सुदर्शनहरुले खुब सर्वहारा संस्कृतिको कुरा पनि गर्छन् तर उनको संस्कृतिसामु कार्यकर्ताहरु मुखामुख गरेर मुस्कुराउन थाल्छन् । मैले भन्ने गरेको छु, सर्वहारा सांस्कृतिक क्रान्ति भनेको क्रान्ति, कम्युनिस्ट पार्टी, सर्वहारा वर्गीय विचार र वैज्ञानिक समाजवादको रक्षाका लागि प्रस्तुत गरेको विचार हो । त्यो त पार्टीको सम्पत्ति हिनामिना गर्ने, वर्ग दुश्मनसँग साँठगाँठ गरेर क्रान्तिकारी र पार्टीका विरुद्ध षड्यन्त्र गर्ने, वैज्ञानिक समाजवाद ढाल्नका लागि तोडफोड गर्ने, निजी स्वार्थका लागि पार्टीमा हमला गर्नेका विरुद्ध चलाएको क्रान्ति हो । के सुदर्शनहरुमा यो छ त ? आर्थिक, सङ्गठन, संस्कृति सारामा उल्टो काम गर्ने अनि नाम चाहिँ सर्वहारा सांस्कृतिक क्रान्तिको लिने कुरा गर्ने कसरी मिल्छ ? यो पनि सर्वहारा संस्कृति नभई सुदर्शन–संस्कृति मात्र हुन्छ !
नेतृत्वले सेना विसर्जन गर्याे, व्यवस्थापन गरेन भन्ने दुरगन्धी प्रचार पनि चलाएका छन् । सुन्दा पनि अचम्म लाग्छ र छक्क परिन्छ । यी कस्ता कृतध्न मनुवाहरु हुन् ! जसले प्रचण्डले जनमुक्ति सेना विसर्जन गर्दा ठिक हो भन्थे, जनमुक्ति सेना र क्रान्तिको कुरा गर्दा निम्न पुँजीवादी रोमान्स भन्थे, अब सेना बनाएर लडेर क्रान्ति सम्भव छैन भन्थे, जसलाई जनमुक्ति सेना कसरी बन्छ भन्ने मेसोसमेत छैन, कहिल्यै सेनासँग बस्न रमाएनन्, यिनले महासचिवले सेना विसर्जन गर्याे भनेर कुन मुखले भन्न सक्छन ? थोरै भए पनि लाज मान्नु पर्दैन !
जुन नेतृत्वले विघटित जनसेनालाई निकै दुःख गरेर पुनर्गठन गर्याे, अनेकौं समस्या र सङ्कटका बीचबाट भरथेग ग-यो, जुन नेतृत्वको जीवन नै सेनाभन्दा बाहिर छैन र जसलाई पछिल्लो सङ्घर्षमा पनि जनमुक्ति सेनाको पूर्ण साथ छ, जसको विश्वासमा एकीकृत जनक्रान्तिमाथि उठ्दै छ, जसले प्रथम सेना भन्ने नीति बनाएर आफ्नो सापेक्षतामा सुदृढ गरिरहेको छ, यसले जनसेना विसर्जन गर्छ ! यो भ्रमको पनि पराकाष्ठा होइन ?
उल्लेखित विषयहरु घामझैं छर्लङ्ग हुँदाहुँदै किन उनीहरु यति विच्छिप्त प्रकारले उफ्रिरहेका छन् त ? किन भए नभएका अत्यन्त तुच्छ र घृणस्पद आरोपहरु नेतृत्वविरुद्ध ओकलिरहेका छन् त ? जब कि सुदर्शनले बारम्बार भन्ने गर्दथे “महासचिवलाई हेरेर र विश्वास गरेर, उहाँको दृष्टिकोण बुझेर आएको हुँ । नेतृत्वको रक्षा गर्नु पहिलो जिम्मेवारी हो” । अनि कञ्चनले “एकीकृत जनक्रान्तिको कारण पार्टी वैकल्पिक शक्ति बनेको छ, नेतृत्व स्थापित र लोकप्रिय भएको छ, राष्ट्रपतिमा लडेमा जितिन्छ” भन्ने गर्दथे । हाम्राबीचमा कैयौं नयाँ विषयहरुमा छलफल पनि हुन्थ्यो ।
यो सारा बबण्डरका पछाडि सुदर्शन–कञ्चनभित्र दबेर बसेका केही दब्बु मनोवृत्ति र प्रवृत्तिको भूमिका छ भने केही व्यक्तिहरु मुख्यतः सुदर्शन, गुणराजहरुको विचलन र विध्वंशकारी उक्साहटको मुख्य भूमिका छ । हामीले लामो होइन केही मुख्य कडीबारे जानकारी राख्न जरुरी छ । सुदर्शनलाई पार्टीमा ल्याएर स्थायी समितिमा जिम्मेवारी दिंदा पार्टी पंक्तिमा ठूलै असन्तुष्टि थियो । प्रचण्डसँग हुँदा उनले गरेका जालझेल र बद्मासी सम्झिँदै कमरेडहरु अप्रसन्न थिए तर लामो छलफल गरेपछि सहमति बनेको थियो । उनलाई नेतृत्वका हिसाबले ठूलै विश्वास पनि गरियो । कैयौं कमरेडहरुको विमतिका बाबुजुद मध्यकमाण्ड जस्तो महत्वपूर्ण क्षेत्रको जिम्मा पनि दिइयो । काममा पनि पुरै सहयोग गरियो । तर, उनीभित्र माओवादीकालदेखि पसेका आर्थिक, सङ्गठनात्मक र साँस्कृतिक समस्याहरु काँचै देखिए । पछि यही समस्या गुणराजहरुमा पनि प्रकट भयो ।
