१) नेपालमा इमान्दारीताका साथ काम गर्ने कर्मचारीको अभाव यतिसम्म छ कि जनताले औषत इमान्दारिता प्रदर्शन गर्ने कर्मचारीलाई" देवता " देख्न सुरु गर्छन्। यस्तो हुनुको मुल कारण पदिय दायित्व पूरा गर्ने निजामती कर्मचारी पाउनु नेपालमा डाइनोसर भेटिनु सरह भैसकेको छ। कुलमान देवता थिएनन् / होइनन् / हुँदैनन्। तर कुशल व्यवस्थापक र औषत माथीका इमान्दार हुन्। यत्ती हुनु नै अहिले देवत्वकरण गरिन काफी आधार तयार हुनु हो। मरुभुमिमा oasis देखिनु कम हर्षको कुरा हुँदैन।
२) कुलमान बर्खास्तीमा परिसकेपछि उनको पक्ष र विपक्षमा तथ्य (?) को सहारा लिँदै बोल्नेहरुको लहर छ। बाढी आएको छ। यस्तो लाग्छ कुलमानलाई गलत साबित गर्न सके सत्तापक्षले ८४ आफ्नो हातमा सुरक्षित गर्नेछ । सहि साबित गर्न सके विपक्षीले ८४ आफ्नो अनुकुल बनाउनेछन्। तर यस्तो हुने सम्भावना गणितिय रुपमा निकै न्यून छ।
३) नेपालमा " कुलमानहरु " यसरी दुर्लभ हुनु र आम जनता केवल कुलमानले मात्र प्राधिकरण हाँक्न सक्छन् भन्ने निष्कर्षमा पुग्नुको कारण कसैले खोजेका छैनन्। कुलमान् बर्खास्तीको आफ्टरशकमा यो विषयले प्रवेश नपाउनुले पनि हामी आलोचनात्मक ढङ्गले सत्ताको आधार संरचनामा प्रश्न नगर्ने भएछौं भन्ने देखाउँछ। कतिपय विद्धानहरु मेडिया मेनिपुलेसन लाई यसको मुल कारण मानिरहेका छन्। तर मेडिया मेनिपुलेसन केवल सहायक कारण हो।
४) मुलत कर्मचारीतन्त्रप्रतिको अत्यधिक नकारात्मक आम धारणा लामो समयअघि नै निर्मित भैसकेको थियो। पछिल्लो समय झन प्लास्टर्ड भैरहेको छ। यस्तो बेलामा कर्मचारीतन्त्रको संरचना र कर्मचारी उत्पादनको प्रक्रियामाथी बहस हुनुपर्ने हो। राजनितिक रुपमा नै यो विषयलाई उठान गर्नु अत्यावश्यक छ।
५) जनताबाट निर्वाचित नभै कर्मचारी बन्न पाउने व्यवस्थाले कर्मचारीलाई जनताप्रती उत्तरदायी बनाउन सक्छ कि सक्दैन? जनताप्रती कर्मचारीलाई उत्तरदायी बनाउने तरिकाहरु के के हुन सक्छन्? अहिलेको कर्मचारी उत्पादन प्रक्रिया र कर्मचारीतन्त्रको संरचनाले यस्तो हुन दिन्छ कि दिँदैन? यो बहस जरुरी छ।
६) सबै कर्मचारी कुलमानजस्तै बनाउने तिर नसोच्ने र केवल यिनै कुलमानको पुनर्स्थापनाको मागमा उर्जा खर्च गर्ने बुद्धिले पनि अन्ततगत्वा यो दुखको भवसागरबाट पार लगाउँदैन।
७) कुलमान सयौँ कमजोरी र ती भन्दा बढी सबल पक्ष भएका एक इमान्दार कर्मचारी हुन। नैतिकता र इमानदारीताको खडेरीमा उनी केही थोपा नै सहि वर्षा भनेर प्रस्तुत भए। माथी कुलमानहरु भनेर यस्तै गुणसहितको कुलमानलाई भनिएको हो। कुलमानकै पालामा विद्युत प्राधिकरणलाई निजीकरण गर्न गरिएको प्रयत्न सहि थिएन भन्नेमा म अहिलेसम्म उत्तिकै दृढ छु।
८) हितेन्द्रदेव शाक्यको नेतृत्वमा अहिले जे जस्ता पपुलिस्ट नाराहरु दिँँइदैछ र जसरी बाँकी बक्यौदा उठाउने हल्ला पिटिएको छ यो मुलतः जनआक्रोश नियन्त्रण गर्ने प्रयत्न हो। र मुल मेडियाबाजी यता चाहिँ भैरहेको छ। यसको आवरणमा खिचडी अरु पाक्दै होला भन्ने कन्स्पिरेसी थिएरीलाई थप मद्दत पुग्दै छ। यस्तो नहोला भन्न सकिन्न कि अहिले कन्स्पिरेसी थिएरी लागेका कुराहरु यथार्थ बनोस।