।

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • मुटुको टुक्रा प्यारो घर प्रणाम सहित संझना, कुशल रहि कुशलताको लागि हाम्रा कुल देवता सहित नवदुर्गा भवानीसँग प्राथना गर्दछु ।

    बिशेष कुरा कामको ब्यस्तताको कारण घरमा आई तिमीसँग रहन नसकेको कारण तिम्रो माया  र संझना स्वरूप दुई चार शब्द लेख्न गइरहेको छु ।

    प्रिय घर तिम्रोबारे केही लेख्ने कोसिस गर्दै गर्दा अनगिन्ती प्रश्नले सताइरहेका छन् । आफू जन्मेको, हुर्केको घरबाट टाढा रहनु पर्दाको पीडा सायद दुई चार शब्दमा के नै सकिन्थ्यो र ? तैपनि तिम्रो संझनामा छट्पटाइरहेको मनलाई केही शान्त पार्न खोजेको छु ।

    प्रिय घर ! पत्र लेख्दै गर्दा हातहरु काँपिरहेका छन् । मनमा विभिन्न तरङ्गहरु उत्पन्न भइरहेका छन् । मन अशान्त र  भावुक भएको छ । शरीर पसिनाले भिजेको छ ।

    प्रिय घर  ! ०३१\३२ सालतिर बढो मिहिनेतको  साथ तिमीलाई बाबाले निर्माण गरेको कुरा माताजीबाट सुनिरहन्छु । तिमीले हामीलाई हुर्काउन खेलेको भुमिका, तिम्रा दुःख कष्टका ती क्षणहरु सबै जानकारी नै छ । आर्थिक अवस्था कमजोर हुँदा तिमीले धेरै ठूला–ठूला चुनौतीहरुको सामना गरिरहेका थियौ ।

    हाम्रो लागि तिमीले गरेको दुःखबारे लेखेर साध्य छैन तर पनि जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई आत्मसात गर्न सक्ने घर तिमी महान छौ प्रिय घर !

    तत्कालीन अवस्थामा स्थानीय सामन्त, जाली फटाहाहरुले दिने चुनौतीलाई सामना गर्दै निरन्तर रुपमा आजसम्म तिमी अगाडि बढिरहयौ, तिमी धन्य छौ ।

    प्रिय घर ! कोही कसैसँग तिमी झुकेनौ,सतिसालको रुपमा सधै खडा रहँदै अगाडि बढिरहयौ । चारैतिरबाट तिमीलाई आक्रमणको प्रयास नगरेका होइनन् तर तिम्रो अगाडि केही लागेन, यो नै हाम्रो  गौरवमय इतिहास  हो ।

    प्रिय घर ! अहिले दशैं आइसकेको छ । 'कान्छो कताबाट आउँछ ?' भन्दै मलाई हेरेर बसेका हौला । तर, चाहना हुँदाहुदै पनि म आउन सकिनँ । यसको लागि तिमीसँग क्षमाप्रार्थी छु ।

    दशैं आउदै गर्दा कमेरो लगाउने, रातो माटोले लिप्ने, पुराना ब्याट्री फोरेर कालो लगाउने गर्दा तिमी कति खुशी हुने गर्थ्यौ ! यो सबै मलाई थाहा छ । प्रिय घर, बिगतको इतिहास मैले कहाँ भुलेको छु र ? मैले त्यो इतिहास भुल्न खोजेर पनि सक्ने छैन । किनभने तिमी मेरो मुटुमा बसेका छौं ।

    प्रिय  घर !  अहिले सबै वातावरण फेरिएको छ । म तिमीभन्दा धेरै टाढा छु । तिमीले  मलाई संझिरहेको पनि थाहा छ । अहिले तिमी झन् दुःखकष्टमा छौ । तिमीलाई माया गर्ने मान्छेहरु थोरैमात्र हुनुहुन्छ । वरिपरिका अरु तिमीजस्तै धेरै घरहरु पनि खाली र एक्लै छन् ।

    दशैंको बेला मलाई आयो कि ! भनेर हेरिरहने माइला बा, कान्छो आए त सत्र खेल्न हुन्थ्यो भनेर संझने साइला बा, तलतिर मोति कान्छा बा , पल्तिर दुर्गा दाइ अहिले  कोही पनि हुनुहुन्न । वरिपरिका माया गर्ने मान्छेहरु पनि धेरै बसाइँसराइ गरिसक्नुभएको सुनेको छु ।

    प्रिय घर ! हामी  हुँदा समेत तिमीलाई कति दुःख दिन खोज्दथेँ तर अहिले झन् तिमीलाई कति गाह्रो होला ?

    IMG_20241011_072308.jpg
    undefined



    वरिपरि बगैंचाका रहेका फलफूलले कति बाटो हेरेर बसेका होलान् ? कटहर रोइरहेको होला । लौसी, सुन्तला, आँप, आरु, आरुपखरा , नासपति, अम्बा आदिले चौधरेतिर हाम्रो बाटो हेरेर बसेका होलान् ! उनीहरूलाई पनि कति आक्रमण भए होला ? स्यानी चौतारीले कति खोजेको हो ? जुकिया र तिनधाराको पानीले कति सम्झेको होला ?

    खोलाखर्क र चौधरेमुनिको घाँसले कति बाटो हेरेको होला ?  त्यो फाँटको खेतले कति खोजेको होला ? त्यो हामीलाई हुर्काउने खोरियाको बारी कति आत्तिएको होला ? ती कुटमिरा, दबदय र बडाहरका रुखहरुले कति खोजेका होलान् ? बाटोमा हिँड्दा बस्ने झाँक्रीथानको दिदिको घरले समेत कति सम्झेको होला ?

    प्रिय घर ! अहिले म टाढा छु । तिम्रो न लिपपोत छ, न अरु संरक्षण नै भएको छ । कति धेरै रोएका हौला ! कति धेरै निराश भएका हौला! कति धेरै एक्लो महसुस गरेका हौला ? मन कति आत्तिएको होला ?  कति आक्रमण सहेका हौला ?

    प्रिय घर ! तिमीप्रति यति धेरै माया हुँदाहुँदै पनि छाडेर हिँड्न पर्दाको पीडा र तिमीलाई संरक्षण गर्न नसक्दाको नरमाइलो महसुस भएको छ । सँगै तिम्रो साथमा तिम्रो मायामा रमाउने ईच्छा हुँदाहुँदै विभिन्न कारणहरुले  तिमीबाट टाढा रहन पर्यो ।

    प्रिय घर ! दशैं आयो भन्छ्न् । समाजमा सबै जना कति रमाएका छन्  । घर त जेनतेन यहाँ पनि बनाएको छु तर तिमी नभएको ठाउँमा भएको घरमा मलाई कुनै रमाइलो लागेको छैन ।

    अघिपछि  दाजुभाई छरछिमेकमा झगडा भएर लामो समयसम्म बोलचाल नै बन्द भएपनि दशैंमा टिका लगाउन गएपछि बोलचाल हुने र फेरि माया सद्भावको नयाँ भावना अगाडि बढ्ने क्षण कति आनन्दमय हुन्थ्यो । सायद दशैंको अर्को महत्त्वपूर्ण बिशेषता यो पनि थियोे ।

    प्रिय घर ! तिमीलाई पत्र लेख्दा लेख्दै मलाई झन् भावुक बनायो । झन् भन्दा झन् अप्ठ्यारो महसुस गर्दैछु । घरिघरि सपनामा पनि मेरो घर भनि चिच्याइरहने गरेको छु ।

    अहिले त सबैतिर सुनसान भएको देखेको छु । दशैं आयो भनेर चौपारीमा जम्मा भएर बाटोघाटो सरसफाई गरिन्थ्यो । पिङ खेलिन्थ्यो । यी सबै एकादेशको कथाजस्तै भएका छन् । वरिपरि भएका छरछिमेकहरु घरहरुमा पनि जमरा त राख्नु भएको छ होला तर छोराछोरी निकै टाढा छन् । ती बाबा आमाहरुले दहीमा मुछेका राता अक्षता त्यत्तिकै सुक्ने छन्  । प्रिय घर, यो पीडा तिमीलाई मात्र होइन, अरु तिमीजस्तै धेरै घरहरूमा पनि छ । धेरै घरहरुको हालत तिम्रो जस्तै छ । मैले सुनेको छु-फल्ला, साँहुधर, छागादी, आखेत, खोरिया थर सबैतिरका घरहरुले समेत आफुलाई संरक्षण गर्ने छोराछोरीको पर्खाइमा रहेका छन् ।

    प्रिय घर ! सायद यो पत्र तिम्रो लागि अन्तिम पत्र पनि हुन सक्छ । किनभने मेरो अनुपस्थितमा तिमी अब धेरै  समय रहने छैनौं । दशैमा आउन र तिमीलाई संरक्षण गर्न नसकेकोमा म तिमीसँग माफी माग्न चाहन्छु । आशा छ मेरो बाध्यता बुझेर तिमीले मलाई माफ गर्नेछौ । साथै बाटोमा हिँड्दै गर्दा तिम्रो ख्याल गर्ने वरिपरिका  छरछिमेक तथा  हाम्रा शुभचिन्तकहरुलाई मेरो तर्फबाट  बिजया दशमीको शुभकामना र सम्झना सुनाइदिनु ।

    उही तिम्रो मान्छे, रामकृष्ण शर्मा, हाल बुटवल ।


    (लेखक पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष तथा संचार कर्मी हुन् ।)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij