विश्वका २८ वटा देश र १५ वटा राज्य गरी ४३ देश÷राज्यमा अहिले पनि राजतन्त्र छ । जसमध्ये १३ एशियामा, ११ युरोपमा, ९ अमेरिकामा, ६ ओसियानियामा र ३ अफ्रिकामा रहेका छन् । यी देश वा राज्यहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजाले आफ्नो हुकुमी शासन चलाइरहेका छन् ।
राजाले शासन चलाएका ती २८ देशहरु हुन्–बेलायत, साउदी अरब, कुवेत, कतार, युएई, स्वीजरल्यान्ड, ब्रुनाई, ओमान, बहराइन, जोर्डन, मोरक्को, भ्याटिकन सिटी, मोनाक्को, थाईल्यान्ड, लिचेन्स्टाईन, टोङ्गा, भुटान, नर्वे, स्विडेन, नेदरल्यान्डस्, स्पेन, ग्रिनल्यान्ड, लक्जेम्बर्ग, बेल्जियम, लेजोथो, कम्बोडिया, मलेशिया, जापान ।
राजतन्त्र पुनरस्थापनाको इतिहास
१. इङ्ग्ल्याण्ड (१६६०) : १६४९ मा राजा चाल्र्स प्रथमको मृत्युदण्डपछि इंग्ल्याण्डमा ओलिभर क्रोमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । क्रोमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चाल्र्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो । यो घटनालाई इतिहासमा ‘द रेस्ट्रोरेसन’ (पुनरस्थापना) भनेर चिनिन्छ ।
२. फ्रान्स (१८१४–१८३०) : फ्रान्सेली क्रान्ति (१७८९–१७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८ औंलाई गद्दीमा पुनरस्थापना गरियो । सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे (१०० दिन), तर वाटरलू युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो । बोर्बन राजवंश १८३० मा समाप्त भयो,जब राजा चाल्र्स १० औंलाई क्रान्तिबाट हटाइयो ।
३. स्पेन : सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तर १८७४ मा राजा अल्फोन्सो १२ औंलाई पुनः सिंहासनमा राखेर राजतन्त्र पुनरस्थापना गरियो । सन् १९३१ मा पुनः गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो १३ औं निर्वासनमा जान बाध्य भए । तानाशाह फ्रान्सिस्को फ्राङ्कोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो ।
४. कम्बोडिया : सन् १९७० मा कम्बोडियामा गणतन्त्र लागू गरियो र राजा नोरोडोम सिहानुक पदच्युत भए । १९७५–१९७९ को खमेर रूज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नोरोडोम सिहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनरस्थापना गरियो ।
राजतन्त्र पुनरस्थापना गर्ने असफल प्रयास
सोभियत संघको पतनपछि, बुल्गेरिया, रोमानिया, र सर्बियामा राजतन्त्र पुनरस्थापना गर्ने प्रयास भएपनि सफल हुन सकेनन् । बुल्गेरियामा पूर्वराजा सिमेअन द्वितीय २००१–२००५ सम्म प्रधानमन्त्री बने तर उनले राजतन्त्र फर्काउन सकेनन् । रोमानिया र सर्बियामा पनि राजतन्त्र पुनरस्थापना प्रयास भए, तर सफल भएनन् । इटली, अफगानिस्तान, ईरानमा सफल भएनन् ।
राजतन्त्र अन्त्यको दुखान्त इतिहास
१. बेलायत : बेलायतका राजा चाल्र्स प्रथमलाई ३० जनवरी १६४९ मा बन्चरोले काटेर मारियो ।
२. फ्रान्स : १४ जुलाई १७८९ फ्रान्सेली जनताले लुइँ सोहौंको अत्याचार विरुद्ध फ्रान्सेली जनताले आन्दोलन गरेपछि संवैधानिक राजतन्त्र मान्न तयार भए तर जुन १७९१ मा लुई स्रोह्रौँ वैदेशिक सहयोगमा पुनः शक्तिशाली राजा हुन खोजे । उनलाई पक्राउ गरी देशद्रोहको मुद्दा लगाइयो । १० अगस्ट १७९२ मा फ्रान्सलाई गणतन्त्र घोषणा गरियो र फ्रान्सको राजतन्त्रलाई सधैँका लागि बिदा गरेको घोषणा गरे । लुई स्रोह्रौँले संविधान मातहत बस्न अस्वीकार गरेर पुनः सर्वाधिकार सम्पन्न सत्तामा स्थापित हुन खोजेपछि २१ जनवरी १७९३ मा देशमा गणतन्त्रलाई मासेर तानाशाही शासन ल्याउन खोजेको अभियोगमा जिलोटिनमा राखेर लुई स्रोह्रौँको घाँटी काटियो ।
३. रूस : सन् १९१७ मा रुसमा तीन सय वर्ष पुरानो रोमानोभ राजवंशको नेतृत्व गरेका निकोलस द्धितीयको राजशाही अन्त्य भएर रुस गणतन्त्र प्रवेश ग¥यो । भ्लादिमिर लेनिनले नेतृत्व गरेको बोल्सेविक पार्टीले अक्टोबर १९१७ मा अन्तरिम सरकारलाई खारेज गर्दै रुसमा कम्युनिस्ट सत्ता स्थापित ग¥यो । तर त्यहाँ राजतन्त्रको अवशेष बाँकी थियो, पूर्वराजा निकोलस–द्वितीयलाई ल्याएर फेरि राजाका रूपमा स्थापित गर्न खोजियो । तर, उनीहरूको यो प्रयास सफल हुन सकेन । जुलाई १९१८ मा निकोलस द्वितीय र उनको सम्पूर्ण परिवारलाई बोल्सेभिकहरूले एकातेरिनवर्गमा गोली हानेर मारिदिए ।
त्यस्तै सन् १८११ मा आफैँलाई राजा घोषणा गरेका हाइटीका राजा हेनरी क्रिस्टोफलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले मृत्युदण्डको सजाय पाउनुअघि नै आत्महत्या गरे । मेक्सिकोका राजा मेक्सिमिलन प्रथमलाई १९ जुन १८६७ गोली हानेर मारियो । पहिलो विश्वयुद्धपछि सत्ताच्युत गरिएका जर्मनी, अस्ट्रिया र अत्तोमन साम्राज्य (हालको तुर्किए)का राजपरिवारहरू कहिले पनि देश फर्किन नपाउने गरी देश निकाला गरिए ।
चीनका अन्तिम सम्राट् पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबारको नजिकको बगैँचामा माली बनाइयो । उनले बाँकी जीवन मालीको काम गरेरै बिताए । दोस्रो विश्वयुद्धपछि सत्ताच्युत गरिएका इटालीका राजा पनि कहिल्यै देश फर्किन नपाउने गरी देश निकाला गरिए । इराकमा राजपरिवारको हत्या गरियो । इथियोपियामा सम्राट् हैली सिलासिको हत्या भयो । इजिप्ट, लिब्या, अफगानिस्तान र इरानका जनताले कहिल्यै पनि देश फर्किन नपाउने गरी राजालाई देश निकाला गरे ।
