महान दार्शनिक कार्लमार्क्सका विचारमाथि बहस चलिरहेका छन् । प्रकृति विज्ञान क्षेत्रका नयाँ खोज, अनुसन्धान र विकास भएका हरेक सिद्धान्तमा माक्र्सवाद परिक्षण हुँदै आएको छ । यसले समाज विज्ञानको क्षेत्रमा नयाँ सिद्धान्तको विकास गर्दै आएको छ । विज्ञानको क्षेत्रमा भएको विकाससँगै समाज विज्ञानले कदम मिलाउन नसकेको भन्दै प्रश्न उठिरहेका छन् । वैज्ञानिक स्टेफिन हकिङ्सले भनेका छन्, “दर्शन मरिसकेको छ । दर्शनले आधुनिक विज्ञानका आधुनिक विकासहरूसँग कदम मिलाएको छैन, विशेषगरी भौतिक विज्ञानका विकाससँग ।” (बृहत योजना, पृ.७) । समाज विज्ञानका दार्शनिकहरूले यसको उत्तर दिदैं माक्र्सवादको जन्म, विकास र मृत्यु हुने तर यसको मृत्युको अर्थ त्योभन्दा उच्च विचारले प्रतिस्थापन गर्ने बताएका छन् । प्रकृति विज्ञान क्षेत्रमा सन् १९०० मा जर्मन वैज्ञानिक म्याक्स प्लाङ्कले क्वान्टम यान्त्रिकीको आविस्कार गरेका थिए । क्वान्टम सिद्धान्तले द्धन्द्धात्मक भौतिकवादलाई पुष्टि गर्छ कि गर्दैन ? यसबारे बहस चलिरहेका छन् ।
मार्क्सवाद विरोधी बहस
आज पुँजीवादी दार्शनिकहरूले माक्र्सवाद मर्यो भनेर हल्ला चलाएका छन् । उनीहरूले ‘माक्र्सवादको अन्त्य’, ‘विचारधाराको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘समाजवादको अन्त्य’, ‘वर्गको अन्त्य’, ‘मनुष्यको अन्त्य’, ‘लेखकको अन्त्य’ आदि अन्त्यको अर्थहीन शृङ्खला चलाएका छन् । यसमा ‘माक्र्सवाद पुरानो भयो’ भन्ने भ्रम पनि थपिन थालेको छ । कामरेड स्टालिनको निधनपछि सन् १९५५ मा युरोप र अमेरिकाका कम्युनिस्ट विरोधी बुद्धिजीवीहरूले ‘विचारधारा अन्त्य’को तात्पर्य माक्र्सवादको प्रभावको पनि अन्त्य भएको निष्कर्ष निकालेका थिए । फ्रान्सिस फुकुयामा, ज्याक डेरिडा, डेनियल बेललगायत बुद्धिजीवीहरूले यसको वैचारिक नेतृत्व गरेका थिए । उनीहरूले माक्र्सवादको कटु आलोचना र त्यसको सान्दर्भिकतामाथि गम्भीर प्रश्न उठाउदै उदार लोकतन्त्र मानव सभ्यताको अन्तिम रूप भएको बताएका थिए । उनीहरूले सोभियत सत्ता र पूर्वी युरोपका कम्युनिस्ट सत्ता ढल्नुलाई उदाहरण प्रस्तुत गरेका थिए । तर गजबको तथ्य के छ भने जसले माक्र्सवादको अन्त्यको हल्ला गरिरहेका थिए, उनीहरू नै सबैभन्दा माक्र्सवादबाट भयभीत थिए । आज पुँजीवादीहरू नै माक्र्सवादको विचारबाट सबैभन्दा त्रसित छन् । अर्कातिर नवमाक्र्सवादीहरूद्धारा माक्र्सवादको विकृतीकरण गरिएको थियो । उनीहरूले माक्र्सवादको अगाडी ‘नव’ थपेर नयाँ र विकसित माक्र्सवादको भ्रम दिएका थिए । उनीहरूले माक्र्सवादलाई ‘आलोचनात्मक अध्ययन’ गर्ने नाउँमा समाज परिवर्तन सम्बन्धी माक्र्सवादको सारतत्वलाई तोडमोड गरेका थिए । उनीहरूले यसलाई ‘फ्रयाङ्कफर्ट स्कूल अफ थट’ भनेका थिए । यथार्थमा नवमाक्र्सवाद आधुनिक संशोधनवाद थियो । यसको नेतृत्व माक्र्स होखेमार, हर्बर्ट माक्र्युज, वाल्टर बेन्जामिनलगायतले गरेका थिए । त्यसैगरी निकिता खु्रश्चेभ सत्तामा आएपछि सन् १९५७ लगत्तै इटली, फ्रान्स र स्पेनका कम्यनिस्ट पार्टीले सोभियत समाजवादको विरूद्ध ‘युरोकम्युनिज्म’ घोषणा गर्दै युरोपको विशिष्टता र मौलिकताको नाउँमा माक्र्सवाद विरूद्ध अर्को हल्ला चलाएको थिए । उनीहरूले वर्गसङ्घर्षलाई न्युनीकरण गर्दै ‘समय फेरिएको’ नाउँमा संसदीय चुनावी राजनीतिमार्फत् समाज रूपान्तरणको पक्षमा वकालत गरेका थिए । यसको नेतृत्व पालमिरो तोग्लियाटी, एन्रिको बेर्लिङ्गुएर, जर्ज मार्से र स्यान्टियागो कोरिल्लोलगायतले गरेका थिए । उनीहरूको भ्रमपूर्ण प्रचारबाट नेपालका कतिपय माक्र्सवादी बुद्धिजीविहरू समेत प्रभावित भएका छन् । उनीहरूले सोझै माक्र्सवादको अन्त्य भएको नभनेपनि घुमाएर माक्र्सवाद पुरानो भएको बताएका छन् । माक्र्सवादलाई शास्त्रीय र रूढीवादी भन्दै ‘आजको’ ‘नयाँ’ र ‘आधुनिकता’को पदावली प्रयोग गर्दै माक्र्सवादको औचित्यमाथि प्रश्न उठाएका छन् । माक्र्सवादको ‘सिर्जनशील प्रयोग’ र ‘मौलिक प्रयोग’को नाउँमा नवमाक्र्सवादको अभ्यास गरिएको छ । केही बर्षअगाडी डा.बाबुराम भट्टराईले ‘आजको माक्र्सवाद’को बहस चलाएका थिए । यी सबै माक्र्सवाद विरोधीे संशोधनवादका नेपाली संस्करण थिए ।
‘पदार्थ लोप’को भ्रम
दर्शन क्षेत्रमा सुरूदेखि नै बहस हुँदै आएको छ । पाइथोगोरस, थेलिज, हेराक्लिटस, डेमोक्रिटस, सोक्रेटस, प्लेटो, एरिस्टोटल, हर्बर्ट स्पेन्सर, सुकरात, विलहेल्म हेगेल, फ्रेडरिक नित्शे, इमानुएल कान्ट, लुडविग फायरबाख, कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, भी.आई.लेनिन, माओत्सेतुङ हुँदै आजसम्म दर्शनशास्त्रबारे बहस चलेका छन् । प्रकृति विज्ञानको क्षेत्रमा कोपर्निकस, ग्यालिलियो, आइज्याक न्युटन, चाल्र्स डार्विन, अल्बर्ट आइन्स्टाइन, कोनराड रोन्टजेन, हेनरी वेकवेरल, जे जे थम्सन, मेरी क्युरी, वेनर हाइजेनवर्ग, म्याक्स प्लाङ्क,जोन डाल्टन, स्टेफिन हकिङ्स, युभल नोआ हरारी आदिसम्म नयाँ–नयाँ अनुसन्धान र बहस हुँदै आएका छन् । समाज विज्ञान क्षेत्रका कतिपय दार्शनिकहरूले प्रकृति विज्ञानमा इलेक्ट्रोन, न्युट्रोन, प्रोटोन हुँदै क्वार्कसम्म पुगेपछि माक्र्सवादको अन्त्य भएको प्रचार गरिरहेका छन् । साँचो कुरा के थियो भने कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सको जीवनकालसम्म परमाणुलाई पनि विभाजन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लागिसकेको थिएन । त्यतिबेलासम्म पदार्थ परमाणुद्धारा बन्छ र त्यसको सबैभन्दा सुक्ष्म रूप परमाणु हो भन्ने विश्वव्यापी सिद्धान्त थियो । तर फ्रेडरिक एङ्गेल्सको मृत्युपश्चात उन्नाइसौं शताब्दीको अन्तिम पाँच बर्षको अवधिमा विज्ञान क्षेत्रले कायापलट विकास गर्यो । ती थिए– (१) सन् १८९५ मा जर्मन भौतिकशास्त्री कोनराड रोन्टजेनद्धारा एक्सरेको आविस्कार, (२) फ्रान्सिस भौतिकशास्त्री हेनरी वेकवेरलद्धारा युरेनियम रेडियो एक्टिभिटीको आविस्कार, (३) सन् १८९७ मा ब्रिटिश भौतिकशास्त्री जे जे थम्सनद्धारा इलेक्ट्रोन पत्ता, (४) सन् १८९८ मा पोलिस वैज्ञानिक मेरी क्युरी र पेरी क्युरीले रेडियम र पोलोनियमको रेडियो एक्टिभिटीको आविस्कार । त्यसपछि एन्स्र्ट माखलगायत पुँजीवादी दार्शनिकहरूले परमाणु टुक्रयाएर न्युट्रोनको आविस्कारपछि ‘पदार्थ लोप’ भएको हवाला दिदै भौतिकवादमाथि हमला गरेका थिए । कामरेड लेनिनले सन् १९०८ मा ‘भौतिकवाद र अनुभवसिद्व–आलोचना’ किताब लेखेर त्यसको प्रतिवाद गर्दै “भौतिकवादको विरूद्ध समस्त कुपमण्डूकहरूको बीचमा व्याप्त पूर्वाग्रहहरूको अतिरिक्त द्धन्द्धवादको बारेमा आफ्नो घोर अज्ञानताको परिचय” भएको बताएका छन् । (पृ.२९८) कामरेड माओत्सेतुङले कार्यकर्तालाई गरिएको दर्शनशास्त्रबारे प्रवचनमा चुआङ्जुको भनाई उदृढ गर्दै भनेका थिए–“एकफुट लामो वस्तुलाई हरेकपटक आधा–आधा पारेर टुक्रयाउँदै जाने हो भने त्यसलाई कहिल्यै शून्य बनाउन सकिदैन ।”(माओका दुर्लभ रचनाहरू,पृ.११०) । कुनै पनि वस्तुलाई शून्यमा बदल्न सकिने भए विज्ञानको अस्तित्व नै हुँदैनथ्यो । साँचो कुरा के थियो भने इलेक्ट्रोनको आविस्कारपछि परमाणु नै पदार्थका आधारभूत इकाई हो भन्ने ज्ञानको सीमा मात्र लोप भएको थियो । पदार्थको पहिलाका विशेषताहरू परिवर्तनशील छैनन् भन्ने धारणा लोप भएको थियो । तर इलेक्ट्रोन पनि पदार्थकै सबैभन्दा सुक्ष्म रूप थियो । कामरेड लेनिनकै जीवनकालमा सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनद्धारा सापेक्षतावादको सिद्धान्तपछि सन् १९११ मा न्युजिल्याण्डका वैज्ञानिक रदरफोर्डले सूर्यलाई ग्रहहरूले परिक्रमा गरेजस्तै परमाणुको केन्द्रीय नाभीलाई इलेक्ट्रोनले फनफनी परिक्रमा गर्ने तथ्य पत्ता लगाएका थिए । सन् १९२० मा उनै रदरफोर्डले प्रत्येक परमाणुको नाभीहरूमा पोजेटिभ चार्ज भएका साना कणहरू हुने बताउदै त्यसलाई ‘प्रोटोन’ नाम दिएका थिए । कामरेड लेनिनको मृत्युभएको आठ बर्षपछि सन् १९३२ मा ब्रिटिश भौतिकशास्त्री जेम्स चार्डविकले ‘न्युट्रोन’ नामक कण पत्ता लगाएका थिए । सन् १९१८ मा म्याक्स प्लाङ्कले क्वान्टम सिद्धान्त र फ्रान्सेली वैज्ञानिक लुइ डि ब्रोग्लीले ‘तरंग र कणको द्धैतताको नियम’ पत्ता लगाएका थिए । सन् १९२७ मा जर्मन वैज्ञानिक वेनर हाइजेनवर्गले सुक्ष्म जगतमा सुनिश्चिताको सट्टामा अनिश्चितता अर्थात् सम्भाव्यताको आधारभूत नियमको खोज गरेका थिए । कार्लमाक्र्स–एङ्गेल्सको पालासम्म पदार्थबारे हाम्रो ज्ञानको सीमा परमाणुसम्म थियो, लेनिनको पालासम्म आउँदा त्यो इलेक्ट्रोन र प्रोट्रोनसम्म विस्तारित भयो र अहिलेसम्म आइपुग्दा ज्ञानको विस्तार क्वार्कसम्म आइपुगेको छ । भविष्यमा प्रकृति र पदार्थसम्बन्धी ज्ञानको सीमा अझ अगाडी बढ्नेछ । तर संशोधनवादीहरूले भनेजस्तो क्वान्टम सिद्धान्तले पदार्थको अन्त्यलाई पुष्टि गर्दैन । पदार्थलाई टुक्रयाउँदै जाँदा सुक्ष्म इकाई तरङ्गमा परिणत भएपनि भौतिक वस्तुको गुण जीवितै रहेको हुन्छ । सफ्टवेयरको कुनै रूप, रङ वा तौल हुँदैन, यो तरङ्ग हो तर मानव मस्तिष्कबिना सफ्टवेयरको कल्पना गर्न सकिदैन । त्यसैगरी समाजविज्ञानमा माक्र्सवादको सान्दर्भिकतामाथि प्रश्न उठाउनुको कुनै औचित्य छैन ।
क्वान्टम र विज्ञानमा क्रान्ति
क्वान्टम यान्त्रिकी विसौं शताब्दीको ठूलो बौद्विक क्रान्ति थियो । यसले मानिसको सोच्ने तरिका र जीवन पद्वतिलाई कायापलट बनाइदिएको छ । यो नानो प्रविधिको आधारमा सुक्ष्म परमाणुको अध्ययन गर्ने विज्ञान हो । यसले भौतिक विज्ञानबारे तीनवटा निष्कर्ष दिएको छ । पहिलो, कण–तरङ्ग द्धैतता । यसको अर्थ हो, पदार्थको हरेक सानो इकाईमा यसको स्थुल (आँखाले देख्न सकिने) रूप र सुक्ष्म वा तरङ्ग (आँखाले देख्न नसकिने) रूप हुन्छ । दोस्रो, अनिश्चयको सिद्धान्त । यसको अर्थ हो, पदार्थको रूप दृश्य र अदृश्य दुवै हुने भएकोले यसको इतिहास वा भविष्यको अनुमान गर्न सकिदैन । तेस्रो, विछिन्नताको नियम । यसको अर्थ हो, पदार्थभित्रको शक्ति सुक्ष्म रूपमा अनिरन्तर र विछिन्नतामा रहने प्रक्रिया हो । यो सिद्धान्तले मूलतः तीनवटा क्षेत्रमा क्रान्ति ल्याएको छ । एक, नानो प्रविधि । हामीले प्रयोग गर्ने आजका ल्यापटप र मोबाइल नानो प्रविधि वा सुक्ष्म माइक्रोचिप्समा आधारित रहेको छ । नानो प्रविधिकै कारण आज एलन मस्कको न्यूरोलिंक कम्पनीद्धारा मानव मस्तिष्कमा इन्टरनेट जडित ‘चिपसेट’ प्रत्यारोपण गरिएको छ र भविष्यमा एकअर्काको दिमाग पढ्न सकिने बताइएको छ । दोस्रो, जेनेटिक इन्जिनियरिङ । डार्बिनको ‘प्राकृतिक छनौटद्धारा जातिहरूको उत्पत्ति’को सिद्वान्तलाई क्रमभङ्ग गर्दै जीव उत्पत्तिको चारअर्ब बर्षपछि जेनेटिक इन्जिनियरिङ मार्फत् मान्छेको प्रजनन भइरहेका छन् । अहिले डिएनएमार्फत् गरिने गर्भाधान यसैको प्रयोग वा ‘रिइन्जिनियरिङ’ हो । तेस्रो, कृत्रिम बौद्विकता । मानिसले गर्ने बौद्धिक र शारिरीक काम कृत्रिम बौद्धिकताले गर्न सुरू गरेको छ । मानिसभन्दा मेसिन वा रोबोट बौद्विक भयो भने के होला ? अहिले यो प्रश्नले हलचल ल्याएको छ । हकिङ्सले रोबोटिक्स अन्धाधुन्ध आक्रमण गरी मानिसको सामूहिक हत्याको हतियार हुन सक्ने भनेर सचेत गराएका छन् । अहिले चर्चामा रहेका इजरायली प्रसिद्ध इतिहासकार एवं दार्शनिक युभल नोह हरारीले प्रविधिको विकासले डेटा–उपनिवेशवाद तथा डिजिटल अधिनायकवादको खतरा रहेको बताएका छन् । उनले अहिलेसम्म मानिसले शोषणका विरूद्ध सङ्घर्ष गरिरहेको तर स्वचालित प्रविधिको विकासका कारण मानिस असान्दर्भिक हुनबाट बच्न ठूलो सङ्घर्ष गर्नुपर्ने बताउदै ‘असान्दर्भिक’ हुनु शोषित हुनुभन्दा धेरै खतरा रहेको बताएका छन् । अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेको ५५ बर्षपछि जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले पृथ्वीलाई चन्द्र्रमा र मंगलग्रहसित जोड्ने रेलको योजना बनाएका छन् । वैज्ञानिकहरूले अन्तरिक्षमा रेल चलाउने, ‘रोगको होइन, मृत्युको उपचार गर्ने’, माटो र प्रकाशविना खानाको स्वप्न परिकल्पना गरिरहेका छन् । प्रकृति विज्ञानका विभिन्न शाखाहरूमा भएका यी अभूतपूर्व अनुसन्धान र विकासलाई ध्यानदिदै नेकपाको नवौं महाधिवेशनले यो बहसलाई निरन्तरता दिएको छ,“आज प्रकृति विज्ञानका विभिन्न शाखाहरूमा देखिएको अभूतपूर्व अनुसन्धान र विकास अनुरूप वैज्ञानिक दर्शनको विकास गर्नुपर्दछ । यसलाई यसरी भन्न सकिन्छ–प्रकृति विज्ञानमा अनुसन्धान गरिएको अनिश्चयको सिद्धान्तलाई समाज विज्ञानसँग जोडेर समाजवादी सत्तामा देखापरेका विफलता र क्रान्तिमा भोग्नुपरेका कठिनाइहरूको समाधान गर्नुपर्दछ ।”(राजनीतिक प्रतिवेदन, पृ.८८) ।
आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले स्थुल पिण्डहरू र क्वान्टम सिद्धान्तले पदार्थको सुक्ष्म रूपमा अध्ययन गर्दछ । निश्चित रूपमा क्वान्टमले मात्र समग्र दर्शनको प्रतिनिधित्व गर्न सक्दैन । अर्थात् एउटै आविस्कारले सिङ्गो विश्वको सम्पूर्ण नियमहरूको प्रतिनिधित्व गर्न सक्दैन । यहाँ ध्यानदिनुपर्ने के छ भने हामी अनिश्चयको सिद्धान्तको उदाहरण दिदै क्रान्ति अनिश्चय भएको शून्यवादी गलत निष्कर्षमा पुग्नुहुँदैन । शून्यवादको दर्शन भनेको आदर्शवाद हो । अनिश्चयको परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै आइन्स्टाइनले गरेको अस्वीकारप्रति पनि हामी सजग रहनुपर्छ । तर हामीले भनेको अनिश्चयको सिद्धान्तलाई क्रान्ति र सत्तामा देखापरेका असफलताको समाधान क्रान्ति र सत्तामार्फत् नै खोज्ने अर्थमा भनिएको हो । अर्कोतिर अहिले प्रकृति विज्ञानका क्षेत्रमा भएका विकासहरू अन्तिम नभएको वैज्ञानिकहरूले बताइरहेका छन् । त्यसैगरी समाज विज्ञानमा अहिलेसम्म विकास भएका सिद्धान्तहरू पनि अन्तिम हुन सक्दैनन् । यस प्रसङ्गमा कामरेड माओले भन्नुभएको छ,“मलाई लाग्दैन कि साम्यवादमा पनि गुणात्मक परिवर्तन हुँदैन । त्यो विभिन्न युगमा बाँडिदैन । मलाई त्यस्तो लाग्दैन । परिणाम गुणमा फेरिन्छ र गुण परिणाममा फेरिन्छ । मलाई साम्यवाद गुणात्मक रूपमा उस्तै रहन्छ, लाखौं बर्षसम्म त्यो दाँयाबाँया हुँदैन भन्ने विश्वास छैन ।” (माओका दुर्लभ रचनाहरू, पृ.३८) । हामीले प्रविधिको नयाँ आविस्कारहरूलाई समाज विज्ञानमा जोड्दै जानुपर्दछ ।
विज्ञानलाई क्रान्तिसित जोड्ने प्रश्न
भौतिक विज्ञानको क्षेत्रमा विकास भएको ‘अनिश्चयताको सिद्वान्त’ समाज विज्ञानमा पनि लागु हुँदै आएको छ । तत्कालीन सोभियत सङ्घलगायत पूर्वी युरोपका समाजवादी सत्ताहरू ढल्नु यसको ज्वलन्त उदाहरण हो । ल्याटिन अमेरिकी लेखिका मार्ता हार्नेकरले भनेकी छन्,“हामी त्यस्तो विश्वमा बसेका छौं, जुन पचास बर्ष अगाडीको जस्तो छैन । हाम्रो विश्व त्यस्तो छ, जसको विशेषता पूर्वी युरोप र सोभियत सङ्घमा समाजवादको पराजय भएको छ ।”(एक्काइसौं शताब्दीको समाजवाद, पृ.१३) । कामरेड विप्लवले यदि जीव र मानव अस्तित्वलाई प्रकृतिको एक अंश मान्ने हो भने पदार्थको क्वान्टामा देखिने अनिश्चयता मानव सेलमा पनि देखिने बताएका छन्,“क्वान्टाको गुण मानव सेलमा पनि छ । परिस्थिति र स्थानले त्यसको गुणलाई निर्धारण गर्छ । मानव सेलमा रहेको अनिश्चित गुण कुनै पनि बेला मानव सोँच र स्वभावमा प्रकट हुन्छ ।” (जनक्रान्ति,अङ्क ६, पुस २०७९, पृ.१२) । स्टेफिन हकिङ्गले सिद्धान्तहरूमा विकास गर्नुपर्नेमा जोडदिदैँ भनेका छन्,“हामीले सदा उत्कृष्ट सिद्धान्तहरू भेट्टाइरहन्छौं, तर यस्तो सिद्धान्त कहिल्यै भेट्टाउदैनौं, जसलाई विकसित गर्न नसकियोस् ।”(वृहत योजना, पृ.१०) । विज्ञानको अभूतपूर्व विकासलाई क्रान्तिसित जोड्न समाज विज्ञानको क्षेत्रमा विकास नगर्ने हो भने क्रान्ति सुदूरक्षितिजको बिषय बन्दै जाने सम्भावना छ ।
सन्दर्भ–स्रोत
–स्टिफेन हकिङ, समयको संक्षिप्त इतिहास
–स्टिफेन हकिङ, बृहत योजना
–लुई डी ब्रोग्ली, भौतिक विज्ञानमा क्रान्ति क्वान्टम सिद्धान्त
–अल्बर्ट आइन्स्टाइन र लियोपोल्ड इन्फेल्ड, भौतिक विज्ञानको विकासक्रम
–भी.आई.लेनिन, भौतिकवाद र अनुभवसिद्व–आलोचना
–मार्ता हार्नेकर, एक्काइसौं शताब्दीको समाजवाद
–माओका दुर्लभ रचनाहरू, (अनु.भोगीराज चाम्लिङ)
–नेकपा, नवौं महाधिवेशनद्धारा पारित राजनीतिक प्रतिवेदन तथा विधान, २०७९
–जनक्रान्ति, नेकपा मुखपत्र, अङ्क ६, २०७९ पुस
-Yuval Noah Harari, Homo Deus (A Brief History of Tomorrow), Harvill Secker 2016
(लालदिशा, अंक ४, २०८१ असार-भदौमा प्रकाशित)
