२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
सिरियाली  संकटकाे राजनीति भविष्य

सिरिया युद्ध, सत्तापलट र संभावित परिघटना

सिरिया युद्ध, सत्तापलट र संभावित परिघटना

सिरियामाथि बिद्रोही संगठनहरुले कब्जा जमाएपछि मध्यपुर्वकाे राजनीति नयाँ काेर्समा अगाडि बढ्न सुरु भएकाे छ ।

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१

  •                          अशोक शर्मा 

    सिरियामाथि बिद्रोही संगठनहरुले कब्जा जमाएपछि मध्यपुर्वकाे राजनीति नयाँ काेर्समा अगाडि बढ्न सुरु भएकाे छ । खासगरी लामाे समयदेखि सिरिया अन्तर साम्राज्यवादी अन्तरविरोधकाे अखडा बन्दै आएकोमा अहिले पछिल्लो नाटकीय ढंगबाट विकास भएको विद्रोहवाट सत्तारूढ दलका राष्ट्रपति बसर अल-असद सत्ताच्युत हुन पुगेका छन । रसिरियामा भएका विभिन्न प्राेक्सी बार र त्यसको पछिल्लो संस्करणमा भएकाे उक्त  सत्तापलट घटनाका कारण, आधार र परिणामको वारेमा विभिन्न काेणवाट वहस हुने गरेकाे छ । 

    सिरियामा २४ वर्षयता लगातार राष्ट्रपति शासन संचालन गर्दै गरेका  बसर अल-असद यतिबेला सिरियावाट भागेर रुषकाे मस्काे पुगेकाे खवर छ । उनकाे पतन संगसंगै सिरियामा उनका बुबा हाफिज अल-असदकाे 29 वर्ष र उनकाे २४ वर्ष गरि ५३ वर्षको पारिवारिक शासन समाप्त भएकाे छ । साथै आगामी दिन सिरियाकाे राजनीति कसरी अगाडि बढ्छ ? भन्ने प्रश्नलाई यतिबेला आमरुपमा चासाे, काैतुहलता र सराेकारहरुले घेराबन्दी गरिरहेका छन । सिरियाली विद्रोह, यसकाे उत्पति, विकास र आजकाे परिस्थितिका समग्र पाटा र पक्षलाई तथ्यसंगत ढंगले विश्लेषण नगरि यसकाे भित्री र चुराे कुराे थाह पाउन गार्‍हो हुन्छ । 

    १. असद परिवारकाे शासन 

    बसर अल-असद सिरियाली सत्तमा आउनु भन्दा पहिला उनका बुबा हाफिज अल-असद सिरियाका राष्ट्रपति थिए ।  हाफिज अल-असद सन १९७१ मार्च १४ मा सिरियाली उमेरहदकाे कानुन बमाेजिम ४० वर्षकाे उमेरमा सिरियाका १८औं राष्ट्रपति भए । हाफिज सन २००० जुन १० मा मृत्युु नहुदासम्म २९ वर्ष सिरियाकाे एकलौटी राष्ट्रपति भइरहे । उनकाे मृत्यु पछि उमेरहद घटाएर भएपनि उनका छाेरा बसर अल-असदलाई राष्ट्रपति बनाउनुपर्ने देशभर माहोल सृजना भएपछि सन २००० काे १७ जुनकाे दिन बसरकाे उमेर अनुसारको संविधान संशोधन गरि उनलाई सिरियाकाे नयाँ राष्ट्रपति चयन गरियाे । त्यसयता सन २०११ सम्म उनी सिरियाका निर्विवाद राष्ट्रपति थिए । 

    सन १९५८ मा अरब राष्ट्रवादकाे नारा दिदै सिरिया इजिप्टसंग एकीकरण भएता पनि त्याे एकिकरण सन १९६१ मै असफल हुनपुग्याे र सिरियाकाे सत्ता त्यहाँको बाथ पार्टीले नियन्त्रणमा लियाे । बाथ पार्टीका कट्टर समर्थककाे रुपमा अभिएका हाफिज सन १९६६ पछि रक्षामन्त्री हुदै सन १९७१ मा सिरियाकाे १८ औं राष्ट्रपति बन्न सफल भए । त्यसयता राष्ट्रवादी नेताकाे छवि बनाएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयात्मक भुमिकामा अब्बल प्रमाणित भएका बाथ पार्टीका नेता हाफिज  सिरियाका निर्विवाद शासक बन्न सफल मात्र भएनन कि अझ उनको परिवारका सदस्यमध्देवाट नै आगामी सिरियाकाे राष्ट्रपति र हजिफकाे उत्तराधिकारी चुन्नुपर्ने राष्ट्रिय माहोल तयार हुदै गयाे ।  

    बसर अल- असदकाे जन्म बुबा हाफिज अल- असद र आमा ओनिस माखलाेफकाे कान्छो छाेराकाे रुपमा सन १९६५ मा भएकाे थियाे। उनका एकजना दाइ बासेल अल-असद थिए । प्रारम्भिक कालमा बसर अल-असद सिरियाली सत्ता राजनीति भन्दा अलगै रहेका थिए । राजनीतिक गतिविधि र साेचभन्दा अलग रहेका बसर सन १९९२ तिर चिकित्सा शिक्षा अध्यायन गर्न लण्डन गए ।  सिरियाली जनताले भावी राष्ट्रपतिकाे लागि हिजफकाे उत्तराधिकारीकाे रुपमा उनका दाइ बासेल अल-असदलाई स्वीकार गरेकाे कारण पनि बसर अल- असद सकृय राजनीतिमा आउन इच्छुक थिएनन । सन १९९४ मा सिरियाकाे राजधानी दमास्कसमा भएकाे कार दुर्घटनामा दाइ बासेलकाे मृत्यु भएपछि उनी र उनकी प्रेमिका( पछि उनीसँग बसरकाे विवाह भयाे) आसमा अल- अखरास सिरिया फर्के र सन २००० मा बुबाकाे मृत्यु पछि उनी राष्ट्रपति भए ।

    बुबा हजिफ अल-असदकाे मृत्युु हुदा बसर अल-असद ३४ वर्षका मात्र थिए । उनलाई राष्ट्रपति बनाउन सिरियाकाे संविधान संशोधन गरेर ४० वर्षको उमेरहदलाई घटाएर ३४ बर्ष कायम गरिएकाे थियाे । बसर राष्ट्रपति बनेपछि सन २००१ मा भएकाे प्रथम निर्वाचमा 95 प्रतिशत भन्दा बढी मत सहित निर्वाचित भए भने पछिल्लाे सन २०२१ मे २६ मा भएकाे निर्वाचनमा विना प्रतिस्पर्धा  ९५.३ प्रतिसत मत ल्याएर चाैथाे कार्यकालमा निर्विरोध राष्ट्रपतिमा निर्वाचित भएका थिए । बसर अल-असद राष्ट्रपतिमा निर्वाचित भएपछि आफू उदार लाेकतन्त्रवादी भएकाे दाबी गर्दै उनले नव उदारवाद, लाेकतन्त्र, पारदर्शिता, आधुनिकीकरण, विकास, जवाफदेहिता र संस्थागत विकासकाे दृष्टिकोण सहितकाे याेजना पेश गरे । उनकाे याे याेजनाकाे सिरियाभर प्रशंसा र चर्चा भएको थियाे । एक दशकसम्म सिरियामा निर्विवाद सत्ता संचालन गरेका बसर अल-असद सन २०११ पछि भने विवाद, संघर्ष, विद्राेह र प्रतिरोधकाे क्रुरतापुर्वक सामना गर्नुपर्ने बाध्यात्मक परिस्थिति विच सत्तामा झण्डै १४ वर्षसम्म टिकिरहन सफल भए । एउटा राेचक पक्ष के छ भने असद परिवार सिरियाकाे सुन्नी बाहुल्य क्षेत्र भित्रकाे अल्पसंख्यक इस्लामिक सीया समुदाय अन्तर्गत पर्दथ्याे । अझ महत्त्वपूर्ण पक्ष चाहिँ उनीहरू अल्पसंख्यक  सीया इस्लामिक सम्प्रदाय भित्र पनि पिछडिएकाे जाति अलावाइत समुदायका थिए । अल्पसंख्यक पिछडा जातिकाे हातवाट पछिल्लो ४५ वर्ष सिरियाली इतिहासमा एकलौटी सत्ता सन्चालन हुन सक्नु निकै महत्त्वपूर्ण कुरा हाे ।

    २. संघर्ष, प्रतिरोध र अन्तरघातका पछिल्ला चरण

    बसर अल- असद सिरियाकाे सत्तामा आएपछि सन १९९१ मा खाडि युद्धमा सहयाेग गरेजस्तै सन २००३ मा भएकाे इराक युद्धमा सहयाेग गर्न गरेकाे अमेरिकी अनुराेध विपरीत  असद इराककाे पक्षमा उभिए र उनले इराकमाथि अमेरिकी आक्रमणकाे निन्दा गरे । यसवाट अमेरिका असदकाे विरुद्धमा खडा भयाे र सिरियामा प्रतिबन्ध लागाउन सुरु गर्याे । यसकाे विकल्पमा बसर अल-असदले रुषसंग सम्बन्ध विस्तार गरे भने इराकसंग विग्रेकाे सम्वन्धलाई पनि सुधार गरे । असदका अमेरिका विराेधि यसप्रकारका कार्यहरुवाट आक्राेशित अमेरिका लगायत पश्चिमा राष्ट्रहरु सिरिया विरुद्ध एकताबद्ध हुन थाले । लेभनानमा सिरियाले सन १९७४ देखि नै आफ्नो  सैनिक बेशक्याम्प खडा गरेकाे थियो जुन कुराले अमेरिका र पश्चिमा देशहरूकाे टाउकाे दुखाइ भइरहेकाे थियाे । यहि पृष्ठभूमिमा सन २००५ मा लेभनानका पुर्व राष्ट्रपति राफिक हरिरीकाे राजधानी बेरुतमा बम विस्फोटवाट मृत्य भयाे । अमेरिका र पश्चिमा राष्ट्रहरुले राफिक हरिरीकाे हत्यामा सिरियाकाे हात रहेकाे प्रचारबाजी गर्दै लेभनानीहरुकाे आक्राेशकाे आगाेमा घिउ थप्ने काम गरे । त्यसपछि लेभनानमा सिरिया बिरुद्ध देशव्यापी प्रदर्शन हुन थाल्याे । लेभनानकाे हिजमुल्ला समूह बाहेक सबै संघ संगठनकाे विरोध र प्रदर्शनकाे कारण ३० वर्ष देखि खडा गरेकाे सैन्य वेस क्याम्प सहित सिरिया लेभनानवाट फिर्ता हुन बाध्य भयाे ।  

    समयक्रममा असदकाे पहलवाट लेभनान संगकाे सम्वन्धमा सुधार भएपनि सीया र सुन्नी मुस्लिम समुदायका विचकाे अन्तरविरोधलाई उपयोग गर्दै अमेरिका, इजरायल र पश्चिमा देशहरू सिरियामा अशान्ति मच्चाउन थाले ।  सन २०११ तिर अमेरिकाद्वारा संचालित बुद्धिजीवीहरुले मागपत्र राखेर सिरियामा विराेध र प्रदर्शन गर्नथालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रक्रियामा सिरियामा गृहयुद्ध चर्कन थाल्याे । सुन्नी समुदाय भित्र अमेरिकी याेजनामा अल कायदा लगायतका संगठनहरुकाे प्रवेश र उनीहरुलाई अमेरिकाले उपलब्ध गराएको हतियार र सैन्य प्रशिक्षणकाे कारण गृहयुद्ध थप जटिल र दीर्घकालीन बन्दै गयाे । यसै विचमा इराककाे सुन्नी इस्लामिक चरमपन्थी समुह इस्लामिक स्टेट (आइएस ) ले सिरियाका केही स्थान कब्जा गरि रक्का सहरलाई राजधानी बनाइ छुट्टै समानान्तर राज्य सन्चालन समेत गर्याे भने अमेरिका इजरायल लगायतबाट संचालित सुन्नी इस्लामिक समुहहरले समेत कैयौं सिरियाली सहरहरु कब्जा गर्न थालेपछि ती विद्रोहहरु दबाउन असदले रुषसंग सहयाेग लिए । तत्कालीन अवस्थामा ठूलो दमन र प्रतिरोध पछि विद्रोही समुहरुलाई पराजित गरी असदले आफ्नो सत्ता जाेगाउन सफल भए । विद्रोही समुहमाथिकाे दमन र उनीहरुको पराजयबाट सत्ता जाेगाउन सफल बसर अल- असद त्यसयता अमेरिका, इजरायल र टर्कीवाट हुने साम्राज्यवादी हस्तक्षेपको विपक्षमा खडा भइरहे भने उनकाे सत्तालाई रुष, इरान,लेभनानकाे हिजमुल्ला र इराक समेतले सहयोग र संरक्षण प्रदान गर्दै आएका थिए । अझ पछिल्लो समयमा रुष र इरानकाे पहलकदमीकाे परिणामस्वरूप सन २०२३ काे मे देखि सिरिया अरब लिगमा पुनः सहभागी समेत हुदै आएको थियाे ।

    ३. प्राेक्सी वार र आश्चर्यजनक सत्तापलट 

    सिरियाकाे पछिल्लो सत्तापलटकाे घटना नाटकीय ढंगले भएकाे छ । मध्यपुर्वमा पछिल्लो समय सत्ता संघर्ष र वाह्य संघर्षकाे दृष्टिकोणले तुलनात्मक रुपमा शान्त जस्ताे ठानिएकाे सिरियामा एक्कासि चमत्कारीक ढंगले सत्तापलट हुनुलाई  शंकास्पद र  नियाेजित घटनाको रुपमा व्याख्या भइरहेको पाइन्छ । एकतिर लेभनानकाे ससस्त्र समूह हिजमुल्ला संग इजरायलकाे युद्धविराम हुनु तथा साेही दिनवाट सिरियामा जिहादी संगठनहरुकाे तर्फवाट राष्ट्रपति बसर अल-असद नेतृत्वको  सत्ता विरुद्ध युद्धको प्रारम्भ हुनुलाई प्रयाेजित घटना  हाेइन भन्न सकिने अवस्था देखिदैन ।  लामाे समयदेखि  सिरियाम अमेरिका, टर्की, इजरायल, इराक, इरान लगायतका देशहरुकाे छुट्टाछुट्टै प्राेक्सी समूह युद्धरत रहदै आइरहेका थिए । अमेरिका, टर्की र इजरायलका प्राेक्सी समुहहरु असद सत्ता विरुद्ध युद्धरत थिए भने इरान, हिजमुल्लाह र रुष राष्ट्रपति बसिर अल-असदकाे सत्तालाई सहयोग गर्दै आइरहेका थिए । पछिल्लो समय अमेरिकी सहयाेगमा हुर्कीएकाे र अक कायदा संगठनमा आबद्ध सिरियाकाे इस्लनमिक जीहादी संगठन हयात तहरिर अल- साम (HTS) ले अमेरिका र इजरायलकाे हतियार र तालिमकाे बलमा बिद्रोहकाे नेतृत्व लिन पुग्याे र त्याे समुहसंग इजरायल र टर्की र इराक सम्बद्ध प्राेक्सी समुहहरुले समेत असदकाे सत्ताविरुद्बकाे युद्धमा सहयाेग गरेपछि सिरियाली आकस्मिक  विद्राेह  सत्तापलटकाे चरणसम्म विकास हुन पुग्याे । 

    पछिल्लो पटक सत्तापलका विकसित घटनाक्रमकाे स्वरुप र चरित्र निकै संसयपुर्ण र नाटकीय ढंगबाट विकास भएको देखिन्छ। इजरायल संग दुश्मनीपुर्ण सम्वन्धमा रहेकाे टर्कीले इजरायल र अमेरिकी समर्थित प्राेक्सि ग्रुपलाई साथ दिनु, इरान, टर्की र इराककाे कतारमा बार्ता हुनु त्यसपछि टर्कीले जीहादि संगठन HTS लाई सहयाेग गर्नु र उसकाे सिमाक्षेत्रमा पर्ने सिरियाली सहर इडबिल कब्जा गर्नु त्यसकाे अर्काे दिन सिरियाकाे दाेस्राे ठूलो सहर ओलेप्पाे कब्जा गर्नु , लगत्तै अर्काे सामरिक महत्वकाे क्षेत्र मानिएको हाेम्स कब्जा गरि लगातार विना अवराेध राजधानी दमास्कस छिर्नु, त्याे घटना संगसंगै रुषकाे परराष्ट्रमन्त्री र विद्रोही संगठन HTS का प्रतिनिधिहरुविच वार्ता हुनु र रुषले आफ्ना नागरिकहरुलाई सिरिया छाेड्ने निर्देशन दिनु तथा राष्ट्रपति बसर अल-असद विना प्रतिवाद सिरियावाट भागेर रुष जानू, असदले सिरिया छाेडेकाे सुचना पाउने बित्तिकै विद्राेही संगठनले सत्तापलट भएकाे घाेषणा गर्नु, सिरियाली बहालवाला प्रधानमन्त्री माेहमद गाजी अल- जलालीले अन्तरिम कालिन सिरियाली सत्ताकाे नेतृत्व गर्ने सहमति हुनु, विद्राेही संगठन र विपक्षि दलले सरकारी कार्यलय र सैन्य ठेगानामा युद्ध नगर्न आफ्ना सेनालाई निर्देशन दिनु तथा त्याे निर्देशन विपरीत अमेरिका र इजरायलद्वार लगातार सिरियाली सरकारी भवनमाथि हमला हुनु जस्ता घटना र यसकाे प्रकृति हेर्दा असदकाे सत्तापलट संगसंगै सिरियाकाे राजनीति विचित्रको परिस्थितिवाट अगाडि बढ्न खाेजिरहेकाे देखिन्छ । 

    एकतिर रुषकाे सन्निकट भुमिकामा रहेका हिजमुल्लाह र इरानका प्रतिनिधिहरु कतारमा टर्कीसंग वार्ता गरेपछि अमेरिकी समर्थित प्राेक्सी समुहलाई टर्कीले साथ दिनु, रुष र सिरियामा युद्धरत विद्रोही समुह विचकाे वार्ता वाट आन्तरिम कालकाे लागि बहालवाला प्रधानमन्त्रीकाे नेतृत्वमा सत्ता संचालन गर्ने सहमति गरि असदलाई रुषमा संरक्षण दिनु तथा अर्काेतिर नवनिर्वाचित डनेनाल्ड ट्रम्पले सिरियाली युद्ध आफुहरुकाे नभएको बताउनु र इजरायलले सत्तापलट भइसक्दा समेत सिरियामथिकाे आक्रमण नराेक्नु तर हिजमुल्लाह, इरान, रुषले आक्रमण बन्द गर्नुले सिरियाकाे वर्तमान सत्तापलट अमेरिका र इजरायलकाे प्रत्यक्ष भुमिका र इन्ट्रेष्ट भन्दा बाहिर गएकाे बुझ्न कुनै अफ्ट्यारो पर्दैन । 

    ४. बसिर अल-असदकाे सत्ता पलटका कारण

    प्रथम: बसिर अल-असद शासनकालमा प्रारम्भिक कालबाट नै  सबैभन्दा ठूलाे चुनाैति अमेरिकी साम्राज्यवाद र इजरायल हुदै आएको थियाे । सन १९९१ काे खाडी युद्धमा अमेरिकालाई साथ दिएकाे सिरियाले बसिर अल-असद राष्ट्रपति बन्ने बित्तिकै मध्यपुर्वका देशहरुमाथिकाे वाह्य हस्तक्षेपकाे समर्थन नगर्ने अडान मात्र लिएनन अझ सन २००३ मा इराकमाथि भएकाे अमेरिकी आक्रमणको निन्दा समेत गरे ।  सिरिया मध्यपुर्वमा अमेरिकाकाे साम्राज्यवादी सैन्य याेजनाकाे सामरिक महत्त्व बाेक्ने क्षेत्र बनाउने अमेरिकी याेजनाकाे असद बाधक बनेपछि उनको विरुद्धमा मुस्लिम समुदायभित्रकाे जातीय र साम्प्रदायिक अन्तरविरोधमा अमेरिका घुस्न पुग्याे र त्यसयता सिरिया अन्त्यहीन गृहयुद्धको चपेटामा पर्न गयाे । 

    द्वितीय: अमेरिकाले  सिरियामा एक आपसमा संघर्षरत इस्लामिक सिया र सुन्नी समुदायकाे अन्तरविरोध भित्र घुसेर प्राेक्सी वारकाे संचालन गर्न थालेपछि टर्की, इराक, लेभनान, इरान लगायतका देशहरुले समेत आ-आफ्ना प्राेक्सी समूह बनाए र संघर्ष सुरु गरे । राष्ट्रपति बसर अल-असद संधै  ती सबै युद्धरत समुहहरुकाे निसानाकाे केन्द्रमा परिरहे । एक हिसाबले भन्नुपर्दा विगत केही वर्षयता सिरियाली भुमि  साम्राज्यवादीहरुकाे युद्ध अभ्यासको प्रयाेगशाला जस्तै हुदै आएकाे थियाे । यहि स्थितिकाे निरन्तरताकाे पछिल्लो कडीकाे रुपम अहिलेकाे सत्तापलटलाई लिन सकिन्छ ।

    तृतीय: बसिर अल- असद र असद परिवारकाे ५३ वर्षकाे सिरियाली सत्ता नेतृत्व सामान्यतया संभव हुने विषय नै हाेइन। बसर परिवार सिरियाकाे अल्पसंख्यक इश्लामिक सिया समुदायमा पर्दछ। सिरिया सुन्नी समुदायकाे बाहुल्यता रहेकाे देशमा अल्पसंख्यक समुदायवाट अधा सताब्दी भन्दा बढी समय राष्ट्रपति हुनु चानचुने कुरा हाेइन । अझ असद परिवार अल्पसंख्यक इस्लामिक सिया समुदाय भित्रकाे पिछडिएका अलाबाइत जाती अन्तर्गत पर्दछ । समग्रतामा भन्नुपर्दा पछिल्लो समय बहुसंख्यक सुन्नी समुदायले अमेरिकी साम्राज्यवादवाट तालिम, पैसा र हतियार लगायत सहयोग प्राप्त गर्नु र अन्य देशका प्राेक्सी समुहहरुले पनि त्यही बाटाे अक्तियार गर्नु तथा आफ्नै समुदायभित्रवाट पनि उपयुक्त सहयोग नगर्नुकाे कारण बसर अल-असदकाे सत्तापलट सहजरूपमा भएकाे देखिन्छ ।

    चतुर्थ: सिरियाली राष्ट्रपति बसर अल-असदले आफ्नो देशकाे राष्ट्रिय सेनाप्रति भर पर्न छाेड्नु, उनीहरुलाई उचित सैन्य तालिम, राजनीतिक प्रशिक्षण, कुटनैतिक ज्ञान, हतियार निर्माण र आपूर्ति, राष्ट्रियताकाे भावनामा विकास गराउनुकाे सट्टा रुष, इरान जस्ता शक्तिशाली मुलुकमाथि भर पर्नु नै उनकाे सत्तापलटकाे मुख्य कारण मान्न सकिन्छ । यतिबेला सिरिया सामु यस्तो परिस्थिति विकास भयाे जतिबेला रुष युक्रेन युद्धमा अमेरिका र नाटाे राष्ट्रहरुसंग  निर्णायक चरणमा लडाइँ लडिरहेको थियाे भने इरान र हिजमुल्लाह इजरायल र मध्यपुर्वकाे युद्धमा केन्द्रित भइरहेकाे थियाे । जसकाे कारण असद शासनको सुरक्षा गर्दै आएका यी शक्तिहरू आफ्नै आन्तरिक समस्यमा फसेकाे माैका छाेपि अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले सिरियाली जिहादी संगठनलाई पर्याप्त हतियार र बजेट दिएर प्रायाेजित ढंगले बसर अल- असदकाे सत्ता पलट गर्न मद्दत गरिदिए ।

