२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

तीन वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल पुरस्कार

तीन वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल पुरस्कार

सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उनीहरूलाई मेटल अर्गानिक फ्रेमवर्कको विकासमा दिएको योगदानको लागि प्रदान गरेको जनाइएको छ ।

    के हो उनीहरूको योगदान ?

    उनीहरूले ग्यास तथा अन्य रसायनहरू सजिलै प्रवाह गर्न सक्ने ठूला खाली ठाउँ भएको अणु संरचना निर्माण गरेका हुन् । यी संरचनाहरूलाई मेटल–अर्गानिक फ्रेमवर्क (एमओएफ) भनिन्छ, जसको प्रयोग गरेर मरुभूमिको हावाबाट पानी संकलन, कार्बन डाइअक्साइड संकलन, विषालु ग्यास भण्डारण वा रासायनिक प्रतिक्रिया प्रवर्द्धन गर्न सकिन्छ । कितागावा, रोबसन र यागीले अणुहरूको नयाँ प्रकारको संरचना विकास गरेका छन् ।

    उनीहरूले बनाएका संरचनामा धातु आयनहरू ‘कर्नर स्टोन’ (मुख्य आधार) को रूपमा प्रयोग हुन्छन्, जसलाई लामो अर्गानिक (कार्बन आधारित) अणुहरूले जोडिएका हुन्छन् ।

    धातु आयन र अर्गानिक अणुहरू मिलेर ठूलो खाली ठाउँ भएको क्रिस्टल संरचना बन्छन्। यी छिद्रपूर्ण पदार्थहरूलाई नै मेटल–अर्गानिक फ्रेमवर्क भनिन्छ ।

    एमओएफ निर्माणमा प्रयोग हुने आधार ब्लक परिवर्तन गरेर वैज्ञानिकहरूले विशेष पदार्थहरूलाई सजिलै समात्ने वा भण्डारण गर्ने क्षमता भएको संरचना बनाउन सक्छन् । ‘

    यिनै एमओएफले रासायनिक प्रतिक्रिया अगाडि बढाउन वा बिजुली प्रवाह गर्न पनि सक्दछन् । रसायनशास्त्र नोबेल समितिका अध्यक्ष हेइनर लिंके भन्छन्, ‘मेटल–अर्गानिक फ्रेमवर्कहरूले विशाल सम्भावनाहरू बोकेका छन्, जसले नयाँ कार्यक्षमता भएका सामग्रीहरू तयार गर्ने अकल्पनीय अवसर खोलिदिएका छन् ।’

    सन् १९५१ मा जापानमा जन्मिएका कितागावा क्योतो युनिभर्सिटी जापानका प्राध्यापक हुन् । सन् १९३७ मा बेलायतमा जन्मिएका रोबसन युनिभर्सिटी अफ मेलबर्न अस्ट्रेलियामा प्राध्यापन गर्नछन् । याघी भने सन् १९६५ मा जोर्डनमा जन्मिएका हुन् । उनी युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापन गर्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij