मैले पूर्वका विशाल निर्माणकर्तालाई देखेको छु
एक बलियो र मुसुमुसु हाँसिरहेको
जसका आँखाहरु सुक्ष्मदर्शी छन्
...उसको प्रतिष्ठा र गहनताले
मलाई जसरी प्रभाव पार्यो
यसअघि कसैले पार्न सकेको थिएन ।
–लक्ष्मीप्रसाद देवकोटा\'माओत्सेतुङ', (मूल्याङ्कन, अङ्क–४२, २०५३)
एसियामा रूस र क्यानडापछि तेस्रो विशाल देश चीन सामन्तवाद र साम्राज्यवादको जाँतोमा पिसिएर भर्खर मुक्त भएको थियो । रूसी अक्टोबर क्रान्तिपछि कमरेड माओत्सेतुङको नेतृत्वमा चीनले लेनिनवादको झण्डा फहराएको थियो । अक्टोबर १, १९४९ मा बेइजिङको तियानमेन चोकमा ३० लाख चिनियाँ जनताको अगाडी कमरेड माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए । चीनमा साम्राज्यवादले हावाकावा खाइरहेको बेला नेपालमा लक्ष्मीप्रसाद देवकोटाले माओत्सेतुङलाई सम्झिदै माथिको कविता लेखेका थिए ।
देवकोटाले यो कविता लेख्दा यता देशमा भर्खर कम्युनिस्ट पार्टीको शिशु जन्मिएको थियो । शिशु अवस्थामा नै डा. केआइसिंहको जेलविद्रोहको निहुँमा शिशुको उर्लदो प्रभावलाई रोक्न कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाइएको थियो । अहिले कमरेड माओत्सेतुङ जन्मिएको १३२ बर्ष पुगेको छ भने नयाँ जनवादी क्रान्ति सम्पन्न भएर चिनियाँ जनता मुक्त भएको ७५ बर्ष पुगेको छ ।
बजारको चेपुवामा माओ
इतिहास र राजनीति बुझ्न नचाहनुलाई फेसन बनाएको अहिलेका टिनेजर पुस्ताले माओत्सेतुङ पढ्दैन, जान्दैन । उनको जीवनी र व्यक्तित्वबारे रूचि राख्दैन । सामाजिक सञ्जालमा उनका किताब वा फोटाहरूका ट्रेन्डिङ चल्दैन । न त विश्वविद्यालयका कक्षाकोठामा पढाइन्छ, न लाइब्रेरीका दराजहरूमा भेटिन्छन्–माओका जीवनी र रेडबुकका भोल्युमहरू । सेलिब्रेटीहरूका ‘घोस्ट राइटिङ’ बायोग्राफीहरूले पुस्तकालयका दराजहरू भरिएका छन् र तिनै किताबहरूबाट धकेलिएर ठेलागाडाका चटपटेको डस्बिनमा पुगिसकेका छन् ती किताबहरू ।
प्रकाशकहरू बजारको मुनाफा मात्रै तौलिन्छन् । कुन पुस्तक छाप्ने वा नछाप्ने, कुन पुस्तक बजारमा पठाउने वा नपठाउने, कुन पुस्तकलाई असल भनिदिने वा नभनिदिने, कस्ता पुस्तकलाई पुरस्कृत गर्ने वा निषेध गरिदिने सबैको निर्धारण बजारले गरिदिन्छ । पुँजीवाद त्यस्तो व्यवस्था हो, जसले ज्ञानलाई शोषणको उपकरण र बजारको मालमा रूपान्तरण गरिदिएको छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भनिनेहरुलाई समेत माओका किताव अध्ययन गर्न फुर्सद वा रुचि छैन । माओका एउटा किताब नपढी आफुलाई माओभन्दा ठूलो ठान्छन् । उनीहरुलाई ठेक्कापट्टा, गुण्डागर्दी, दुई नम्बरी धन्दा, गरुण पुराण र बर्थडे सेलिब्रेसनको रामरमाइलो नै प्रिय छ । सहिदको नाउँमा ‘जाँडपार्टी’ गर्नु प्रिय छ । पश्चिमा केक काटेर आत्मप्रचार गर्नुछ । किनकी पुँजीवादले सधै आफुलाई केन्द्रमा राख्दछ । आज माओ यिनै पश्चिमा संस्कृति, चिन्तन र बजारको चेपुवामा परेका छन् ।
