नेकपा स्थायी समिति सदस्य तथा जेल ब्रेकर उमा भुजेलको नयाँ पुस्तक ‘विचार संश्लेषण’ प्रकाशित भएको छ । पुस्तकमा भुजेलले विचार, अर्थनीति, राजनीति, संगठन, सत्ता र संस्कृतिका क्षेत्रमा आफ्ना विचार प्रस्तुत गरेका छन् । पुस्तकमा नेकपाले उठाएको विचार संश्लेषणको प्रस्तावलाई मुख्य जोड दिइएको छ । विचार संश्लेषण निकै महत्वको बिषय भएरपनि यसबारे सर्वत्र बहस हुन सकेको छैन । अर्थात् त्यतातिर कम ध्यान गएको देखिन्छ ।
विचार संश्लेषणको प्रश्नलाई पुरानै तरिकाले गर्नुहुँदैन । यो प्रस्तावलाई पार्टीको आन्तरिक बिषय मात्र नबनाएर खुला रुपले कम्युनिस्ट आन्दोलनको बिषय बनाउनुपर्छ । अर्थात् सर्वत्र बहसको बिषय बनाउनुपर्छ । यसो गर्न सकियो भने कम्युनिस्ट आन्दोलनलाई अगाडी लैजान यो नयाँ क्रान्तिको प्रस्ताव बन्न सक्दछ । त्यसका लागि यो पुस्तकको महत्व रहेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा विचार निर्माणको समस्या छ । विचार निर्माणको स्कूल जडसुत्रीय र संशोधनवादी छ । यी दुवै खराब स्कूल हुन् । जसका कारण एकथरी कम्युनिस्ट पार्टी संगठनमा खुम्चिदै जाने र अर्को थरी संसदवादमा डुबिरहेका छन् । विचारको संश्लेषण गर्न सर्वप्रथम विचारको निर्माण गर्न जरुरी छ । विचारको निर्माण माक्र्सवादको आधारभूत जगमा मात्रै हुन्छ । माक्र्सवादका सैद्धान्तिक पक्षलाई अवमूल्यन गरेर वा पुरानो भयो भने विचार निर्माण हुँदैन । यो पुस्तकले विचार संश्लेषण गर्न विचार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ । विचार निर्माणको वैचारिक जगको भूमिका खेल्नेछ ।
विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा विचार संश्लेषणको बहस हुँदै आएका छन् । पेरुमा कमरेड गोञ्जालोको पार्टीले ‘गोञ्जारो विचारधारा’, कोरियामा किम इल सुङको ‘जुछे विचारधारा’, चीनमा ‘माओ विचारधारा’ र रिमले संश्लेषण गरेको ‘माओवाद’ आदि रहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिकाले ‘न्यु सेन्थेसिस’को बहस चलाएको छ ।
नेपालमा तत्कालीन नेकपा एकता केन्द्रले २०४८ मा ‘माओवाद’ र ‘माओ विचारधारा’को बहस चलाएको थियो । तत्कालीन नेकपा माओवादीले २०५७ सालमा ‘प्रचण्डपथ’ संश्लेषण गरेको थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादको संश्लेषण सबैभन्दा महत्वपूर्ण रहेको छ । प्रचण्डपथ विचार संश्लेषण आज संसदवादको चास्नीमा डुबेर सुन तस्कर गरिरहेको छ ।
माक्र्सवाद कार्ल माक्र्सको विचारको वैज्ञानिक संश्लेषण थियो । माक्र्सवादलाई रुसीभूमिमा प्रयोग गर्दा ‘लेनिनवाद’को विचार संश्लेषण भएको थियो । १९०५ देखि सुरु भएको रुसी क्रान्ति १९१७ मा पुगेर लेनिनवादको संश्लेषण अक्टोबर क्रान्तिले गरेको थियो । १९२१ देखि १९४९ सम्म चीनमा माक्र्सवाद लेनिनवादको प्रयोग गरेपछि विश्वका क्रान्तिकारीहरुले ‘माओवाद’को वैचारिक संश्लेषण गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सन् १९४५ को सातौं महाधिवेशनले नै ‘माओ विचारधारा’ पारित गरेको थियो । अन्य मुलुकको हकमा पनि त्यसरी नै भएको थियो । अहिले संशोधनवादीहरुले चीनमा 'सी जिङ पिङ विचारधारा' र रुसमा 'पुटिन विचारको बहस' चलाइरहेका छन् । यसलाई एकथरी संसदवादी कम्युनिस्टहरुले क्रान्तिकारी विचारधारा समेत भन्दै आएका छन् । कुनै पनि विचारको संश्लेषण क्रान्तिले गर्दै आएको छ । नेपालमा पनि यो साँचो हो कि विचार संश्लेषण क्रान्तिले नै गर्नेछ ।
नेपालमा नेकपाको नवौं महाधिवेशनले दर्शनशास्त्र, अर्थशास्त्र, संगठन र संस्कृतिको क्षेत्रमा नयाँ बहसको प्रस्ताव गरेको छ । कमरेड उमा भुजेलको यो पुस्तकको मुख्या सार यसैमा केन्द्रीत छ । पुस्तकमा १७ वटा विचार केन्द्रीत लेखहरु रहेपनि यसको मूल लेख ‘विचार संश्लेषण : समकालीन युगबोध’ शीर्षकमा रहेको छ । उक्त शीर्षकमा विचार संश्लेषणको इतिहास, अन्वेषणको अनिवार्यता, संश्लेषणका क्षेत्रहरु, द्धन्द्धवाद, अनिश्चयको सिद्धान्त, रक्षा र विकास, भूमण्डलीकृत साम्राज्यवाद, अर्थ–राजनीति, संगठन र सत्ताको प्रश्न र संस्कृति आदि उपशीर्षकमा विमर्श प्रस्ताव गरिएको छ ।
पुस्तकमा नेकपा महासचिव विप्लवले पुँजीवादीहरु संकटमा डुब्दै गर्दा पनि टिक्न किन सफल भएका छन् ? कम्युनिस्टहरु वैज्ञानिक विचारमा भएर पनि किन सफल भएका छैनन् भन्ने सन्दर्भमा विचार संश्लेषणको महत्व रहेको बताएका छन् । नेकपाका स्थायी समितिका सदस्य अनिल सीले पार्टीले संश्लेषणको कामलाई कार्यसूचीमा राख्नासाथ प्रकाशित यो पुस्तक नयाँ गोरेटो कोर्न प्रयत्न भएको बताएका छन् । पुस्तकमा माओवादको वैचारिक आदर्श, निष्ठा र विचार परित्याग गरिसकेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईको भूमिका समेत राखिएको छ ।
पुस्तक जनप्रचार तथा प्रकाशन प्रालिले प्रकाशन गरेको छ भने यसको मूल्य ५५० र पृष्ठ संख्या १८८ रहेको छ ।
