नयाँ बर्ष २०८२ प्रारम्भ भएको छ । नयाँ बर्षसँगै नेपाली जनतामा खासै नयाँ उर्जा र उत्साह देखिदैन । यतिवेला नेपाली जनता संसदीय व्यवस्थाको त्रासद र कष्टदायी पीडा भोगिरहेका छन् । उनीहरु आफ्नो आधारभूत आवश्यकता समेत पुरा गर्न सकिरहेका छैनन् । सहिद तथा बेपत्ता एवं घाइते योद्धाहरुको अवस्था त अझ दयनीय छ । उनीहरुको सपना संसदीय व्यवस्था थिएन र छैन । उनीहरुको सपना र चाहना वैज्ञानिक समाजवाद थियो र हो । श्रमिक वर्गीय दृष्टिकोण र अडानलाई कायम गर्न सके वैज्ञानिक समाजवाद सुदूर क्षितिजको बिषय होइन ।
नयाँ बर्षलाई समाजवादी गणतन्त्र, क्रान्तिकारीहरुबीचको एकता र धु्रवीकरणको बर्ष बनाउनुपर्छ । गतबर्ष क्रान्तिकारीहरुका लागि त्यति सुखद् हुन सकेन । माओवादी धार एकता र रुपान्तरणका लागी तयार भएन । रुपान्तरण बिनाको एकताको अर्थ छैन । यसमा सबैभन्दा ठूलो समस्या प्रचण्ड नेतृत्वको समूह नै रह्यो । उक्त समूह एकता र रुपान्तरणप्रति गम्भीर देखिएन । एकतालाई चुनावी दाउपेच र संसदीय व्यवस्थालाई नै सुदृढ गर्नेतिर देखियो । जनताको चाहना त्यो होइन । जनता समाजवादी गणतन्त्रतिर जान चाहन्छन् । व्यापक जनसमुदाय अहिले पनि वैज्ञानिक समाजवादी विचारको वरिपरी नै छ । उनीहरुको चेतना र दृष्टिकोणमा नै अहिले समाजवादी विचारको भु्रण बाँचिरहेको छ । कम्युनिस्ट आन्दोलन र नेतृत्वमा देखिने विचलन र अविश्वासले त्यो शक्ति संगठित हुन सकिरहेको छैन ।
पूर्व राजावादी समूहहरुले प्रतिगामी राजतन्त्र पुनस्थापनाका लागि आन्दोलन गरिरहेका छन् । यथास्थितिवादीहरु गणतन्त्रको रक्षाको आन्दोलनमा छन् । सारमा यो पुँजीवादीहरुबीचको अन्तरविरोध नै हो । यथास्थितिवादी अर्थात् अहिलेका पुराना कांग्रेस, एमाले, माके, एस, मधेशी दललगायतका पुराना दलहरुको भ्रष्ट चरित्र, अस्थिर र अराजक सरकारका कारण पूर्वराजावादीहरुले टाउको उठारहेका छन् । यथास्थितिवादीहरुको आन्दोलनमा कतिपय क्रान्तिकारीहरु समेत भ्रमित भइरहेका छन् र दलाल पुँजीवादी संसदीय व्यवस्थाको सेवक बनिरहेका छन् । यी प्रवृत्ति विरुद्ध संघर्ष गर्दै जनता समाजवादी गणतन्त्रतिर जान खोजिरहेका छन् । त्यसकारण समाजवादी गणतन्त्रतिर जाने नेपाली जनताको चाहना र अनवरत यात्रालाई सबैले साथ दिनुपर्छ ।
नयाँ सपनाहरु, नयाँ प्रेरणा र नयाँ उर्जा सहित अगाडी बढौं । नयाँ बर्ष २०८२ को शुभकामना ।