माओवाद विरोधीहरुको हल्ला
त्यसो त ‘माओकै सन्तान हौं’ भन्नेहरू नै पार्टीका बैठक, सभा, समारोह, भेला, सम्मेलन, प्रशिक्षणहरूमा माओका ‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ बहस गर्दैनन्, उनीहरूका दस्तावेजहरूमा माओका सान्दर्भिकता पुरानिएका छन् । सही विचार कहाँबाट आउँछ ? बहस हुँदैनन् । माक्र्स लेनिन थोत्रिएका छन् । द्धन्द्धवादका नियमहरु असान्दर्भिक भएका छन् । माओको भनाई विपरित एक दुईमा विभाजन होइन, दुई एकमा समायोजन भएका छन् । आलोचना र आत्मआलोचना ‘आलु र चना’ भएका छन् । उनीहरूलाई चारहजार बर्ष पुराना गीता, दुईहजार बर्ष पुराना बाइबल, छब्बिस सयबर्ष पुराना त्रिपिटक नयाँ लाग्छन् तर पौने दुईसय बर्षका माक्र्सवाद पुराना लाग्छन् । सयबर्ष नपुगेको माओका विचार, दर्शन र सिद्धान्तहरु पुराना लाग्छन् । वैचारिक मूल्यको विघटन यति डरलाग्दो भएको छ कि सिद्वान्त, निष्ठा र आदर्शहरू व्यक्तिगत लाभहानीमा खुम्चिएका छन् । उनीहरू ठोरीमा रामहरूको आविस्कार गर्छन्, होलीवाइन काण्ड मच्चाउँछन् र विनोद चौधरीहरुसित सेल्फी खिचेर फेसबुक र टिकटकको चमकधमक दुनियाँमा लाइक, कमेन्ट र भ्युअवर बटुल्ने म्याराथनमा छन् । संशोधनवादीहरुले माओवादको औचित्यमाथि प्रश्न उठाइरहेको बेला साँचो अर्थमा आज माओवादलाई आदर्श मान्नेहरुले नै माओवाद विरोधी गतिविधि गरिरहेका छन् । विश्व साम्यवादी आन्दोलनमा माओले विचार, राजनीति र व्यवहारको क्षेत्रमा पुर्याएका योगदानहरुलाई अवमूल्यन गरिरहेका छन् ।
माओको जन्मोदय
चीन गरिबीको दुर्दशामा चुर्लुम्म डुबेको थियो । सन् १८४० मा बेलायतले अफिम युद्ध थोपरेपछि चीन अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा गुज्रिएको थियो । साम्राज्यवादी मुलुकहरुले चीनमाथि बन्दुकको नालबाट शासन गरिरहेका थिए । असमान सन्धिहरु थोपरिरहेका थिए । गरिब, असहाय र महिलामाथि चरम दमन र अत्याचार गरिरहेका थिए । महिलाहरुलाई बलात्कार गर्ने, जिउँदै जलाउने र मार्ने जस्ता नृशंस कार्य गरिरहेका थिए । यसको प्रतिक्रिया स्वरुप चिनियाँ जनताले किसान विद्रोह र आन्दोलनहरु गरिरहेका थिए । सन् १९११ मा डा.सनयात सेनको नेतृत्वमा भएको आन्दोलनले मन्चु वंशको राजतन्त्रात्मक व्यवस्थालाई फाल्यो तर पश्चिमा शैलीको संसदीय लोकतन्त्र स्थापना गर्यो, साम्राज्यवादको उपनिवेशबाट चीनलाई मुक्त गर्न सकेन ।
चीनको सार्वभौमसत्तामाथि अतिक्रमण गरेर तहसनहस पारिरहेको बेला सन् १८९३ डिसेम्बर २६ मा हुनान प्रान्तको सुदूर गाउँ साओसानस्थित किसान परिवारमा जन्मिएका थिए–माओत्सेतुङ । माओका पिताले गरिबीका कारण जग्गा जमिन गुमाएका थिए । माओको बाल्यकाल असाध्यै गरिबी र अभावमै बित्यो । १६ वर्षे बाल्यकाल अभावमै थियो भन्ने कुराको उदाहरण उनी महिनामा केवल एकपटक मात्रै कुखुराको अन्डा खान पाउथे भने वर्षमा विरलै एकदुईपटक मात्रै मासु खान पाउथे । उनी बाल्यकालमा आफ्नो गाउँघरको जंगल, पहाड, नदीनाला, तालतलैयासँग रम्थे । उनी एक्लै पहाडको टुप्पोमा चढ्ने गर्थे । नदीमा पौडी खेल्थे । चिसो हिउँको तालमा ४० मिनेटभन्दा बढी नुहाउन सक्थे । यसले गर्दा उनी बलिया, स्वस्थ, आँटिला र निडर थिए । उनी बुबासँगै खेतमा कठिन काम गर्थे ।
दुई किताब
सानैदेखि विद्रोही स्वभावका उनी स्कुलमा शिक्षकले सोधेको प्रश्नको जवाफ नआएपछि उनलाई धकेलेर बाहिर गए र तीन दिनसम्म जंगलमा लुकेर बसेका थिए । उनी सानै उमेरदेखि पढाइमा सौखिन थिए । उनमा ‘वाटर मार्जिन’ र ‘थ्री किङ्डम्स’ पुस्तकको गहिरो प्रभाव थियो । यी दुईवटा किताब शान्त स्थानमा गएर घन्टौंसम्म पढ्थे । उनी गाउँबाट टाढा रहेको तुनसाङ हाइयर प्राइमरी स्कुलमा पढ्न जान्थे । स्कूल पढ्न जाँदा उनले यी दुई किताब पनि झोलामा सँगै लिएर जान्थे । तीक्ष्ण बुद्धिका माओले त्यो स्कूलबाट शिक्षा लिए र उत्तीर्ण भए । कलेजमा साथीहरूसँग अध्ययन, राजनीति, देश र समाजका बारेमा छलफल गर्दथे । उनी खाजा, खाना, कपडा किन्ने पैसाबाट खर्च जोगाएर किताब किन्थे । उनी महिनौसम्म एउटै लुगा लगाउथे ।
प्रेम र क्रान्ति
उनी पेकिङ विश्वविद्यालयमा पढ्दा एउटा सुन्दर युवती याङकाइ हुईसँग प्रेममा थिए । दुबैले क्रान्तिको सेवा गर्ने निर्णय गरिसकेको हुँदा त्यो कल्कलाउँदो बैँसमा समेत प्रेमलाई भन्दा क्रान्तिलाई बढी महत्व दिए । क्रान्तिमा जेलनेल, यातना, दुःख वा बलिदान सबै भोग्न तयार थिए । उनीहरु दुबैले क्रान्ति रोजे र पेकिङ सहर छोडेर गाउँमा टाढा अलग भएर क्रान्तिको काममा लागेका थिए । दुई वर्षपछि उनीहरूबीच बिहे भयो । दुईवटा सन्तान जन्मिए । सन् १९३० मा क्रान्तिकै दौरानमा याङलाई च्याङकाई सेकको सेनाले पक्राउ ग¥यो र चरम यातना दिएर निर्ममतापूर्वक हत्या गर्यो । माओले छोरा एनिङलाई कोरियाको साम्राज्यवादविरुद्धको युद्धमा पठाएका थिए । त्यहाँ साम्राज्यवादी बमको प्रहारबाट एनिङको पनि मृत्यु भएको थियो । उनले क्रान्तिकालमा आफ्नो ६ जना आफन्त गुमाएका थिए ।
पैदल यात्रा
कलेज पढ्दा उनका साथीहरु विदेश जान भाषा क्लास लिन्थे । उनी भने गाउँमा गएर मजदुर र किसानलाई राजनीतिक प्रशिक्षण दिन्थे । उनका दौतरीहरु उच्च शिक्षा लिन फ्रान्स, जर्मन, बेलायत देशहरुमा विदाइका हात हल्लाउदै जान्थे, माओ आफ्नै गाउँ हुनान फर्किए । चिनियाँ जनतामाथि भइरहेको उत्पीडन र गरिबीले दौतरीहरुलाई विदेश धकेलिरहेको थियो भने माओलाई क्रान्तितिर धकेलिरहेको थियो । भविष्यमा त्यही क्रान्तिले माओलाई स्थापित गर्यो र माओको नेतृत्वमा महान चीन निर्माण भयो ।
उनी पेकिङ विश्वविद्यालयमा पढ्न जाँदा १५५ माइल बाटो हिँडेर पुगेका थिए । उनी बाटोमा फूलका माला र चित्र बनाएर बेच्दै आफ्नो बाटोखर्च र खाना खर्च जुटाउँथे । उनलाई खर्चको साह्रै अप्ठ्यारो परेको बेला महिनाको ८ चिनियाँ रुपियाँ तलबमा पेकिङ विश्वविद्यालयको पुस्तकालयमा सहायक लाइब्रेरियनको रूपमा काम गर्न थाले । माओले त्यहाँ रहँदा माक्र्सवादसम्बन्धी धेरै कुरा सिक्ने अवसर पाए । उनी लीता चाओले गठन गरेको ‘मार्किसिस्ट स्टडी ग्रुप’सँग आबद्ध हुन पुगेका थिए ।
किसान आन्दोलन
जुलाई २१, सन् १९२१ मा ली ताचओ, छन तुस्यु, ह सुङ इ, तुई पिउ, छमन थान छ्यु, वाङ चिन मेइ, तङ आङ मिङ र माओत्सेतुङसहित १२ जना मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरे । पार्टी स्थापनाको बेलामा उनको नेतृत्वदायी भूमिका थिएन । अथक मेहनत, अध्ययन र पार्टीका जिम्मेवारीहरु दृढतापूर्वक पूरा गर्दै जाँदा पार्टीभित्र स्थापित नेताको छवि बनाउन सफल भए । माओ हुनान प्रान्तको सचिव भए । सन् १९२५ मा किसान सङ्घ बनाए । सन् १९२६ मा ‘चिनियाँ समाजमा वर्गविश्लेषण’ भन्ने किताब प्रकाशन गरे । सन् १९२७ मा हुनानका किसानहरुबारे ३२ दिन लगाएर अनुसन्धान गरिएको ‘हुनान किसान आन्दोलनको अनुसन्धानबारे प्रतिवेदन’ तयार गरे । सन् १९२८ मा चीनमा सशस्त्र किसान आन्दोलन भयो । किसान सङ्घमा मतभेद देखाप¥यो । सन् १९३० मा उनी अध्यक्ष भए । माओ आफै कोदालो बोकेर किसानसित खेतमा गएर काम गरे । ‘सारा सत्ता किसानहरुको हातमा सुम्पिनुपर्ने’ नारा दिएर १ करोडभन्दा बढी किसानहरुलाई संगठित गरे ।
चिङकाङसानको यात्रा
माओत्सेतुङ चिङकाङसानको पहाड उक्लिए । चीनको हुनान र क्याङसी प्रान्तवीचको विशाल पर्वतमालाको नाम हो–चिङ्काङसान । चिनियाँ क्रान्तिको इतिहासमा पहिलोपटक १९२७, सेप्टेम्बर २७ मा पहिलो आधार इलाका बनाए । त्यो क्रान्तिकारीहरुको आधार इलाकालाई ध्वस्त पार्न च्याङकाइसेकको प्रतिक्रियावादी शासकले चारपटक घेरा हालेको थियो तर बैरीहरू असफल भए । चिनियाँ क्रान्ति विजयको मुख्य आधारशिविर थियो–चिङकाङसानको अग्लो पहाड । माओ सैनिक टोलीको नेता समेत गरे । आफ्नो नेतृत्वको सेनालाई प्रोत्साहन गर्नको लागि उनले ‘एउटै आगोको झिल्कोले डढेलो लगाउन सक्छ’ भन्ने रचना लेखेका थिए । सन् १९३०–३१ मा कोमिनताङ सत्ताको सेनासँग माओ नेतृत्वको सेनाले तीनवटा लडाईमा विजय प्राप्त गरेपछि च्याङकाइसेकको सत्ताले उनको टाउकोको मूल्य तोक्यो ।
लामो अभियान
माओको नेतृत्वमा १८ अक्टोबर १९३४ देखि २० अक्टोबर १९३५ सम्म २ सय ६८ दिन ८ हजार माइल लामो ‘लङमार्च’ सञ्चालन भयो । सुरुमा माओले १,३०,००० जनाको नेतृत्व गरी लङमार्च सुरुवात गरेका थिए । यो अभियानमा २५,००० मात्रै बाँच्न सफल भए । उक्त मार्चको क्रममा दशौं हजार लालसेनालाई सरकारी सेनाले मारिदियो भने चिनियाँ कम्युनिस्ट पार्टीले लाखौं लालसेनाको उत्पादन गर्यो। लङमार्चले कम्युनिस्ट पार्टी निर्माणको महत्वपूर्ण जग बसाल्यो ।
यो अभियान जापानी आक्रमणको सशक्त प्रतिरोध गर्न छरिएका जनसेनालाई एकत्रित गर्नुका साथै येनानको सुविख्यात आधार इलाकाबाट जनक्रान्ति सम्पन्न गर्ने महान् अभियान थियो । चिनियाँ क्रान्तिको इतिहासमा यसको उच्च स्थान रहेको छ । चार हजार माइल कठोर पहाड, नदी, भञ्ज्याङ, पार गर्दै शत्रु सैन्यको बमवर्षक हमलाको सामना गर्दै १८ वटा ठूलाठूला पहाड पार गर्दै, २४ वटा महान् नदीहरु छिचोल्दै जनताको एउटा पनि धागोको टुक्रा र सियो पनि नलिने, वीरहरुको उल्लास र वलिदानको गाथा रच्दै, हिउँले भिजेका पेटीका छाला, जुत्ता उसिन्दै र हरिया पात र हाँगाका टुसाहरु खादै लङमार्च अगाडी बढेको थियो । यसको उत्तरमा रहेका चु तेहका लालसेनासँग मिल्न र क्रान्ति सम्पन्न गर्न निर्णायक भूमिका रहेको छ । यसै अभियानमा कमरेड माओले सूत्रबद्ध गर्नुभएको गुरिल्ला युद्धनीति ‘दुश्मनले लखेट्दा आफू जोगिने, ऊ आराम गर्दा आक्रमण गर्ने, ऊ भाग्दा लखेट्ने, ऊ अघि बढ्दा छक्काउने रणनीति’ कार्यान्वयन गरेका थिए । चिनियाँ जनसेनाको वीरतापूर्ण सङ्घर्षलाई प्रतिविम्बित गर्दै माओले कविता लेखेका थिए–
‘दूर दूर लालसेना यात्रा गरिरहन्छन्,
सन्त्रास कुनै नलिइकन अघि अघि बढिरहन्छन्,
वीरका निम्ति पहाड नदी छेकवार छैनन्’
–(माओ\लङ्मार्च, १९३५)
चिनियाँ क्रान्ति र औद्योगिकरण