सुदर्शनमा माओवादी कालको आर्थिक अराजकता मध्यकमाण्डमा पसेसँगै छताछुल्ल हुन थाल्यो । हामीले माओवादी कालको जस्ले सक्छ उसले कुम्ल्याउने, जे पायो त्यही गर्ने आर्थिक प्रवृत्तिलाई पुरै फेरिसकेका थियौं । तर, उनीमा जस्ताको तस्तै देखियो, सुरुमा सम्झाएर रुपान्तरण गर्न जोड गरियो । तर जेल पुगेर फर्किंदासम्म पनि त्यो समाधान भएन, बरु झन बढ्यो ।
पार्टीले देशका नामुद भ्रष्ट र दलालहरुलाई कारवाही गर्ने या कारवाहीको सूचीमा राख्ने, उनी गएर पैसा बोकेर फर्किने या भित्रभित्रै लेनदेन गर्ने गरे । केन्द्रीय सदस्य कमरेडहरुले कारवाहीको माग गर्दा पनि संझाइयो । सातौं पूर्ण बैठकमा त यति प्रहार भयो कि उनीले मसँग राजिनामा दिन्छुसम्म भने । त्यहाँ पनि कमरेडहरुलाई नै संझाइयो तर जब जेल पर्दाको अवस्था, अन्नपूर्ण होटलको फिर्ता गर्नुपर्ने पैसाको अपचलन, चन्द्रागिरीको लेनदेनहरु अगाडि आए, तब परिपत्र गरेरै रोक्नु प¥यो । जेलबाट छुटेपछि उनीसँग प्रतिबन्धका वर्षहरुको छलफल चल्यो । अरु सबै मिले पनि अन्नपूर्णको पैसा अपचलनबारे मिलेन । जब कि उनीसँग अन्नपूर्णबाट अनुमति बिना आएको पचास लाखबाहेक मध्यकमाण्डको रकम त्योभन्दा पनि बढी थियो । उनले पैसा मासियो भने तर मैले मानेन, अरु हिसाबमा हेरौं तर अन्नपूर्णको पैसा कहाँ कोसँग छ फिर्ता हुनुपर्छ भनें । मलाई कतिपय सूचना उनीबाटै र कतिपय सूचना वकिल र अन्य जिम्मेवार कमरेडहरुबाट प्राप्त भएका थिए जसअनुसार त्यो पैसा मासिएको थिएन र त्यत्रो पैसा मासिन सम्भव पनि थिएन । उनले एक पटक केदार खतिवडा र सूर्य भूजेललाई राख्न दिएको पनि बताएका थिए । जब मैले मानिन तब पुस महिनामा कपिलवस्तुमा भेट्दा भनेका थिए “महासचिव कमरेड, पचास लाखको हिसाब म मिलाउँछु, टेन्सन नगर्नु होला ।” मैले भनें कि मैले किन टेन्सन गर्ने, त्यो मिलाउनुस् धेरै राम्रो हुन्छ । सायद उनलाई लाग्यो नेतृत्वले यसमा रक्षा गरेन । त्यसपछि उनको अनुहार कहिल्यै उज्यालो भएन । तर मैले न उनलाई कारवाही गर्ने हिसाबले सोचें न छोड्ने गरी नै । यो पैसाको मुख्य दोषी भने सुदर्शन नभएर गुणराज थिए । यस्ता निकृष्ट, ‘अधर्मी’ या अनैतिकहरुको बारेमा धेरै भन्नु बेकार छ ।
सुदर्शनले आउँदाको केही समयपछि नै सङ्गठनमा समस्या खडा गरे । पार्टी कसरी बनेको हो, कुन दुःखले बनाइएको हो, समितिहरु कसरी बनेका र चलेका छन्, कुन नेता, कार्यकर्ताको अवस्था, सफलता र समस्या के हुन् भुटिभाङ जानकारी छैन तर अमुक नेताप्रति पूर्वाग्रही धारणाअनुसार कुरा काटेको छ, काठमाडौँका छडुवाहरुलाई भेटेको छ, नभएका गफ चुटेको छ, ठीक बेठीक छुट्टाएको छ, आफैँ लथालिङ्ग भएको छ, पार्टीलाई लथालिङ्ग बनाउन खोजेको छ, यो सङ्गठनमा देखिएको अराजकतावाद थियो । यस्तो देखेपछि निकै सच्याउन खोजियो तर सम्भव भएन । जसलाई उनले नजिकको ठाने, अन्तमा उनैले बिताए । जेल पुग्दासम्म पनि उनको प्रवृत्तिमा सुधार भएन । यदि उनले भनेकै जस्तो सोच्ने हो भने पार्टीमा अकल्पनीय घटनाहरु घटने निश्चित थियो । यदि उनले गरेका कमजोरीलाई हामीले कारवाहीको विषय बनाउँथ्यौं भने उनी दूधको माखोजस्तो हुन्थे यसमा कुनै शंका छैन । तर, उनैलाई एउटा कमरेडको रुपमा आलोचना मात्र गरियो जो उनका लागि पाच्य भएन । त्यसपछि आए उनका ‘दर्शन’, ‘संसदीय संशोधनवाद’, ‘बहिस्कार’, ‘जुझारु अर्थवाद’ आदि–आदि विश्लेषणहरु ।
-(जनक्रान्ति अंक ५ बाट)
