इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा २०७० बैशाख २ गते प्रज्ञा प्रतिष्ठान भवनमा ‘माक्र्सवाद, उत्तर माक्र्सवाद र उत्तरआधुनिकतावाद’ सन्दर्भमा समकालीन कला चिन्तन विषयक विचार गोष्ठीमा तीनजना विद्धानहरूबाट कार्यपत्र प्रस्तुत गरिएका थिए । यसमा कार्यपत्र प्रस्तुत गर्नेहरूमा जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर डा. मैनजर पाण्डेय, आन्ध्रप्रदेश हैदरावादका माक्र्सवादी चिन्तक एन बेनु गोपाल र त्रिभुवन विश्वविद्यालका सहायक डिन डा. ताराकान्त पाण्डेय थिए । यी कार्यपत्रहरूमाथि टिप्पणी गर्ने व्यक्तिहरू थिए–अमर गिरी, निनु चापागाई, अभि सुवेदी र दिल साहनी । माक्र्सवादी कला चेतनाको चर्चा गर्ने क्रममा डा.ताराकान्त पाण्डेयले एक बुँदामा “हिंसा वा आतङ्कको वर्ग चरित्रको सकार र इतिहासका विशिष्ट परिवेशमा आतङ्कमा आनन्दको उपस्थिति बोध” भन्ने कुरा उल्लेख गरेका थिए ।
टिप्पणीको क्रममा टिप्पणीकार अमर गिरीले डा. ताराकान्त पाण्डेयको यस अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका थिए । टिप्पणीको दौरानमा अर्का टिप्पणीकार डा. अभि सुवेदीले पनि डा. ताराकान्त पाण्डेयले हिंसा र आतंंकमा आनन्द प्राप्ति गरेको कुराप्रति मसिनो स्वरमा भए पनि आपत्ति प्रकट गरेका थिए । मैले टिप्पणी गर्दा पनि हिंसा वा आतंकमा आनन्दको अनुभुति हुने कुरा उल्लेख गर्नु ठीक हुन्न कि भन्ने कुरा उल्लेख गरेको थिएँ । तर पछि प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा मोहन बैद्य किरणले डा. ताराकान्त पाण्डेयले उल्लेख गरेको पदावली हिंसा वा आतंकमा र आनन्दबीचमा रहेको द्वन्द्वात्मक सम्बन्धको बारेमा चर्चा गर्दै यी ताराकान्त पाण्डेयको पदावली नभएर माक्र्सवादी सौन्दर्यशास्त्रमा प्रयोग भएकै पदावली हो र यो पदावली रमेश कुन्तल मेघले पनि प्रयोग गरेका छन् भने पछि म त्यस विषयप्रति निकै गंभीर हुन पुगेंँ । पछि मलाई के बोध हुन गयो भने हिंसा वा आतंकमा वास्तवमा उच्च प्रकारको आनन्द हुन सक्दछ । सौन्दर्यशास्त्रीय दृष्टिले यसप्रति विचार गर्दा यसले खास अवस्थामा असीम आनन्द प्रदान गर्न सक्दछ ।
आतंकमा आनन्दको अनुभूति हुन्छ भन्ने सन्दर्भमा एकाएक मैले आसाममा हाई स्कुलमा पढ्दा अंग्रेजी गद्यमा पढेको ‘सिम्पल प्लेजर’ शीर्षकको निबन्ध संझे । अहिले मलाई त्यो निवन्ध कसले लेखेको त्यो थाहा छैन । साथै मलाई त्यहाँ उल्लेख गरेका सबका सब कुरा पनि थाहा छैन । तर के कुरा थाहा छ भने त्यस निबन्धमा बताएका कति आनन्द हिंसा वा आतंकसित सम्बन्धित छैनन् । कति आनन्द भय वा आतंकसित सम्बन्धित छन् । लेखकले बर्षाको बेलामा छानाबाट तप तप गर्दै पानीको थोपा खस्दा आनन्दको अनुभुति हुन्छ भनेका छन् । निश्चित रूपमा यसको सम्बन्ध हिंसा आर्तक वा भयसित छैन । लेखकले साँपको पुच्छर छुँदा एक प्रकारको आनन्द अनुभुति हुन्छ भनेका छन् । निसंदेह यसको सम्बन्ध आतंक हिंसा वा भयसित छ ।
कसैको घरमा आगो लाग्नु राम्रो कुरा होइन । शहर बजारमा आगो लाग्नु राम्रो कुरा होइन । तर भयंकर ठूलो आगो लागेको कुराले हेर्ने मान्छेलाई एक प्रकारको आनन्द प्राप्त हुन सक्दछ । यसलाई हामी भय आतंक वा हिंसाबाट पांप्त हुन सक्ने आनन्द मान्न सक्दछौं । प्राचीन रोमको शासक निरो रोम जल्दा बाँसुरी बजाएर बसेको कुराले पनि शायद यस्तै कुरा बताउँछ । हामी रुख वा अप्ठ्यारो भीरमा चढेर ओर्लिन सकेनौं भने त्यसले हामीलाई निकै आतंंकित पार्न सक्दछ । तर जब हामी बडो मुस्किलले रुख वा भीरबाट ओर्लिन सफल हुन्छौं । त्यसले हामीलाई अत्यन्त धेरै आनन्द प्रदान गर्न सक्दछ । निश्चित रूपमा सगरमाथाको टुप्पोमा पुग्नु भय र आनन्द दुबैको विषय हो । मैले सगरमाथाको टुप्पामा टेक्दा के कुरा सोंच्नु भयो भनेर तेन्जिङलाई सोध्दा उनले जवाफ दिएका थिए – उनी यति हर्षित भए कि उनले कुनै पनि कुरा सोंच्न सकेनन् । शायद यो चरम आनन्दको अवस्था थियो । त्यस्तो चरम आनन्द भय र त्रासबाट नै उत्पन्न भएको हुनुपर्दछ । कहिलेकाहीं आफ्रनै साथी कुनै चिप्लो ठाउँमा पछारिन पुग्दा हामी दुखित हुनाका सट्टा निकै आनन्दित हुन्छौं र भन्छौं उसले निकै ठूलो माछो मार्यो ।
मैले माथि चर्चा गरेका यस किसिमका घटनाले हामीलाई एक प्रकारको आनन्द दिन्छन् भन्ने कुरामा कुनै संदेह छैन । तर हिंसा वा आतंकले आनन्दको अनुभूति गराउने कुरा यतिमा मात्र सीमित छैन । यो कुरा मलाई झन् झन् प्रष्ट हुँदै जाँदै छ । म जति र्सोच्दछु हिंसा वा आतंकले मान्छेलाई तीब्र आनन्द प्रदान गरेको कुरा संम्झिंदै जान्छु ।
जनवरी २०१२ मा जापानमा एक जापानी २२ बर्षीय युवक हिरोकी शिरैशीले नेपाली रेष्टुरेन्ट संचालक विष्णुप्रसाद धमालालाई सडकमा कुटी कुटी मारेको हुनाले उसलाई हालै ओसाका जिल्ला अदालतले १९ वर्षको जेल सजाय तोकेको कुरा सार्वजनिक भएको थियो । उसले ती निर्दोष नेपालीलाई अरु कुनै कारणले होइन, आफ्नो आनन्दको लागि कुटी कुटी मारेको थियो । यो आतंकपूर्ण घटना थियो र त्यस आतंकपूर्ण घटनाले जापानी युृवकले असीम आनन्द प्राप्त गरेको थियो । वास्तवमा उसले आफ्नो आनन्दको लाग नै ती नेपालीको बर्बर हत्या गरेको थियो ।
२० अगस्त २००४ मा इराकमा १२ जना नेपालीहरूलाई बर्बर तरिकाले हत्या गरिएको घटना सार्वजनिक भएको थियो । उनीहरूको बर्बर तरिकाले हत्या गरिएको दृश्य हेर्नलाई आफ्नो मुटु निकै दह्रो बनाउनु पर्दथ्यो । विशेषत हामी नेपालीको लागि यो घटना जति ह्दय विदारक र पीडादायी भए पनि आतंंक मच्चाउनेहरूको लागि त्यो अत्यन्त आनन्दको कुरा हुन सक्दछ ।
अमेरिकामा ट्वीन टाउरलाई उडाउँदा यसका योजनकार वा जहाज ठोक्काउनेहरूले निश्चित रूपमा असीम आनन्द अनुभुति गरेका हुन सक्छन् । यो हिंसा वा आतंकले प्रदान गर्ने आनन्दको दृष्टान्त हो । आनन्दको अनुभुति हुन नसक्न भए कसैले पनि त्यस्तो आत्मघाती कदम चाल्ने थिएन । अझ मानवता विरोधी कदम चाल्न थिएन । मानव सभ्यता विरोधी कदम चाल्ने थिएन । दुई दशक अघि अयोध्यामा झण्डै एक हजार वर्षको इतिहास बोकेको विवादित र।म जन्मभुमि वा बाबरी मस्जिद ढलाउनु निश्चित रूपमा हिंसा वा आतंकसित सम्बन्धित घटना थियो । यस घटनाबाट विवादित रामजन्म भूमि वा बाबरी मस्जिद ढलाउनेहरूलाई असीम आनन्द प्राप्त भएको हुनु पर्दछ । त्यसरी असीम आनन्द प्राप्त हुन नसक्ने भए उनीहरूले त्यति लामो इतिहास बोकेको राष्ट्रिय गौरवको भवनलाई एक पलकमा नै धुलामा मिसाउने थिएनन् ।
पाकिस्तानमा लुकेर बसेका ओसामा बीन लादेनलाई अमेरिकाले आतंंकपूर्ण तरिकाले हत्या गर्यो । उनको हत्या गरिएको दृश्यलाई अमेरिकी राष्ट्रपति बारा ओबामाले असीम आनन्द मान्दै अवलोकन गरिरहेका थिए । उनले प्राप्त गरेको आनन्द आतंंकले प्रदान गरेको आनन्द हो । यस्तै प्रकारको आनन्द अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले इराकमाथि बमबर्षा गर्दा र सद्दाम हुसेनलाई मृत्युदण्ड दिँदा प्राप्त गरेका थिए । अमेरिकाले नागासाकी र हिरोसिमामा एटम बम खसाल्दा असीम आनन्द प्राप्त गरेको होला । यो कुरा बेग्लै हो कि त्यस बमबर्षाले जापानलाई मात्र होइन विश्वभरिकै मानव जातिलाई शोक सागरमा डुबाएको थियो । अझ पनि त्यो हृदय विदारक घटना संझिँदा हाम्रो मन कम्पित हुन सक्दछ । द्रवित हुन सक्दछ । आतंकित हुन सक्दछ ।
माओवादी पक्षका लेखकहरूले जनयुद्धकालीन साहित्यलाई जनयुद्धको सौन्दर्यको नामले सम्वोधन गरेपछि एमाले पक्षका कति लेखकहरूलाई यो पच्न सकेको छैन । उनीहरू जनयुद्धको साहित्यलाई सौन्दर्यको रूपमा स्वीकार गर्न तयार छैनन् । अमर गिरी जनयुद्धकालीन साहित्यका त्यति कट्टर विरोधी होइनन् । तर पनि उनले हिंसा वा आर्तकलाई सौन्दर्यको रूपमा स्वीकार गर्न सकेनन् । यही भएर नै उनले डा. ताराकान्त पाण्डेयले हिंसा वा आतंकमा आनन्दको देख्दा त्यसको खण्डनमा आफ्नो अभिमत जाहेर गरेका हुन् ।
जनयुद्धले जन्माएको साहित्यमा कुनै सौन्दर्य नदेख्नु साहित्य र कलाको सौन्दर्यलाई सही तरिकाले बुझ्न नसक्नु हो । आत्मसात गर्न नसक्नु हो । यसै प्रसंगमा म मेरो जनघोष पत्रिका र पछि ‘क्यान्टोनमेन्ट’ कथा संंग्रहमा प्रकाशित कथा कमरेड गान्धीको स्मरण गर्न पुग्दछु । मलाई लाग्दछ यस कथामा जनयुद्धको सौन्दर्यको एउटा झलक मिल्दछ । सुरक्षा फौजद्वारा माओवादी कार्यकर्ता वा नेताहरूको बर्बर हत्या गरिंदा कमरेड गान्धीलाई जुन प्रकारका आनन्दको अनुभूति हुन्छ त्यो वास्तवमा आतंकले जन्माएको आनन्द हो । मलाई यस्तो लाग्दछ । जनयुद्धको पृष्ठभूमिमा लेखिएको मेरो अर्को कथा हो–‘खरानी गाउँ’ । यस कथामा प्रहरी अफिसरले मच्चाएको राज्य आतंकको चित्रण गरिएको छ । यो कथा प्रगतिवादी लेखक घनश्याम ढकालले निकै मन पराएर आफूले सम्पादन गर्ने भनिएको जनयुद्धका कथाको संग्रहमा समावेश गर्ने विचार प्रकट गरेका थिए । त्यस कथाले प्रस्तुत गरेको सौन्दर्य भनेको प्रहरी आतंक वा राज्य आतंकले जन्माएको आनन्द हो । सौन्दर्य हो । प्रष्ट छ सौन्दर्य फूलमा मात्र हुँदैन । काँडामा पनि हुन सक्दछ । सौन्दर्य सिर्जनाले मात्र होइन ध्वंसले पनि जन्माउन सक्दछ । अंग्रेजी कवि पी बी शेलीले आफ्नो कविता वेष्ट विन्ड (पश्चिम हवा) लाई संहारक तथा सिर्जनकर्ताको रूपमा प्रस्तुत गरेका छन् । हिन्दु धर्मशास्त्र वा मिथले ब्रह्मालाई सिर्जनकर्ताको रूपमा प्रस्तुत गर्दछ भने शिवलाई संहारकको रूपमा । ध्संस र निर्माण एक अर्काका परिपूरक हुन् । ध्वंंस बिना निर्माण संभव छैन । शंकरको ताण्डव नृत्य ध्वंंस र निर्माण वा आतंक र आनन्द दुबैका प्रतीक हो ।
जनयुद्धकालमा किलो शेरा टु अपरेसन चलाउँदा, माओवादी नेताको नाममा रेड कर्नर नोटिस जारी गर्दा, उनीहरूको टाउकाको मोल तोक्दा वा माओवादीका नेताहरूको टाउका काटेर झोलामा राखी सरकारलाई बुझाउनेलाई त्यही झोलाभरि पैसा दिने घोषणा गर्दा वा उर्दी जारी गर्दा त्यतिबेलाको शासकवर्गलाई जुन प्रंकारको आनन्दको अनुभूति प्राप्त भयो त्यो श्वेत आतंकले जन्माएको आनन्द नै हो ।
सौन्दर्य प्रेमले मात्र होइन, घृणाले पनि जन्माउन सक्दछ । सौन्दर्य जीवनले मात्र होइन मृत्युले पनि जन्माउन सक्दछ । आखिर शोककाव्य मृत्युले जन्माएको सौन्दर्य न हो । टेनीसनको इनमेमोरियम, शेलीको अडौनिस, टमस ग्रेको इलेजी रिटन इन कन्ट्री चर्चयार्ड, माधव घिमिरेको गौरी आदि जस्ता शोककाव्य मृत्युले जन्माएका शोककाव्य हुन् । सौन्दर्य शास्त्रका नमूना हुन् ।
विश्वमा नै ग्रिक साहित्यले महत्वपूर्ण स्थान ओगटेको छ । ग्रीक साहित्यमा ट्रेजडीले विशेष उच्चता प्राप्त गरेको छ । माक्र्सले पनि ग्रिक साहित्यको उच्च मूल्यांकन गरेको देखिन्छ । ग्रिक ट्रेजडीको विशेषता बताउँदै एरिस्टोटले भनेका छन्, ‘यसले करुणा तथा भयको भावना सिर्जना गर्दछ । पीटी वा फेयरको अभावमा ग्रिक टेजडीको कुनै महत्व नै हुन्न । यसैबाट क्याथरिसको सृष्टि हुन्छ । भय आतंकको अर्को नाम हो । ग्रिक ट्रेजडीले एक प्रकारको सुखानुभूति दिन्छ भने त्यो आतंककै प्रभाव हो ।’ यसबाट पनि के भन्न सकिन्छ भने हिंसा वा आंतंकबाट आनन्दको अनुभूति हुन्छ भन्ने अवधारणा गलत होइन ।
हिंसा वा आतंकबाट प्राप्त हुने आनन्दको चर्चा गर्दा हामी भाले जुधाई (कक फाइट)को पनि चर्चा गर्न सक्दछौं । विश्वको इतिहासमा कक फाइटको इतिहास निकै पुरानो मानिएको छ । यसको इतिहास ६००० बर्ष भन्दा पुरानो छ । इतिहास कोट्याउँदा के थाहा लाग्दछ भने ६ हजार पहिले कक फाइट पर्सियामा प्रचलित थियो । भारत पनि कक फाइटको लागि नामी मानिन्छ । इन्डुज भ्याली सभ्यताले कक फाइटका निसानी छोडेको छ भनिन्छ । मोहेनजदोलाई भालेको शहर भनिन्थ्यो भन्ने कुरा थाहा लाग्दछ । प्राचीन प्रसिया भारत र चीन कक फाइटको लागि प्रसिद्ध मुलुक मानिन्छन् । ग्रिकमा पनि कक फाइट लोकप्रिय खेल हुन पुगेको थियो । जापान फिलिपिन्स बाली इराक पाकिस्तानमा आदि जस्ता एशियाली देशमा कक फाइट लोकप्रिय भएको इतिहास भेटिन्छ । कक फाइट पुरोपेली देशमा पनि उत्तिकै लोकप्रिय हुन पुगेको छ । युरोपका बेलायत फ्रान्स स्पेन आदि देशमा पनि कक फाइट खेल लोकप्रिय भएको देखिन्छ । मेक्सिको ब्राजिल क्युवा पेरु आदि लेटिन अमेरिकी देशहरूमा पनि कक फाइट अत्यन्त लोकप्रिय खेल हुृन पुगेको छ । भनिरहनुृ पर्दैन कक फाइट एउटा डरलाग्दो आतंकपूर्ण खेल हो । यसबाट पनि मान्छेहरूले आनन्द प्राप्त गरेको जानकारी हुन्छ ।
गोरु जुधाइको खेल पनि एउटा हिंसात्मक वा आतंकपूर्ण खेल हो । बुल फाइटको लागि स्पेन अत्यन्त चर्चित छ । मेटाडोरले गोरुलाई मार्दछन् । मेटाडोर आफै मर्न सक्ने खतरा पनि रहन सक्दछ । अर्नेष्ट हेमिग्वेले आफ्नो उपन्यास द सन अल्सो राइजिसमा रोमेरोलाई राम्रो बुलफाइटरको रूपमा प्रस्तुत गरेका छन् । बुल फाइटको हिंसा वा आतंक हेरेर हजारौं मान्छेहरूले आनन्द प्राप्त गर्दछन् ।
नेपालमा रांगोलाई उत्तेजित बनाएर हतियारले चोटमाथि चोट पारी मार्ने परम्परा रहेको देखिन्छ । यसले आतंक र आनन्द दुबैको सृजना गर्दछ । नेपालकै गढीमाईमा लाखौं पशुहरूको बलि दिइन्छ । धार्मिक आस्थामा आधारित यो बलिप्रथा पनि मानव बर्वबरता वा आतंकको चरम रूप हो । रगतको नदी बगाउने आतंकपूर्ण पशुबलिबाट धार्मिक आस्था राख्ने व्यक्तिहरूले असीम आनन्द प्राप्त गरेका हुन्छन् ।
प्राचीन रोममा गैलेडीयटर (दास योद्धा)हरूलाई लडाएर पनि दास मालिकहरू मनोरञ्जन लिन्थे । आनन्द प्राप्त गर्दथे । यस्तो लडाईमा एउटा सशस्त्र दासले अर्को सशस्त्र दासलाई लडेर मानु पर्दथ्यो । यसरी एउटा दासले अर्को दासलाई बर्बर तरिकाले मार्दा दास मालिकलाई असीम आनन्द प्राप्त हुन्थ्यो । यस्तो बर्बरताको बिरोधमा रोममा दास योद्धा स्पार्टाकशले ठूलो विद्रोह गरेका थिए । यसलाई प्रथम दास विद्रोह भनिन्छ । अमेरिकी उपन्यासकार हावर्ड फस्टको ‘स्पार्टाकश’ दास विद्रोहको कथामा आधारित छ । यस उपन्यासबाट दास मालिकहरूले हिंसा आतंंक क्रूरता वा बर्वरताबाट असीम आनन्द प्राप्त गरेको कुरा सशक्त बर्णन गरिएको छ । यस उपन्यासमाथि बनेको फिल्मले थुप्रै अन्तराष्ट्रिय पुरस्कार जितेको छ ।
ग्रिक सौन्दर्यशास्त्री लन्जाइनसले सौन्दर्य शास्त्रको बारेमा चर्चा गर्दा सम्लाइम (उदात्तता) को राम्रो व्याख्या गरेका छन् । यसले उच्च प्रकारको साहित्य कला वा अभिव्यक्तिको प्रतिनिधित्व गर्दछ । उदात्तताले उच्च कोटिको वा गंभीर प्रकृतिको भाषा शैली भाव विचार अभिव्यक्ति आदि कुराको प्रतिनिधित्व गर्दछ । सम्लाइम शब्दको चर्चा अंग्रेजी सौन्दर्य शास्त्री एडमण्ड बर्कले पनि गरेका छन् । उनले सुन्दरतासित उदात्तताको चर्चा गरेका छन् । उनको उदात्तताको अवधारणा विशेषत पाठकहरूको अनुभव र अनुभूतिसित सरोकार राख्दछ । यो उच्च प्रकारको भावना वा विचारको कुरा हो ।
जर्मनी दार्शनिक तथा सौन्दर्यशास्त्री कान्टले पनि सब्लाइमको चर्चा गरेका छन् । उनले सब्लाइमलाई मानव तर्क विवेचना वा विचारभन्दा माथिको कुरा मानेका छन् । कान्टले सब्लाइमलाई सुन्दरतासित दाँजेर हेरेका छन् । सम्बाइम मानव सृष्टि नभई प्रकृतिको सृजना हो । यो ज्वालामुखी, मेघ गर्जन, अन्धकार रात वा अन्यन्त गहिरो र विशाल समुन्द्रले सब्लाइमको प्रतिनिधित्व वा अभिव्यक्ति गर्न सक्दछ । यसले सुन्दरताले जस्तो आकर्षण पैदा गर्दैन बरु बेदना करुणा र भयको भावना प्रदान गर्दछ । कान्टले आतंक वा संंत्रासपूर्ण घटनालाई उदात्तताको अर्थमा चर्चा गरेको देखिन्छ ।
शेक्सपियरका सबभन्दा उत्कृष्ट नाटक जुृलियस सिजर, म्याकवेथ, ओथेलो, रोमियो एण्ड जुलियट, किङ लिएर, एन्टोनी एण्ड क्लिोपेटरा र हेमलेट विश्वप्रसिद्ध ट्रेजडी नै हुन् । यिनले हामीलाई दिने आनन्द भय डर त्रास हिंसा वा आतंकबाट नै हो । अंग्रेजी साहित्यमा टसम किडको स्पानिस ट्रेजडी, जोन वेबस्टरका डचेस अफ मल्फी तथा द ह्वाइट डेभल आदि जस्ता ट्रेजडीले भय त्रास हिंसा तथा आतंकबाट नै सौन्दर्यको सृजना गर्दछन् । साहित्यको सृजना गर्दछन् । यी नाटकबाट पांप्त हुने आनन्द वास्तवमा आतंक वा हिंसाबाट प्राप्त हुने आनन्द नै हो । अंग्रेजी साहित्यका गोथिक उपन्यास वा साहित्यले उत्पन्न गर्ने आनन्दको अनुभूति पनि आतंक वा हिंसाबाट प्राप्त हुने आनन्द नै हो । मेरी शेलीको फ्रान्कन्स्टिनले दिने आनन्द भय त्रास हिंसा वा आतंकबाट पैदा हुने आनन्द हो ।
रामायणमा पनि हामी हिंसा वा आतंकका प्रशस्त झलक प्राप्त गर्न सक्दछौं । सुपर्णकाको नाक काट्दा रावणलाई जति पीडा भए पनि लक्ष्मणलाई आनन्द भयो । सीताको अपहरणले राम लक्ष्मणलाई जति पीडा भए पनि रावणलाई अत्यन्त आनन्दको अनुभूति भएको हुनुपर्दछ । त्यसरी नै हनुमानको पुच्छरमा आगो लगाउँदा रावणलाई आनन्द भएको हुनुपर्दछ । फेरि पुच्छरमा आगो लगाइएका हनुमानले सुनकोे लंका जलाउँदा उनलाई अत्यन्त आनन्द लागेको हुनुपर्दछ । जबकी रावणको लागि त्यो पीडाको सूचक हुन सक्दछ । रामले रावणमाथि हिंसा वा आतंककै बलमा विजय प्राप्त गरेका थिए । यसलाई हिन्दु समाजले असत्यमाथि सत्यको विजयको रूपमा ग्रहण गरेको देखिन्छ ।
त्यसरी नै दुर्गाको महिषासुर बध पनि आतंक र आनन्दको प्रतीकको रूपमा लिन सकिन्छ । यसलाई पनि असत्यमाथि सत्यको विजयको रूपमा हेरिने गरिन्छ । यस्ता उदाहरण हिन्दु धर्म शास्त्र तथा प्राचीन साहित्यमा प्रशस्त भेटिन्छन् ।
निश्चित रूपमा हिंसा वा आतंकको द्वन्द्वात्मक सम्बन्ध छ । सामान्यतया हिंसा वा आतंकबाट आनन्द हिंसा वा आतंक मच्चाउने व्यक्ति वा समूहले नै प्राप्त गर्दछ । तर त्यस्तो हिंसा वा आतंंकबाट मुक्ति पाएको व्यक्ति वा समूहले पनि त्यसको स्मरणबाट पनि आनन्द प्राप्त गर्न सक्ने संभावना रहन्छ । यस्तो मलाई लाग्दछ । बाघको मुखमा परेमा मान्छे आतंकित हुन सक्दछ । तर ऊ बाघको मुखबाट बचेर उम्किन सक्यो भने उसले भोगेको त्रास भय वा आतंकले उसलाई असीम आनन्द दिन सक्दछ ।
वर्गीय समाजमा हिंसा वा आतंक निश्चित रूपमा वर्गीय नै हुन सक्दछ । यही भएर होला माओले हुनानको किसान आन्दोलनको सन्दर्भमा लेखेका छन्, ‘जमिन्दारहरूलाई पराजित गरेपछि लडाकु किसानहरू जमिन्दारकी छोरीबेटी आराम गर्ने बिछौनामा लेटेर आनन्द लिएका थिए ।’ जमिन्दारको लागि यो हिंसा वा आतंक थियो भने लडाकु किसानहरूको लागि त्यो आनन्दको विषय थियो । लु स्युनको विश्व प्रसिद्ध कथा ‘आई क्यूको साँचो कथा’मा आई क्यूलाई बधशालातिर लैजाँदा त्यहाँको शासक वर्गले जुन आनन्दको अनुभूति गरेको थियो त्यो वास्तवमा हिंसा वा आतंकले प्रदान गर्ने आनन्द थियो । यसबाट के बुझिन्छ भने हिंसा वा आतंक कसैको लागि अत्यन्त असह्य पीडादायी कुरा हुन जान्छ भने कसैको लागि असीम आनन्दको कुरा पनि ।
माओ भन्छन्, ‘प्रतिक्रियावादी सत्ताले क्रान्तिकारी जनताको आन्दोलन संघर्ष वा क्रान्ति तहसनहस पार्ने नियतले श्वेत आतंक मच्चाएको हुन्छ । त्यस श्वेत आतंकले गर्दा परिवर्तन वा क्रान्तिको लागि संघर्षरत जनतामा व्यापक निराशा छाउन सक्दछ । त्यस स्थितिमा जनताको क्रान्तिकारी उत्साह मर्न नदिन केही मात्रामा लाल आतंक मच्चाउनु आवश्यक हुन जान्छ ।’ यस कुराले पनि हिंसा वा आतंकको वर्गीय स्वरूप हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।
अन्त्यमा, के भन्न सकिन्छ भने हिंसा वा आतंक राम्रो कुरा त होइन । तर समाजमा यसको उपस्थिति छ र त्यसले कुनै वर्गलाई पीडित र दुखित पारे पनि फेरि कुनै अर्को वर्गलाई त आनन्द प्रदान गर्दछ ।
(प्रज्ञा प्रतिष्ठान भवनमा ‘माक्र्सवाद, उत्तर माक्र्सवाद र उत्तरआधुनिकतावाद’ सन्दर्भमा समकालीन कला चिन्तन विषयक विचार गोष्ठीमा टिप्पणी गरेर फकिएपछि यो सामग्री लेखक साहनीले २०७० बैशाख ११ गते लेखेका थिए ।)
