झोलामा आफ्नो तौलभन्दा धेरै
किताब र कापी बोकेका
ए प्रिय, नानीबाबुहरू !
झोलाको आफ्नो उचाइँभन्दा
अग्लो छ–सपनाको उचाइँ
लामो छ–किताबको यात्रा
नानीबाबुहरू !
किताब र कापीका पन्नाहरूमा
आमाको निधारबाट बगेको पसिना
र बुवाको पाइतलाका डोबहरूले
लेखिएका छन् ठूला अक्षरहरू
ए प्रिय, नानीबाबुहरू !
झोला च्यातिनु जीवन च्यातिनु होइन
चप्पलको टुना चुड्नु सपना चुड्नु होइन
नानीबाबुहरूले देख्नुपर्छ
ढुङ्गाको कापमा फूलेको फूल
र इतिहासमा लेख्नुपर्छ
कहिल्यै नमेटिने जीवनका अक्षरहरू ।
(लालदिशा, अंक ४, २०८१ असार-भदौमा प्रकाशित)
