२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • विचार
  • बहस दशैं : ‘कम्युनिस्टहरु पनि रुढीवादी...
दशैं बहस

बहस दशैं : ‘कम्युनिस्टहरु पनि रुढीवादी भए’

बहस दशैं : ‘कम्युनिस्टहरु पनि रुढीवादी भए’

परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ। संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन।

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ। संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन। संस्कृति तत्कालीन समाजको आवश्यकताअनुसार पैदा भएको हुन्छ। समाज विकासका क्रममा जुन वस्तुगत जीवनको विकास हुन्छ, त्यसले नयाँ संस्कृतिको माग गर्दछ। पछौटे चेतना भएका मान्छे पुरानै चेतनामा रहन चाहन्छन्, अग्रगामी विचार भएकाले नयाँ र वैज्ञानिक संस्कृति निर्माण गर्न चाहन्छन्।

    वस्तुगत आवश्यकताअनुसार नयाँ संस्कृति बनाउन चाहने र पुरानै चाहिराख्नेबीच टक्कर हुन जान्छ। पुरानो संस्कृति भत्काएर नयाँ निर्माण गर्न सुरु गर्दा दुई संस्कृतिबीच टक्कर भएके छ। त्यस्तो ठाउँमा नयाँ संस्कृति अभिव्यक्त भएको छ। यो जीवनवादी र वैज्ञानिक संस्कृति हो। यो आवश्यक छ र अनुकरणीय पनि छ।

    पुरानो संस्कृति मान्नेलाई घृणा मात्र गर्नु हुँदैन। हामीले आक्रामक बनेर मात्र हुँदैन। रूपचन्द्र बिस्ट ‘अवसर नपाएर इमानदार बनेका भातेहरू’ भन्थे। त्यस्तो गर्नु भएन। नसकेर सहिदिएको जस्तो पनि गर्नु भएन। आफ्नो विचारमाथि वा कार्यक्रममाथि हमला गर्लान् भनेर अर्को विचार र संस्कृति भएकालाई नबोलाउने होइन। मानौँ, अहिले पुरानो संस्कार र संस्कृति मान्नेहरू बलिया छन् रे। हामी पनि भोलि बलिया भयौँ भने हामीले पनि हमला गरे भयो नि त। त्यस्तो गर्नु हुँदैन।

    संस्कृतिमा अरूलाई आक्रामक तरीकाले हमला गरेर जाने तरिका हामीले सोच्नु हुँदैन। नयाँ संस्कृतिको कुरा गर्दा पुरानोको विकल्प दिनुपर्छ भन्नु सही हो। तर पुरानो संस्कृति पनि त्यसै बनेको होइन। अहिले जुन आचरण र व्यवहार छन्, ती एकाएक बनेका होइनन्। नयाँ संस्कृति पनि एकाएक बन्दैन र यो घोषणा गरेर मात्र हुने विषय पनि होइन। हामीले गर्दैगर्दै जाँदा यो बिस्तारै सूत्रबद्ध हुँदै जान्छ र निश्चित समयमा यसलाई लिपिबद्ध गर्न सकिन्छ। अहिले नै लेखिहाल्ने, पंक्तिवद्ध गराइहाल्ने र थालिहाल्ने कुरा सही हुन सक्दैन। तत्काल त्यसो गर्न लगियो भने प्रत्युत्पादक हुन्छ।

    कम्युनिस्ट आन्दोलनमा संस्कारका रूपमा केही रूढीहरू पनि छन्। जस्तै, जनवादी बिहे भन्ने तर छोरीलाई दाइजो पनि नदिने र अंश पनि नदिने। छोरीलाई दाइजो दिनुपर्छ भनेर कयौं मान्छेले कम्युनिस्टले गर्ने गरेको जस्तो प्रगतिशील बिहे गर्ने अनि दाइजो पनि नदिने, सम्पत्ति पनि नदिने गरेका छन्। त्यो ठीक होइन।

    प्रगतिशील विवाह भनेको त जनवादी राज्यसत्ताले माग गरेको प्रणाली हो। यसमा त पहिला केटा र केटीबीच प्रेम हुनुपर्यो। छोरीलाई अंश दिएको हुनुपर्यो। विचारमा समानता हुनुपर्यो। पण्डित बाजे र लमीको सट्टा कम्युनिस्ट पार्टीको एउटा नेता लमी बन्छ। बिहे हुन्छ अनि जनवादी बिहे भनिहाल्ने, यस्तो हुँदैन। यस्ता थुपै्र रूढीहरू छन्। यस विषयमा अलि लामो छलफल चलाउनुपर्छ।

    जनवादी बिहेको कुरा गर्दा पनि कम्युनिस्टको जीवन त मलामीको यात्रा होइन होला नि। त्यसकारण बिहे त रमाइलो हुनुपर्यो नि। प्रगतिशील बिहे पनि रमाइलो हुनुपर्यो, नाच्नुपर्यो, सम्भव छ भने मीठो खानु पनि पर्यो। बाजासाजा हुनुपर्यो। भैँसीले त म्युजिक बजाएपछि बढी दूध दिन्छ भन्ने अनुसन्धान भइरहेको समयमा हामीकोमा एउटा बाजा पनि हुनु नपर्ने। खगेन्द्र सङ्ग्रौलालाई प्रमुख अतिथि राखेर प्रगतिशील बिहे गर्ने अनि घर लगेर सिन्दुर लगाइदिने, यस्तो पनि भइरहेको छ प्रगतिशील भन्ने बिहे प्रणालीमा। यस्तो हुनु हुँदैन। बिहे भन्ने चीज थोरै त रमाइलो पनि हुनुपर्छ।

    उता शोक कार्यक्रमहरू पनि शोक जनाउने किसिमका हुनुपर्यो। मान्छे मर्दा थुप्रै मान्छे रुनुपर्यो। हो, श्रद्धाञ्जली भनेपछि शोकमग्न वातावरण हुनुपर्यो। जस्तै, रातो वा रंगीचंगी भनेको रमाइलो हो भने सेतो लगाएर कपाल फिँजाएर बस्दा नरमाइलो हुने भयो। किरिया बस्ने चलन त्यसरी पो आएको हो कि। के हो त शोक मनाउने भनेको ? हामी हाम्रा अग्रजहरूलाई सम्झेर शोक मनाउँछौं। पछि वर्गसंघर्षका क्रममा शासकहरूले आफ्नो अनुकूलमा गरुडपुराणसम्म ल्याइदिए। शोक मनाउन हामीले नयाँ चलन चलाउनुपर्यो।

    जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ। कतिपयलाई झण्डासम्म ओढाउँथ्यौँ। सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गर्थ्याैं। त्यसकारण तत्कालीन अवस्थामा जे गर्दाखेरि वातावरण शोकमग्न हुन्छ, त्यही गर्ने हो।

    संस्कार र संस्कृति परिस्थितिसापेक्ष हुन्छ। साझा जीवनले साझा संस्कृति पैदा हुने हो। समग्रमा अन्धविश्वासी-रूढीवादी परम्परा र अवैज्ञानिकताका विरुद्ध वैज्ञानिकताका पक्षमा बहस आरम्भ हुनु राम्रो हो। यसलाई अभियानका रूपमा लैजानुपर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij