२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
गीत\संगीत

‘मादल गुरु’ अर्थात् सोम थापा मगर

‘मादल गुरु’ अर्थात् सोम थापा मगर

बिहिवार, कार्तिक २४ २०७९
बिहिवार, कार्तिक २४ २०७९
  • गुल्मी । सोम थापा मगर ‘मादल गुरु’ हुन् । उनको पुख्र्यौली घर गुल्मीको सत्यवती गाउँपालिकाको पम्फुका हो । उनको बुवा आमा २०३० सालमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा बसाइँ सरेपछि उनी पनि त्यहाँको रैथाने भए । उनको परिवारमा अहिले श्रीमति, दुई छोरा र दुई नातिनी गरी ८ जना रहेका छन् । उनले विगत बर्षदेखि नवलपरासीको पूर्वदेउराली नजिकै सानोतिनो होटल व्यवसाय समेत गर्दै आएका छन् । 

    उनी गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा रहेको सत्यवती मेलामा मादल बोकेर उक्लिए । सत्यवती मेलामा मादल बजाएर उनले दर्शकलाई निकै लोभ्यायो । उनी मादलका गुरु हुन् । ‘करिब ३० बर्षभन्दा बढी मादल बजाएँ’ उनी भन्छन् । २०३६ सालमा बुटवलमा संगीत गुरु शंकर कपालीबाट संगीत सिकेर मादल बजाउन सुरु गरेका थिए । मादलसँगै उनले ढोलक, तबेला, हार्मोनियम, गितारलगायत संगीतका प्राय बाजा बजाउँछन् । तर सुरुमा ढोलक र हार्मोनियम सिकेका थिए । त्यसपछि उतिबेला नै उनले प्रेमदिप गिरीबाट थप बाजा बजाउन सिकेका थिए । 

    २०३८ सालमा उनी सालझण्डीको पशुपति माविमा कक्षा ८ मा पढ्थे । त्यहीबेला उनले स्काउटको तर्फबाट राजपरिवारको विशेष दिनमा काठमाडौंमा आयोजित कार्यक्रममा मादल बजाएर दोस्रो पुरस्कार प्राप्त गरेका थिए । त्यसपछि उनी मादलतिर थप हौसिए । २०४० सालमा उनले एसएलसी पास गरेपछि उनी मादल संगीततिर थप मेहनत गरे । 

    संगीतको क्षेत्रमा लाग्न प्रेरित गर्नुमा उनका थुप्रै गुरुहरु छन् । उनी भन्छन्, ‘शंकर कपाली, प्रेमदिप गिरी, डा.सुरेन्द्र गिरी, बिजय मिश्र, नारायण रायमाझी, बिमाकुमारी दुरा, प्रजापति पराजुली आदि हुन् ।’ उनले बुटवलमा बसेर करिब ३० बर्षभन्दा बढी मादल, हार्मोनियम, गितार, तबेला बजाएका छन् । बुटवलमा लाग्ने प्रदर्शनी मेला, दोहोरी साँझ, महायज्ञहरु छुटाएका छैनन् । उनी व्यवसायिक रुपमा लागेको भने १७ बर्ष पुगेको छ । यो पेशाले उनको परिवार खर्च धानेको छ ।

    file_636c7f94a273d.jpg

    मगर समुदायमा जन्मिएर संगीत क्षेत्रमा लामो अनुभव भएको थापा मगर भन्छन्, ‘आफ्नो भाषा चाहिँदो रहेछ । म कहिलेकाँही पाल्पास्थित खोखारीमा छेमाको घर जाँदा अलिअलि मगर भाषा सिकेँ । धेरैथोरै भाषा जानेको छु । मलाई आफ्नो भाषाप्रति गर्व छ ।’ 

    मादल के हो त ?  भन्ने प्रश्नमा उनले भने, ‘नेपालको पुरानो लोकसंस्कृतिलाई मादलले धानेको छ । सोरठी, झाउरे, सालैजो, नचरी, कौडा, टप्पामा मादलको मुख्य भूमिका हुन्छ ।’ ‘मादल नेपालको पुरानो बाजा हो’–उनी भन्छन् । उनले मादलको ताल, धुन र मान्छेको जीवन जोडिएको बताए । संगीतबारे उनले थप भने, ‘संगीत भनेको तरंग हो, मान्छेको शारिरीक अंगलाई सक्रिय बनाउँछ र पशुलाई समेत मख्ख पार्छ ।’ उनले संगीत भनेको भाषा भएको समेत बताए । 

    उनले मादलमा धेरै मात्रा र ताल हुने बताए । दाहारा तालमा ६ मात्रा, कहरुवा तालमा ८ मात्रा, रुपक तालमा ७ मात्रा, झपतालमा १० मात्रा, एकतालमा १२ मात्रा, दीपचन्डी तालमा १४ मात्रा र गितालमा १६ मात्र हुने उनले बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij