स्वाभिमानको शिर पुर्खाले लत्रिन नदिएको नेपालको वर्तमान अवस्था भने ठिक विपरीत अवस्थामा देख्न सक्छौं। आज नेपाल विश्व परिवेशमा संसारकै गरिब मुलुकमध्येको एक बन्न पुगेको छ। यति मात्र होइन यहाँ भित्र व्याप्त भ्रष्टाचार, व्यक्तिवादीता, स्वेच्छाचारिता, कमिसन खोरीको जालोले नेपाललाई आजको परिस्थितिबाट अझ केही दशक अघि बढ्न नदिने जन्जालभित्र जकाडिएको स्पष्ट देख्न सक्छौं। जहानिया राना शासन, पञ्चायती व्यवस्थाभित्र मौलाएको केही घरानिया मात्र जाग्ने परिस्थिति बहुदल लोकतन्त्र र गणतन्त्र नेपालसम्म आइपुग्दा झन् खतरनाक ढङ्गमा मौलाइरहन पुगेको छ। बिगतमामात्र व्यवस्थाका नाम फेरिए पात्रहरू बदलिए तर प्रवृत्तिहरु बदलिएनन । पात्रहरु बदलिनुलाई नै नया नेपालको नामाकरन गरियो ।
प्राकृतिक स्रोत,मानवीय संसाधन र प्रविधि अभावले नेपाल गरिबी भएको भन्ने पञ्चायती नारालाई पछिल्लो समयमा पनि दलहरुले आफू जाग्ने र सत्ता टिकाउने अस्त्रको रुपमा प्रयोग गरिरहे। यहाँ समस्यालाई समाधानतिर बदल्ने दिमागी कसरत भएन । मात्रै आफ्नो स्वार्थलाई नै प्रगतिको पर्यायवाची मानिन पुग्यो । यहाँसम्म कि सत्ताका कुर्सी धर्मराउँदा र भुइँमा पछारिँदा राष्ट्र खतरामा परेको देख्ने र सत्ताको कुर्सीमा चढ्दा आफूलाई बादशाह ठान्ने परम्परा सत्ता सम्हाल्नेहरूको साझा बिमारी बन्न पुग्यो।
यही नियतका कारण राणाकालमा देश बनेन । मात्र सीमित सम्भ्रान्त वर्ग मात्र जागे । पञ्चायती व्यवस्थामा समेत देश बनेन केही दरबारिया निकट मात्र जाग्न पुगे। विकासलाई बहुदल पछिको समय पनि कम होइन । सत्ता सम्हालेकाहरुमा पनि पञ्चायती सरुवा बिमारी फैलिँदै गयो । यति मात्र होइन पछिल्लो समय माओवादी जनयुद्धको रापबाट जागेको शक्ति र दलहरुलाई पनिगणतन्त्र पछिको झन्डै दुई दशक पनि विकासका लागि यो समय कम होइन । यो बीचमा राजनीतिक दलहरूले पुराना सत्तालाई मात्र गाली गरिरहे । हुँदा नहुँदाका आरोपमै समय बिताए । मौका मिल्दा एकअर्कालाई गालीगलौजको तुच्छ भाषा प्रयोग गर्न बाँकी राखेनन् ।आफ्नो छुट्टै योजनाभन्दा यो बीचमा राजनीतिक दलहरूले छुद्र भाषा प्रयोग गर्न सम्म बाँकी राखेनन् । यही नै राजनीतिको पर्याय बनिरह्यो।
त्यसैले त आज हामी यो बिर्सिएका छौं कि पुर्खाले स्वाभिमानको शिर बोकेर भोकै भएपनि लत्रिएनन् । घुँडा टेकेनन् । बरु सिर गिडाए । आज ति कुरा बिर्सेर विदेशीको इशारामा रमाइरहेका छन् । त्यसलाई नै आम्दानीको स्रोत बनाइरहेका छन् । विदेशीहरूलाई आफ्ना काँच चढाएर उनीहरूको मतियार बनेका छन्। आज नेपाली जनता शासक चुन्ने र बदल्ने हैसियतमा छैनन । सत्ता र शासनको चाबी अन्यत्र कतै भएको कुरा त पटकपटक सत्ता सम्हालेका व्यक्ति र प्रधानमन्त्रीहरूले समेत भन्दै आइरहेका छन् । उनीहरुको छलछाम र तिगडम भित्रै जनताहरु रुमलिरहेका छन् । अब त नेपालीहरुको मनोदशा नै हल्ला भित्रै रमाउने बन्न पुगेको छ । वास्तविकता बुझ्ने र गहिराई सोच्ने दिमाग सायद नेपालीहरू भित्र अब बाँचेको छैन। अलिकति सचेत र उर्जाशील व्यक्तिहरु वैदेशिक रोजगार मा भाँसिएका छन् । सत्ताले आफ्नो खर्च र आयु थेगिरहन सिर्जना गरेको वैदेशिक रोजगारीलाई तोडेर युवाहरूलाई नेपालमै राख्ने परिस्थिति सिर्जना गर्न न त नेता न त लखेटिएका युवाहरुले यही बसेर स्वनिर्भर बन्ने चिन्तन बोक्न सकेका । बरु वैदेशिक गमनलाई नै सफलता र सन्तुष्टि मानेर त्यही रमाइरहन पुगेका छन्। त्यो गुलामी परिस्थितिलाई कतिपयले विदेशबाटै सरापेर मन मत्थर पारेर बसेका छन् भने कति त्यतै हराउन पुगेका छन् । अब त त्यो जीन्दगीनै उनीहरूलाई प्रिय बन्न पुगेको छ। उनीहरू खोरका परेवा जस्तै मनोदशामा पुगेका छन्। जुन हेर्दा आजाद छन् तर स्वयं बन्धनमा हुन्छन ।
नेपाल न यो सत्ताबाट अघि बढ्ने अवस्थामा छ न त कुनै विद्रोहबाट तत्काल बदलिने परिस्थितिमा छ। किनकि नेपाललाई वैदेशिक रोजगारीले वृद्धालय जस्तै बन्न पुगेको छ। व्यवस्था बदल्ने आँट बोकेका युवाहरु नेपालमा नै रहेका छैनन् । बचेखुचेका या त सत्ताको रसमा रमाएका छन् या सरकारी सेवामा छन् जसबाट यो व्यवस्था र विधि बदलिनेवाला छैन। शिक्षक प्राध्यापकहरूको ठूलो जमात जागिरे मनोविज्ञानबाट माथि उठ्न सकेको छैन। बरु थप विकृत बन्न पुगेको छ। उनीहरु पद सेवा र सुविधामा मात्र रमाइरहेका छन ।अधिकतम राजनीतिक दलका झण्डा बोकेर हिँडिरहेका छन् ।
के यही परिस्थितिबाट नयाँ नेपाल बन्न सम्भव छ त ? कदापि छैन । विद्यमान राजनीतिक दल नेतृत्व वा कर्मचारी प्रणालीबाट के यो परिवर्तन सम्भव छ ? कदापि हुँदैन । नयाँ नेपालको कुरा, गणतान्त्रिक नेपाल र लोकतन्त्र, मुक्ति वा परिवर्तित नेपालको खाका कस्तो हो भन्ने प्रष्ट विचार र विगतमा अपवाद बाहेक वैचारिक बहस बन्न नसकेका कारण नयाँ नेपालको परिकल्पना अधुरो रहन पुगेको हो । दलहरुले सत्ता ढाल्ने र ढलिसकेका सत्तापछिको विकासलाई एउटै अर्थमा बुझ्नु नै मूल कमजोरी हो। सत्ता सिपाहीको बलमा ढल्छ। विकास उत्पादन श्रम र को धरातलमा उम्रिन्छ भन्ने कुरा हेक्का राखेनन । बरु आफ्ना सिपाहीदारीको कथा भजेर सत्तामा रमाईरहे । विगतका कथाले विकास हुँदैन र इतिहास प्रेरणा लिने स्रोत हो र विकासलाई स्वनिर्भरता अपरिहार्यता हुन्छ भन्ने कुरा बिर्सिए । स्वनिर्भरता मौलिक उत्पादनले मात्र सम्भव हुन्छ भन्ने कुरा कहिले हेक्का राख्न सकेनन्।
तसर्थ आजको नेपालको मुक्ति, विकास वा नयाँ युग भन्नु नै स्वनिर्भरता हो। आफ्नै विवेक र चिन्तन प्रणाली, शिक्षा प्रणाली हुनु नै स्वनिर्भरता हो । देश र जनतालाई खुसी पार्ने मौलिक शिक्षा हुनु नै निर्भरता हो। न कि विदेशीका कमारा उत्पादन गर्ने शिक्षा प्रणाली । नेपाली जनताहरुले पेट भर्न सक्ने कृषि उत्पादन गर्नु नै स्वर्भरता हो। नेपाली उद्योग कलकारखाना बन्नु, अन्वेषण वा आविष्कार हुनु नै स्वनिर्भरता हो। हाम्रा मौलिक सामाजिक संस्कृतिका अवलम्बन र विदेशी, व्यक्तिवादी कुरीति र छाडा संस्कृतिको परज नै स्वनिर्भरता हो। देशको हित र भलाइको लागि राजनीति गर्नु स्वनिर्भरता हो न कि विदेशीको इच्छा र स्वार्थमा चल्ने गोटी बन्नु ।हाम्रा सकारात्मक मूल्य मान्यता प्रथा प्रचलनको संरक्षण र नकारात्मक संस्कृतिको खिलाफमा उभिनु नै स्वनिर्भरता हो । हो त्यही स्वनिर्भरता नै अबको विकास हो । त्यही स्वनिर्भरता नै अबको क्रान्ति हो । त्यही स्वनिर्भरता नै अबको मुक्ति वा रुपान्तरण हो। यही नै अग्रगामी छलाङ वा नयाँ नेपालको परिकल्पना हो ।तर दुर्भाग्यको कुरा विद्यमान राजनीतिक दलहरुले सत्तामा रम्ने बाटो मात्रै तय गर्नुलाई नै विकास माने। सत्तामा पुग्नुलाई नै क्रान्ति र परिवर्तन ठाने । रूपान्तरण वा नयाँ नेपाल ठाने । त्यहाँबाट अघिको बाटोलाई हेर्नै चाहेनन् वा गम्भीरतापूर्वक लिएनन् ।
स्वनिर्भरताको चिन्तन विगतमा छिटपुट रुपमा भने नदेखिएको होइन। तर यसले पूर्णता पाउन भने सकेन। राजनीतिक रूपमा पञ्चायती व्यवस्था लादेपनि महेन्द्रको उद्योग कृषि शिक्षा लगायतका योजनाहरु स्वनिर्भरता तर्फ उन्मुख कदम थिए। जुन पछि निरन्तरतामा जान सकेनन् । बरु सत्ताधारीले त्यो कदमलाई दुहुनो गाई बनाए । त्यस बाहेक बीपी कोइरालाको समाजवादको व्याख्या र चिन्तन उत्पादन र स्वनिर्भरता तर्फ उन्मुख थियो भन्ने उनका रचनाहरु मार्फत संकेत पाइन्छ । राजनीतिक कोलाहाल बीचको उनको सपना कल्पना थियो वास्तविकता उनको नजरबन्दपछि त्यसै सेलाएर गयो। नेपाली कांग्रेसले त्यसलाई निरन्तरता दिएन बरु उल्टो बाटो हिँड्न पुग्यो। मदन भण्डारीको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवाद पनि आफ्ना दल सत्तामा कसरी जाने वा त्यसको बाटो तय कसरी गर्ने भन्ने मै सिमित रहन पुग्यो। तर दल सत्तामा गइसकेपछि कसरी नेपाललाई स्वनिर्भर विकसित बनाउने भन्ने खाका कहिँ देखिएन । जबसम्म नेपाल स्वनिर्भर हुन सक्दैन तबसम्म नेपालको यो दुर्दशा कायमै रहिरहन्छ भन्ने अन्तर्यमा पुग्न सकेनन । त्यसैले जबसम्म हामी स्वनिर्भर हुँदैनौं तबसम्म हाम्रो यो समस्या यथावत रहिरहन्छ । विकासको पहिलो आधार नै स्वनिर्भरता हो भन्ने कुरा हेक्का नराखेसम्म त्यसको यो दुर्दशा रहिरहन्छ। स्वनिर्भरता नै विकासको पहिलो आधार हो भन्ने हेक्का राखेमात्रै देश विकसित बन्न सक्छ।
(अध्यक्ष, स्वनिर्भर अभियान नेपाल), सम्पर्क ९८६६६२२२२२