पार्टी एमसीसीविरुद्धको सङ्घर्षसम्म पुग्दा देशको श्रेष्ठ एवं क्रान्तिकारी पार्टीका रुपमा स्थापित बन्न पुग्यो । कम्युनिस्ट समर्थक नागरिकहरुको मात्र होइन, देशभक्त शक्ति र सर्वसाधारण नागरिकहरुको पनि भरोसाको केन्द्र बन्दै गयो । ठीक त्यही समयमा चुनावी कार्यनीतिलाई बहाना बनाएर सुदर्शन–कञ्चनहरुले एकीकृत जनक्रान्ति, पार्टी नेतृत्व र पार्टीमाथि “मौका कुरेर मार हान्ने” या षड्यन्त्रकारी तरिकाले पार्टी कब्जा गर्ने लिनपियाओवादी शैलीमा हमला गरे । उनीहरुलाई सहयोद्धा कमरेडकै विश्वासबाट व्यवहार गरिरहँदा अनुमान गरेभन्दा निकै परपुगेर वैरीले नलगाएका आरोपहरु वर्षाए । हमला यति योजनाबद्ध, आक्रमक र दुश्मनीपूर्ण देखियो कि खराब नियत भएका र भगौडा तत्वहरु मात्र होइन, केही इमान्दार साथीहरु पनि तिलमिलाउन पुगे ।
उनीहरुले महासचिव–प्रवक्तालगायत नेताहरु संसदवादमा भासिएको, आत्मसमर्पणवादी भएको, क्रान्तिलाई ध्वस्त पारेको, एकीकृत जनक्रान्तिको कार्यदिशा सारसङ्ग्रहवादी भएको, जुुझारु अर्थवादी भएको भन्ने प्रचार गर्दै पार्टी नै फुटाउने ठाउँमा पुगे । पार्टी नीतिको बचाउ गर्ने पंक्ति निकै कमजोर जस्तो बन्यो । यो देखेर उनीहरु चोरी हाल्ने गोरु जस्तो जुरो ढल्काउँदै परपर कुद्ने अरु पछि–पछि हातपाउ जोड्दै हिँड्ने जस्तो देखियो । तर, जब पार्टीले लिनपियाओवादी षड्यन्त्रकारी प्रवृत्तिमाथि क्रान्तिकारी हस्तक्षेप गर्याे, तब त्यो प्रवृत्ति भचाक–भुचुक बन्न पुग्यो । उनीहरुले आफ्नो भ्रष्ट बिचलन एवं षड्यन्त्रकारी कर्मलाई जतिनै राजनैतिक रङ दिन खोजे पनि फोहर पानीको फोका जस्तो प्वाट्ट फुटेको छ । यद्यपि अझै केही अवसरवादी फ्याउराहरुको विभत्स क्रन्दन सुनिंदै छ, त्यसप्रति बेपर्वाह हुनुहुँदैन ।
पार्टी नेतृत्व संसदवादमा फस्छ या क्रान्ति छोडेर दलाल पुँजीवादी सत्ताभित्र छिर्दछ भने त्यसलाई नाङ्गेझार पार्नै पर्दछ र क्रान्तिकारीहरुले विद्रोह गर्नै पर्दछ । संसदवाद, आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध धावा बोल्नुपर्छ र नयाँ पार्टी बनाउनै पर्छ । तर, के पार्टीको नेतृत्व र नेताहरुले सुदर्शन, कञ्चनहरुले भनेजस्तै एकीकृत जनक्रान्ति छोडेको, संसदवादमा प्रवेश गरेको या आत्मसमर्पण गरेको अवस्था हो ? के नेपाल कम्युनिस्ट पार्टीको सट्टा अर्को पार्टी खडा गर्नुपर्ने अवस्था बनेको हो ? के नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमाथि हमला गर्दै विसर्जित पार्टीहरुसँग टाँसिन जानु उचित हो ? अनि उनीहरुले कुनचाहिँ विषयबाट हामीमाथि यस्ता आरोप लगाउन सके ? या उनीहरुले हामीबाट अलग भएपछि के चाहिँ नयाँ र हाम्रोभन्दा फरक संश्लेषणहरु गरे त ?
बाह्रौँ पूर्ण बैठकमा पार्टीले स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीति लिनुपर्छ भन्ने प्रस्ताव महासचिवले पेस गरेको साँच्चै हो तर यो प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थातिर फर्किनका लागि या क्रान्ति छोड्नका लागि कदापि थिएन र यो कल्पना गर्न सकिने विषय नै होइन । यदि नेतृत्वले संसदवादी मार्ग लिने सोच्दो हो भने किन स्थानीय चुनावको बाटोबाट लिनुपर्छ ? प्रचण्डसहितको माओवादी पार्टी, बाबुराम प्रधानमन्त्री बन्दाको परिस्थिति, ३ बुँदे सहमति हुँदा केपी सरकारको आग्रह, हालको पाँच दलीय गठबन्धनकै सोचाइ जताबाट पनि केन्द्रमै सहभागी बन्ने पर्याप्त विकल्पहरु थिएनन् र ! के यो सुदर्शनले जस्तो रिपोर्टस क्लबमा एउटा समानुपातिक संसदका लागि रुँदा पनि निर्दयी प्रचण्डको मन नपग्लिएर विरक्तिएको जस्तो हो र ! अनि यो कुरा भगौडा अवसरवादीहरुलाई थाहा छैन र !
(जनक्रान्ति अंक ५ बाट)
