२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--4808

कविता : लोक भाका र गीतहरू

कविता : लोक भाका र गीतहरू

आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • गाउँमा गुञ्जिरहेछ तीजको लहर 
    दिदी, बहिनी र भाउजूहरू 
    भएर आगनमा जम्काभेट 
    लगाएर रातो साडी र गुन्युचोलो 
    गाएर पुर्ख्यौली र रत्यौली भाकाहरू 
    नाचिरहेछन् संगिनी नाच ।

    ठिक यहीं बेला_
    लोक धुन र गीतहरू बिर्सिएर 
    फोहोरी भाका र नाचहरू 
    मस्त नाचिरहेछन् स्कुले नानीबाबू 
    र भट्टीमा पसेर निस्किएको भर्खरको नयाँ पुस्ता 
    म रिसले अच्युत भएको छु
    र सम्झिरहेछु
    पचास साठ्ठीको दशकनिर 
    यहीं भूगोल र बस्तीमा गाइएका गीतहरू 
    'शिरैको शिरफूल बन्दकी राखेर'
    'डिलै र मुनिको दुईपाते तुलसा' 
    स्मृतिमा घुमिरहेछन् 
    बिमाकुमारी दुरा र शर्मिला गुरुङहरू 
    म खोजिरहेछु 
    हुर्किदै गएका काकरीको झालहरूमा 
    लोक संगीतका भाकाहरू 
    म खोजिरहेछु
    गुम्दै गरेको मौलिक संस्कृति
    फकृदै गरेको करेलीका बोटहरूमा ! 

    उनीहरू जीवनको ओझ र महत्त्वलाई बिर्सिएर 
    लोक भाका र गीतहरूको जरा काटेर 
    बेसुरमा गाइरहे पनि_बेसुरमा नाचिरहे पनि 
    म नयाँ आशामा सास फेरिरहेछु
    पक्कै एकदिन_ 
    माइतीघरमा नानी आए झै 
    रात ढलेर बिहानी आए झै 
    एकताका धुनहरू अन्तिम उचाइमा पुगेपछि 
    सदा सदाका लागी 
    गर्ल्यामगुर्लुम धल्नेछ- फोहोरी संस्कृति
    अनि बोकेर जनताका सुखदुःखका गीत 
    फेरि नयाँ मार्गबाट आगमन हुनेछ- हरितालिका तीज ।

    [ल्हुम्पेक कला तथा साहित्य यात्रा विषयगत शृङ्खला- ३ मा प्रस्तुत गरिएको कविता]

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij