२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • विचार
  • सम्पादकीय : कम्युन र उत्पादनमा स्वामित्वको...
--5754

सम्पादकीय : कम्युन र उत्पादनमा स्वामित्वको बहस

सम्पादकीय : कम्युन र उत्पादनमा स्वामित्वको बहस

सङ्क्रमणकालीन नीति एकीकृत स्वामित्व प्रणालीबारे बहस

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • कम्युन, अर्थात् उत्पादन कम्युनिस्ट पार्टीको एउटा विशिष्ट रूप हो । पार्टी संरचना र व्यवहारको एउटा महत्वपूर्ण कडी हो । कम्युनहरूको निर्माण क्रान्तिकारी उद्देश्यका लागि हुनुपर्दछ । उत्पादन र उत्पादन प्रक्रियामा सामूहिक स्वामित्व कायम गर्ने उद्देश्यका साथ अगाडी बढेको क्रान्ति नै श्रमिक वर्गको क्रान्ति हो । यसका लागि सामूहिक नेतृत्वको अवधारणा क्रान्तिको नेतृत्वसम्बन्धी अवधारणा हो । सामूहिक नेतृत्व भनेको फगत कमिटीगत निर्णय प्रणाली मात्रै होइन । कामरेड लेनिनको शब्दमा ‘पार्टीका सम्पूर्ण सदस्यहरूको सामूहिक ज्ञान नै सामूहिक नेतृत्व हो ।’ 

    कमरेड माओले ‘राज्यसत्ता बाहेक सम्पूर्ण कुरा भ्रम भएको’ बताउनुभएको थियो । तर यसको अर्थ केन्द्रीय राज्यसत्ता बाहेक अरू बिषय केही होइन भन्ने कुरा गैरमाक्र्सवादी सोचाइ हो । केन्द्रीय राज्यसत्ता बाहेक श्रमिक वर्गले स्थानीय रूपमा राज्यसत्ताको वैकल्पिक आधारहरू बनाउदै जानुपर्छ । त्यसका लागि क्रान्तिपूर्व पनि कम्युनहरू निर्माण गर्ने, सम्पूर्ण पार्टीपङ्क्ति र समाजलाई उत्पादनमा जोड्दै जानुपर्दछ । उत्पादनलाई क्रान्तिको महत्वपूर्ण अंश बनाउनुपर्छ । कम्युन समाजवादी संस्कृतिको पूर्वअभ्यास पनि हो । दलाल पुँजीवादका कारण नेपाली अर्थतन्त्र सामूहिक जीवन र कम्युनका लागि आधार बनिसकेको छैन । तर कम्युनिस्टहरूले स्थानीय स्तरबाट सामूहिक तथा समाजवादी अर्थतन्त्रका स–साना इकाईहरू निर्माणका लागी सचेतन प्रयत्न गर्नुपर्दछ । सामूहिक उत्पादनले टुक्रे अर्थतन्त्रलाई एकीकृत गरी विशाल अर्थतन्त्रको निर्माण गरी समाजवादी अर्थतन्त्र निर्माणको जग तयार गर्दै जान्छ । 

    आज पुँजीवादीहरूले अर्थतन्त्रको यही मान्यतालाई लागू गर्दै बहुराष्ट्रिय कम्पनीहरू मार्फत् विश्व बजार कब्जा गरेर पुँजीको केन्द्रीकरण गरिरहेका छन् । कम्युनिस्ट पार्टीले यसलाई उल्ट्याएर सिङ्गो समाज, देश र मानव जातिको हितका लागि कम्युनहरूको निर्माण गर्दै जानुपर्दछ । समाजमा श्रम संस्कृति निर्माण गर्न र दलाल पुँजीवादका विरूद्ध सङ्घर्ष गर्न कम्युनिस्ट पार्टी अनिवार्य उत्पादनमा जोडिनुपर्दछ । अहिले दलाल पुँजीवादी अर्थतन्त्रले राजनीतिलाई नियन्त्रणमा लिएको छ । यदि दलाल पुँजीवादलाई परास्त गर्ने हो भने त्यसका अर्थतन्त्रका जराहरूलाई काट्दै जानुपर्दछ । 

    अहिलेको पुँजीवादी उत्पादन प्रणाली नीजि स्वामित्वमा आधारित छ । नीजि स्वामित्वले समाजवादको आधार तयार गर्दैन । तर बिसौं र एक्काइसौं शताब्दीमा प्रयोग भएका सामूहिक स्वामित्वका पनि केही सीमाहरू देखिए । नीजि स्वामित्वका खराब पक्षबारे त कम्युनिस्ट पार्टीहरूभित्र विवाद देखिदैन । तर सामूहिक स्वामित्वका सीमाहरूबारे पनि खासै बहस भएको देखिदैन । पुँजीवादले समान कामको असमान ज्याला दिएर शोषण गर्यो । ठीक त्यसैगरी सामूहिक स्वामित्वले असमान कामको समान ज्याला दिएर त्रुटि गर्यो । समान ज्याला पाएपछि काम जति गरेपनि हुने, अतिरिक्त श्रम नगर्ने र सिर्जनशील हुने प्रतिस्पर्धाको भावनालाई कमजोर बनायो । यसले समाजलाई नीजि स्वामित्वतिर आकर्षित गरायो तर निजी स्वामित्वले मुट्ठिभर व्यक्तिहरूको हातमा पुँजी थुपारिदिएर अरबौं मान्छेलाई सामान्य जीवनयापनबाट समेत बञ्चित बनायो । 

    आज पुँजीवादी सत्ताहरूमा देखिएका विश्वव्यापी सङ्कट निजी स्वामित्व वा पुँजीवादी उत्पादन सम्बन्धकै सङ्कट हो । यस्तोबेला पुँजी उत्पादन र स्वामित्वमा तत्काल सामूहिक प्रणाली नभएर निजीको प्रसन्नतासहित सामूहिकतातिर अगाडी बढाउने सङ्क्रमणकालीन नीति एकीकृत स्वामित्व प्रणालीबारे बहस जरूरी छ । यो प्रणाली समाजवाद पूर्वको सङ्क्रमणकालीन प्रणाली हो । यो प्रणालीले व्यक्तिको निजी क्षमता, सिर्जना, चाहना र आवश्यकतालाई पुरा गर्दै सिङ्गो मानव समाजलाई समाजवादको सामूहिक प्रणालीतिर प्रवेश गर्न मद्दत पुर्याउँदछ । अहिले उत्पादनमा स्वामित्वको प्रश्नबारे थप बहस जरूरी छ । 

    (लालदिशा, अंक ४, २०८१ असार-भदौमा प्रकाशित)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij