पुज्जनिय माता ,
मेरो आमालाई सम्बोधन गर्न योग्य शब्द कुन शब्दकोषमा होला र खै !
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः
नास्ति मातृ समं त्राणं नास्ति मातृसमा प्रिया ।।
( There is no shade like a mother, no shelter like a mother, no security like a mother, no other ever giving fountain of life.)
गृह विज्ञानमा स्नाकोत्तर गरेकी मेरी आमालाई परिवारको फुलवारीमा चार्डपर्वहरुमा नदेख्दा म स्यंमलाई नै नजिकबाट एम्बुसले चिमोटिरहेको जस्तो लागिरहन्छ ।
संसारको पवित्र र स्वतन्त्र स्थान आमाको काख जति रोगले ग्रसित हुँदा समेत अविचलित ,अविच्छिन्न ,आध्यात्मतर्फको नित्य कर्म जस्ता सदाचारी गुण परिवारको निरन्तर सत्कर्मको मार्गमा डोर्याउदा डोर्याउदै
संसारबाट विदा लिनुपर्ने कस्तो विडम्बना !
नमिठो पललाई स्वीकार गरेर कानुनको कठघरामा उभिएको निर्दोष गुलामी जसरी सहनुपर्ने !
बुढेसकालमा बुढा बाबा ,आमा तोते बोल्ने छोरा, प्यारी श्रीमती छोडेर मुग्लान पसेका कयौं युवाहरु बाबा आमाको अन्तिम स्वासमा
काख मा झम्टिएर धित मारेर
रुन ,अन्तिम संस्कार गर्न समेत नपाएर
छट्पटीएका तमाम युवाहरु को हर्दयको भावना बुझ्ने कस्ले ?
पकुवा खाँदै, मुख हेर्दै, निधारमा टीका लगाइदिने त्यो हात आज छैन। म टाढा छु — परदेशको कुनै कुनामा। जीवनका सपनाहरू बोकेर पैसा कमाउन आएकै बेलामा, आमाले छाडेर जानुभयो।
धेरै कुरा सम्झन्छु अहिले। सानो छँदा स्कुल नजान मिहिनेत गर्दा गरेको अभिनय, रुनु, बिरामी भएको बहाना, स्कुलबाट घर आउँदा आमाको हातको खाजा खान पाउँदा पाएको खुशी। बिहान उठेर आमा भान्सामा झोल बनाइरहनुभएको आवाज, काम बिगार्दा बाबाको रिसबाट बचाउन आमाले अगाडि अडिएका ती पलहरू — ती सब आज मानसपटलमा चलचित्र जस्तै घुमिरहेका छन्।
परदेश आइपुगेपछि आमाको मायाको भोक अझ बढेर गयो। मोबाइलको स्क्रिनमा देखिने मुस्कानमा तृप्ति लिन थालेँ। पैसा कमाएर घर फर्कंदा आमालाई सुनौलो गहना किनिदिन्छु भनेर बाचेँ। तर के थाहा थियो, त्यो सपना मेटिएर जान्छ भनेर!
आज मुख हेर्ने दिन — न टिका, न मिठो खाजा। केवल सम्झनाहरू छन्। त्यही गन्ध, त्यही बोली मनमा गुन्जिरहन्छ।
"खान थालि हाल छिट्टै सेलाउला
त्यो आवाज अब सुन्न पाउने छैन।
आफ्ना सपना साकार पार्न विदेशिएका हजारौं छोराहरू जस्तै, म पनि फर्किन नपाउँदै आमालाई गुमाएँ। अनि बाँकी जीवन आमाको सम्झनामा मात्र बिताउन बाँकी रह्यो।
कहिलेकाहीँ लाग्छ — सपना त पैसा नभए पनि बाँचिन्थ्यो होला। आमा भने सधैंसँग हुन्थिन्। तर यो जीवनको निर्दयी सत्य हो।
आज, मुख हेर्ने दिन…
आफ्नो बाल्यकाल सम्झेर आँखा रसाएका छन्।
कति सन्तानले आमा गुमाइसके। कतिले गुमाउँदैछन्। अनि कति परदेशमा आमाको स्वर सुन्न भौतारिरहेका छन्।
यति मात्र भन्छु —
“आमा सँग हुनु नै संसारको सबैभन्दा ठूलो धन हो।”
यदि तपाईं सँग आमा हुनुहुन्छ भने आजै गईदिनुस टिका लगाइदिनुस्। एउटा मिठो बोली सुनाइदिनुस्। किनकि अर्को मुख हेर्ने दिन कहिल्यै आउँछ कि आउँदैन — थाहा छैन।
आमा, हजुरलाई धेरै माया
उहि हजुरलाई अन्तिम संस्कारमा दागबति समेत दिन नपाएको अभागी कान्छो ।
मातातिर्थ औंसीको शुभकामना समस्त
आमाहरुमा ।
मिलन भुसाल
दक्षिण कोरिया
