‘नाँच–नाँच भनी फकायौं,
एकैछिनमा नाचेर थकायौं !’
यो गीत एकाविहानै जंगलभित्र गुन्जिरहन्छ । सयौंका हुल विहानको झिसमिसे उज्यालो नहुँदै जब उकालो चढ्छन्, जंगलभित्रको चिस्यान र मन्द अँध्यारो छिचोल्दै केही मिनेट उकालो चढेपछि आ–आफ्नै सुरतालमा कोही हातगोडा तन्काउन सुरु गर्छन् । कोही घाँटी फुलाएर बेस्सरी चिच्याउँन थाल्छन् । युवाहरु लाहुरे बन्न डोको बोकेर दौडिन्छन् । कोही बुर्लुक्क–बुर्लुक्क उफ्रिन्छन् र म्युजिकको तालमा पसिनाले लुछुप्प भिज्दै छमछमी नाँच्न थालिहाल्छन् ।
यो दृश्य बुटवलस्थित हिलपार्कको हो । हरेक विहान यही दृश्य दोहोरिहन्छ हिलपार्क डाँडामा । डाँडापाखैभरि मान्छेको भीडभाड र डाँडामा खचाखच नाँच्नेहरुको भीड हेर्दा साँच्चिकै रोचक लाग्छ । तर यी भीडभाड कुनै वनभोज वा 'कन्सर्ट'को नभई शारिरीक स्वस्थ्य रहनका लागि ‘मर्निङवाक’ गर्नेहरुको भीडभाड हो । प्रत्येक दिन बुटवलवासीहरु हिलपार्क डाँडामा पुग्ने गर्छन् र यसरी नै गीतमा छमछमी नाँच्छन् ।
बुटवलका सामान्य मजदुरदेखि विशिष्ट मान्छेहरुलाई समेत प्रत्येक विहान एकपटक हिलपार्क डाँडामा नपुगी नहुने ‘लट’ बसेको छ । बुटवलको उखरमाउलो गर्मी, मुसलधारे बर्षात्को समयमा छाता ओढेर होस् वा मुटु नै हल्लाउने जाडोको मौसममा मुखबाट धुवा उडाउँदै किन नहोस् ! बाह्रैमास बुटवलबासीलाई हिलपार्कको डाँडाले उकालो चढाइरहेको छ ।
आफ्नो विहानको नियमित कर्म सकेपछि नाँचिरहेको छेवैमा बसेर सुरुप्प जडीबुटी घुलित चिया पिउँछन् र उज्यालोका प्रकाशहरु सालका पातहरुमा नछिटरिदै आ–आफ्नो घरमा फर्की सक्छन् । यो हिलपार्क डाँडामा ‘मर्निङ वाक’ गर्नेहरुको नियमित दैनिकी हो । नेपाल मगर संघकी लक्ष्मी थापा मगरले जडीबुटी चिया बेचेर मर्निङवाकवालाहरुलाई सेवा दिदै आइरहेकी छन् । उनी भन्छिन्, ‘हिलपार्कमा विहान नियमित ३ सयभन्दा बढी मर्निङवाक आउँछन् । हिलपार्क भर्खरका युवादेखि बृद्धहरुको व्यायम स्थल बनेको छ ।’
स्वस्थ्य जीवन बाँच्नका लागि मर्निङवाक आवश्यक छ । शारिरीक रोगी बुढाबुढीहरुका लागि मर्निङवाक गर्न हिलपार्क राम्रो ठाउँ भएको छ । विहानको स्वच्छ अक्सिजन लिँदा स्वास्थ्यलाई फाइदा नै हुन्छ ।
हिलपार्क प्राकृतिक र पर्यावरणीय दृष्टिले सुन्दर ठाउँ त हुँदै हो, त्यहाँका दर्जनभन्दा बढी मूर्तिका कलाकृतिहरु त्यहाँको थप सौन्दर्य र आकर्षणको केन्द्र बनेको छ । कलाकार अरनिकोको र वरिष्ठ समाजसेवी मनवीर गर्बुजा मगरको मूर्ति समेत रहेको छ । हिलपार्क ‘टिनएजर’हरुका लागी समवयी प्रेमको आकर्षक ‘स्पट’ त बनेकै छ, त्यो भन्दा बढ्ता विभिन्न रोगहरुले आक्रान्त बुटवलवासीहरुका लागि स्वस्थ्य हुने एउटा खुल्ला ‘फिजियोथेराफी स्पट’ समेत बनेको छ ।
बुटवल उपमहानगरपालिका र हिलपार्क परिषदको व्यवस्थापनमा निर्माण यो क्षेत्र पर्यटकहरुका लागि आकर्षणको केन्द्र पनि बन्दै गइरहेको छ । त्यहाँ हुने छिटपुट विकृतिहरुलाई रोक्न सक्यो भने हिलपार्कको गरिमा अझ बढ्न सक्छ ।
-(हिलपार्कमा पुगेर फर्किएपछि)