    ५. सिरियाली  संकटकाे राजनीति भविष्य 

    बसिर अल-असदकाे पराजय संगै भएको सत्तपलट पछिकाे सिरियाकाे आगामी राजनीतिक भविष्यकाे वारेमा विभिन्न काेणवाट बहस भइरहेको पाइन्छ । तर एउटा कुरा के स्पष्ट छ भने सिरियाकाे गृहयुद्धको संकट आगामी दिनमा झन भयावह ढंगले अगाडि बढ्दै जानेछ । यसकाे संकेत अहिलेवाट नै प्रष्ट रुपमा देखिन थालेकाे छ । यसपटक सिरियामा नाटकीय ढंगबाट सत्तापलट हुनुमा अमेरिका र इजरायलकाे भन्दा पनि रुष, टर्की, इरान, लेभनान, इराक, कतार लगायतका मुस्लिम देशहरुकाे इच्छाले समेत काम गरेकाे जस्ताे देखिन्छ । एकातिर इरान, टर्की, इराक र लेभनानी अधिकारीहरुले कतारमा बैठक गरि आपसी समझदारी कायम गरि अगाडि बढ्ने निष्कर्ष निकाल्नु तथा अर्कातिर रुषी परराष्ट्रमन्त्रीले सिरिया विद्रोहकाे नेतृत्व गरिरहेकाे इस्लामवादी  संगठन हयात तहरिर अल-साम (HTS) संग बार्ता गरेपछि विना प्रतिरोध सिरियाकाे सत्तापलट हुनुलाई पछिल्लो सत्तापलटकाे विकसित परिस्थितिकाे रुपमा लिनुपर्दछ । भनिरहनु पर्दैन कि रुष, इरान लगायतका राष्ट्रले चाहेकाे भए यति चाँडै सिरियाकाे सत्तापलट संभव हुने विषय नै थिएन । 

    सिरिया सत्तापलटकाे अर्काे चाखलाग्दाे विषय त याे छ कि इजलास र अमेरिकी प्राेक्सी संगठनकाे रुपमा काम गरिरहेको (HTS) ससस्त्र संगठनलाई टर्कीले आफ्ना सीमावर्ती क्षेत्र इडबिल कब्जा गर्न पूरा मद्दत गरिदियाे जसको कारण विद्रोही सेना चाँडै नै राजधानी दमास्कस प्रवेश गर्न सफल भयाे ।  इजरायली अस्तित्व रक्षाकाे उदेश्य सहित इजरायल र अमेरिकी हतियार र पैसाकाे बलमा विकास भएकाे सिरियाली विद्राेह रुष, इरान,इराक, लेभनानकाे समेत सहमतिमा टर्कीले प्रयाेग गरिदिदा अमेरिका र इजरायल नराम्रोसँग थाङ्नामा सुत्न पुगेकाे कतिपय विश्लेषकहरुकाे मत रहेकाे पाइन्छ । एकातिर रुषले विद्रोही समुहसंग बार्ता गरि वर्तमान बहालवाला प्रधानमन्त्री माे. गाजी अल-जलालीकाे नेतृत्वमा आन्तरिम शासन संचालन गर्ने सहमति गरेकाे कुरा बाहिरिए संगै असद भागेर मस्काे पुग्नु र विद्रोही नेता अबु माे. अल-जलाली र विपक्षी दलका नेता माे. अल-बहराले सिरियामा सत्तापलट भएकाे भन्दै  युद्धको अन्त्य भएकाे घाेषणा गर्नु तथा अर्काेतिर अमेरिकी र इजरायली सेनाहरुले लगातार सिरियाका प्रशासनिक केन्द्रहरुमाथि हमला गर्दै युद्धलाई निरन्तरता दिनुले सिरियाकाे सत्तापलटकाे निर्णायक चरणसंग जाेडिएकाे राजनीतिक परिस्थितिप्रति अमेरिका र इजरायल संतुष्ट छैनन भन्ने स्पष्ट हुनजान्छ । अझ कतिपयकाे विश्लेषण के रहदै आएको छ भने असद सत्ताका सिरियाली सेना र हतियार समेत रुपले युक्रने युद्धमा प्रयाेग गर्न पाउने सर्तमा सिरियाकाे सत्तापलट संभव भएकाे छ । यदि याे कुरा साँचो हाे भने अमेरिका र इजरायलकाे लागि याे भन्दा दुखद र लज्जास्पद विषय अरु केही हुन सक्दैन । जसले मध्यपुर्वमा इजरायलकाे ढाड भाच्न र अमेरिकाकाे दार्हा नङ्ग्र फुकाल्न महत्त्वपूर्ण भुमिका खेल्न सक्छ। याे तर्ककाे तथ्य र प्रमाण पूर्णरूपले जनमानसमा आइपुग्न भने अझै केही समयमा प्रतीक्षा गर्नु पर्ने देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij