शीतयुद्धको अन्त्य पश्चात अमेरिकाको नेतृत्वमा केही वर्ष एकल धु्रवीय विश्व व्यवस्था कायम भयो । क्यूवा, ब्राजिल, भेनेजुयला, उत्तर कोरियालगायतका मुलुकहरुप्रति अमेरिकाले गिद्देदृष्टि लगाइरहयो । सन् दुई हजारबाट चीनको उदययात्रा शुरु भयो । सन् २०१३ मा चीनले एक क्षेत्र एक मार्गको घोषणा ग¥यो । चिनियाँ सामानले विश्व बजारलाई नै पिट्न थालेपछि अन्तर्राष्ट्रिय राजनीति बहुध्रुवको दिशामा धकेलियो । अमेरिका र चीनका बीचमा चल्दै आएको व्यापारिक प्रतिस्पर्धाको स्वरुप व्यापार युद्धमा परिणत भयो । द्वितीय विश्वयुद्धपछि अमेरिका र तत्कालीन सोभियत संघका बीचमा चलेको शीतयुद्ध विश्व व्यवस्था निर्माणको प्रश्नसित जोडिएको थियो । तर आज अमेरिका र चीनका बीचमा सञ्चालन भइरहेको व्यापार युद्ध विश्व व्यवस्था निर्माणको प्रश्नमा होइन, आर्थिक प्रतियोगितासित सम्बन्धित रहेको छ । आजभोलि चीन र अमेरिकाका बीचमा विश्वका देशहरुलाई कसले कति प्रभावित बनाउने भन्ने होडवाजी पनि चलि नै रहेको छ । चीनको रणनीति विश्वव्यापीरुपमा आर्थिक वर्चश्व कायम गर्ने दिशामा बढ्ता केन्द्रित देखिन्छ भने अमेरिकाले नाकाबन्दी, आर्थिक, राजनीतिक, सामाजिक तथा सामरिक घेराबन्दीको साम्राज्यवादी नीति अवलम्बन गर्दै आएको छ । आजको युरोप कैयन आपसी अन्तरविरोधका बावजुद अमेरिकाकै अनुवर्ति अवस्थामा रहेको देखिन्छ । कतिपय अवस्थामा फ्रान्स र अमेकिकाको बीचमा अन्तरविरोध निकै चर्केर सतहमा आउने गर्दछ । एक अर्को देशले राजदूत फिर्ता गर्नेसम्म गरेका उदाहरणहरु छन् । फ्रान्स विश्वमा सर्वप्रथम पूँजीवादी राजनीतिक क्रान्तिको बींडा उठाएको मुलुक हो । कुनै बेला विश्व राजनीतिमा फ्रान्सलाई रुघा लाग्दा सम्पूर्ण युरोपलाई आछ्युँ आउँछ भन्ने भनाइ थियो । तर आजको युरोपको अवस्था बदलिएको छ र त्यसरुपमा देखिन्न । चीनको उदय भविष्य हो । वर्तमानमा अमेरिका नै त्यस्तो ठूलो शक्तिशाली राष्ट्र हो जसले दुनियाँ हल्लाइरहेको छ र आफ्नो वर्चश्व कायम राख्दै आएको छ । विश्व समाजवादी आन्दोलमा पैदा भएको प्रतिक्रान्तिको लहर तथा समाजवादी आन्दोलनको रक्षात्मक अवस्था सिर्जना भएको वातावरणमा अमेरिकाको साम्राज्यवादी दादागिरी निकै बढेर गएको छ । अमेरिका आज पनि विश्वको महाशक्ति राष्ट्र हो । विश्वका कैयन राजनीतिक घटना, युद्ध तथा शीतयुद्धका नयाँ श्रृंखलाहरु अमेरिकाकै नेतृत्वमा अगाडि आएका छन् । त्यसैले भावी विश्व कस्तो हुने भन्ने कुराहरु मूलतः अमेरिकी नीतिमा निर्भर छन् । त्यसैले अमेरिकी राष्ट्रपतिको चुनावप्रति विश्वकै ध्यान आकर्षित हुने गर्दछ । भर्खरै सम्पन्न अमेरिकाको राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा विश्वकै ध्यान आकर्षित भएको देखियो । किनभने आजको अमेरिकाको राष्ट्रपति पद अमेरिकाको मात्र होइन संसारकै शक्तिशाली पद हो ।
सन् १७८७ मा अमेरिकाको फिलाडेल्फिया शहरमा अमेरिकी राजनीतिज्ञ तथा थिङ्क टयाङ्कहरुले एउटा राजनीतिक सम्मेलनको आयोजना गरेका थिए । सो सम्मेलनमा अमेरिकी राज्य व्यवस्थाका शासकीय स्वरुपका विषयमा पर्याप्त विमर्श र वहस भएको थियो । सो सम्मेलनले अमेरिकामा अध्यक्षतात्मक प्रणाली कायम गर्ने र जननिर्वाचित राष्ट्रपतिलाई सर्वशक्तिमान बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई अमेरिकाले संवैधानिक बनायो । तदनुरुप आजसम्म अमेरिकाले त्यही प्रणालीलाई निसन्देह अपनाउँदै आएको छ । अमेरिकीहरुले यो प्रणालीलाई राजनीतिक स्थायित्वको आधारका रुपमा मूल्यांकन गर्दछन् । अमेरिकाको संविधानमा राष्ट्रपतिले घुस खाएमा, भ्रष्टाचार तथा देशद्रोहका घटना घटाएमा महाअभियोग लगाउने प्रावधान पनि छ । सो महाअभियोग प्रतिनिधिसभाको बहुमतको प्रस्तावका आधारमा अगाडि बढाइन्छ । अमेरिकामा राष्ट्रपति जोनसोनमाथि महाअभियोग लगाइएको थियो जुन प्रमाणित हुन सकेन । त्यसैगरी राष्ट्रपति निक्सनमाथि पनि महाअभियोग लगाइएको थियो । निक्सनले आफ्नो पदबाट राजीनामा दिएपछि महाअभियोगको प्रस्ताव स्वतः निस्क्रिय भएको थियो ।
यस्तो देश अमेरिकामा भर्खरै राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । रिपव्लिकन पार्टीका नेता ठूलो व्यापारी घरानाका व्यक्तित्व डोनाल्ड ट्रम्प विजय घोषित भएका छन् । उनी अमेरिकाका ४७ औं राष्ट्रपति हुन् । डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा वाशिङ्टन डिसीको ह्वाइटहाउसमा प्रवेश गरेर राष्ट्रपतिको पदभार ग्रहण गर्दै राष्ट्रपतिको जिम्मेवारी लिनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति जस्तो शक्तिशाली पदमा विजय भएता पनि उनको सुझबुझ र प्राज्ञिक छवि राम्रो देखिन्न । उनी सन् २०१६ को राष्ट्रपतीय चुनावमा विजय भएका थिए । उनले अपनाएका ‘अमेरिका फस्ट’मा आधारित केही नीतिका कारण राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विवादित बनेका थिए । सन् २०२० को निर्वाचनमा डेमोक्र्याट पार्टीका नेता जो वाइडेन विजय भएका थिए । डोनाल्ड ट्रम्पले पराजय व्यहोरेका थिए । तर उनले सो पराजयलाई अस्वीकार गरेका थिए र आफ्ना समर्थकहरुलाई संसद भवनमा इटा हान्न लगाएका थिए । यसपटकको आफ्नो विजयलाई ‘स्वर्ण युगको शुरुवात’ को संज्ञा दिएका डोनाल्ड ट्रम्पको विजय र कमला ह्यारिसको पराजयका पछि अमेरिकाका भयंकर ठूला कर्पोरेट घरानाहरुको हात छ । ती घरनाहरुको नेतृत्व एलन मस्कले गरेका छन् । कुनै बेला अमेरिकाको राजनीति रकफेलर परिवारले चलाउँथ्यो । अहिले मस्क परिवारले हल्लाउँछ । पूँ‘जीवादी व्यवस्थको आन्तरिक नीति निर्माता पूँजीपति नै हुन्छन् । सरकार त एउटा आवरण मात्र हो । यो पूँजीवादको विशेषता हो । भारतमै पनि स्वतन्त्रता पश्चातको नेहरु नेतृत्वको सरकारलाई टाटा, विड्ला र डालमियाँको घरानाले हल्लाउँथ्यो । आज मूलतः मुकेश अम्वानीले हल्लाउँछन् । त्यसो त केही वर्ष अगाडि भारतीय लेखक तथा आलोचक राजेश जोशीले भनेका थिए– ‘वर्तमान दुनियाँमा विलगेट्स जर्जवुशभन्दा साना छन् न त मुकेश अम्वानी भन्दा मनमोहन सिंह नै ठूला । विलगेट्स र मुकेश अम्वानीले आफूलाई जर्जवुश र मनमोहन सिंह भन्दा ठूला दाबी गर्न सक्छन् । दुनियाँ अमेरिकाले बनाएका नियमहरुबाट त्यति चल्दैन । जति बिलगेट्सद्वारा उत्पादित कम्प्युटर र सफ्टवेयरहरुबाट चल्छ ।’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आजको साम्राज्यवादी बजारशास्त्र, पूँजीवादी भूमण्डलीकरण र उपभोक्तावादले उभ्याएका पात्र हुन् । ट्रम्पले आफ्नो कार्यकाललाई स्वर्ण युग हुने घोषणा गरे पनि विश्वका उत्पीडित राष्ट्र तथा गरिबहरुको जिन्दगीमा परिवर्तन आउन सक्दैन । अमेरिकाको राजनीतिक नेतृत्वमा डोनाल्ड ट्रम्प होउन् वा जो वाइडेन मानवतावाद विरोधी अमेरिकी साम्राज्यवादी नीतिमा आधारभूत फेरबदल हुनेछैन । एलन मस्क अमेरिकाको विद्युतीय टेस्ला कार निर्माण गर्ने विशाल कम्पनीका मालिक हुन् । ट्रम्पको चुनाव प्रचारमा एलन मस्कले ठूलो धनरासी खर्च गरेका थिए । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजय भाषणमा एलन मस्कलाई एउटा चम्किलो स्टार बताएर प्रशंसा गरेका छन् । अहिल्यै टेस्लाको शेयरमूल्य १५ प्रतिशतले बढिसकेको छ । ट्रम्पले आफ्नो कार्यकालमा सरकारी लेखापरीक्षणको जिम्मा एलन मस्कलाई दिने घोषणा गरिसकेका छन् । अमेरिकाले प्यालेस्टिनी जनताको संहार तथा भूमि कब्जा गर्ने इजरायली नीतिलाई साथ दिइरहेको छ । रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई हतियार बेचिरहेको छ । लेनिनका शब्दमा ‘साम्राज्यवाद भनेको युद्ध हो’ युद्ध र हतियारको कारोबार बिना साम्राज्यवाद बाँच्न सक्दैन । त्यसकारण रुस–युक्रेन युद्धको समस्यालाई २४ घण्टामा हल गर्ने ट्रम्पको दावी सफल नहुन सक्छ, भयो भने राम्रो । अमेरिकामा राष्ट्रपति फेरिदा वित्तिकै उसको आधारभूत कूटनीति र पराराष्ट्र नीतिमा अन्तर आउँदैन । राजनीतिमा कतिपय नीति कार्यान्वयनमा नेतृत्वका व्यवहार र चरित्रको पनि अर्थ र महत्व रहन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रोफाइल त्यति राम्रो देखिन्न । राष्ट्रपतिको पदभार ग्रहणको पहिलो कार्यकालमा उनले पोर्नस्टारलाई पैसा दिएर सम्बन्ध राखेको आरोप लागेको थियो । ट्रम्पका संघीय र राज्य अदालतमा फौजदारी कसुरका ३४ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । सन् १९७७ मा चेक मोडल तना जोलिनकोमा निकल्याष्टसँग विवाह गरेका ट्रम्पले १९९२ मा सम्बन्ध विच्छेद गरे । त्यसपछि अमेरिकी अभिनेत्री मार्ला पापलेजसँग विवाह गरे । १९९९ मा पापलेजसँग सम्बन्ध विच्छेद गरी उनले सन् २००५ मा स्लोभानियाकी मोडेल मेलानिया नाउसित वैवाहिक सम्बन्ध गाँसेका थिए । अमेरिकामा आम नागरिकलाई विवाह तथा सम्बन्ध विच्छेदका प्रश्नमा स्वतन्त्रता छ र सामान्य रुपमा लिइन्छ तर सामाजिक तथा राजनीतिक व्यक्तित्वमा यस्ता मामिलालाई गम्भीर रुपमा लिइन्छ । त्यसकारण डोनाल्ड ट्रम्प आचरणका मामिलामा लगातार प्रश्न उठ्दै आएका व्यक्ति हुन् । उनको राजनीतिक जीवन पनि उतारचढावपूर्ण देखिन्छ । सन् १९८७ मा रिपब्लिकन पार्टीको सदस्य भएका ट्रम्प सन् १९९९ मा रिफर्म पार्टीमा प्रवेश गरेका थिए । सन् २००२ मा डेमोक्रेटिक पार्टीमा प्रवेश गरे । सन् २००९ मा पुनः रिपब्लिकन पार्टीमा फिर्ता भए । ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशत भन्सार लगाउने, गैरकानुनी आप्रवाशीहरुलाई अमेरिकाबाट निस्कासन गर्ने, अमेरिकाकै इन्धन उत्खनन गर्ने, ‘अमेरिका फस्ट’को नीतिलाई व्यवस्थित ढंगले अगाडि बढाउने, भारतीय मूलका अमेरिकी कुश पटेललाई गुप्तचर संस्थाको प्रमुख बनाउने आदि कुरा सार्वजनिक गरेका छन् । डोनाल्ड ट्रम्पका यी नीतिहरुले अमेरिकाको घरेलु अर्थनीति तथा राजनीतिमा अवश्य प्रभाव पार्ने देखिन्छ । तर अमेरिकी साम्राज्यवादको दबदबा अरु बढ्ने खतरा पनि छ । किनभने विश्वका १०३ भन्दा बढी स्थानमा रहेका सैन्यशिविर, नाटो संगठन, हिन्दप्रशान्त सैन्य संगठन, अउकुस लगायत संगठनका विषयमा ट्रम्पको नयाँ धारणा केही देखिन्न । पहिलो कार्यकालमा ट्रम्पले नाटो सदस्य राष्ट्रलाई दुई प्रतिशत युद्ध खर्च बुझाउन दबाब दिएका थिए । समग्रमा हेर्दा डोनाल्ड ट्रम्प अमेरिकी साम्राज्यवादी रणनीतिलाई थप बलियो बनाउन चाहने युद्धप्रिय साम्राज्यवादी नेता हुन् । जुन कुरा उनको पूर्व कार्यकालले पनि प्रष्ट पारेको छ । त्यसकारण अमेरिकाको यो सत्ता परिवर्तनले पनि उत्पीडित राष्ट्र तथा जनताका लागि सकारात्मक परिणाम कदापि ल्याउने छैन ।
-नयाँ युगबोध