चिनियाँ कम्युनिस्ट पार्टीले १९४९ अक्टोबर १ मा चीनको आकाशमा हँसिया हथौडाको रक्तरञ्जित झण्डा फहर्यायो । त्यो दिन पेकिङको तियानमेन चोक जहाँ डा. सनयात सेनको ठूलो मूर्ति राखिएको थियो । त्यसको दुवैपट्टि माओत्सेतुङ र उनको पार्टीका पोलिटब्युरो सदस्य उभिएका थिए । लाखौं चिनियाँ जनता माओलाई हेरिरहेका थिए । त्यो दिन क्रान्तिको विजयको दिन थियो । सहरभरि आतिसबाजी चलिरहेको थियो तर माओमा अहङ्कारको कुनै संवेग थिएन, गहिरो विनम्रता थियो । माओ विश्वभरिका श्रमजीवी जनताका प्रिय नेता थिए । विश्व सर्वहारावर्गका महान आदर्श र पथप्रदर्शक थिए ।
क्रान्तिपछि कोमिन्ताङ शासनको बचेखुचेको अवशेषहरुलाई नष्ट पार्ने अभियान चलाइयो । तिब्बतलाई शान्तिपूर्ण तरिकाले विदेशी साम्राज्यवादको हातबाट मुक्त पारियो । क्रान्ति सम्पन्न भएपछि घुसखोरी, राजस्वको चोरी, कर छली, सरकारी बेइमानी, आर्थिक सूचनाको चोरीलगायत राष्ट्रविरोधी बदमासहरुलाई तह लगाइयो । भूमिसुधार कानुन लागुगर्दै सन् १९५०–५२ सम्म ३० करोड भूमिहीन किसानलाई जमिन बाँडियो । चीनका गाउँहरुमा लाखौंको संख्यामा कृषि र उत्पादक सहकारीहरुको स्थापनाले चीनको ग्रामीण अर्थतन्त्रलाई ठूलो योगदान पुग्यो । सन् १९५६ सम्म देशका कुल कृषक परिवारमध्ये ९६ प्रतिशतलाई सहकारीमा सामेल गराइयो । कुल सहकारीमध्ये ८८ प्रतिशत सहकारी कृषि सहकारी थिए । बचेखुचेका चिनियाँ पुँजीपतिका उद्योगहरुलाई सहुलियतपूर्ण क्षतिपूर्ति दिएर तथा केहीलाई पूर्ण रुपमा कब्जा गरेर राष्ट्रियकरण गरियो । तीब्र गतिले राष्ट्रलाई औद्योगिकरण गरियो ।
चीनको औद्योगिकरणमा सोभियत रुसले आर्थिक र भौतिक मात्रै होइन, हजारौं विशेषज्ञहरुको टोली पठाएर सहयोग गर्यो । घरेलु प्रतिक्रियावादीहरुलाई तहसनहस पारेपछि १९५६ मा चीनमा समाजवाद लागु भयो । चीनले विकासमा तीब्र गतिमा फड्को मार्न थाल्यो । चीनले १९५६ मा गाडीहरुको उत्पादन थाल्यो, १९५७ मा तेल प्रशोधन केन्द्र खोल्यो, १९६४ मा आणविक बमको सफलतापूर्वक परीक्षण गर्यो, १९६७ मा हाइड्रोजन बमको परीक्षण गर्यो, १९७० मा भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो, १९७३ मा संसारमै पहिलोपटक हाइब्रिड धानको खेती सुरु गर्यो ।
सर्वहारा सांस्कृतिक क्रान्ति
माओले सोचे जसरी चिनियाँ समाजवाद अगाडि बढ्न सकेन । चिनियाँ कम्युनिस्ट पार्टीमा पुँजीवादी सरदारहरुको विकास हुन थाल्यो । जनताले निरीह महसुस गर्न थाले । त्यसका विरुद्धमा १९६६ देखि ७६ सम्म माओत्सेतुङकै नेतृत्वमा चीनमा सांस्कृतिक क्रान्ति चल्यो । त्यो क्रान्ति मूलतः चीनको कम्युनिस्ट पार्टीमा देखा परेको अवसरवादी एवं दक्षिणपन्थी धारका विरुद्ध लक्षित थियो । उनले बेइजिङको चोकमा उभिएर ‘हेडक्वार्टरमा बम बर्साऊ’ को नारा लगाएर क्रान्तिको आह्वान गरेका थिए ।
